कालो सूचीमा रोजगारदाता थपिँदै

बुधबार, १२ माघ २०७३, १० : ३८ रुद्र खड्का , Kathmandu
कालो सूचीमा रोजगारदाता थपिँदै

कामका लागि साउदी अरेबिया पुगेका श्रमिक समस्यामा पर्ने क्रम नरोकिएपछि श्रम तथा रोजगार मन्त्रालयले त्यहाँका २६ कम्पनीलाई कालो सूचीमा राखेको छ । छ महिनायता साउदीको अर्थतन्त्रमा संकट सिर्जना भएको भन्दै रोजगारदाताले आप्रवासी कामदारलाई शोषण गर्दा त्यसको असर नेपालसम्म आइपुगेको थियो । समयमा र सम्झौताअनुसार पारिश्रमिक पाउन नसकेपछि त्यहाँ कार्यरत नेपालीले उद्धारको व्यवस्था मिलाइदिन आग्रह गरिरहेको बेला मन्त्रालयले २६ रोजगारदातालाई कालो सूचीमा राख्ने निर्णय गरेको हो ।
साउदीस्थित गैरआवासीय नेपाली संघ (एनआरएन) ले त्यहाँ कार्यरतमध्ये कम्तीमा १० प्रतिशत कामदार समस्यामा परेको भन्दै उद्धारको व्यवस्था मिलाउन श्रम तथा रोजगार, परराष्ट्र मन्त्रालयलगायत निकायमा यसअघि नै पत्राचार गरेको थियो ।
ठूलो संख्याका नेपाली समस्यामा परेको खबरपछि प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बन्धित निकायका पदाधिकारीलाई समस्यामा परेका कामदारलाई उद्धारमा सहयोग गर्न पनि निर्देशन दिइसकेका छन् । अहिलेसम्म साउदीमा आर्थिक संकटमा परेका कामदारको उद्धार हुन नसके पनि मन्त्रालयले समस्याग्रस्त रोजगारदातालाई कालो सूचीमा राख्ने निर्णय भने गरेको हो । श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणि भूर्तेलले प्रारम्भिक रूपमा साउदीमा नेपाली कामदार शोषणमा परेका र आर्थिक रूपमा संकटग्रस्त २६ रोजगारदातालाई कालो सूचीमा राखिएको बताए ।
अब कुनै पनि म्यानपावरले कालो सूचीमा परेका कम्पनीमा कामदार पठाउन पाउने छैनन् । मन्त्रालयले कुन रोजगारदाता कालो सूचीमा परे भन्नेबारे बुझेर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ । साउदीका रोजगारदाता कम्पनीलाई पहिलो पटक नेपालले कालो सूचीमा राखेको हो । यसअघि नेपाल सरकारले मलेसियाका ४२ रोजगारदाता कम्पनीलाई पनि कालो सूचीमा राखेको थियो । मन्त्रालयले पछिल्लो समयमा म्यानपावर व्यवसायीले जस्तो पायो त्यस्तै कम्पनीको माग ल्याउने र ती कम्पनीमा कामदार पठाउने धन्दा फस्टाउँदा ठूलो संख्याका युवायुवती पीडित भएको जनाएको छ । धेरैजसो आर्थिक रूपले कमजोर कम्पनीमा गएका कामदार समस्यामा पर्ने गरेका छन् ।
मलेसियाका कम्पनीलाई केही समयअघि नै कालो सूचीमा राखे पनि साउदीका कम्पनीलाई भने श्रम तथा रोजगार मन्त्रालयले हालै सोही सूचीमा दर्ज गरेको हो । मन्त्रालयले अहिलेसम्म ती दुई देशका रोजगारदाता कम्पनीलाई मात्र कालो सूचीमा राखेको हो । अन्य देशका रोजगारदाता कम्पनीले चर्को बदमासी ती दुई देशको तुलनामा कमै रहेको मन्त्रालयका अधिकारी बताउँछन् । समस्या थपिँदै गए अन्य देशका रोजगारदातालाई पनि कालो सूचीमा राख्ने निर्णय आउने सरकारी अधिकारीहरूको भनाइ छ ।
रोजगारदाता कम्पनीले आप्रवासी कामदारलाई शोषण गरेको गुनासो छ महिनायता निरन्तर बढेपछि मन्त्रालय उक्त कदम चाल्न बाध्य भएको बताइएको  छ । साउदीका रोजगारदाताले कामदारलाई समयमा र सम्झौताअनुसार पारिश्रमिक नदिएपछि त्यहाँ कार्यरत नेपालीले उद्धारको व्यवस्था मिलाइदिन आग्रह गरिरहेको बेला मन्त्रालयले २६ रोजगारदातालाई कालो सूचीमा राख्ने निर्णय गरेको हो ।
साउदीस्थित एनआरएनएले त्यहाँ कार्यरतमध्ये कम्तीमा १० प्रतिशत कामदार समस्यामा परेको भन्दै उद्धारको व्यवस्था मिलाउन श्रम तथा रोजगार, परराष्ट्र मन्त्रालयलगायत निकायमा यसअघि नै पत्राचार गरेको थियो । ठूलो संख्याका नेपाली समस्यामा परेको खबरपछि प्रधानमन्त्री दाहालले सम्बन्धित निकायका पदाधिकारीलाई समस्यामा परेका कामदारलाई उद्धारमा सहयोग गर्न निर्देशन दिइसकेका छन् ।
अहिलेसम्म साउदीमा आर्थिक संकटमा परेका कामदारको उद्धार हुन नसके पनि मन्त्रालयले समस्याग्रस्त रोजगारदातालाई कालो सूचीमा राख्ने निर्णय गरेको जनाएको छ । वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर मलेसियामा करिब १० लाख र साउदीमा छ लाख नेपाली गएका छन् । जसमध्ये मलेसियामा पाँच लाखजति र साउदीमा चार लाखजति अझै काममा रहिरहेको हुन सक्ने सरकारी अधिकारीको अनुमान छ । विभागले अहिलेसम्म रोजगारीका लागि विदेश जाने श्रमिकको विवरण राख्ने गरे पनि कति फर्किए भन्नेबारे विवरण नराख्दा वैदेशिक रोजगारीमा रहेका कामदारको संख्या यकिन हुन नसकेको बताइएको छ । विभागकी निर्देशक रमा भट्टराई अब वैदेशिक रोजगारीमा जाने कामदारको मात्र नभई फर्कने कामदारको विवरणसमेत राख्न आवश्यक रहेको बताउँछिन् ।
विदेशमा कति कामदार सम्झौता अवधिपछि फर्कन्छन् भन्नेबारे रेकर्ड राख्ने व्यवस्था नहुँदा कामदार जोखिममा पर्दा या उद्धार गर्नुपर्ने आवश्यकता रहेको बेला सधैँ समस्या हुने गरेको सरकारी कर्मचारीको गुनासो छ । मन्त्रालयका एक अधिकारीका अनुसार साउदीमा कार्यरत श्रमिकले उद्धार गर्न आग्रह गरे पनि अहिलेसम्म उद्धार गर्न नसक्नुको मुख्य कारण आवश्यक सूचना नहुनु नै हो । ‘प्रधानमन्त्रीले समेत साउदीमा अलपत्र कामदारलाई उद्धार गर्न निर्देशन दिनु भएको छ,’ ती अधिकारीले भने, ‘उद्धार गर्ने काम त मुखले भनेजस्तो सहज छैन । त्यसका लागि को समस्यामा परे भन्ने संख्या चाहियो । अहिलेसम्म त्यो संख्या पाउन सकेका छैनौँ ।’ साउदीमा कार्यरत श्रमिकको संख्या पत्ता लगाउन त्यहाँस्थित दूतावासका कर्मचारीले पनि नसक्ने बताइएको छ । त्यहाँ कार्यरत कर्मचारीको संख्या कामदारको तुलनामा निकै कम छन् ।
साउदी र मलेसियाका रोजगारदाता कम्पनीले श्रमिकलाई शोषण गर्न थालेपछि पछिल्लो समयमा ती मुलुकको तुलना कतार जाने कामदारको संख्या बढेको छ । गत वर्ष नेपाली कामदारको पहिलो र दोस्रो गन्तव्य क्रमशः साउदी र मलेसिया थिए चालू आर्थिक वर्षको हालसम्म  कतार पहिलो गन्तव्य हुन  पुगेको छ ।

चालू आर्थिक वर्ष २०७३/७४ मा साउनदेखि कात्तिकसम्म रोजगारीमा गएका प्रमुख गन्तव्य
देश    संख्या
कतार    ३७,३५८
साउदी अरेबिया    ३१,२९७
मलेसिया    २८,३३८
संयुक्त अरब इमिरेट्स    १५,९७९
कुवेत     ३,०२९
    
स्रोतः वैदेशिक रोजगार विभाग

‘संकटग्रस्त कम्पनी खोजिरहेका छौँ’
रमा भट्टराई
निर्देशक, वैदेशिक रोजगार विभाग
कामका लागि साउदी पुगेका थुप्रै कामदारले समस्यामा परेको गुनासो गरेपछि वैदेशिक रोजगार विभागलगायत अन्य निकाय यतिखेर पीडितको संख्या र आर्थिक रूपले समस्याग्रस्त रोजगारदाता कम्पनी खोजी रहेका छौँ । केही समयअघि साउदीका २६ वटा कम्पनीलाई कालो सूचीमा राखिसकेका छौँ । चाँडै अरू संकटग्रस्त कम्पनीलाई पनि कालो सूचीमा राखेर सार्वजनिक गर्नेछौँ । कालो सूचीमा परेका कुनै पनि रोजगारदाता कम्पनीमा पठाएर युवायुवतीलाई कसैले ठगी नगरोस् भनेर उक्त कदम चालिएको हो । त्यसैले वैदेशिक रोजगारीमा जानुअघि हरेकले कालो सूचीमा परेका कम्पनीबारे राम्रोसँग बुझ्न जरूरी छ । विदेशमा गएर पछताउनुभन्दा राम्रोसँग बुझेर विदेश जानु राम्रो हुन्छ । आफू कुन कामका लागि विदेश जाने हो प्रष्ट भएर जानुपर्छ । म्यानपावर या अरू कसैले भन्दैमा विदेश जान मरिहत्ते गर्नु सधैँ जोखिममा रहनु हो । वैदेशिक रोजगारीमा जोेखिम कम गर्ने प्रमुख उपाय सम्बन्धित व्यक्तिसँग हुने पर्याप्त सूचना नै हो ।

Leave A Comment