५० वर्षमा पनि व्यावसायिक फुटबल

बुधबार, १२ माघ २०७३, ०१ : ३१ शुक्रवार , Kathmandu
५० वर्षमा पनि व्यावसायिक फुटबल

जापानका स्ट्राइकर काजुयोशी मिउराले ५० वर्षको उमेरमा पनि व्यावसायिक फुटबल खेल्ने भएका छन् । स्ट्राइकर काजुयोशीले बी डिभिजनको क्लब योकोहामासँग नयाँ सम्झौता गरेका हुन् । उनले अन्तर्राष्ट्रिय फुटबलबाट १७ वर्षअघि नै सन्न्यास लिएका थिए । उनले त्यसपछि पनि निरन्तर क्लब फुटबल खेल्दै आएका छन् । काजुयोशी जापानको घरेलु लिगमा गोल गर्ने सबैभन्दा बढी उमेरका खेलाडी पनि हुन् । उनले गएको सिजन ४९ वर्षको उमेरमा गोल गर्दै यो कीर्तिमान बनाएका थिए । काजुयोशी आउँदो फेब्रुअरी २६ मा ५० वर्ष लाग्नेछन् । त्यही बेला जापानको घरेलु लिगको नयाँ सिजन सुरु हुनेछ । उनले युरोपको क्लबबाट पनि खेलेका छन् । उनले जापानको राष्ट्रिय टिमबाट ८९ खेलमा ५५ गोल गरेका छन् । काजुयोशीले सन् १९८६ मा जापानको क्लब सान्तोसबाट व्यावसायिक खेल जीवन सुरु गरेका हुन् । त्यसपछि सन् १९९० को दशकमा उनी गिनोए र डाइनामो जाग्रेबबाट खेले । सन् २००५ मा ३८ वर्षको उमेरमा उनी योकोहामा आएका हुन् । उनले अहिलेसम्म ३२ सिजन व्यावसायिक फुटबल खेलिसकेका छन् । उनले योकोहामासँग एक वर्षको नयाँ सम्झौता गरेका हुन् ।

Leave A Comment