स्वस्थ र चम्किलो छालाका लागि

शनिबार, १५ माघ २०७३, ०१ : ०२ शुक्रवार , Kathmandu
स्वस्थ र चम्किलो छालाका लागि

मञ्जु कार्की, ब्युटिसियन
सुन्दर हुने चाहना सबैलाई हुन्छ । अनुहारको छाला सफा, कोमल, चिल्लोे, कान्तिपूर्ण होस् भन्ने धेरैले चाहेका हुन्छन् । युवा उमेरमा यस्तो चाहना अझ बढी हुन्छ । सही सौन्र्दय प्रसाधनको प्रयोगबाट छालाको स्याहार गर्न सकिन्छ ।
बाल्यकालमा हाम्रो छाला कोमल, नरम, सफा र चम्किलो हुन्छ । किशोरावस्थामा प्रवेश गरेपछि छालामा परिवर्तन आउन थाल्छ । यस अवस्थामा हुने मानसिक र शारीरिक परिवर्तनसँगै हार्मोनमा हुने गडबडीका साथै छालामुनि भएका तेलीय ग्रन्थीको अत्यधिक क्रियाशीलताले डन्डीफोर, खिल, ब्ल्याकहेड्स, ह्वाइटहेड्स, दाग, धब्बा, एकै ठाउँमा धेरै वटा डन्डीफोर निस्किनेजस्ता समस्या आउने गर्छन् । रोम छिद्र ठूलो हुने, छाला बाक्लो र फोहोर देखिनेजस्ता समस्या आदिले अनुहारको सुन्दरता र कोमलतालाई नै नष्ट पारिदिन्छन् । नाकको वरिपरि, टुप्पोमा कालो जम्ने समस्या देखिन्छ ।
छालाले शरीरलाई कीटाणु, सूर्यको किरण, हावा, घाम, तातो, चिसो र बाहिरी वातावरणीय कुप्रभावबाट सुरक्षित राख्छ । तर, किशोरावस्थामा हुने शारीरिक परिवर्तनका कारण छालामा विभिन्न समस्या देखिन थाल्छन् । बाह्य कारणले यस्ता समस्या बढ्दै जान्छन् । तसर्थ, किशोरावस्थामा सही विधि र सही सौन्दर्य प्रसाधनको प्रयोग गरी छालाको सौन्दर्यको रक्षा गर्नुपर्छ । स्वस्थ छालाका लागि यी उपाय अपनाउन सकिन्छः
मुख धुने
हरेक मानिसले दिनमा दुईचार पटक अनुहार धुनुपर्छ । विशेष गरी तेलीय छाला भएकाहरूले बेलुका फेसवासले अनुहार धुनुपर्छ ।
स्क्रब
हप्तामा दुईतीन  पटक स्क्रबको प्रयोग गरी मृत छाला र खिल हटाउनुपर्छ ।
टोनर
टोनरले छालामा भएको चिल्लोपन हटाउनुका साथै रोम छिद्रलाई टाइट बनाउन मद्दत गर्छ ।  
तातो बाफ
हप्तामा एक पटक तीनदेखि पाँच मिनेटसम्म बाफ लिनाले रक्त सञ्चार वृद्धि भई रोम छिद्र खुला हुन्छ र छाला स्वस्थ बन्छ ।
फेस मास्क
मड प्याक वा हर्बल मास्कले  छालालाई सफा राख्नुका साथै छालालाई पोषण पनि दिने गर्छ ।  
सनस्क्रिन
सूर्यको अल्ट्राभ्वाइलेट किरणबाट छालालाई जोगाउन सनस्क्रिन लोसन लगाउनुपर्छ ।
म्वइस्चराइजर
सुक्खा छाला भएकाहरूले म्वइस्चराइजरको प्रयोग गर्नुपर्छ ।
व्यायाम
स्वस्थ र सुन्दर छालाका लागि व्यायाम पनि आवश्यक छ ।
प्रशस्त मात्रामा पानी पिउने, फलफूल, सलादको बढी सेवन गर्ने स्वस्थ बानीले छालासम्बन्धी विभिन्न समस्याबाट छुटकारा दिलाउँछ । सौन्दर्य प्रसाधन वाटरबेस र चिल्लोरहित प्रयोग गर्नुपर्छ । त्यस्तै, खिल, डन्डीफोर कोट्याउने, निचोर्ने गर्नु हुँदैन ।

Leave A Comment