भोजनमा मीठो बोली मिसाउने महेश

शनिबार, १५ माघ २०७३, ०१ : १७ शुक्रवार , Kathmandu
भोजनमा मीठो बोली मिसाउने महेश

रेडियो, टीभीमा नेताका भाषण सुन्दा/हेर्दा जनता वाक्क भइसके भन्छन्, नेताका आलोचकहरू । तर, महेश चौधरीका कान भने नेताको भाषण बज्यो कि टाठा हुन्छन् । आफूले चिनेका नेताहरूको भाषण सकभर नछुटाई सुन्छन्, उनी ।
हुन त नेताहरूसँग उनको केही पनि लेनदेन छैन । तर, पनि उनी नेताहरूको गतिविधिमा चासो दिन्छन् । नेताले कहाँ के गर्दैछन् ? उनी चनाखो हुन्छन् । आफूले देखेका, जानेका, बोलेका, आफूलाई चिन्ने नेतामध्ये कति जना मन्त्री भए ? त्यसमा पनि ‘फुल’ मन्त्री वा राज्यमन्त्री ? औँला भाँचेर गन्ने गर्छन्, उनी ।
आनन्द ढुंगाना, गगन थापा, दिलबहादुर घर्ती, हृदयराम थानी, तारानाथ रानाभाट, तारामान गुरुङ, दीपक खड्का, रञ्जित कर्ण, गोविन्द भट्टराईलगायत नेताको नाम उनको सूचीमा अग्रपंक्तिमा हुन्छ । नेपाली कांग्रेसका नेताहरूको सानोतिनो ‘जक्सन’ भन्दा पनि हुन्छ, उनले काम गर्ने काठमाडौँ, मैतीदेवीको रेसुंगा भोजनालयलाई । नेताबाहेक प्रशासक, सुरक्षा अधिकारी, वकिल, व्यापारी उनले पकाएको खानाका पारखी भइसके ।
त्यस्तो के पकाउँछन् उनले ? ‘विशेष केही पनि हुँदैन । टिपिकल नेपाली खाना पकाउँछु,’ कुक महेश भन्छन्, ‘न पढेको छु । न तालिम लिएको छु । न देशविदेश देखेको छु । तर, पकाउँछु । धेरैले स्वाद मानेर खाइदिँदा खुशी लाग्छ ।’ उनले जे सिके त्यही रेसुंगामा सिके । जहाँ उनले भाँडा माझ्ने कामबाट सर्भिस सुरु गरेका थिए, २०५३ सालमा । साहूको विश्वास जिते । अहिले होटलको जिम्मा लगभग उनकै काँधमा छ । उनकी श्रीमती पनि उनलाई भान्छामा सघाउँदासघाउँदै आफैँ कुक बन्ने तरखरमा छिन् । खुशी छन्, उनीहरू । छोरा चार कक्षामा र छोरी एलकेजीमा पढ्ने भइसके, उनीहरूका ।
कक्षा सातमा पढाइ टुंग्याएर कामको खोजीमा कपिलवस्तुको महेन्द्रकोटबाट काठमाडौँ छिरेका महेशले रेसुंगाको भान्छाबाटै राजधानी चियाउँदै जिन्दगीको ३८ औँ वसन्त पार गरे । ‘आमा बितेपछि पढाइ छोड्नुप¥यो,’ त्यो बेला सम्झिए उनले, ‘त्यसपछि राजधानी छिर्न खोज्दा यहाँ (रेसुंगामा) मान्छे खोजेको थाहा पाएर यतै आएँ । यतै रमाएँ, रत्तिएँ । यो सब मैले छोराछोरीकै लागि गरेको छु । ठूलो सपना केही छैन । उनीहरूको उज्ज्वल भविष्यबाहेक केही सोचेकै छैन ।’ उनी नेताहरूसँग चिनजान गराइदिने कांग्रेसका दिवंगत नेता गोपाल पहाडीलाई पनि सम्झन्छन् । ग्राहकसँगकको चिनजान र बोलचालले आफ्नो मनोबल बढाएको उनको अनुभव छ ।
उनी दक्ष सेफ बन्न चाहन्छन् । तालिम केन्द्रबाटै तालिम लिने योजनामा छन् । मीठो खाना मात्र ग्राहकका सामु पस्किँदैनन्, महेशको बोली पनि त्यति नै मीठो छ । उनको मीठो बोलीले धेरैलाई उनीप्रति सकारात्मक बनाउँछ । ‘अतिथिलाई गर्ने आत्मीय व्यवहारले स्वादमा पनि फरक पारिहाल्छ नि,’ उनले सिकेको कुरा यो पनि हो, ‘ग्राहक खुशी पार्न छुट्टै केही आइटम पकाउनैपर्छ भन्ने छैन । सधैँ खाइरहेकै आइटमलाई फरक तरिकाले पस्के मात्र पनि पुग्छ ।’ उनले पकाउने खसीको परिकार धेरैको रोजाइमा पर्छ । अचेल स्वास्थ्यमा पनि ख्याल गर्नेहरू बढेको उनको बुझाइ छ । जसले गर्दा बोइल गरिएका आइटम धेरैको डिमान्डमा पर्छन् । खसीको मासुसहितको नेपाली खाना पनि धेरैको रोजाइमा पर्ने उनी बताउँछन् ।
कुक पेशामा रमाएका छन्, उनी । उनलाई लागेको यो पेशाको एउटै समस्या हो, लामो समय उठ्नुपर्ने । ‘जीवनमा सुखैसुख पाउने त को होला र ?’ उनी भन्छन्, ‘केही सुख र केही दुःखका कुरा झेल्दैझेल्दै चित्त बुझाएर खुशी हुने न हो ।’
 

Leave A Comment