धुवाँ

आइतबार, ०९ माघ २०७३, ०८ : २० शुक्रवार , Kathmandu
धुवाँ

–मासाहिको होशी


दहनका अन्तरकुन्तरबाट उठ्छ धुवाँ
धर्तीको एकमात्र चिसो अंश हो माटो
मानव जाति खेल्दछ आगो र माटो दुवैसँग
विस्मृतिका लागि जडीबुटीको खोजमा

आज मेरो घाँटीमा परेको
कोदोको रक्सीको एक घुट्कोले
मेरो जीवनको पानी थालेको छ उमाल्न
कलेजी धुवाँ बहन थाल्छ
मेरो मस्तिष्कबाट उठ्छन् पैँसठ्ठी वर्ष

हठात् देखा पर्छन् श्वेत पदमार्गहरू
उहिल्यै मरेकाहरूका पदचिन्हहरू
मानव खोज्दछ कामवासना
जीवन धुवाँ सदृश छ, कि कसो ?

तातो हावाले उडाएको धुवाँबाट
हिँड्छिन् एउटी केटी, तापको तुवाँलोमा हिँडेजसरी
एक थोत्रो र झुत्रो चित्र–
भनिन्छ, उनी खोजिरहेकी थिइन् बाबु
वास्तवमा उनको अस्तित्व
बिलकुल धुवाँको जस्तो छ

हाम्रा स्मृति जगाउने धुवाँ
बीसौँ शताब्दीमा
हामी सबै कुरा परित्याग गर्न खोज्छौँ–
एक झलक
उष्ण उष्ण गृष्मलाई
अफाल्न नसक्ने स्मृतिहरू
शान्तिको आधार
अन्त्येष्टि नपाएका मृतकहरू–
घुइरो घुइरो
एसियाका सबै भूभागबाट उड्छन् भूत
जमिनमुनिबाट
समुद्रको पिँधबाट
असहज मूक आवाजमा
निभाउनु हुँदैन यो आगो हामीले
बाँच्नका लागि शिरा हो यो ।

(नेपाली–जापानी कविता सञ्चय ‘बुके–५’ बाट साभार)

Leave A Comment