पाटन विजय र भक्तपुर विजयको मिति

आइतबार, ०९ माघ २०७३, ०८ : १७ प्रा. दिनेशराज पन्त , Kathmandu
पाटन विजय र भक्तपुर विजयको मिति

पृथ्वीनारायण शाहद्वारा वि.सं. १८२५ आश्विन २४ गते पाटन र वि.सं. १८२६ मार्ग १ गते भक्तपुर विजय भएको हो । यो कुरा प्रसिद्धै छ । वि.सं. २०२५ मा ललितपुरबाट जगदम्बा प्रकाशनद्वारा प्रकाशित नयराज पन्त, देवीप्रसाद भण्डारी, गौतमवज्र वज्राचार्य र दिनेशराज पन्तको श्री ५ पृथ्वीनारायण शाहको उपदेशका ८८१, ८८८–८८९ पृष्ठमा, वि.सं. २०६७ मा काठमाडौँबाट खिलशर्म–राजीवलोचनजोशीस्मारकप्रतिष्ठानद्वारा प्रकाशित दिनेशराज पन्तको महामण्डलदेखि काँगडासम्मका १२–१३ पृष्ठमा, वि.सं. २०७० मा खिलशर्म–राजीवलोचनजोशीस्मारकप्रतिष्ठानद्वारा प्रकाशित दिनेशराज पन्तको गोरखाली विजययात्राका १४, ६६ पृष्ठमा तथा वि.सं. २०७३ मा काठमाडौँबाट मञ्जरी पब्लिकेशनद्वारा प्रकाशित दिनेशराज पन्तको श्री ५ पृथ्वीनारायण शाहको दिव्योपदेश र संक्षिप्त जीवनीका ६५–६६ पृष्ठमा यस विषयमा सप्रमाण लेखिएको पनि छ । यसो भए तापनि अशुद्ध कुराको प्रचार पनि भइरहेको छ । यसको उदाहरणको रूपमा ललितपुरबाट राजधानी न्युज पब्लिकेसन प्रालिद्वारा प्रकाशित वि.सं. २०७३ पौष २७ गतेको राजधानी १६ वर्ष २१२ अङ्कको ७ पृष्ठमा छापिएको सचितानन्द घिमिरेको अमर राष्ट्रनायकको स्मरण भन्ने लेखमा १४ असोज १८२५ मा ललितपुर राज्यलाई पनि गोर्खालीले पूर्णकब्जामा लियो, १ माघ १८२६ मा भक्तपुर राज्य पनि गोर्खाको कब्जामा आयो भनी लेखिएकोलाई देखाउन सकिन्छ ।
 

Leave A Comment