सडकमाथि नै अत्याचार

बिहिबार, १३ माघ २०७३, १० : ५६ शुक्रवार , Kathmandu
सडकमाथि नै अत्याचार

काठमाडौँ उपत्यकामा पाँच वर्षदेखि सडक विस्तार तथा खानेपानी पाइप बिछ्याउने काम भइरहेको छ । विकास निर्माणमा हुने गरेको ढिलाइका कारण राजधानीवासी धुलो र हिलोमा कष्टकर जीवन बिताउन बाध्य छन् । भौतिक पूर्वाधार निर्माणमा खटिने सरकारी निकायका बीच समन्वय नहुँदा राजधानीका सडक वर्षौंदेखि धुलाम्मे छन् । कहिले खानेपानी आयोजनाले सडक खन्ने त कहिले दूरसञ्चार कम्पनीले खन्ने गरेका सडक वर्षौंसम्म कालोपत्रे नहुँदा राजधानीका अधिकांश स्थानका सडकको बेहाल छ । विकास निर्माणमा सरकारी निकायबीच समन्वय भएर काम हुन सकेको भए राजधानीका सडकको यो हालत हुने थिएन । सडक विभागले कालोपत्रे गरेको सडक केही दिनमा खानेपानी आयोजनाले खोतल्ने, फेरि टाल्ने अनि दूरसञ्चार कम्पनीले टालो उप्काउने क्रम नरोकिएसम्म राजधानीका सडक धुलो र हिलोमुक्त हुन सम्भव छैन । सडकसँग जोडिने विकास निर्माणमा सम्बन्धित निकायका बीच सहमति भएर काम हुनुपर्छ । सडक विभाग, खानेपानी आयोजना, दूरसञ्चार कम्पनी र विद्युत प्राधिकरण एकआपसमा मिलेर भौतिक पूर्वाधारमा खटिने हो भने कम खर्चमा स्तरीय काम हुन सक्छ । तर, यी निकायलाई समन्वय गरेर काम गराउने सरकारको स्पष्ट नीति नभएकाले विकास निर्माणको काम हुँदा पनि जनताले आक्रोश व्यक्त गर्नुपर्ने अवस्था छ । कामको जिम्मा लिएका ठेकेदार कम्पनीले शर्तअनुसार तोकिएको समयमा काम नगर्ने र कतिपय ठेकेदार कम्पनी काम नै सम्पन्न नगरी भाग्ने गरेका कारण पनि काठमाडौँका सडक बिजोग हालतमा छन् । आयोजना प्रमुखहरू ठेकेदार कम्पनीले शर्तअनुसार काम नगरेको स्वीकार त गर्छन् तर काममा भइरहेको बेथिति अन्त्यका लागि गम्भीर हुने गरेका छैनन् ।  
धुलाम्मे सडक, थोत्रा सवारी साधन, उपत्यकाभित्र रहेका कलकारखानाले उत्सर्जन गर्ने धुँवा आदिका कारण यहाँको वायु प्रदूषण डरलाग्दो भएको छ । स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययनमा वर्षमा २ सय ७ दिन (५७.७ प्रतिशत ) प्रदूषणको मात्रा राष्ट्रिय औसतभन्दा बढी (हानिकारक अवस्थामा) रहने गरेको देखाएको छ । उपत्यकाको हावामा राष्ट्रिय मापदण्ड पीएम २.५ का लागि ४० माइक्रोमिटर प्रतिघनमिटरभन्दा कम हुनुपर्छ तर चिसो मौसममा अधिकतम १ सय ९२ माइक्रोमिटर प्रतिघनमिटरसम्म पीएम २.५ को मात्रा अनुसन्धानका क्रममा भेटिएको थियो ।

वायु प्रदूषणको मुख्य कारकतŒवमध्ये २.५ माइक्रोमिटरभन्दा कम आकारका धुलाका कण, कार्बन मोनोअक्साइड र नाइट्रोेजन अक्साइड स्वास्थ्यका लागि प्रमुख हानिकारक छन् । यस्ता कण श्वासप्रश्वासमार्फत शरीरभित्र पस्ने हुनाले बालबालिकामा श्वासनलीमा संक्रमण हुन्छ भने प्रौढमा श्वासप्रश्वासका दीर्घकालीन समस्या निम्तने खतरा हुन्छ । अध्ययनले वायु प्रदूषणको मात्रा राष्ट्रिय औसतमा १० प्रतिशतले बढ्दा श्वासप्रश्वासजन्य कारण अस्पताल नै भर्ना हुनुपर्ने अवस्था पनि ३ देखि ५ प्रतिशतले बढ्ने गरेको देखाएको छ । परिषद्ले उपत्यकामा सडक विस्तारसँगै धुलो बढेपछि एक वर्षसम्म हावामा प्रदूषण मात्रासँगै उपत्यकाका प्रमुख १३ वटा अस्पतालमा भर्ना हुने बिरामीबारे संयुक्त रूपमा अध्ययन गरेको थियो ।
अनुसन्धान केन्द्रका अनुसार काठमाडौँको पुतलीसडक, ललितपुरको महालक्ष्मी स्थान र भक्तपुरको भीमसेनस्थान जगातिमा प्रदूषण मापन गर्ने स्टेसन राखिएका थिए । एक वर्षको सोही अवधिमा बिरामी र मृत्युसम्बन्धी तथ्यांक संकलन गरिएको थियो, जसमा उपत्यकाका वीर, कान्ति बाल, त्रिवि शिक्षण, बी एन्ड बी, काठमाडौँ मेडिकल कलेज, काठमाडौँ मोडल, इशान बाल अस्पताल, भक्तपुर अस्पताल, ओम, नेपाल मेडिकल कलेज, सिभिस, सिद्धि मेमोरियल अस्पतालमा आएका बिरामीको तथ्यांक विश्लेषण गरिएको थियो । अनुसन्धानका क्रममा भर्ना भएकामध्ये ४० प्रतिशतमा दीर्घ श्वासप्रश्वास समस्या र करिब ३० प्रतिशतमा निमोनिया देखिएको थियो ।
एउटाले बनाउने, अर्काेले भत्काउने, एउटाले खन्ने, अर्काेले पुर्ने, एउटाले उप्काउने, अर्काेले टाल्ने गरेर सडकमाथि नै अत्याचार हुने गरेको छ । सडकमाथि भइरहेको यो अत्याचारले परिणामतः पीडित त सर्वसाधारण नै हुने हुन् ।
राजधानीवासीका स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको वायु प्रदूषणको मात्रा घटाउन सरकारले यहाँ भइरहेका सडक विस्तार तथा सडकमा खानेपानीको पाइप बिछ्याउने कामलाई छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्छ । मापदण्ड विपरीतका सवारी साधन सडकमा गुड्न प्रतिबन्ध लगाउनुपर्छ । महँगो सडक कर असुलेर राजधानी जस्तो ठाउँमा जहिले पनि धुलेसडकमै यात्रा गर्नुपर्ने बाध्यताको अन्त्यका लागि सरकारले जिम्मेवारीबोधका साथ काम गर्नुपर्छ ।

 

Leave A Comment