लाजले लैजाला

आइतबार, ०९ माघ २०७३, ०८ : ३० प्रवीण ढकाल , Kathmandu
लाजले लैजाला

लोकलाजका कारण रोग लुकाएर र पालेर बस्नु आफैँप्रति गरिने ठूलो अपराध हो । नेपाली समाजमा यौन रोग लाग्नुलाई चरित्रसँग जोडेर हेरिने भएकाले यस्ता समस्या भएकाहरू रोग लुकाएर बस्छन् । लाजका कारण उपचार गराउन हिचकिचाएपछि रोग बल्झिँदै जान्छ । परिणामतः व्यक्तिले शारीरिक, मानसिक र आर्थिक क्षति बेहोर्नुपर्छ । लज्जाकै कारण रोग लुकाउँदा बाँझोपन, नपुंसत्वजस्ता जटिल समस्या आइपर्न सक्छन् । प्रवीण ढकालले लाज मानेर, अरूले के भन्लान् भन्ने ठानेर गुप्त रोग लुकाउनेहरूले भोगेका पीडामाथि यो सामग्री तयार पारेका छन् ।
केस नं. १
काठमाडौँको नाम चलेको एक अस्पतालकी नर्स हुन् रमा (नाम परिवर्तन) । बिरामीको उपचारमा व्यस्त हुने उनको स्तन दिन प्रतिदिन कडा हुँदै गइरहेको थियो । स्तनमा नदुख्ने गिर्खा हुनु, कडापन बढ्दै जानुजस्ता समस्या स्तन क्यान्सरका लक्षण हुन् भन्ने उनलाई थाहा नभएको होइन । तर, उनले लाजका कारण स्तनमा भएको समस्या कसैलाई भनिनन् । स्तन ढुंगाजस्तो सारो भएर असाध्यै दुख्न थालेपछि उनी उपचारका लागि क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्या चापागाईंकोमा पुगेकी थिइन् । डा. सन्ध्यासँगको पहिलो भेटमा उनले आफू पसल गरेर गुजारा गरिरहेकी सामान्य गृहिणी भएको बताएकी थिइन् । उनको स्तनको चेकजाँचपछि जब उनलाई स्तन क्यान्सर भएको पत्ता लाग्यो, त्यसपछि मात्र उनले आफू नर्स भएको परिचय दिएकी थिइन् । स्तनमा भएको समस्या लाजकै कारण चेकजाँच नगराएको कुरा ती नर्सबाट सुनेपछि डा. सन्ध्या छक्क परेकी थिइन् । ‘स्वास्थ्य संस्थामा नै कार्यरत नर्स त लाजको कारण यो हदसम्म लापरबाही गर्छन् भने अन्य सर्वसाधारणको के हालत होला ?’ उनको प्रश्न छ ।
केस नं. २
सानो उमेरमै यौन व्यवसायमा लागेकी उमा (नाम परिवर्तन) चेकजाँचका लागि अस्पताल आउँदा निकै ढिलो भइसकेको थियो । यौनांगसम्बन्धी समस्या लिएर अस्पताल आएकी उनमा तेस्रो स्टेजको पाठेघरको मुखको क्यान्सर देखियो । चिकित्सकसँगको कुराकानीका क्रममा उनले एक÷डेढ वर्षअगाडि देखि नै योनिबाट गन्हाउने पानी बग्न थालेको, यौनसम्पर्क गर्दा सामान्य अवस्थामा पनि रगत देखिने गरेको बताएकी थिइन् । आफू यौनकर्मी पनि भएकाले यौन रोग लागेको अरूले थाहा पाउलान् भन्ने डर र लाजका कारण उपचारमा नआएको उनले चिकित्सकलाई बताइन् । सुरुवाती अवस्थामा नै उनले केही सय रुपैयाँ मात्र खर्चेर उपचार गरेको भए उनी अन्तिम स्टेजको क्यान्सरबाट जोगिने थिइन् ।
 
केस नं. ३
नर्भिक अस्पतालकी डा. अचला वैद्य उपचारका क्रममा भेटिएकी एक जना महिलाको केस सम्झिरहन्छिन् ।  एक महिलाले गाँउमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएका बेला पाठेघर खस्ने सुरुवातको समस्या समाधान गर्न विशेष प्रकारको रिङ राखेकी थिइन् । यस्तो रिङ तीन महिनामा फेर्नुपर्ने हुन्छ । तर, उनले लाजका कारण योनिमा रिङ राखेको कसैलाई बताइनन् र रिङ फेर्न चिकित्सककहाँ पनि गइनन् । तीन महिनामा फेर्नुपर्ने रिङ १० वर्षसम्म योनिमा राख्दा समस्या देखियो । अस्पताल जानुभन्दा निकै पहिला नै योनि चिलाउने, सेतो पानी बग्नेजस्ता समस्या देखिएका थिए । तर, उनले लाजकै कारण ती समस्या कसैलाई भनिनन् । अन्ततः रोग जटिल भएपछि अस्पताल पुगेकी थिइन् । अत्यधिक रक्तस्राव भएपछि अस्पताल आएकी उनको पाठेघरको मुखमा त केही भएको थिइन तर योनिको भित्तामा घाउ थियो । डा. वैद्यले परीक्षणपश्चात् उनको योनिमा क्यान्सर भइसकेको पत्ता लगाइन् ।

केस नं. ४
डा. वैद्यकहाँ नै चार महिनाअघि हेटौँडाबाट उपचारका लागि झन्डै ५० वर्षकी एक महिला आएकी थिइन् । उनले पनि रोग लुकाएकै कारण निकै दुःख झेल्नुप¥यो । बच्चा जन्मिएपछि एक पटक पनि चिकित्सककोमा जाँच नगराएकी उनको महिनावारी सुकेपछि एक्कासि रक्तस्राव हुन थाल्यो । लाजका कारण छोरा–बुहारीलाई भन्न सकिनन् । पछि छोरीले थाहा पाएर अस्पताल ल्याएकी थिइन् । चेकजाँचपछि उनलाई पाठेघरको क्यान्सर भएको थाहा भयो ।

केस नं. ५
काठमाडौँ मेडिकल कलेजका छाला तथा यौन रोग विभाग प्रमुख डा. सञ्जुबाबु श्रेष्ठले लाजका कारण रोग लुकाउँदा यौनांग नै गुमाउने अवस्थामा पुगेका पुरुषसमेत भेटेका छन् । ‘सुरुमा उनको लिंगमा सानो खटिरा आएको थियो,’ डा. श्रेष्ठले भने, ‘उनले लाज मानेर कसैलाई नभन्दा संक्रमण फैलिएर लिंग नै काट्नुपरेको थियो । ती युवाले सुरुमै उपचार गरेको भए शतप्रतिशत निको हुन्थ्यो ।’ उनका अनुसार यौनांगमा आउने घाउ–खटिरा तथा चिलाउने समस्यालाई लुकाउँदा पछि गम्भीर समस्या भोग्ने बिरामी धेरै छन् ।
लाजको चर्काे मूल्य
राजधानीका प्रमुख अस्पतालमा उपचारका लागि आएका यी बिरामी मात्र होइनन्, लाजका कारण रोग लुकाएर गम्भीर समस्या भोग्नेहरूको संख्या ठूलो भएको चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार ग्रामीण भेगमा बस्ने र अशिक्षित मात्र नभई शिक्षित र शहरी क्षेत्रमा बस्नेहरूले पनि यौनांग, स्तन तथा यौनांग वरिपरिका भागमा भएका समस्या लुकाएर बस्ने गरेका छन् ।
चिकित्सकहरूले उपचारका क्रममा भेटेका हालसम्मका केसअनुसार लाजका कारण समस्या लुकाएर राख्दा कतिलाई क्यान्सर भएको छ भने कतिको संक्रमण छिप्पिँदै गएर दुवै मिर्गौला फेल भएका छन् । कतिको यौनांग नै काट्नुपरेको छ । यौनांगमा भएको संक्रमणका कारण बाँझोपन हुनेहरू पनि थुप्रै छन् । सामान्य उपचारबाट निको हुने रोग तथा समस्यालाई लाजकै कारण लुकाएर राख्द धेरैको शारीरिक क्षति त भएकै छ, यौन जीवन, पारिवारिक तथा दाम्पत्य जीवन पनि भताभुंग भएका छन् । आर्थिक क्षति पनि उत्तिकै भइरहेको छ ।
काठमाडौँ, नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलका युरोलोजिस्ट डा. सुबोध रेग्मी सुरुवाती अवस्थामा नै जुनसुकै रोग तथा समस्याको उपचार गर्ने हो भने थोरै पैसामा सहज उपचार सम्भव हुने बताउँछन् । ‘तर, जब रोग छिप्पिँदै जान्छ, त्यसको असर पनि बढ्दै जान्छ,’ डा. रेग्मी भन्छन्, ‘पिसाबको संक्रमण होस् वा यौनांगमा भएको घाउ नै किन नहोस्, मानिसहरू लाजका कारण रोग लुकाएर बस्छन् । तर, यसरी लुकाइएको रोग बिस्तारै बढ्दै गएर जटिल बन्छ । त्यसपछि मात्र मानिसहरू बल्ल अस्पताल आउँछन् । र, त्यतिबेला निकै ढिलो भइसकेको हुनसक्छ ।’ उनले उपचारका क्रममा पिसाबको संक्रमणलाई लुकाउँदै जाँदा मिर्गौला फेलसम्म भएका युवा बिरामी पनि भेटेका छन् । वृद्धहरूका हकमा भने रोग लुकाएकै कारण प्रोस्टेट क्यान्सरको जटिल अवस्थासम्म पुगेको भेटेका छन् ।
कोही खुल्दैनन्
युवा, युवती हुन् या उमेर पुगेका पाका महिला वा पुरुष, जो कोहीले पनि यौन र यौनांगसम्बन्धी समस्या लाजकै कारण लुकाउने गरेको उपचारमा संलग्न चिकित्सकहरू बताउँछन् । वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. अचला वैद्यको ३५ वर्षे पेशागत अनुभव छ, ‘अहिले पनि योनि तथा लिंगमा भएका समस्या डाक्टरलाई देखाउन लाज मानेकै कारण धेरै बिरामीको ज्यान जाने गरेको र जटिल समस्या लिएर वर्षौंसम्म पीडा भोग्नेहरू धेरै छन् । यौन र यौनांगका समस्या डाक्टरलाई देखाउन शहरमा बसोबास गर्ने शिक्षित महिला र पुरुष पनि लाज मान्छन् ।’ अधिकांशले यौनांग वा स्तन जाँच गराउने भनेपछि ‘अड फिल’ गर्ने गरेको उनी बताउँछिन् । ‘सबै यौन रोग परपुरुष वा परस्त्रीसँग संसर्ग गरेपछि सर्छ भन्ने होइन,’ उनी भन्छिन्, ‘कतिपय समस्या ब्याक्टेरियल इन्फेक्सनले पनि भइरहेको हुन्छ भन्ने नबुझ्दा पनि जाँच गराउन डराउनेहरू धेरै छन् ।’ यौन रोग लाग्यो भनेपछि दम्पतीका बीचमा खटपट हुन सक्ने भयका कारण धेरैले रोग लुकाउने गरेको चिकित्सकहरू बताउँछन् ।
समयमै सही उपचार हुन नसक्दा जुनसुकै रोगले पनि समस्या निम्त्याउन सक्छ । यौन र यौन रोगलाई सामाजिक मूल्य मान्यता र नैतिक चरित्रसँग जोडेर हेरिने भएकाले यो अलि बढी नै संवेदनशील देखिएको चिकित्सकहरू बताउँछन् । लाजका कारण रोग लुकाउने गरिएका कारण बेलैमा उपचार नहुने समस्या छ ।
‘नेपाली समाजमा यौनका बारेमा कुरा गर्ने उदारता अझै आइसकेको छैन,’ छाला तथा यौन रोग विशेषज्ञ डा. अनुपमा कार्की भन्छिन्, ‘अझै पनि मानिसहरू यो विषयमा लुकेर नै कुरा गर्ने गर्छन् । त्यही भएर उनीहरूले यौन रोग वा यौनांगमा केही समस्या देखिए पनि लामो समयसम्म लुकाएर राख्ने गरेका हुन्छन् । लाजका कारण समस्या जटिल बन्दा पनि डाक्टरका अगाडि खुल्दैनन् । रोगले जटिल रूप लिएपछि मात्र अस्पताल आउने धेरै छन् । त्यो अवस्थामा पनि लाजका कारण रोगका बारेमा खुलेर भन्न सक्दैनन् । यौन रोगका लागि अस्पतालमा छुट्याइएको कोठामा पस्न लाज मान्नेहरू पनि छन् ।’
स्तन, पाठेघरको मुख र प्रोस्टेटको एड्भान्स क्यान्सर भएर अस्पताल पुग्ने बिरामीको संख्या दिन प्रतिदिन बढिरहेको छ । वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. वैद्यका अनुसार ‘प्राइभेट पार्ट’का सामान्य समस्या पनि अरूलाई सेयर गर्न लजाउने, डाक्टरसँग जाँच गराउन लजाउने र पछि समस्या जटिल भएपछि अस्पताल धाउनेहरू बढिरहेका छन् । ‘रोग छिप्पिसकेपछि ज्यानमाथि नै खतरा भैसकेको हुन्छ,’ उनी भन्छिन्, ‘यौनांगमा भएको सामान्य इन्फेक्सनलाई बेलैमा उचार नगराउँदा तेस्रो र चौथो स्टेजको क्यान्सर भएर अस्पताल आउनेलाई जोगाउन मुश्किल पर्छ । रोग जुन अंगमा लागे पनि चेकजाँच गराउन र आफन्तसँग सेयर गर्न लाज मान्नु आफैँलाई सिद्ध्याउन खोज्नु हो ।’
धेरैले लुकाउने रोग
केही समयअघि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा २० वर्षीया कविता (नाम परिवर्तन) योनिबाट सेतो पानी बग्ने समस्या लिएर आइन् । उनीसँग एक जना साथी पनि आएकी थिइन् । दुवैले लामो समयसम्म समस्याका बारेमा कसैलाई भनेका थिएनन् । तर, जब सेतोपानी बग्ने समस्या बढ्दै गएर असाध्यै गन्हाउने हुन थाल्यो, दुवै जना बल्ल उपचारका लागि अस्पताल पुगे । उपचारपछि उनीहरू ठीक भए । डा. वैद्यका अनुसार अविवाहित युवतीहरूले सबैभन्दा बढी लुकाउने समस्या नै यही हो ।
उनका अनुसार यौनांगको उचित तरिकाले सफाई नगर्दा धेरैमा यो समस्या देखिने गर्छ । कतिपयमा असुरक्षित यौन सम्पर्कका कारण पनि सेतो पानी बग्ने समस्या आउने गरेको छ । युवतीहरूले महिनावारी भएको बेलामा एउटै कपडा लामो समयसम्म लगाउँदा, पेन्टी सफा नगर्दा, पिसाब गरिसकेपछि साबुन पानीले योनि सफा नगर्दा संक्रमण हुने गर्छ । उनीहरूले झन् समस्या लुकाउँदा पछि जटिल समस्या निम्तिने गरेको छ । ‘रोग लुकाइदिँदा संक्रमण क्रमशः बढ्दै पाठेघरसम्म पुगेर बच्चा नै जन्माउन नसक्ने अवस्थामा समेत कतिपय युवती पुगेका छन्,’ डा. वैद्य भन्छिन् ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाले गरेको एक अध्ययनले महिलाहरूले योनि चिलाउने समस्या तथा सेतो पानी बग्ने समस्यालाई लुकाएर आफूखुशी खरानी दल्ने तथा लज्जावती झार पिँधेर खाने गरेको समेत फेला पारेको थियो ।
२० वर्षसम्म रोग लुकाउने महिला
महाशाखाअन्तर्गत सञ्चालन भएका निःशुल्क शिविरका क्रममा २० वर्षसम्म रोग लुकाउने एक जना महिला फेला परेकी थिइन् । बैतडीको उत्तरी डिलाशैनी गाविसकी ५५ वर्षीया भुरी कार्कीले पाठेघर खस्ने समस्या सुरु भएको २० वर्षसम्म लुकाएकी थिइन् । निःशुल्क शिविरका क्रममा यो कुरा पत्ता लागेको थियो । उनले २० वर्षसम्म उक्त समस्या लाजकै कारण लुकाएर राखिन् । लाजका कारण कसैलाई समस्याको बारेमा जानकारी नगराएकी कार्कीले गाँउमै शिविर गएको समयमा मात्र महिला डाक्टरसँग आफ्नो समस्या बताएकी थिइन् । उनको पाठेघर झरेर योनिद्वारमै आइसकेको र संक्रमण भएर गन्हाउने अवस्थामा थियो । उपचार गर्न अझै केही समय ढिला भएको भए उनलाई क्यान्सर हुने सम्भावना थियो ।
बैतडीकै पाटन नगरपालिका–१२ की माधवी भण्डारीले पनि पाठेघर खसेको १० वर्षसम्म समस्या लुकाएकी थिइन् । महाशाखामा लामो समय काम गरेकी डा. शिलु अर्यालका अनुसार यसरी पाठेघर खस्ने समस्या लुकाउनेको संख्या ग्रामीण भेगमा अत्यधिक छ । ‘शिविरका क्रममा उपचारका लागि आउने अधिकांश महिलाले लाजकै कारण रोग पालेर बसेको भेटिन्छ,’ डा. अर्यालले भनिन् ।
पुरुष पनि उत्तिकै लुकाउँछन्
काठमाडौँ मेडिकल कलेजका छाला तथा यौन रोग विभाग प्रमुख डा. सञ्जुबाबु श्रेष्ठका अनुसार  धेरैले यौनांग चिलाउने समस्या, यौनांगवरिपरि आएका गिर्खा, घाउ, फोका आदिका बारेमा चिकित्सकसँग परामर्श गर्दैनन् । ‘कोही उपचारका लागि आए पनि घुमाउरो भाषामा भन्ने र यौनांग देखाउन लाज मान्ने भएकाले लक्षण भनेका आधारमा उपचार गर्नुपर्ने अवस्था पनि आउँछ,’ डा. श्रेष्ठ भन्छन् । प्रायः सबै यौन रोगको उपचार सम्भव भएको उनी बताउँछन् । भन्छन्, ‘उपचार गरेमा पूर्ण रूपमा स्वस्थ हुन सकिन्छ । तर, लाजकै कारण रोग लुकाउँदा समस्या जटिल हुने गरेको छ ।’
पुरुषहरूमा हुने विभिन्न यौन रोगमध्ये ‘हर्पिस’ मुख्य हो । यो हर्पिस भन्ने भाइरसले हुन्छ । यसमा लिंग र यसको वरिपरि स–साना बिमिरा आउँछन् । बिमिरा फुटेपछि पोल्छ । कहिलेकाहीँ घाउ पाक्ने र पिप आउने हुन्छ ।
अर्को समस्या भनेको गोनोरिया हो । यसमा मूत्रनलीबाट पिप बग्ने समस्या हुन्छ । पिसाब गर्दा पोल्ने हुन्छ । छिनछिनमा पिसाब लाग्ने हुन्छ । कहिलेकाहीँ लिंग सुन्निने हुन्छ । यस्ता समस्या पनि पुरुषहरूले निकै समय लुकाउने गरेको डा. श्रेष्ठ बताउँछन् । ‘सिफिलिस जसलाई नेपालीमा भिरिंगी भनिन्छ, यो पनि पुरुषहरूले लुकाउने मुख्य यौन रोग हो,’ डा. श्रेष्ठ भन्छन्, ‘जेनिटल वार्ट भनिने यौनांगवरिपरि आउने मुसालाई पनि धेरैले रोगका रूपमा लिने गरेको पाइँदैन । स–साना गिर्खाका रूपमा देखापर्ने मुसा चिलाउने वा दुख्ने हुँदैन । कतिले यसलाई सानो हुँदा आफैँले चुँडेर फाल्ने गर्छन् ।’ यो सरुवा रोग भएका कारण यसरी चुँड्दा निस्केको रगतको माध्यमबाट यौनांगवरिपरि फैलिन्छ । ‘बेलैमा उपचार नहुँदा यी मुसा पछि गएर क्यान्सरमा परिणत हुन सक्छन्,’ डा. श्रेष्ठ भन्छन् ।
विवाहित पुरुषले बढी लुकाउने समस्या
डा. सुबोध रेग्मी बाँझोपनको समस्या पुरुषहरूले बढी लुकाउने गरेको बताउँछन् । कतिपय बाँझोपनको कारण यौन रोग तथा यौनांगमा हुने इन्फेक्सन हो भन्ने बुझ्न नसक्दा धेरैले मानसिक तनाव झेलिरहेको उनी बताउँछन् ।
बच्चा नहुनुको कारण आफू पो हो कि भन्ने डरका कारण पुरुषहरू बाँझोपनको कारण पत्ता लगाउन चेकजाँचका लागि डराउने गरेको उनको अनुभव छ । ‘शुक्रकीट बन्न नसक्ने समस्या, शुक्रकीट बग्ने नलीमा हुने अवरोधजस्ता समस्याले बाँझोपन हुन सक्छ,’ डा. रेग्मी भन्छन्, ‘जुन उपचारपछि ठीक हुन सक्छ । तर, सन्तान हुन नसकेको हीनताबोध लिएर उपचारका लागि अस्पताल नआउने धेरै छन् ।’
यौन सम्पर्कका बेला लिंग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिसफंक्सन) लाई पनि धेरैले लाजका कारण लुकाउने गरेका छन् । ‘कोही पनि सहवासका बेला मेरो लिंग उत्तेजित हुँदैन भनेर सजिलै चिकित्सकसँग भन्न लजाउँछन्,’ डा. रेग्मी भन्छन्, ‘ ।  
उनका अनुसार धातु झर्ने, पिसाब गर्न समस्या हुने, सेक्स गर्दा दुख्ने, पोल्ने समस्यालाई पनि धेरैले लुकाइरहेका हुन्छन् । ‘प्रोस्टेट ग्रन्थी र पिसाब नलीको संक्रमणले ल्याएका यस्ता समस्या उपचारपछि सजिलै निको हुन्छन्,’ डा. रेग्मी भन्छन् ।
०००
सबै चिकित्सकहरूको एउटै राय छ– रोग लुकाइयो भने यो जटिल बन्दै जान्छ । दुईचार सय खर्च गरेर निको हुने रोगले ठूलो आर्थिक व्यय गराउन सक्छ । अन्य क्षति त छँदै छन् ।
डा. अचला वैद्य भन्छिन्, ‘लाजका कारण रोग लुकाउनु भनेको रोग पाल्नु हो । लाजले ज्यानै पनि लैजान सक्छ ।’

 

Leave A Comment