‘आप्रवासीले अमेरिकालाई बलियो बनाएका छन्’

शनिबार, ०८ माघ २०७३, १० : ४० शुक्रवार , Kathmandu
‘आप्रवासीले अमेरिकालाई बलियो बनाएका छन्’

–बाराक ओबामा

केही सातायता प्राप्त शुभकामना सन्देशहरूले मेरी पत्नी मिसेल र मलाई भावुक बनाएका छन् । र, आजको रात (जनवरी १०)  धन्यवाद भन्ने पालो हाम्रो आएको छ ।
विभिन्न तह र तप्काका अमेरिकीहरूसँगको संवादले मलाई इमानदार बनायो र निरन्तर काममा लाग्न मलाई हौसला प्रदान ग¥यो । हरेक दिन मैले तपाईंहरूबाट नयाँ–नयाँ कुरा सिकँे । तपाईंहरूले मलाई असल राष्ट्रपति र असल व्यक्ति बनाउनुभयो ।
२० वर्ष पुगेपछि म पहिलो पटक सिकागो (ओबामाले सिकागोबाट भाषण गरेका थिए) आएको थिएँ । त्यतिबेला म आफूलाई चिन्ने, जीवनको उद्देश्य पत्ता लगाउने प्रयास गरिरहेको थिएँ । यहाँको चर्चहरूको समूहमा रहेर मैले त्यतिबेला काम गरेको थिएँ । यहाँका सडकमा मैले आस्थाको शक्ति र संघर्ष तथा यस क्रममा हुने क्षतिका बाबजुद श्रमजीवी मानिसमा पाइने आत्मस्वाभिमानलाई देखेको थिएँ ।
र, मैले के सिकँे भने परिवर्तन हासिल गर्न सर्वसाधारण यसमा समावेश हुनैपर्छ र उनीहरूले एक भएर परिवर्तनको माग गर्नैपर्छ ।
आठ वर्षसम्म तपाईंहरूको राष्ट्रपति भएपछि पनि मेरो विश्वास त्यही छ । र, यो मेरो मात्र विश्वास होइन । यो हामी अमेरिकीहरूको विश्वासको ढुकढुकी हो । हामी सबै समान रूपमा सिर्जना गरिएका छौँ भन्ने सत्यप्रतिको यो दृढ विश्वास हो । ‘हाम्रा रचनाकारले हामीलाई केही नैसर्गिक अधिकार दिएका छन्, तिनमा जीवन, स्वतन्त्रता र सुखको खोजी पर्छन्’ भन्ने मान्यताप्रतिको दृढ विश्वास हो यो ।
यही मान्यताका कारण संसारभरिका मानिस अमेरिकाप्रति आकर्षित भएका छन् । यसैले गर्दा हामी अमेरिकी असाधारण छौँ । यसको अर्थ यो होइन कि आरम्भदेखि नै हाम्रो देश दोषरहित थियो । तर, हामीले परिवर्तन गर्ने क्षमता देखायौँ र यसलाई अनुसरण गर्नेहरूको जीवन उन्नत बनाउने क्षमता पनि देखायौँ ।
निश्चय पनि हाम्रो उन्नति अरूको भन्दा विशिष्ट छ । तर, लोकतन्त्रको अभ्यास सधैँ कठिन रह्यो । यो विवादित पनि रह्यो । कहिलेकाहीँ त यसले रक्तपात पनि निम्त्यायो । दुई कदम अगाडि बढेपछि हामीले प्रायः एक कदम पछाडि सरेको महसुस ग¥यौँ ।
आठ वर्षअघि मैले अमेरिकाले ठूलो आर्थिक मन्दीलाई पूर्वावस्थामा ल्याउँछ, सवारी साधनसम्बन्धी उद्योगलाई नयाँ प्राण दिन्छ र इतिहासमै सबैभन्दा धेरै रोजागरीको अवसर सिर्जना गर्छ भनेको भए; यदि मैले हामी क्युबाली जनतासँग नयाँ अध्याय सुरु गर्छाैं, एउटै गोली खर्च नगरी इरानको पारमाणविक हतियार कार्यक्रम बन्द गर्छौं र ९÷११ का नाइकेलाई उन्मूलन गर्छौं भनेको भए; यदि मैले हामी वैवाहिक समानता हासिल गर्छौं र थप दुई करोड अमेरिकी जनताका निम्ति स्वास्थ्य बिमा सुनिश्चित गर्छौं भनेको भए; यदि मैले त्यतिबेला यी सब कुरा भनेको भए तपाईंहरू सायद भन्नुहुन्थ्यो– ‘हामीले अलिक ठूलै उद्देश्य राखेका छौँ ।’   
तर, हामीले गरेरै छाड्यौँ । तपाईंहरूले गरेरै छाड्नुभयो । र, तपाईंहरूकै कारण आज अमेरिका प्रायः सबै कोणबाट हामीले काम सुरु गर्दाताका (म राष्ट्रपति हुँदाताका) भन्दा अझ राम्रो र बलियो ठाउँ बन्न पुगेको छ ।
अबको केही दिनमा सारा संसारले हाम्रो लोकतन्त्रको नमुना देख्नेछ । स्वतन्त्र रूपमा निर्वाचित एउटा राष्ट्रपतिबाट सम्पूर्ण अधिकार अर्को राष्ट्रपतिमा शान्तिपूर्ण तरिकाले हस्तान्तरण हुनेछ । राष्ट्रपतिमा निर्वाचित ट्रम्पका लागि मेरो प्रशासनले सहज संक्रमण सुनिश्चित गरिदिनेप्रति म प्रतिबद्ध छु ।
हामीले बेहोरिरहेका विभिन्न चुनौतीहरूको सामना गर्न हाम्रो सरकारलाई सक्षम बनाउने÷नबनाउने कुरा हामीमै निर्भर छ । यस्ता चुनौतीको सामना गर्न चाहिने सबै कुरा हामीसँग छ । हामी संसारकै धनी, शक्तिशाली र पृथ्वीको सबैभन्दा सम्मानित राष्ट्र जो हौँ ।  
हाम्रा युवा, हाम्रो कर्मशक्ति, हाम्रो विविधता र खुलापन, चुनौती र पुनःआविष्कारका निम्ति चुनौती वहन गर्नसक्ने हाम्रो असीमित क्षमताको अर्थ के हो भने भविष्य पनि हाम्रै हुनुपर्छ । तर, हाम्रो लोकतन्त्रले काम गर्न पायो भने मात्रै यो सम्भव हुन सक्छ ।
आजको रात म हाम्रो लोकतन्त्रको अवस्थामाथि केन्द्रित हुन चाहन्छु । हामीले के बुझ्नुपर्छ भने लोकतन्त्रका लागि एकरूपता चाहिँदैन । हाम्रा संस्थापकहरूले बहस गरे, झगडा गरे र अन्ततः उनीहरूले सम्झौता गरे । हामीले पनि त्यसै गरौँ भन्ने उनीहरूले चाहेका छन् । हाम्रा संस्थापकहरूलाई थाहा थियो– लोकतन्त्रका लागि एकताको आधारभूत बोध आवश्यक पर्छ । यस्तो बोध, जसले अनेक बाहिरी भिन्नताका बीच हामी एकै ठाउँमा छौँ महसुस गराउँछ ।   
यस्तो एकतालाई संकटमा पार्ने क्षण इतिहासभरि आएका पाइन्छन् । र, यो शताब्दीको आरम्भ त्यस्तै एउटा क्षण थियो । खुम्चिरहेको संसार, बढ्दो असमानता, जानसांख्यिक परिवर्तन र आतंकवादको अप्रिय छाया । यी विषयले हाम्रो सुरक्षा र सम्पन्नताको मात्र परीक्षण गरेनन्, हाम्रो लोकतन्त्रकै पनि परीक्षण गरे, गरिरहेका छन् । हाम्रो लोकतन्त्रसामु आएका यस्ता चुनौतीहरूको सामना हामी कसरी गर्छौं भन्ने कुराले हाम्रा बालबालिकालाई शिक्षित गर्ने, राम्रा रोजगारीका अवसर सिर्जना गर्ने र देशको सुरक्षा गर्ने हाम्रो योग्यतालाई निर्धारण गरिदिनेछ ।
अर्को शब्दमा भन्नुपर्दा यसले हाम्रो भविष्य निर्धारण गरिदिनेछ । सबै जनाले आर्थिक सम्भावना भएको महसुस नगरेमा हाम्रो लोकतन्त्रले काम गर्न सक्दैन भन्ने कुरा सबैभन्दा पहिले बुझ्नुपर्छ ।
सुखद समाचार के छ भने आज हाम्रो अर्थतन्त्र पुनः उकालो लागिरहेको छ । ज्याला, आम्दानी, आवासको मूल्य र सेवानिवृत्तहरूको खाता पुनः बढ्दैछ । गरिबी  पुनः घट्दैछ ।
धनीहरूले करको न्यायोचित हिस्सा तिरिरहेका छन् । सेयर बजार धराशायी हुुँदा पनि बेरोजगारी दर आज विगत दश वर्षयताकै न्यून छ । अबिमाकृत दर आजजस्तो कम कहिल्यै भएको थिएन । स्वास्थ्य सेवा शुल्क विगत ५० वर्षकै सबैभन्दा न्यून दरमा वृद्धि भइरहेको छ ।
तर, हामीलाई थाहा छ– हामीले हासिल गरेको उन्नति पर्याप्त छैन । बढिरहेको मध्यमवर्ग र मध्यमवर्गमा उक्लिन चाहनेहरूको मूल्यमा केही मानिस सम्पन्न भएमा हाम्रो अर्थतन्त्रले राम्रोसँग काम गर्न सक्दैन र राम्रोसँग अर्थतन्त्र वृद्धि हुन पनि सक्दैन ।
यो आर्थिक तर्क हो । तर, असमानता हाम्रो लोकतान्त्रिक मान्यताका निम्ति पनि क्षयकारी छ । माथिका एक प्रतिशतले सम्पत्तिको ठूलो हिस्सा सुनिश्चित गरिरहँदा भित्री शहर र ग्रामीण भेगका धेरै परिवार पछाडि पर्न पुगेका छन् ।  
अब हामीले हाम्रा सन्तानलाई आवश्यक पर्ने शिक्षा सुनिश्चित गर्ने नयाँ सामाजिक अवस्था निर्माण गर्नुपर्छ । थप राम्रो ज्याला सुनिश्चित गर्न कामदारहरूलाई संगठित हुने अधिकार प्रदान गर्नुपर्छ ।
अहिलेको नयाँ अर्थतन्त्रबाट बढी लाभ लिने संघसंस्था र व्यक्तिहरूले आफूलाई यति धेरै सफल बनाउने यो देशप्रतिको दायित्व पन्छाउन नसक्ने गरी हामीले कर कानुनमा सुधार गर्नुपर्छ ।
हाम्रो लोकतन्त्रलाई दोस्रो खतरा पनि छ । यो  हाम्रो देशजत्तिकै पुरानो छ । राष्ट्रपति पदमा मेरो निर्वाचनपछि अमेरिकामा रंगभेद समाप्त भएको चर्चा चल्यो । यस्तो चर्चाको नियत असल थियो । यद्यपि, त्यो वास्तविक थिएन । रंग अथवा नश्ल अझै पनि विभाजनकारी शक्तिका रूपमा हाम्रो सामाजमा विद्यमान छ । तर, यो सत्य हो कि नश्लीय सम्बन्ध १० अथवा २० अथवा ३० वर्षअघिको भन्दा निकै सहज भएको छ ।
हरेक आर्थिक विषयलाई मेहनती मध्यमवर्ग र विपन्न अल्पसंख्यकबीचको संघर्षका रूपमा हेरियो भने सबै वर्णका श्रमिकहरू व्यर्थका विषयमा झगडा गरिरहन्छन् र सम्पन्नहरूलाई हाइसञ्चो हुन्छ । यदि हामीले आप्रवासीहरू हामीजस्तो देखिँदैनन् भनेकै आधारमा उनीहरूका सन्तानमाथि लगानी गर्न अनिच्छा देखायौँ भने हामी आफ्नै सन्तानको सम्भावनालाई सीमित गरिरहेका हुन्छौँ । किनभने, ती खैरो वर्णका बालबालिकाले भोलि गएर अमेरिकी श्रमशक्तिको ठूलो हिस्सा  ओगट्नेछन् । र, हाम्रो अर्थतन्त्रले कुनै समुदायका आधारमा भेदभाव गर्दैन । गत वर्ष सबै समुदायका, सबै उमेरसमूहका महिला र पुरुष दुवैको आम्दानी बढेको थियो ।
रंगभेदविरुद्ध हामी अझै पनि गम्भीर हुने हो भने हामीले रोजगारी, आवास, शिक्षा र फौजदारी न्याय व्यवस्थामा भेदभावविरुद्धका विद्यमान कानुनलाई कायम राख्नुपर्छ । हाम्रो संविधान र हाम्रो उच्चतम मान्यताले पनि यही माग गर्दछ ।
यसका लागि कानुन मात्र पर्याप्त हुँदैन । हाम्रो हृदय पनि परिवर्तन हुनैपर्छ । तर, यो एकैरातमा परिवर्तन हुँदैन । पुस्तौँपछि मात्रै सामाजिक धारणा प्रायः परिवर्तन हुने गर्छ । विविधता निरन्तर बढ्दै गएको यो देशमा लोकतन्त्रलाई उत्तम तरिकाले अभ्यास गर्ने हो भने अमेरिकी उपन्यासका एक महान् पात्र एटिकस फिन्चको यो सुझावलाई हामीले आत्मसात् गर्ने प्रयत्न गर्नुपर्छ– ‘तिमी कुनै पनि व्यक्तिलाई तबसम्म राम्ररी बुझ्न सक्दैनौ, जबसम्म तिमी कुनै पनि कुरालाई उसको दृष्टिकोणबाट हेर्दैनौ । जबसम्म तिमी उसको शरीरलाई धारण गरेर यताउति डुल्दैनौ, तबसम्म तिमी उनी उसलाई राम्रोसँग बुझ्न सक्दैनौ ।’
यसको अर्थ के हो भने अमेरिकाका अश्वेत तथा अन्य अल्पसंख्यक समूहले न्यायका लागि गर्ने संघर्षलाई यो देशका धेरै मानिसले बेहोर्ने समस्या समाधानतर्फ उन्मुख गराउने प्रयत्न गर्नुपर्छ । शरणार्थी, आप्रवासी, ग्रामीण भेगका गरिब अथवा तेस्रोलिंगी अमेरिकीप्रति मात्र नभएर बाहिरबाट हेर्दा सबै खाले सुखसुविधा पाएजस्ता देखिने ती श्वेतप्रति पनि संवेदनशील हुनुपर्छ, जसलाई आर्थिक, सांस्कृतिक अथवा प्राविधिक क्षेत्रमा आएको परिवर्तनले धराशायी बनाइदिएको छ ।
त्यस्तै, श्वेत अमेरिकीले पनि के स्वीकार गर्नुपर्छ भने दासप्रथाको असर यसको उन्मूलनसँगै हठात समाप्त भएन । तसर्थ, यदि अल्पसंख्यक समूहले असन्तुष्टि जाहेर गर्छन् भने उनीहरू नश्लवादी हुँदैनन् । उनीहरूले शान्तिपूर्ण आन्दोलन गर्छन् भने उनीहरूले विशेषाधिकार नभई समान अधिकार खोजेका हुन्छन्, जुन अधिकार दिने वाचा हाम्रा पुर्खाले गरेका थिए ।
त्यस्तै, अमेरिकामा जन्मिएका अमेरिकीहरूले पनि आप्रवासीसम्बन्धी धारणा परिवर्तन गर्नुपर्छ  । आइरिस, इटालियन र पोलहरूले आएर अमेरिकाको आधारभूत चरित्रलाई ध्वस्त गर्न गइरहेका छन् भन्ने धारणालाई परिवर्तन गर्नुपर्छ । नवप्रवेशीहरूको उपस्थितिले अमेरिका कमजोर भएको छैन । बरु उनीहरूले यो राष्ट्रको मान्यतालाई स्वीकार गरेर यसलाई बलियो बनाएका छन् ।
हाम्रो लोकतन्त्रले बेहोरेको जोखिम  कार बम अथवा मिसाइलभन्दा व्यापक खालको छ । तिनीहरू परिवर्तनप्रति भयभीत छन् । भिन्न देखिने, भिन्न भाषा बोल्ने, भिन्न तरिकाले प्रार्थना गर्नेहरूसँग उनीहरू भयभीत हुन्छन् । मतभेद र स्वतन्त्र विचारप्रति उनीहरू असहिष्णु हुन्छन् । के सत्य हो र के सही हो भन्ने कुरा तरबार वा बन्दुक वा बम वा प्रोपगान्डाले तय गरिदिन्छ भन्नेमा उनीहरू विश्वास गर्छन् ।
 
मैले अमेरिकी मुस्लिममाथिको भेदभावलाई अस्वीकार गरेँ, जो हामीजस्तै देशभक्त छन् । हामी लोकतन्त्र, मानव अधिकार, महिला अधिकार र तेस्रो लिंगीको अधिकार विस्तार गर्ने ठूलो आयतनको विश्वव्यापी लडाइँबाट फिर्ता हुन सक्दैनौँ ।
हामी चनाखो होऔँ । तर, नडराऔँ । इस्लामिक स्टेटले निमुखा मानिसको हत्या गर्छ । तर, जबसम्म हामीले हाम्रो संविधान र हाम्रो सिद्धान्तलाई धोका दिँदैनौँ, तबसम्म उसले अमेरिकालाई पराजित गर्न सक्दैन ।
संसारभरि फैलिएको हाम्रो प्रभावसँग रुस अथवा चीनजस्ता हाम्रा प्रतिद्वन्द्वीको तुलनै हुँदैन । तर, यो अवस्था त्यतिबेलासम्म मात्र कायम रहन्छ, जब हामी ससाना छिमेकीमाथि बलमिच्याइँ गर्ने अर्को एउटा ठूलो देश बन्दैनौँ ।
हामीले हाम्रो लोकतन्त्रलाई वास्ता गरेनौँ भने यो जोखिममा पर्छ । त्यही भएर दलीय आबद्धतालाई बेवास्ता गर्दै हामी सबैले हाम्रा लोकतान्त्रिक संस्थाहरूको पुनर्निर्माणमा आफूलाई होम्नुपर्छ ।
विगत आठ वर्षमा मैले स्नातक सिध्याएका आशावादी जवान र नयाँ सैन्य अधिकारीहरूको अनुहार देखेँ । यसबीचमा उत्तर खोजिरहेका शोकाकुल परिवारसँगै म पनि शोकाकुल भएँ । पक्षघात भएको मानिसलाई स्पर्शको अनुभूति प्रदान गर्ने हाम्रा वैज्ञानिकहरूलाई पनि मैले देखेँ । मृत्युको सँघारबाट बचेका घाइते योद्धाहरूलाई पनि मैले देखेँ ।  
भूकम्पपछिको पुनर्निर्माणमा संलग्न चिकित्सक र स्वयंसेवकलाई पनि मैले देखेँ । शरणार्थीहरूको हेरचार, शान्तिसम्बन्धी काम र एकअर्काको सहयोगमा संलग्न भएर हामीलाई आफ्नो कर्तव्यबोध गराउने ससाना केटाकेटीलाई पनि मैले देखेँ । परिवर्तन ल्याउनसक्ने सर्वसाधारण अमेरिकी जनताको शक्तिमाथि यस बीचमा मैले विश्वास गरेँ । र, यसरी विश्वास गरेबापत मैले कहिल्यै कल्पना पनि नगरेको पुरस्कार हासिल गरेँ ।
मिसेल, तिमी विगत २५ वर्षदेखि मेरो पत्नी र मेरा सन्तानकी आमा मात्र होइन, मेरो सबैभन्दा मिल्ने साथी पनि भयौ । आफ्नो शिष्टता, दृढता र प्रसन्नचित्तले तिमीले थुप्रै काम सम्पन्न ग¥यौ । तिमीले ह्वाइटहाउसलाई सबैजनाको जस्तो बनायौ । तिमीले मलाई र पूरै देशलाई गौरवान्वित तुल्यायौा । मालिया र सासा, मेरा छोरीहरू, अनौठो वातावरणका बीच तिमीहरू युवती बन्यौ । तिमीहरू चलाख छौ, सुन्दर छौ । त्योभन्दा महŒवपूर्ण कुरा– तिमीहरू दयालु छौ, विवेकशील छौ । मलाई तिमीहरूको बाबु हुनमा गर्व छ ।

मेरा अमेरिकी मित्रहरू, तपाईंहरूको सेवा गर्न पाउनु मेरा निम्ति जीवनकै ठूलो सम्मान हो । अब नागरिकका हैसियतमा बाँकी जीवनभर म फेरि पनि तपाईंहरूसँगै रहनेछु । आज म तपाईंहरूलाई विश्वास गर्नुस् भन्न चाहन्छु । परिवर्तन ल्याउने मेरो क्षमतामा होइन, तपाईंको क्षमतामा विश्वास गर्नुस् भन्न चाहन्छु ।

 

 

Leave A Comment