‘विदेश पढ्न जानु ब्रेन ड्रेन होइन’

आइतबार, ०९ माघ २०७३, ०८ : २३ दिलीप पौडेल , Kathmandu
‘विदेश पढ्न जानु ब्रेन ड्रेन होइन’

भारत र अस्ट्रेलियामा शैक्षिक परामर्श दिँदै आएको ग्लोबल रिचले १० वर्ष अघिदेखि नेपालका विद्यार्थीलाई विदेशमा अध्ययन गर्न जान सहजीकरण गरिरहेको छ । चार्टर्ड एकाउन्टटेन्ट नारायण बजाज ग्लोबल रिच कन्सल्टेन्सीको नेपाल अपरेसन हेड हुन् । ग्लोलब रिचले दिँदै आएको सेवा, यहाँका विद्यार्थीका लागि उपयुक्त शैक्षिक गन्तव्यलगायत विषयमा शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः

ग्लोबल रिचले कस्तो सेवा दिँदै आएको छ ?
विदेश पढ्न जाने विद्यार्थीलाई आवेदन, भर्ना र भिसा प्रक्रियामा सघाउँदै आएका छौँ ।
कुन—कुन देशमा अध्ययन गर्न जाने विद्यार्थीका लागि सेवा दिँदै आउनुभएको छ ?
मुख्य गरी अस्ट्रेलिया हो । त्यहाँका प्रायः सबै विश्वविद्यालयसँग समन्वय गरेर काम गरिरहेका छौँ । त्यसपछि न्युजिल्यान्ड, यूके ,यूएसका लागि पनि काम गरिरहेका छौँ ।
कति विश्वविद्यालयसँग मिलेर काम गर्नुभएको छ ?
करिब ४० विश्वविद्यालय ।
नेपाली विद्यार्थीका लागि उपयुक्त गन्तव्य कुन देश हुन सक्छ ?
अहिले नेपाली विद्यार्थीको रोजाइ पढाइ सकिएपछि जागिर र आवासीय भिसा पाउने देश हो । त्यस हिसाबले अहिले अस्ट्रेलिया नम्बर १ मा छ । विगत दुईतीन वर्षदेखि त्यहाँ छात्रवृत्ति पनि दिन थालेका छन् । अस्ट्रेलियामा पढाइ सकिएपछि दुई वर्षको वर्क परमिट (काम गर्ने अनुमति) दिन्छ । अस्ट्रेलियापछि अमेरिका हो । त्यहाँ विज्ञान र इन्जिनियरिङका विद्यार्थीलाई राम्रो अवसर छ । विद्यार्थीको रुचिअनुसार अन्य देश पनि हुन सक्छन् ।
विद्यार्थीले के अपेक्षा गरिरहेका हुन्छन् ?
नेपालबाट विदेश जाने करिब ९५ प्रतिशत विद्यार्थी पढाइ सकिएपछि त्यो मुलुकमा सेटल हुन चाहन्छन् ।  
नेपालमा ब्रेन ड्रेनको समस्या उच्च देखियो नि ?
विदेशमा पढ्न जानुलाई ब्रेन ड्रेन भन्न मिल्दैन । यो गलत सोचाइ हो । हरेक व्यक्ति अवसरका लागि जहाँ पनि जान सक्छ । हाम्रो देशको शिक्षा, यहाँ उत्पादन भएको जनशक्तिले राम्रो अवसर नपाएपछि करिअरका लागि विदेश जाने क्रम बढेको हो ।
यहाँहरूले विदेश जान प्रोत्साहित गर्नुभएको त होइन नि ?
यो राजनीतिक सोचाइ गलत छ । विद्यार्थीको प्रोफाइलअनुसार अवसरका सम्भावनाबारे बताइदिने हो ।  आर्थिक, शैक्षिक अवस्था हेरेर हामी सल्लाह दिन्छौँ । तर, छनोट सम्बन्धित विद्यार्थीले नै गर्छन् ।
देशको शैक्षिक क्षेत्रलाई कसरी हेर्नुभएको छ ?
सरकारले समयसुहाउँदो नीति ल्याउन सकेको छैन । नीतिमा पुनर्ताजगी गर्न  ढिला भएको छ । उच्च शिक्षामा ठूलो परिवर्तन ल्याउनु आवश्यक छ । सरकारले सुशासनलाई बलियो बनाउनुपर्छ । यही अवस्था रहने हो भने उच्च शिक्षा अध्ययन गर्ने नेपालका अधिकांश विद्यार्थी विदेशमा हुनेछन् ।
कन्सल्ट्यान्सीबीच प्रतिस्पर्धा कस्तो छ ?
मेरो को प्रतिस्पर्धी छ भनेर सोच्दिनँ । त्यो दृष्टिकोणले हेर्न पनि हुँदैन । हाम्रो व्यवसायमा पनि नराम्रो काम गर्ने, ठग्ने, झुक्काउनेलाई कारबाही गर्नुप¥यो । खुला अर्थतन्त्रमा प्रतिस्पर्धा हुनुपर्छ ।
सीए पढेको व्यक्ति कसरी यो पेशामा आउनुभयो ?
संयोगले यो पेशामा आइयो । जीवनमा एक थोक सोचेको हुन्छ, तर भइदिन्छ अर्कै ।
यहाँको रुचि केमा छ ?
खेलकुदमा  ।
खेल्नु पनि हुन्छ कि ?
कुनै जमानामा टेबलटेनिस खेल्थेँ ।
फुर्सदको समयमा के गर्नुहुन्छ ?
अध्ययन ।
के पढ्न मन पर्छ ?
 विजनेससँग सम्बन्धित म्यागजिन ।
यहाँलाई सबैभन्दा मन परेको बिजनेस लिडर ?
अलिबाबा बिजनेस ग्रुपका लिडर चिनियाँ व्यापारी ज्याक मा ।
व्यवसायमा सफल हुन के गर्नुपर्छ ?
जोखिम लिन सक्ने क्षमता हुनुपर्छ ।
स्कुले जीवनमा के बन्ने चाहना थियो ?
डाक्टर बन्छु भन्ने थियो ।
व्यक्ति सफल हुन के गर्नुपर्छ ?
सफलताका लागि अनुशासन जरुरी छ । जुन अवधिमा जे काम गरेको छ, त्यसमै केन्द्रित भएर काम गर्नुपर्छ ।
जागिरे जीवनप्रति यहाँको कुनै टिप्पणी ?
पढाइ सकेपछि जागिर खाँदैछु भनेर काम गर्ने होइन । जागिरलाई मन परायो भनेमात्र माथि जान सकिन्छ । आफूलाई जहिले पनि अपडेट गर्दै जानुपर्छ ।

 

Leave A Comment