हेपाटाइटिसबारे थाहा पाउनैपर्ने कुरा

आइतबार, १२ असार २०७३, ११ : २८ शुक्रवार , Kathmandu
हेपाटाइटिसबारे थाहा पाउनैपर्ने कुरा

 डा. दिलिप शर्मा
कलेजो रोग विशेषज्ञ, वीर अस्पताल
मानव शरीरका महŒवपूर्ण अंगमध्ये कलेजो पनि एक हो । कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ । कलेजोलाई दुई प्रकारको भाइरसले असर गर्छ । एउटा ‘हेपाटोट्रोपिक’ र अर्को ‘नन–हेपाटोट्रोपिक’ । हेपाटोट्रोपिक भाइरसअन्तर्गत हेपाटाइटिस ‘ए, बी, सी, डी र ई’ पर्दछन् । यसले कलेजोलाई मात्र असर गरे पनि शरीरका अन्य भागमा दीर्घकालीन असर पु¥याउँदैनन् । नन–हेपाटोट्रोपिक भाइरसअन्तर्गत ‘हर्पिस सिम्लेक’ र ‘इब्स्टेनवार’ भाइरस पर्दछन् । यिनले भने कलेजोका साथै शरीरका अन्य भागलाई पनि असर पु¥याउँछन् ।
भाइरल हेपाटाइटिस ए, बी, सी, डी र ईलाई दुई समूहमा बाँडिएको हुन्छ । पहिलो समूहमा ‘ए र ई’ पर्छन् । यो विशेष गरी प्रदूषित पानी तथा खानेकुराबाट सर्छ । यसले तुरून्त असर गरे पनि दीर्घकालीन असर भने गर्दैन ।
अर्को समूहमा बी, सी र डी पर्छन्् । यो रगत, रगतजन्य पदार्थ, सिरिन्ज, शारीरिक तरल पदार्थ वा आमाबाट बच्चामा सर्छ । यो दीर्घकालीन प्रकृतिको पनि हुन्छ र कलेजोलाई असरसमेत गर्छ । हेपाटाइटिस बी एचआईभी÷एड्सभन्दा पनि खतरनाक भनेर प्रचार गरिए पनि शरीरको प्रतिरोधात्मक क्षमताका कारण ९० प्रतिशत वयस्क मानिसमा छ महिनाभित्र आफँै निको भएर जान्छ । बाँकी १० प्रतिशतमा यसले नरम कलेजोलाई कडा पार्दै लान्छ । जसलाई ‘लिभर सिरोसिस’ भनिन्छ । लिभर सिरोसिस भएर पछि क्यान्सर हुने सम्भावना हुन्छ ।  
हेपाटाइटिस भयो भने जन्डिस देखिन्छ । यस्तो हुँदा मुख बार्ने, जडिबुटीको प्रयोग गर्ने, नाइटोमा लेप लगाउने जस्ता काम गरिन्छ । तर, मुख बार्दा पोषणको कमी हुन्छ । जसका कारण रोगसँग लड्ने क्षमतामा ह्रास आउन सक्छ । सरकारले जनचेतनामूलक कार्यक्रममार्फत खानाप्रतिको धारणाबारे आम समुदायलाई स्पष्ट पार्नु जरूरी छ ।
जन्डिस रोग होइन । यो रोगको लक्षण मात्र हो । उपचार गरेर त्यसको निदान गर्नुपर्छ । यसबारे हामीले न बिरामीलाई राम्ररी बुझाउन सकेका छौँ, न त उनीहरूका परिवारलाई । यसतर्फ ध्यान दिन जरूरी छ ।
हेपाटाइटिसबाट हरेक वर्ष संसारभर १५ लाख व्यक्तिको मृत्यु हुने गरेको छ । यो संख्या एचआईभी÷एड्सबाट हुने मृत्यु बराबर छ । एचआईभी÷एड्सलाई सरकारी तथा गैरसरकारी संस्था, अन्तर्राष्ट्रिय दातृ संस्थाहरूले जति महŒव दिएका छन्, त्यति हेपाटाइटिसलाई महŒव दिएको पाइँदैन । संसारमा ‘मेडिकल डिजिज’ मा मानिसको ज्यान लिने रोगमध्ये आठौँ ठूलो रोग भाइरल हेपाटाइटिसलाई नेपालमा खासै महŒव दिएको पाइँदैन । अविकसित राष्ट्रमा मात्र होइन विकसितमा पनि यसलाई महŒव कम दिएको पाइन्छ । सरकारले हेपाटाइटिसलाई जनस्वास्थ्य कार्यक्रममा राखेर ग्रामीण स्वास्थ्य चौकीदेखि चिकित्सकसम्म तथा जनस्वास्थ्यसँग चासो राख्ने हरेक व्यक्तिलाई यसको रोकथाम, सर्ने माध्यम तथा उपचारबारे ज्ञान दिन जरूरी छ । आठौँ ठूलो रोग भए पनि मानिसले धेरै चासो नदेखाएका कारण विश्व स्वास्थ्य संगठनले संसारको हेपाटाइटिसप्रतिको धारणा बदल्न र यस रोगबाट पर्ने आर्थिक भारको चेतना जगाउन विश्व हेपाटाइटिस दिवस मनाउन सुरु गरेको छ ।
हरेक वर्षको जुलाई २८ का दिन हेपाटाइटिस दिवस मनाउने गरिन्छ । यस पटकको हेपाटाइटिस दिवस ‘हेपाटाइटिसको बारेमा पुनर्विचार गरौँ’ भन्ने नाराका साथ मनाइयो । त्यसैले जनचेतनामार्फत हेपाटाइटिस भइसकेका व्यक्तिले कसरी सावधानी अपनाउने र नभएकाले कसरी यसविरूद्ध खोप लगाउने भन्ने बारे बुझाउनुपर्छ ।
अहिले पनि धेरै व्यक्तिमा हेपाटाइटिसबारे चेतनाको अभाव छ । हेपाटाइटिसका कारण लिभर सिरोसिस तथा लिभर क्यान्सर हुन्छ भन्ने कुरा कतिपयलाई थाहा छैन । लिभर क्यान्सर दोस्रो ठूलो डरलाग्दो क्यान्सर हो । हेपाटाइटिसको रोकथाम गर्न सके ठूलो जनधनको क्षति हुनबाट बचाउन सकिन्छ । सबै हेपाटाइटिसको खोप उपलब्ध छैन । हेपाइटिस ए र बी को मात्र खोप उपलब्ध छ । हेपाटाइटिस बी को खोप लगाउन सकेमा दीर्घकालमा हुने क्षतिबाट बचाउन सकिन्छ ।
केही व्यक्तिमा हेपाटाइटिस एचआईभी÷एड्सभन्दा पनि डरलाग्दो रोग हो भन्ने भ्रम छ । त्यसैले यसलाई लुकाउने गरिन्छ । तर, यो रोग लाग्दैमा हात मिलाउन नहुने, सँगै बस्न नहुने, एउटै ओछ्यान प्रयोग गर्न नहुने भन्ने होइन । हेपाटाइटिसको भाइरस धेरै समयसम्म बाँच्ने हुनाले डरलाग्दो भनिएको हो । हेपाटाइटिसले कलेजोलाई मात्र असर गर्छ । समस्या देखिइसकेपछि यसलाई लुकाउनुभन्दा पनि समाधानतिर लाग्नुपर्छ ।
हेपाटाइटिसलाई निको पार्न पनि सकिन्छ । विश्वमा हेपाटाइटिसलाई महŒव नदिइरहेको अवस्थामा नेपालमा पनि सरकार हेपाटाइटिस बी र सी को जोखिमप्रति निकै उदास देखिन्छ । कलेजोका दीर्घ रोगीहरू दिनहुँ वृद्धि भइरहेको आजको समयमा स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य कार्यक्रममा हेपाटाइटिस बी र सीप्रति चेतना अभियान चलाउनुपर्ने अवस्था आएको छ । जनचेतनाको कमी भएका कतिपय ठाउँमा मानिसहरू हेपाटाइटिस भएका बिरामीलाई छुन रुचाउँदैनन् । तर, हेपाटाइटिस छोएर सर्ने रोग होइन । आम मानिसमा हेपाटाइटिस कसरी सर्छ भन्ने नै थाहा छैन । विशेष गरी, यो रगत तथा शरीरको तरल पदार्थबाट सर्ने गर्छ ।   
हेपाटाइटिस बी र सी लाग्यो भने पछि गएर उपचार महँगो पर्छ । यो हेपाटाइटिस बीको औषधि दुई वर्ष या जीवनभर पनि सेवन गर्नुपर्ने हुन सक्छ । जसका कारण आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई यसको खर्च धान्न मुश्किल पर्न सक्छ ।
हेपाटाइटिसमा ‘टेनोफोविर’ नामक औषधिको प्रयोग हुन्छ । यो औषधि एचआईभी÷एड्सका बिरामीमा पनि प्रयोग हुन्छ । टेनोफोविर एचआईभीका बिरामीलाई सरकारले निःशुल्क प्रदान गर्दै आएको छ । जबकि, एचआईभीसँगै बराबर मृत्यु हुने हेपाटाइटिसमा सरकारले चासो दिएको छैन । हेपाटाइटिस बी मा न्यून आय भएका बिरामीलाई पनि टेनोफोविर निःशुल्क दिइँदैन । त्यसकारण नेपाल सरकारले हेपाटाइटिस बी भएर उपचार गर्न नसक्ने व्यक्तिलाई भविष्यमा लिभर सिरोसिस र क्यान्सर हुनबाट बचाउन निःशुल्क टेनोफोविर उपलब्ध गराउनुपर्छ ।
नेपालमा हेपाटाइटिस बी र सीका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन । करिब २ प्रतिशत अर्थात् छ लाखको हाराहारीमा हेपाटाइटिस बी र एक लाख हेपाटाइटिस सीका बिरामी भएको अनुमान छ । तर, सरकारको तथ्यांकमा ५८ हजार मात्र बिरामी देखिएका छन् । यो तथ्यांक पुरानो भएकाले सरकारले नयाँ सर्भे गरेर हेपाटाइटिस बीका बिरामी संख्या तथा हेपाटाइटिस बीले गर्दा लिभर सिरोसिस र क्यान्सर भएका बिरामीको तथ्यांक राख्नुपर्छ ।
यदि हेपाटाइटिस बी भयो भने टेनोफोविर औषधिको सेवनमा महिनामा तीन हजार खर्च हुन्छ । यदि लिभर क्यान्सर भयो भने सरकारले उपचारका लागि एक लाख रूपैयाँ दिने गरेको छ । तर, हेपाटाइटिस बीको अवस्थामा उसलाई टेनोफोविर निःशुल्क दिन सकिए उसको जीवनको गुणस्तर पनि राम्रो हुने र क्यान्सरविनाको जीवन जिउन सक्छ ।
सबै बिरामीलाई सरकारले टेनोफोविर निःशुल्क उपलब्ध गराउन सक्दैन भने न्यून आय भएका बिरामीको पहिचान गरी सुविधा दिनुपर्छ ।
हेपाटाइटिस भएका बिरामीलाई स्वास्थ्यकर्मीले पनि त्यति चासोका साथ नहेर्ने भएकाले स्वास्थ्यकर्मीको पनि धारणा परिवर्तन गर्नुपर्छ । समाजमा यस रोगलाई नकारात्मक रूपमा लिने गरिन्छ । त्यसैले सरकारले अभियान नै चलाएर हेपाटाइटिसबारे जनचेतना फैलाउनु नितान्त आवश्यक छ ।

 

Leave A Comment