बढ्यो डलर तस्करी

सोमबार, १० माघ २०७३, ०८ : १५ शुक्रवार , Kathmandu
बढ्यो डलर तस्करी

–पी कार्की

सुन तस्करी, भन्सार छली, जडीबुटीको अवैध कारोबार, सम्पत्ति शुद्धीकरणलगायत संगठित तथा आर्थिक अपराधको भुक्तानी गर्न नेपालको हवाई र स्थल मार्ग हुँदै डलर विदेशिने क्रम बढेको छ ।
माघ १ गते राति पर्यटक बोक्ने गाडीमा अवैध विदेशी मुद्रा लिएर हिँडिरहेका तीन जना चिनियाँ नागरिक र एक जना नेपाली गाडी चालक पक्राउ परेपछि पछिल्लो पटक डलर तस्करीलाई प्रहरीले निगरानी बढायो । मध्यरातमा डलर बोकेर हिँडेका चिनियाँहरूलाई महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाले ४ करोड ७२ लाख रुपैयाँ बराबरको अवैध विदेशी मुद्रासहित  पक्राउ ग¥यो । लामो समयपछि चिनियाँ नागरिकहरू अवैध विदेशी मुद्रासहित पक्राउ परेका हुन । प्रहरीले पक्राउ परेका विदेशी नागरिकको साथबाट २ लाख ६० हजार ६ सय अमेरिकी डलर, १ लाख १८ हजार ६ सय १० युरो, केही स्विस फ्य्रांक बरामद गरेको छ । सो रकम कुन प्रयोजनका लागि कसले चीन पठाएको हो ? खुल्न सकेको छैन । खास गरी नेपाली व्यापारीहरूले चीनबाट सामान ल्याउने क्रममा चिनियाँ नागरिक आफैँ काठमाडौँ आएर डलर साटेर चीन लैजाने गरेका छन् ।
डलरको अभाव भइरहेको बेला आपराधिक गिरोहले अवैध आर्थिक कारोबारको भुक्तानी गर्न नेपालबाट डलर तस्करी तीव्र बनाएका छन् । विमानस्थल प्रहरीले ड्युटी टर्मिनल कक्षमा क्लिनरको काम गर्दै आएका एक कर्मचारीलाई आठ हजार डलरसहित पक्राउ गरेपछि प्रहरीले यस विषयमा निकै सूक्ष्म अनुसन्धान अघि बढाएको थियो । महानगरीय प्रहरी अपराध महाशाखाले बरामद गरेको सो डलर कुन प्रयोजनका लागि हो भन्ने यकिन हुन सकेको छैन ।
गत असार ७ गते टर्मिनलमा क्लिनरको काम गर्दै आएका सिन्धुपाल्चोक स्थायी घर भएका काठमाडौँ, सिनामंगल बस्ने भरत सञ्जेललाई प्रहरीले आठ हजार डलरसहित पक्राउ गरेको थियो । अन्तर्राष्ट्रिय उडानतर्फको ह्यान्ड ब्यागेज एरियाको पास होल्डर गेटमा सञ्जेलले शंकास्पद व्यवहार देखाएपछि प्रहरीले उनको खल्तीबाट सय, ५० र २० दरका आठ हजार अमेरिकी डलर फेला पारेको थियो । उनले सुरुमा प्रहरीलाई ट्राभल एजेन्सीले राख्न दिएको बताए पनि पछि विभिन्न म्यानपावर एजेन्सीमार्फत भिजिट भिसामा कुवेत, कतारलगायत देश जान हिँडेकाबाट सो डलर संकलन गरेका थिए । सञ्जेल त तस्करीका सामान्य पात्र मात्रै हुन् । त्यही क्रममा प्रहरीले गरेको अर्को एक अनुसन्धानमा सुन तस्करी, भन्सार छली, जडीबुटीको अवैध कारोबार, सम्पत्ति शुद्धीकरणलगायत संगठित तथा आर्थिक अपराधको भुक्तानी गर्न नेपालको हवाई र स्थल मार्ग हुँदै डलर विदेशिन थालेको जनाएको छ ।
प्रहरी तथ्यांकअनुसार ०६६ यता तस्करीबाट भित्रिएको करिब ३ सय ५० किलो सुनसहित थुप्रै चिनियाँ र भारतीय नागरिक पक्राउ परेका छन् । सुन नेपाल भिœयाएबापत तस्करहरूले डलरमै भुक्तानी लिने गरेको प्रहरीको आशंका छ । पछिल्ला चार वर्षको तथ्यांकअनुसार प्रहरीले राजधानी र आसपास क्षेत्रबाट मात्रै भारत र चीन लैजान लागिएको २० लाख डलर बरामद गरिसकेको छ ।
गत जेठमा आफूलाई रुद्राक्ष व्यापारी बताउने चिनियाँ महिला यानहुई होङ ९८ हजार ५ सय डलर, २० हजार ५ सय चिनियाँ युआन र १३ हजार रुपैयाँसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परिन् । प्रहरीले दिएको जानकारीअनुसार १४ अप्रिलमा आएर सोही दिन फर्किएकी उनी पछिल्लो पटक २२ मेमा नेपाल आएकी थिइन् । भन्सार छलीमा संलग्न व्यापारीबाट भुक्तान गरिएको अवैध डलरसहित उनी चीन जान लागेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारी दाबी गर्छन् ।
चैत ५ गते भारतीय नागरिक मनोहरलाल कृपालदास असुदानी हङकङ जान लागेको अवस्थामा विमानस्थलबाटै १ लाख ७९ हजार ८ सय ५० डलर, ५ लाख ५८ हजार जापानी येन, करिब दुई करोड रुपैयाँसहित पक्राउ परेका थिए । उनले तस्करीको सुन बेचेर कमाएको बयान दिएका थिए । असुदानी पक्राउ परेको एक सातापछि चैत १२ गते प्रहरीले चीन जान लागेकी यिङ लोउलाई १ लाख १३ हजार २ सय ५० डलरसहित पक्राउ गरेको थियो । आफूलाई कपडा व्यापारी बताउने उनी तस्करीको सुन बिक्रीबाट सो रकम लिएर जान लागेको प्रहरीको भनाइ थियो । तस्करीकै लागि उनी पटक–पटक नेपाल आउने गरेकी थिइन् ।
त्रिभुवन विमानस्थलबाट यसअघि पनि पटक–पटक विदेशी मुद्रा तस्करीमा संलग्न पक्राउ पर्दै आएका छन् । ०६९ कात्तिक १० गते जुम्लाका दावा टासी लामा १ लाख ९५ हजार युरोसहित समातिएका थिए । भारत जान लागेका लामालाई प्रहरीले प्रस्थान कक्षबाट पक्राउ गरेको थियो । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ठाकुर ज्ञवाली पनि अस्वाभाविक रूपमा डलर तस्करी बढेको बताउँछन् । ‘अवैध आर्थिक कारोबार भुक्तानीका लागि तस्कहरूले डलर प्रयोग गरेको देखिन्छ,’ उनले भने, ‘यसलाई नियन्त्रण गर्न प्रहरी हरसम्भव प्रयास गरिरहेको छ ।’  
चार वर्षयता प्रहरीले सुन तस्करी, सीमा अपराध, वन्यजन्तु तथा जडीबुटीको अवैध कारोबार लगायतबाट आर्जित करोडौँ रुपैयाँ बराबरका विदेशी मुद्रासहित २५ भन्दा बढी चिनियाँ नागरिकलाई पक्राउ गरिसकेको छ । विदेशी विनिमय व्यवस्थित गर्न बनेको ऐन २०१९ अनुसार एक नेपाली विदेश जाँदा २५ सय डलरसम्म बोक्न पाउँछन् । त्यस्तै, विदेशी नागरिक नेपाल आउँदा डलरको स्रोत खुलेको प्रमाण बुझाउनु अनिवार्य हुन्छ । ‘स्रोत नखुलेको डलरसहित पक्राउ परेका अभियुक्त अन्तरदेशीय अपराधीका भरिया हुन् । उनीहरू जुनसुकै बेला नेपाल प्रवेश गर्न सक्छन् वा नेपालीहरू प्रयोग हुन सक्छन्,’ विमानस्थलमा सुरक्षा गार्डमा कार्यरत एक प्रहरीले भने ।
स्रोत नखुलेको सम्पत्ति अवैध रूपमा विदेश लैजान खोज्नु पक्कै पनि अपराधबाट आर्जित सम्पत्ति नै हो । पछिल्ला वर्ष डलर तस्करीमा चिनियाँ नागरिकको संलग्नता बढेको प्रहरी स्विकार्छ । यसको प्रमुख कारण सुन तस्करी र भन्सार छलीका सामानको भुक्तानी नै भएको उनीहरू बताउँछन् । चीनबाट तातोपानी नाका हुँदै अवैध सुन र भन्सार छलीका सामान भिœयाउन नेपाल–भारत र चीनमा सक्रिय आपराधिक गिरोहले आफ्ना भरिया प्रयोग गरेका थिए । त्यसबाहेक तस्करहरूसँग कर्मचारीको पनि मिलेमतो हुने गरेको सार्वजनिक हुँदै आएको छ । प्रहरीका अनुसार चिनियाँ बैक पिपुल्स बैक अफ चाइनाले नगद प्रवाहमा डलर निरुत्साहित गर्दा नेपालबाट महँगो दरमा लैजाँदा पनि त्यहाँको बजारमा फाइदा हुने भएकाले बढी तस्करी हुने गरेको हो । नेपालबाट प्रायः डलर चीनतर्फ नै तस्करी हुँदै आएको छ ।  
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक डीआईजी नवराज सिलवाल पनि डलर तस्करीको मुख्य कारण अवैध आर्थिक कारोबारको भुक्तानी भएको बताउँछन् । ‘अपराधबाट आर्जन गरेको सम्पत्ति विभिन्न माध्यमबाट विदेश पठाउन तस्करहरूले भरिया र सहयोगीमार्फत यसरी नै गैरबैंकिङ च्यानलबाट कारोबार गर्छन्,’ डीआईजी सिलवाल भन्छन्, ‘यो देशको राजस्वमा ठूलो घाटा हो । यसबारे सीआईबीले सूक्ष्म अनुसन्धान गरिरहेको छ ।’ अवैध कारोबारमा हुन्डी र भरिया प्रयोग त्यसैको निरन्तरता भएको उनको भनाइ छ ।
डलर तस्करीमै संलग्न १४ चिनियाँ नागरिक करिब सात करोड रुपैयाँ बराबरको विदेशी मुद्रासहित पक्राउ परेका थिए । ०६७ भदौ २ मा दुई चिनियाँ र एक नेपाली नागरिक २ लाख ७० र असोज १९ गते चिनियाँ महिला ४० हजार डलरसहित तातोपानीबाट पक्राउ परेका थिए । ०६८ पुस २३ गते भक्तपुरको जगाती चेकपोस्टमा प्रहरीले तीनटा गाडीमा डलर बोकेर खासा जाँदै गरेका १० चिनियाँ नागरिकको साथबाट ९७ हजार २ सय डलर बरामद गरेको थियो ।
अवैध सुन कारोबार, डलर तस्करी, जडीबुटी तथा वन्यजन्तु तस्करी, सम्पत्ति शुद्धीकरणलगायत संगठित अपराधमा चिनियाँ नागरिक पक्राउ परेको विषयमा नेपाल प्रहरीले चीन सरकारलाई जानकारी दिँदै आएको छ ।
एसएसपीको जागिर गयो
२१ असोज २०६९ मा विमानस्थलबाटै १ करोड ५४ लाख रुपैयाँ बराबरको डलर र युरोसहित भारतीय नागरिक विनोदकुमार सोनी पक्राउ परेका थिए । सो प्रकरणमा गृह मन्त्रालयले प्रहरीका एसएसपी रविराज श्रेष्ठलाई सेवाबाट बर्खास्त गरेको थियो ।
२१ असोज २०६९ मा एयर दुबई विमानबाट दुबई पठाउन लागेको अवस्थामा बरामद १ करोड ५४ लाख मूल्य बराबरको विदेशी मुद्रा तस्करी काण्डमा श्रेष्ठ प्रत्यक्ष संलग्न रहेको अभियोग लागेको थियो । एक करोड ५४ लाख विदेशी मुद्रा दुबईतर्फ पठाउने कार्यमा श्रेष्ठको प्रत्यक्ष संलग्नता रहेको ठहर गरी आवश्यक कारबाहीका लागि प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयलाई सिफारिस गरेको थियो । श्रेष्ठलाई पेन्सन सुविधासहित बर्खास्त गरिएको छ । श्रेष्ठले सो परिमाणको विदेशी मुद्रा आफ्ना सहयोगी प्रहरी हवल्दार सोभित कार्कीको सहयोगमा विमानस्थलसम्म पु¥याएर दुवईतर्फ पठाउने कार्य गरेको अभियोग प्रमाणित भएको थियो । हवल्दार कार्कीमार्फत सो परिमाणको विदेशी मुद्रा विमानभित्र पु¥याइसकिएको भए तापनि विमानमा बम राखिएको हल्ला फिँजिएपछि विमानभित्र जाँच गर्ने क्रममा सो रकम बरामद भएको थियो । सो रकम कसरी त्यहाँ पुग्यो भन्ने बारेमा सीसीटीभीको सहयोगमा गरिएको अनुसन्धानमा उनका सहयोगीले सो रकम विमानस्थल पार गराउने काम गरेको पाइएको थियो ।
सो घटनापछि फरार रहेका हवल्दार कार्कीलाई पक्राउ गरेपछि घटनाको वास्तविकता खुलेको थियो । उनले एसएसपी श्रेष्ठकै निर्देशनमा उनकै गाडी प्रयोग गरेर विमानस्थल पु¥याएको स्विकारेका थिए । हवल्दार कार्की माग गरिएको धरौटी रकम बुझाउन नसकेका कारण जेलमा छन् ।

आर्थिक वर्ष २०७०/७१ मा विदेशी मुद्रा तस्करीमा ३३ जना व्यक्ति पक्राउ परेका थिए । उनीहरूबाट नक्कली भारु ६७ लाख, ४ लाख १ हजार अमेरिकी डलर, ३ लाख १० हजार युरो तथा अन्य मुलुकका मुद्रा ७२ लाख रुपैयाँ बरामद भएको थियो ।
०००
आ.व. २०७१/७२ मा विदेशी मुद्रा तस्करीमा संलग्न ६९ जना व्यक्ति पक्राउ परेका थिए भने आ.व. २०७२÷७३ मा ८० जना पक्राउ परेका थिए ।
स्रोतः नेपाल प्रहरी  

 

Leave A Comment