रङ श्रमिक कल्पना

आइतबार, १६ माघ २०७३, ११ : ०१ शुक्रवार , Kathmandu
रङ श्रमिक कल्पना

–गौरव पोखरेल  
तलबाट हेर्दा आङै जिरिङ्ग हुने अग्ला घरका भित्ताहरूमा उनी झुन्डिएर एक्लै रङ पोत्ने गर्छिन् । यो काममा उनी माहिर भइसकिन् । झापा, कनकाई–३, सुरुङ्गाकी कल्पना नेपालले रङ पोत्ने कर्मलाई पेशाका रूपमा अंगालेकी छिन् ।
छ वर्षयता यो काममा लागेकी उनले अहिलेसम्म करिब १५ सय घर  रंग्याइसकिन् । अग्ला, होचा सबै खाले घरमा रङ गरेको अनुभव आफूले संगालेको उनी बताउँछिन् । ‘हुन त यो जोखिमपूर्ण काम हो,’ उनले भनिन्, ‘म बाध्यताले यो काममा लागेँ । यसमै रमाउन थालेँ । जोखिमपूर्ण काम सजिलै फत्ते गर्न सक्दा बेग्लै मज्जा आउँदो रहेछ । अहिले आफ्नो कामबाट सन्तुष्ट छु ।’ यसै पेशाबाट घरखर्च चलाएर भविष्यका लागि केही बचत पनि गर्छिन्, उनले ।  
कल्पनाको बिहे कलिलै उमेरमा भएको थियो । जीवनमा धेरै हन्डर खाएको उनी बताउँछिन् । ‘पहिला त धेरै हन्डर खाइयो । रङ लगाउने काम गर्न थालेदेखि आफ्नो जीवन पनि रंगिन देख्न थालेँ,’ उनले भनिन्, ‘यो कामसँग म कहिल्यै असन्तुष्ट भइनँ । बरु, यसै काममा उज्ज्वल भविष्य देख्न थालेँ र यसैमा होमिएँ ।’
कमाउन भन्दै विदेशिएका श्रीमान्ले उनलाई धोका दिए । अर्को बिहे गरेर कल्पनामाथि विश्वासघात गरे । तर, उनी हारिनन् । अरूका अगाडि केही गरेर देखाउने आँट गरिन् । एक छोरा र एक छोरी काखमा लिएर उनले रङ लगाउने काम सिक्न थालिन् । ‘विदेश जाने सोच पनि नबनाएको होइन । तर, धेरैले विदेशभन्दा स्वदेशमै केही गरेको जाती भनेर सल्लाह दिए,’ उनले भनिन्, ‘भन्सारबाट सामान ल्याएर बेच्ने काम पनि गरेँ । प्रहरीले सामान पक्रियो । त्यसपछि पेशा बदल्नुप¥यो ।’
छोराछोरीको सुन्दर भविष्य कोर्नु थियो, उनले । त्यसैले मजदुरी गर्न थालिन् । दिनको दुई सयले गर्जो टार्न गाह्रो भएपछि उनले आफैँ ठेकेदार बन्ने सोच बनाइन् । रङको ठेक्का लिने ठेकेदार । ‘सुरुमा त महिलाको के विश्वास भन्थे,’ सुरुवातताकाको अनुभव सुनाइन्, ‘तर, बिस्तारै सबैले विश्वास गर्न थाले ।’
अहिले उनले धेरैलाई रोजगारी दिइरहेकी छिन् । ‘सामान्य दिनमा १२ जनासम्म कामदार हुन्छन्,’ उनले भनिन्, ‘धेरै चाप भएको बेलामा चाहिँ २५ जनासम्म लिएर काम गरेको छु ।’ अहिले आफूले महिनाको २१ हजारजति आम्दानी गर्ने उनी बताउँछिन् । ‘दिनको सात सय रुपैयाँ मेरो पारिश्रमिक हो । अरूले चाहिँ दिनको चार सय रुपैयाँ पाउँछन्,’ उनले भनिन् ।
बाँस बाँधेर कयौँ तलामाथि चढ्ने काम उनलाई अहिले सामान्य लाग्छ । ‘सुरुसुरुमा त चढेपछि भुइँमै हेरिनँ । मुटु नै काम्थ्यो,’ उनले भनिन्, ‘अहिले त केही लाग्दैन । जति अग्लो बिल्डिङ भए नि काम गर्न सक्छु ।’
‘रङ पोतेरै अलिकति आफ्नो नाममा जग्गा किनेकी छु,’ उनले भनिन्, ‘अन्य सरसम्पत्ति पनि जोडेकी छु ।’ स्कुटरमा हिँड्छिन्, उनी । पहिला सहकारी र बैंकबाट ऋण मात्र लिने उनको खातामा अहिले केही बचत पनि छ । रङ किनेबापत विभिन्न कम्पनीले उनलाई प्वाइन्ट दिन्छन् । त्यो प्वाइन्टको आधारमा उनलाई कम्पनीबाट सेवासुविधा थपिन्छ ।
बाध्यतामा सुरु गरेको कामले उनलाई अहिले सफलता दिलाइरहेको छ । आफ्नो कामबाट खुशी छिन्, उनी । ‘अब यही पेशामा मेरो जिन्दगी बित्छ,’ उनले भने ।

Leave A Comment