क्षमा पूजा

आइतबार, १६ माघ २०७३, १० : २८ ईश्वर दाहाल , Kathmandu
क्षमा पूजा

कार्यकर्ता भनेकै असन्तुष्टिको अर्काे नाम हो ।  पार्टी सरकारमा गएन भने कार्यकर्ता हैरान हुन्छ । राजनीति जोगी बन्नका लागि गरिँदैन भन्ने सार्वभौम कथनप्रति ऊ प्रतिबद्ध रहन्छ । कार्यकर्ताका पछाडि संगठन हुन्छ, आफूभन्दा कनिष्ठ कार्यकर्ता हुन्छन् र त्यसभन्दा पनि महŒवपूर्ण, चुनावका बेलामा भोट माग्न जानुपर्ने जनता हुन्छन् । भोटका लागि जनतालाई विभिन्न भ्रम, आश्वासन र बठ्याइँले बाँधिराख्नुपर्छ । यसरी बाँध्नुपर्दा आफ्नो नेतालाई युधिष्ठिर र अरु पार्टीका नेतालाई दुर्याेधन बनाउनुपर्छ । तर, पार्टी र पार्टी नेतृत्व कौरव मार्गमा हिँडिदियो भने बिचरो कार्यकर्ता बडो बिलखबन्दमा पर्छ । हिजो नर्क भनेको विषय र क्षेत्रलाई आज स्वर्ग भनेर गाउँ छिर्न उसलाई हुनुसम्म सकस पर्छ ।
धर्मपरायण, राष्ट्रवादी दलको कार्यकर्ता पनि यस्तै बिलबन्दमा प¥यो । हिजोसम्म आफूले राष्ट्रघाती भनेको गठबन्धनमा आफ्नो दल पनि मिसिने खबर उसले अखबार पढेर थाहा पायो । खबरले एक किसिमको रमरम मज्जै दियो । किनकि, सत्ता सुख र आनन्दबाट ऊ अनभिज्ञ थिएन । तर, उसको रमरम खुशी, झमझमतर्फ उकालो लागेन, बरु ओरालो झ¥यो । पार्टीको राष्ट्रवादी अडान र रुझानको प्रवचन दिएर दुईचार गाविसमा निर्माण गरेको संगठन सम्झियो । अन्य पार्टीको झण्डामुनि ओत लागेकालाई आफ्नो पार्टीको झण्डा बोक्ने बनाउन कतिसम्म पापड बेल्नुपर्छ ? उसलाई राम्रो गरी थाहा छ । अन्य पार्टीबाट आफ्नोमा भिœयाउँदा उसले राष्ट्रवादको सहारा लिएको थियो ।  उसले भनेको थियो, ‘अहिलेको सरकार बोर्डरपारिको चम्चा हो । चम्चा चलाउनेले जसरी चलाउँछ, चम्चा त्यसै गरी चल्छ । चम्चा मालिकले हाम्रो देशलाई सिद्ध्याउने योजना बुनिरहेको छ । देश बचाउनु छ भने, माटोको माया लाग्छ भने हाम्रो पार्टीमा आऊ । हाम्रोमा आयौ सच्चा राष्ट्रवादी हुन्छौ ।’ उसले यही राष्ट्रवादी तरबार चलाएर अन्य दलको अमरापुरीमा धावा बोलेको थियो । तर, अब त्यो तरबार आफैँपट्टि फर्कन सक्ने भयंकर अनुमान ग¥यो ।
उसले आफूजस्तै राष्ट्रवादी कार्यकर्तालाई सम्झियो । आफ्नो सबैभन्दा हितैषी मित्रसँग वार्तालाप ग¥यो । उनीहरूको साझा निष्कर्ष निक्लियो । कुनै पनि राजनीतिक दलका लागि सत्ता मांगलिक यात्रा हो । पार्टी सत्तामा जानुलाई कुमंगल भन्नु र सोच्नु कुनै पनि अर्थमा यथोचित होइन । तर, कहिलेकाहीँ यस्तो घडी पनि आउँछ, जुन समयमा अमृत पिउँदा पनि कालकूट विषको काम गर्छ । पार्टीका लागि सत्ता अर्थपूर्ण रहँदारहँदै पनि बेला र औसरका कारणले पार्टी सत्तामा जानु हुँदैन । दुवै मित्रले पार्टीको सत्तागमनलाई भूतले खाजा खाने बेलाकोे रूपमा परिभाषित गरे । उनीहरूले एक पटक अध्यक्षलाई भेटेर सत्तामा नजान सुझाव दिने निक्र्याेल निकाले ।
यी दुईले संविधानसभा निर्वाचनमा गाईछाप जिन्दावादका लागि गरेको मेहनतलाई अध्यक्षले अझै बिर्सिएका थिएनन् । दुवैले एक बिहान अध्यक्षसँग भेटेर मनको बह पोखे । पार्टी सत्तामा जाँदा र नजाँदा हुने फाइदा र घाटा सुनाए । अध्यक्षले उनीहरूको गम्भीरतालाई गम्भीर भएरै सुने, अनि मन्द मुस्काउँदै सम्झाउने शैलीमा भने ‘तपाईंहरूले भन्नुभएको कुरामा मेरो कुनै विमति छैन । तर, सत्तामा जानु हाम्रा लागि अति जरुरी छ । जुन काम तत्कालका लागि जरुरी छ, त्यो तुरुन्त गर्नुपर्छ ।’ उनीहरूले नबुझेको जस्तो ठानेपछि अध्यक्ष थप विस्तारपूर्वक भन्ने मुडमा आए । ‘तीन–तीन वटा चुनाव हुँदैछन् । चुनावका लागि सत्ता कति आवश्यक पर्छ भन्ने तपाईंहरूलाई थाहै छ,’ अध्यक्षले भने, ‘हामी जसरी भए पनि सत्तामा जानुपर्छ ।’ उनको स्वर कठोर थियो ।
‘अनि आफैँले राष्ट्रघाती भनेको सरकारमा जाँदा जनताले के भन्लान् ? गाउँघरका जनतासँग कसरी अनुहार देखाउनु ?’ एक मित्रले आँशु झारौँला जस्तो गरी भने ।
‘यति सानो कुरामा नआत्तिनुस्,’ अध्यक्षले हौसला दिए, ‘तपार्इंहरूले भनेको सोह्रै आना ठीक हो । आफैँले राष्ट्रघाती भनेको सरकार र विदेशीको इसारामा चलेका भनिएका प्रधानमन्त्रीसँग सत्ता गठबन्धन गर्नु नैतिक हिसाबले ठीक होइन । तर, परिस्थति यस्तो हुन्छ कि नैतिकतालाई समेत बिर्सनुपर्छ । अहिले हाम्रो पार्टी यस्तै समयबाट गुज्रिरहेको छ । तसर्थ हामी सत्तामा जानुपर्छ । यदि केही भइगयो भने क्षमा पूजा गरौँला । क्षमा पूजाले सबै अनिष्ट टारेर लान्छ ।’
‘क्षमा पूजा भन्नाले ... ?’ एक मित्रले सोधे ।
अध्यक्ष हाँसे । उनीसँगै उनको सानदार जुँगा पनि हाँस्यो । ‘तपाईंहरूलाई थाहा नै छ, २०६२÷६२ को आन्दोलनको एक प्रमुख दोषीको रूपमा मलाई करार गरिएको थियो,’ उनले भने, ‘तर, हामीले भगवान् पशुपतिनाथलाई सम्झिएर हिन्दू राष्ट्रको झण्डा उठायौँ । आन्दोलनको क्रममा हामीबाट जेजति गल्ती भएको भए पनि हिन्दू राष्ट्रको झण्डा बोकेका कारण हामीलाई प्रभु पशुपतिनाथले क्षमा दिनुभयो र हामी यहाँसम्म आइपुग्यौँ । राष्ट्रघाती भनिएको सरकारसँग सत्ता गठबन्धन गर्दा साँच्चै कुनै गल्ती भइ गएछ भने पनि पशुपतिनाथमा गएर क्षमा पूजा गरौँला । तसर्थ तपाईंहरू चिन्ता नगर्नुस्, हामीहरू सत्तामा गएर केही बिगँ्रदैन । राम्रै हुन्छ ।’
दुवै मित्रले अध्यक्षको आत्मविश्वास र अचूक तर्कको प्रतिवाद गर्न सकेनन् । चुपचाप अध्यक्षको अनुहारमा हेरिरहे ।

 

Leave A Comment