फ्य्रांक तन्नेरी

आइतबार, १६ माघ २०७३, १० : ४२ सृजना खड्का /मनोज घर्तीमगर , Kathmandu
फ्य्रांक तन्नेरी

खुला र उदार छ, आजको युवा पुस्ता । उनीहरू प्रेम, सम्बन्ध, यौनलगायत जीवनका थुप्रै मामिलामा ‘फ्य्रांक’ छन् । उनीहरूको प्रेम व्यक्त गर्ने तरिका पनि आफ्नै ‘स्टाइल’को छ । स्वतन्त्रता, उन्मुक्ति र खुलापन उनीहरूको बाँच्ने शैलीका विशेषता हुन् । सृजना खड्का र मनोज घर्तीमगरले आजका मनमौजी तन्नेरीका आनीबानी केलाएका छन् ।
ठमेलको एक रेस्टुरेन्टमा कार्यरत रविन श्रेष्ठको परिवार उनकै शब्दमा ‘ओपन माइन्डेड’ छ । उनी असनमा परिवारसँगै बस्छन् । प्रेममा परेका छन् । केटी साथीहरू पनि धेरै छन् । ‘केटी साथीहरू घरमै आउँछन्, अनि खान्छौँ, पिउँछौँ, रमाइलो गर्छौं,’ उनी निर्धक्क भन्छन्, ‘कसैले केही भन्दैन । मम–ड्याड सबै आ–आफ्नै तालमा हुन्छन् । अहिलेको जमानामा पनि शंका गरेर हुन्छ र ?’
यता प्रमिला घिमिरेलाई ‘तपाईंको ब्वाइफ्रेन्ड छ ?’ भन्ने प्रश्न नै वाहियात लाग्छ । सीधै भन्छिन्, ‘कसको हुँदैन र ?’ उनको फेसबुकमा ‘इन अ रिलेसनसिप’ स्ट्याटसले तीनटा वार्षिकी मनाइसकेछ । कलेजका साथीभाइसँग उत्तिकै खुल्छिन् उनी । अफिसका स्टाफहरू सबैले उनलाई माया गर्छन् । साथीहरूको घरमा जानु, पार्टी गर्नु, अनि आफ्नो पार्टीमा पनि भएभरका साथीभाइ बोलाएर रमाइलो गर्नु उनको जीवनशैलीको हिस्सा बनिसकेको छ । उनलाई यो सबै सामान्य लाग्छ । ‘केटा साथी सबै ब्वाइफ्रेन्ड,’ उनी खुलेरै बोल्छिन्, ‘स्पेसल पो एक जना हुन्छ त । साथी त जो पनि हुन सक्छ नि । सबैले मलाई फ्य्रांक छे भन्छन् । खुशी लाग्छ । फ्य्रांक स्वभाव खुला समाजको विशेषता नै हो नि ।’ संस्कृति विषयमा मास्टर्स गर्दै गरेकी उनी एक निजी कम्पनीमा ‘कस्टुमर रिलेसन अफिसर’का रूपमा कार्यरत छिन् ।
सात वर्षअघिसम्म उनमा यस्तो ‘फ्य्रांक’ स्वभाव थिएन । त्यतिबेला उनी गाउँबाट उच्च शिक्षाका लागि राजधानी आउँदै थिइन् । मनमा लागेको कुरा अरूलाई व्यक्त गर्न नसक्ने अवस्था थियो । ‘मलाई यो सबै समय र परिस्थितिले सिकाएको हो,’ उनलाई लाग्छ, ‘पढाइ र कामले पनि फ्य्रांक हुर्नैपर्ने भयो । गाउँमा जस्तो लजाएर शहरमा बाँच्न कहाँ सकिन्थ्यो र ?’ समाजले सोच्ने दायरा पनि फराकिलो बन्दै गएकाले फ्य्रांक स्वभावलाई धेरैले सकारात्मक रूपमा लिने गरेको उनको अनुभव छ ।
फ्य्रांक हुनुका फाइदा
१२ कक्षामा पढ्ने सुजन श्रेष्ठ अहिलेको समयमा फ्य्रांक हुँदा फाइदा देख्छन् । ‘यो जमानामा त फ्य्रांक भएन भने गाह्रै पर्छ नि,’ उनी भन्छन्, ‘धेरैभन्दा धेरै साथी बनाउन सक्यो भने फाइदैफाइदा छ । एक्जाम, क्लास वर्क, प्रोजेक्ट वर्क सबैतिर सहयोग मिल्छ । टेन्सनहरू पनि सेयर गर्न सजिलो हुन्छ । हाम्रो ग्रुप नै फ्य्रांक छ ।’ फेसबुकको ग्रुप च्याटले उनीहरूलाई एकदमै साथ दिइरहेको छ । सबै कुरा ग्रुपका सबैले देख्न पाउँछन् । कुनै कुरा लुकाएर लुक्न सक्दैन ।
सुजनकी साथी आस्था थापा पनि फ्य्रांक साथीहरू नै राम्रो लाग्ने बताउँछिन् । ‘केटी होस् वा केटा,’ उनी भन्छिन्, ‘फ्य्रांक साथी नै सही लाग्छ । सबैसँग हाँस्ने, बोल्ने, रमाइलो गर्ने यही बेला त हो ।’ सुजनकी प्रेमिका अनुजा महर्जन भने अलि लज्जालु स्वभावकी छिन् । अनुजा पनि सुजनको स्वभावदेखि खुशी छिन् । ‘ऊ (प्रेमिका) आफू लजालु भए पनि मेरो स्वभावदेखि ऊ दुःखी छैन जस्तो लाग्छ,’ सुजनले भने, ‘उसलाई पनि फ्य्रांक बनाउन खोजिराछु ।’
‘आफू त फ्य्रांक मान्छे,’ ललितपुर, सातदोबाटोका विकास महर्जन भन्छन्, ‘मेरा साथीहरू त झन् बबाल फ्य्रांक छन् ।’ उनको बुझाइमा अहिलेको जमानामा फ्य्रांक नभई कामै छैन । ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको खै के पनि बिक्दैन भन्छन् नि,’ उनी भन्छन्, ‘त्यस्तै हो अहिलेको जमाना । सबैसँग फ्य्रांक हुँदै फाइदा छ ।’ केही समयअगाडि मात्र गर्लफ्रेन्ड बनाएको बताउने महर्जनले आफ्नी गर्लफ्रेन्डको फ्य्रांक बानीबेहोराबाटै प्रभावित भएर प्रेम प्रस्ताव राखेको बताए । उनीहरू दुवैजना फ्य्रांक भएकै कारणले उनीहरूको सम्बन्धमा खासै समस्या नआएको महर्जनको अनुभव छ । ‘चित्त नबुझेको कुरा एकअर्कासँग गरिहाल्छाँै, अनावश्यक मिसअन्डरस्ट्यान्डिङ हुँदैन,’ उनले भने, ‘मेरो बुबाले आमालाई मन पराउँदा मनको कुरा भन्नै नसक्या रे, मलाई त सम्झिँदा पनि हाँसो उठ्छ । मैले त आफँै भेटेर भनिदिएँ ।’
साथी बनाउँदा होस् वा गर्लपे्रmन्ड÷ब्वाइफ्रेन्ड, अहिलेका युवा फ्य्रांक खोज्छन÷रोज्छन् । युवाहरू एकअर्कासँग निकै खुल्न थालेको कुरा विकासको भनाइबाट पनि प्रष्ट हुन्छ ।
काठमाडौँको गोल्डेन गेट इन्टरनेसनल कलेजमा पढ्ने रक्षक आचार्यको भनाइ पनि उस्तै छ । भन्छन्, ‘म त चुप लागेर बस्नै सक्दिनँ, मनमा लागेको कुरा प्याच्च भनिहाल्नुपर्छ ।’ पहिला घरमा बुबा र स्कुलमा सरसँग निकै डर लाग्ने बताउने उनले हाल आफ्ना सबैभन्दा नजिकका साथी नै उनीहरू भएको बताए । फ्य्रांक हुनु राम्रो कुरा हो भन्दै उनले अनावश्यक फ्य्रांक हुँदा भने दुःख पाइने समेत बताए । ‘आफू फ्य्रांक हुँदा कसैमाथि प्य्रांक हुनेतर्फ सचेत हुनैपर्छ,’ उनी भन्छन् ।
‘आफ्ना सबै कुराहरू साटासाट गर्दा खुशी त भइन्छ, तर कहिलेकाहीँ साथीहरूले त्यहीबाट कमजोरी निकाल्छन्,’ विकास भन्छन्, ‘यस्तोमा ध्यान दिनैपर्छ ।’ उनले मन मिल्ने साथीहरू एकैठाँउमा बस्दा आफूलाई मन परेको केटी, उनीसँग फोनमा गरिएको कुराकानी, घरको किचकिचदेखि सेक्स लगायतका कुरासमेत एकअर्कासँग खोल्ने बताए ।
अहिलेको नयाँ पुस्तालाई एउटा प्रश्न गर्दा धेरैको उत्तर लगभग उस्तै हुन्छ । त्यो प्रश्न हो– आफ्ना साथीहरू तथा गर्लफ्रेन्ड÷ब्वाइफ्रेन्डको सबैभन्दा मन पर्नेे बानी कुन हो ? ‘फ्यांकनेस सबभन्दा मन पर्छ,’ रिजल गुरुङको यस्तो उत्तर धेरैको मुखबाट आउँछ ।

मनमौजी पुस्ता
आजकालका युवाहरू अन्तर्मुखी हैन, बहिर्मुखी हुन थालेका छन् । यसमा उनीहरूलाई सामाजिक सञ्जालले निकै सजिलो पारेको छ । सीसीआरसी कलेजमा अध्ययनरत अनिसा श्रेष्ठ भन्छिन्, ‘फेसबुकमा मिल्ने–मिल्ने साथीहरूको गु्रप बनाएर पनि निकै कुरा सेयर हुन्छन् । भेटेको बेला सेयर गर्न अप्ठ्यारो हुने कुराहरू च्याट र फोनबाट सजिलै भन्न सकिन्छ । यसले पनि साथीहरूलाई खुल्न सजिलो हुन्छ ।’ फ्य्रांक हुँदा धेरै साथीहरूसँग नजिक हुन समेत सजिलो हुने उनको बुझाइ छ । आफ्नो अनुभवबारे सुनाउँदै उनले जति साथीहरूसँग घुलमिल हुँदै गयो, उति नै एकअर्कासँग खुल्न सकिने बताइन् ।

अहिलेको पुस्ता कतिसम्म खुल्लमखुल्ला छ ? जान्नका लागि पर पुग्नैपर्दैन । आफ्नै टोल–छिमेक, नजिकैको पार्क, फेसबुकका वाल मात्र हेरे पुग्छ । सम्बन्धका मामिलामा यो पुस्ता निकै उदार देखिन्छ । काठमाडौँ, चाबहिलकी मनमाया राईका दुई सन्तान छन् । एक छोरी, एक छोरा । ‘दुवै तन्नेरी भइसके,’ उनी भन्छिन्, ‘आफैँले हेरेको केटा, आफैँले हेरेको केटीसँग छोरा–छोरीको बिहे गरौँला भनेर त अब नसोचे पनि हुन्छ । उनीहरू धेरै फरवार्ड भइसके । आफ्नो जोडी आफैँ खोज्छन् । हाम्रो जमानामा यस्तो हुँदैनथ्यो । अहिले त कता गा’को भनेर छोराछोरीलाई सोध्नै हुन्न । सीधै डेटिङमा भन्दिन्छन् ।’

काठमाडौँ, कोटेश्वरका ४३ वर्षीय मदन बुढाथोकी युवा पुस्ता चाहिनेभन्दा नचाहिने कुरामा बढी फ्य्रांक हुन थालेको बताउँछन् । उनी भन्छन्, ‘घरका व्यावहारिक कुराहरू गर्नै रुचाउँदैनन् । हामीले दिएकोे सल्लाह–सुझाव उनीहरूलाई लेक्चर लाग्छ । आफ्ना साथीहरूसँग भने चाहिने÷नचाहिने कुरा गरेर बस्छन् ।’ चाहिने कुरामा गम्भीर नहुने छोराछोरीको बानी उनलाई मन पर्दैन ।
चाणक्य उच्च माविका प्रिन्सिपल बासुकीराज रेग्मीले अहिलेका पुस्ता असाध्यै फ्य्रांक हुँदै गएको बताए । युवाहरूको मनोविज्ञान केही हदसम्म बुुझेको बताउने उनी युवाहरू आफ्नो फ्य्रांक शैलीले अरूलाई प्रभावित गर्न खोज्ने गरेको बताउँछन् । ‘अहिलेका केटाकेटी एकदम खुल्दै गएका छन्,’ उनले भने, ‘मेरी छोरीकै कुरा गरौँ । आफ्नो व्यक्तिगत कुरा पनि मलाई सेयर गर्छिन् । खुशी लाग्छ । सल्लाह–सुझाव दिन्छु ।’ फ्य्रांक हुने नाममा नैतिकता र अनुशासनको घेरा नाघ्नु हानिकारक हुने उनको बुझाइ छ ।  
फास्टफुड रिलेसन
उता, पोखराका धेरै तन्नेरी ‘फास्टफुड रिलेसनमा रुचि राख्ने गरेको बताउँछन् । फास्टफुड रिलेसन अर्थात् आज छ, भोलि छैन । यस्ता सम्बन्धकै लागि भए पनि उनीहरू फ्य्रांक बन्ने गरेको बताउँछन् । ‘फ्य्रांक भएन भने कसरी भेट्नु साथी ?’ प्रसुन श्रेष्ठले भने, ‘फ्य्रांक भएन भने त एलिएन भइन्छ नि ।’ फ्य्रांक हुनेकै साथी धेरै हुने गरेको बताउने उनी मनमौजी स्वभावका छन् । ‘फ्य्रांक भएरै मेरा साथी धेरै छन्,’ उनले भने, ‘फेसबुके साथीहरू पनि धेरै छन् । मेरा स्ट्याटस नै फ्य्रांक पाराका हुन्छन् ।’ उनी आफ्नो पुस्तालाई फास्टफुडे पुस्ताका रूपमा बुझ्छन् । ‘हाम्रो पुस्तालाई जति फ्य्रांक बन्यो उति राम्रो !’ उनले भने ।  
छाडा कामका लागि मात्र फ्य्रांक हुने शैली समाजकै लागि गलत भएको समाजशास्त्री डा. रामचन्द्र बराल बताउँछन् । भन्छन्, ‘फ्य्रांक हुनु राम्रो कुरा हो । तर, आफ्नो लाभका लागि मात्र गरिने त्यो व्यवहारले आफैँलाई घाटा हुन सक्छ ।’

‘स्वतन्त्रता र छाडापनबीच फरक छुट्याउनुपर्छ’

डा. मीना उप्रेती
समाजशास्त्री
अहिलेको पुस्ता उदार छ । उन्मुक्त छ । खुलस्त छ । उनीहरूकै शब्दमा ‘फ्य्रांक’ छ । उनीहरू यो स्वभावलाई आफ्नो पुस्ताको विशेषता ठान्छन् । विशेष गरी सम्बन्धका मामिलामा उनीहरू फ््रयांक छन् । जसको जतिबेला जोसँग पनि जुनसुकै सम्बन्ध रहन सक्ने परिवेशलाई कसैले नकार्न सक्दैन । परिवर्तित सामाजिक संरचनाहरूले उनीहरूलाई मज्जाले साथ दिइरहेको छ ।
यो फ्य्रांक स्वभावलाई उनीहरू आफूअनुकूल व्याख्या र प्रयोग गर्छन् । लाभहानिको हिसाबकिताब गरेर सम्बन्धलाई त्यसैअनुरूप नियन्त्रण गर्न खोज्छन् । आफ्नो मात्र लाभका लागि कथित फ्य्रांकको नाटक गर्ने स्वभाव नकारात्मक हुने नै भयो । तर, उदार स्वभाव आफैँमा गलत भने होइन । यसले सामाजिक मनोविज्ञानलाई समयानुकूल सन्तुलित राख्न सघाउँछ ।
खुकुलो बन्दै गएको सामाजिक संरचनाको फाइदा लिन खोज्छ यो पुस्ता । धर्म, आस्था, विश्वास, विचार, नियमकानुन, ‘नम्र्स’, ‘भ्याल्यू’ केही पनि वास्ता नगरी उनीहरू परिधिविहीन समाजको कल्पना गर्छन् । समाज यसरी खुल्दै जानु राम्रो कुरा हो । तर, हरेक कुराको एउटा सीमा हुन्छ । स्वतन्त्रतालाई मनलाग्दी गर्नुसँग जोड्न खोजिए जस्तै उदारतालाई पनि त्यसै गरी बुझ्न खोज्नु गलत हुन्छ ।  स्वतन्त्रता र छाडापनबीच फरक छुट्याउनुपर्छ । आफूले आफैँलाई नियन्त्रण गर्न नसक्ने अवस्था आधुनिकता होइन । सभ्य र सुसंस्कृत समाज पनि आधुनिक हुन्छ । ‘नियम भनेको तोड्नकै लागि बन्छ’ भन्ने तर्कले मात्र ‘मोडर्न’ बन्ने होइन् । अनुशासनमा रहेर पनि आधुनिकताको मज्जा लिन सकिन्छ ।  
समाजको मनोविज्ञान पूरै बदलिएको देख्न सकिन्छ । अहिलेका आमाबाबुहरू पनि छोराछोरी फ्य्रांक देख्न चाहन्छन् । खुलस्त भएको रुचाउँछन् । ‘मेरो छोरी वा छोरा धेरैसँग घुलमिल होस्, समाजसँग परिचित होस्’ भन्ने चाहना राख्छन् । उहिलेको जस्तो कसैसँग नबोल्ने, टाउको झुकाउने, लाज मान्ने, डर मान्ने स्वभाव छोराछोरीमा देख्न रुचाउँदैनन् उनीहरू । छोरी केटा साथी लिएर मज्जाले घर जान सक्छे । छोरा केटी साथीसँग खुलेर सबैको अगाडि हाँसखेल गर्न सक्छ । सोच्ने तरिका एकदमै फरक छ ।
त्रिभुवन विश्वविद्यालयमा मैले १८–१९ वर्ष अध्यापन गर्दाको अनुभवले पनि यसै भन्छ । कुनै बेला छात्र र छात्राबीचको दूरी नाप्नै नसकिने टाढा हुन्थ्यो भने अहिले त्यो दूरी लगभग समाप्त भयो भन्दा हुन्छ । साथीभाइका बीच मात्र होइन कि, शिक्षकसँग पनि उनीहरू फ्य्रांक बन्न खोज्छन् । साथीलाई जस्तो व्यवहार गर्न खोज्छन् । शिक्षकसँग सबै कुरा राख्न सक्नु राम्रो हो । तर, आदरभाव नराखेर गरिने व्यवहारले छाडापनलाई प्रोत्साहन दिन्छ । अभिभावक, गुरु, सिनियर सबैलाई साथीकै लाइनमा राखेर व्यवहार गर्न खोज्नु त्यति उचित नहोला । विद्यार्थीले गलत गरेको देख्दा पनि शिक्षक चुप लाग्न बाध्य हुने अवस्था आउनु चिन्ताजनक विषय हो । अभिभावकले पनि छोराछोरीको गतिविधिमा निगरानी गर्नैपर्छ । स्वतन्त्रता के हो र के होइन भन्ने कुरा सिकाउनैपर्छ ।
जिन्दगी भनेकै सम्बन्धको जालो हो । हरेक सम्बन्धहरू खुशीसँग जोडिनुपर्छ । हल्का रूपमा सोचिने सम्बन्ध कालान्तरमा आफ्नै लागि घातक बन्न सक्छ । सकारात्मक सोचले अभिप्रेरित हुने फ्य्रांक शैलीले मात्र सामाजिक परिवेशलाई सुन्दर बनाउन सक्छ । सम्बन्धहरूलाई पनि सन्तुलित राख्न सक्छ । सन्तुलित सम्बन्धहरूले नै सामाजिक संरचना मजबुत बन्ने हुन् ।

Leave A Comment