सज्जनले मर्यादा छाड्दैन

सोमबार, १० माघ २०७३, ०८ : ०३ शुक्रवार , Kathmandu
सज्जनले मर्यादा छाड्दैन

समुद्रको तुलनामा धीर र गम्भीर मान्छे श्रेष्ठतर हुन्छ । किनकि, संसारमा समुद्रलाई गम्भीर एवम् शान्त ठानिएको छ । प्रलय हुँदा समुद्रले पनि आफ्नो मर्यादा छाडेर किनारालाई पनि जलथल गराई एकैनास पारिदिन्छ । तर, साधु वा सज्जन मान्छेले भने प्रलय आउँदा पनि आफ्नो मर्यादा उल्लंघन गर्दैन । तसर्थ सज्जन व्यक्ति समुद्रभन्दा पनि महान् हो । त्यसो त मर्यादाको पालना गर्नमा सागरलाई आदर्श ठानिएको छ । वर्षायाममा उर्लिएका नदीलाई आफूभित्र समेटे पनि सागरले आफ्नो सिमाना नाघ्दैन । तर, प्रलय आइपर्दा भने त्यही समुद्रले पानी किनारा छाडेर आसपासका सबै जमिनलाई जलमग्न तुल्याइदिन्छ । सागरले प्रलयको समयमा आफ्नो मर्यादालाई सुरक्षित राख्न सक्दैन । परन्तु सज्जन व्यक्ति भने प्रायः आफ्नो मर्यादाको रक्षा गरिरहेको हुन्छ । यसैले सज्जन व्यक्तिहरू समुद्रभन्दा अधिक गम्भीर ठानिँदै आएका छन् ।
मूर्ख मानिसलाई दुईखुट्टे पशुझैँ सम्झेर त्यागिदिनुपर्छ । किनकि, गोडामा बिझेका काँडाले नदेखिने गरी भित्र मासुमा घुसेपछि जसरी पीडा दिन्छ, त्यसैगरी मूर्खले पनि वचनरूपी वाणले शूलीझैँ गरी दुःखदर्दद्वारा पीडा दिइरहन्छ । सुन्दरता र तारुण्यले युक्त भएका, ठूलो कुलमा जन्मिएका व्यक्ति पनि यदि अनपढ छन् भने त्यस्ता व्यक्ति बास्ना नआउने पलासको फूलजस्तो देख्नमा राम्रो लाग्ने भए तापनि काम लाग्ने खालका भने हुँदैनन् ।
–चाणक्यको नीतिशास्त्र

Leave A Comment