तिनका सपना र हाम्रा विपना

आइतबार, ०९ माघ २०७३, ०८ : ३२ शुक्रवार , Kathmandu
तिनका सपना र हाम्रा विपना

डा. प्रकाश बञ्जाडे
संयुक्त राष्ट्रसंघको आयोजनामा केही समयअघि स्विट्जरल्यान्डको जेनेभामा युवा सम्मेलन भएको थियो । जहाँ १ सय ९३ देशका सात सय प्रतिनिधि उपस्थित थिए । सो अवसरमा नेपालस्थित संयुक्त राष्ट्रको युवा संस्थाबाट म र मदन राई गएका थियौँ ।
नेपालको त्रिभुवन विमानस्थल पुग्नेबित्तिकै हामीले युवाकै भीड छिचोल्नुप¥यो । हामी जेनेभा जाँदै थियौँ तर विमानस्थलको भीड खाडी मुलुकतिर रोजीरोटी खोज्नेहरूको थियो ।
अबुधावी एअरपोर्टमा पनि भेटिए दुःखका थाक मनमा खाँदेर मुस्कुराइरहेका नेपाली दाजुभाइ । स्विट्जरल्यान्डको ज्युरिक अन्तर्राष्ट्रिय विमानस्थलमा पुगियो र देखियो अर्के संसार । हेर्दै रहरलाग्दो । ज्युरिकबाट जेनेभाको वास्तविक उडान समय जम्मा २५ मिनेट रहेछ । तर, उनीहरूले आफ्नो देशको भव्यता देखाउन ४० मिनेट लगाइदिँदा रहेछन् । हेरियो आकाशबाट विशाल ताल, सुन्दर हिमाल, गाउँका बस्तीहरू । साँच्चै मनमोहक थिए । लाग्यो ठ्याक्कै नेपालजस्तै । ती दृश्यले सबै यात्रुलाई लोभ्याइरहेका थिए । उनीहरूले भनिरहेका ‘वाह’ । तर, हामीलाई जिस्क्याइरहेको अनुभूति भइरहेको थियो । किनकि, प्राकृतिक सौन्दर्यमा स्विट्जरल्यान्डभन्दा हामी कम छौँ र ?

सम्मेलनको पहिलो सेसनमा संयुक्त राष्ट्रसंघका मानव अधिकार आयोगका प्रमुख जेइड राआड अल हुसेन, युवा महासचिव अमाद अलेन्दाबीलगायत विशिष्ट व्यक्तिहरूको राय सुनियो । जहाँ लोकतन्त्रमा युवाको स्थान र नीतिनिर्माणमा प्रक्रियामा सहभागिताको आवश्यकता विषयमा मन्थन भएको थियो ।  
विश्वमा ३० वर्ष नकटेको युवा ५१ प्रतिशत रहेछन् । नीतिनिर्माणमा दुई प्रतिशत मात्रै पुगेका रहेछन् । त्यसमा एसियाली देशको तथ्यांक देखाउँदा घोसेमुन्टो लगाउनुप¥यो । किनकि, नीतिनिर्माणमा युवाको उपस्थिति नगन्य देखियो । त्यहाँ भनिँदै थियो ५१ प्रतिशत वर्चस्व भएकाहरूको नीतिनिर्माणमा कमजोर उपस्थिति मानव अधिकारकै हनन हो  । मलाई अनौठो लागिरहेको थियो । किनकि, म त्यस्तो देशको प्रतिनिधि हुँ, जुन देशमा युवा नीतिनिर्माण तहका लागि होइन, रोजीरोटीका लागि लड्ने लडाइँमा समेत परास्त भइरहेको छ ।
त्यहाँ अन्य देशका युवा प्रतिनिधिले सन् २०३० सम्ममा विश्वको नीतिनिर्माण तहमा युवाको वर्चस्व कायम गर्ने भन्ने धारणा राखे ।  उनीहरू त भनिरहेका थिए, ‘सहभागिता होइन, नेतृत्व चाहिन्छ ।’ युरोपका युवालाई समस्या राख्न भनियो । उनीहरूको समस्या सुनेर म चकित परेँ । ‘देशका महŒवपूर्ण ठाउँमा हाम्रो नेतृत्व नहुनु समस्या हो,’ उनीहरू भनिरहेका थिए । कठै, हामी पाखुरी बजाउने ठाउँ नपाउने समस्याबाट माथि उठ्न सकिरहेका छैनौँ । धेरथोक बोल्छु भनेर गएको मेरो आवाज बिस्तारै भाँसिदै गएको महसुस हुन थालेको थियो । जब एसियाली मुलुकका युवाको समस्या राख्ने समय आयो । त्यसपछि देखियो, संसारको मानव विकासमा भिन्नता । सबैले एउटै गुनासो गरिरहेका थिए, ‘हाम्रो त आवाजै सुनिँदैन, कहाँबाट नेतृत्व पाउनु ?’
बोल्न त हामीले पनि बोल्यौँ । सत्य बोल्यौँ । हरेक दिन रोजगारीको खोजीमा विदेशिरहेका युवाको तथ्यांक फर्मायौँ ।  विकासको स्थिति भन्यौँ । वैदशिक हस्तक्षेपका प्रसंग उप्कायौँ । उनीहरूले हामीतिर अझै यस्तो पनि हुन्छ र !  को दृष्टिले हेरिरहे । तर, सत्य त यही थियो ।  
त्यहाँ मैले भेटेको युवा संसार बदल्ने सपना देख्दै थिए । उनीहरू कसरी एउटा अभियन्ता मात्रै होइन, देशको मन्त्री र प्रधानमन्त्रीसम्म पुग्न सकिन्छ भनेर छलफल गर्दै थिए । मैले उनीहरूसँग हार्दिकता साटेँ । उनीहरूको सपना सगरमाथा र मेरो सपना त लिलीपुट न थियो । त्यसैले बाँडिनँ । बरु, भेटिएका सबै साथीहरूलाई एकपल्ट नेपाल घुम्न आउन निम्तो गरेँ । प्राकृतिक दृश्यको वर्णन गरेँ । बुद्धको कुरा गरेँ । सगरमाथाको देश भनेँ । त्यसपछि थोरै आफ्नो शिर उँचो भएको महसुस भयो ।
सोचिरहेको छु अहिले । हामी नेताले केही गरिदिएन भनेर गाली मात्रै गरिरहेका छौं कि ? आफैँ पनि आफ्नो क्षेत्रमा हस्तक्षेप गर्न आँट गरिरहेका छैनौँ कि ? त्यसैले युवाले आफ्नो आवाजलाई दबाएर राख्नु हुँदैन । दुःख त पाइन्छ तर एक दिन त्यो दिन आउनेछ । सुरु कसैले न कसैले गर्नैपर्छ । यही पुस्ताले किन नथाल्ने ? युवा जोश अरूले केही गरिदिएन भन्ने आक्रोशमा सिध्याइरहेका छौँ हामी । आफैँ गर्न थाल्नुपर्छ भन्ने भावना जागेको छ ।  
सुन्दर स्विट्जरल्यान्ड भन्छ विश्वले । त्यहाँका नागरिक टोनी हेगनले त्योभन्दा राम्रो नेपाल भनेका छन् । त्यसकारण सुरुवात यही पुस्ताले गर्नुपर्नेछ । स्विट्जरल्यान्ड बन्न सम्भव छ भने नेपाल किन छैन ?  
(डा. बञ्जाडे यूएन युथ नेपालका अध्यक्ष हुन् ।)

 

Leave A Comment