सपना पछ्याउँदै सुन्दरीहरू

शनिबार, ११ असार २०७३, ०१ : ०८ शुक्रवार , Kathmandu
सपना पछ्याउँदै सुन्दरीहरू

सिरहा, लहानकी अपेक्षा ढुंगाना सौन्दर्य प्रतियोगितालाई ताज जित्ने अवसर मात्र मान्दिनन् । काठमाडौँमा भएका ‘मिस नेपाल कल्चर’ र ‘लिरिल फ्रेस फेस’मा सहभागी भएर अनुभव बटुलेकी अपेक्षा अहिले ‘मिस पूर्वाञ्चल’का लागि धरान बसिरहेकी छिन् । उनको अनुभव छ, ‘व्यक्तित्व विकास हुने भएकैले यहाँ आएकी हुँ ।’

धरान १०की इक्सा मादेनलाई सानैदेखि ग्ल्यामर क्षेत्र मन पथ्र्याे । टेलिभिजनमा फेसन सो र सौन्दर्य प्रतियोगिता हेरेर मक्ख पर्ने इक्साले फेसबुकमार्फत मिस पूर्वाञ्चलको फारम खुलेको थाहा पाएर सहभागी भइन् । निकै उत्साहित हुँदै इक्साले सुनाइन्, ‘पहिला त कहाँ यस्तो थिएँ र कपाल जिंग्रिङ्ग हुन्थ्यो । बस्न पनि जान्दिनथेँ । अहिले जसरी बोल्न पनि कहाँ आउँथ्यो ?’  

मोरङ टंकीसिनवरी ५की दीपिका केसी बीएस्सी नर्सिङ पढ्दै छिन् । तर, उनको सपना छ, नर्ससँगै कलाकार बन्ने । स्कुल, कलेजमा नाटकमा अभिनयसमेत गरेकी उनी मिस पूर्वाञ्चलको प्रशिक्षण लिँदै दैनिक धरान–विराटनगर ओहोरदोहोर गर्छिन् । ‘कलाकार बन्ने प्यासनले यस्तो गरायो,’ उनी भन्छिन् ।

अघिल्लो वर्ष मिस एसएलसीमा सेकेन्ड रनरअप भएकी सुदीक्षा श्रेष्ठ पनि अहिले मिस पूर्वाञ्चलमा सहभागी छिन् । भविष्यमा इन्जिनियर बन्न चाहने सुदीक्षा जुन पेशामा लाग्न पनि राम्रो व्यक्तित्व आवश्यक रहेकाले प्रतियोगितामा सहभागी भएको बताउँछिन् । उनी भन्छिन्, ‘खान,बस्न, हिँड्न सबै सिकाइने हुँदा यस्ता प्रतियोगितामा सहभागी हुन आवश्यक लाग्यो ।’

सुनसरी झुम्काकी चन्दाकुमारी राई वीरगञ्जमा नर्सिङ पढ्छिन् । ग्ल्यामर क्षेत्रलाई समाजमा नकारात्मक रूपमा लिएको देखेर उनलाई यसबारे बुझ्न मन लाग्यो । फेसबुकमै मिस पूर्वाञ्चल हुँदै छ भन्ने थाहा पाएपछि उनी बिदा लिएर सहभागी बन्न धरान आइपुगिन् । तर, उनले सुनेको र अनुभवमा धेरै फरक पाइन् । भन्छिन्, ‘समाजले सोचेभन्दा बिल्कुल फरक रहेछ । मान्छेमा टप टू बटम चेञ्ज ल्याउन सकिने रहेछ ।’

युवा अवस्थामा मान्छेका धेरै सपना हुन्छन् । कसैको इन्जिनियर बन्ने सपना, कसैको व्यसायी बन्ने अनि कसैको कलाकार बन्ने । तर, ती सपनासम्म पुग्ने बाटो पहिल्याउन सक्दैनन् धेरैले । अहिलेका स्मार्ट युवतीहरू भने आफ्नो सपनासम्म पुग्ने भ¥याङका रूपमा सौन्दर्य प्रतियोगिताहरूलाई लिन्छन् । त्यसैले जति सौन्दर्य प्रतियोगिता भए पनि युवतीहरूको भीड लाग्छ । मिस पूर्वाञ्चल पूर्वमा हुने मध्येको ठूलो सौन्दर्य प्रतियोगिता हो । त्यसैले पनि यसमार्फत मिस नेपालमा सहभागी हुन वा व्यक्तित्व विकास गरेर अरू क्षेत्रमा प्रवेश गर्न मिस पूर्वाञ्चलमा आउनेहरू धेरै हुन्छन् । त्यसैमध्येकी एक हुन् झापा खुदुनावारीकी सुजाना पौडेल ।
उनको लक्ष्य हो अन्तर्राष्ट्रिय मोडल बन्ने । त्यसका लागि मोडलिङसम्बन्धी तालिमसमेत लिएकी उनी अहिले मिस पूर्वाञ्चलमा आइपुगेकी छिन् । प्रतियोगिता जितेर यसै क्षेत्रमा निरन्तरता दिने सोच छ उनको । इटहरीकी गुञ्जन अधिकारीलाई चाहिँ ताज जिते वा नजिते पनि १८ जना साथी कमाएकोमा खुशी छिन् । ग्ल्यामर फिल्ड राम्रो लागेर आएको बताउने उनी भन्छिन्, ‘ताज जित्नु मात्र ठूलो कुरा होइन, यहाँ पाएको तालिम जीवनभर काम लाग्छ ।’

बीबीए तेस्रो वर्षमा अध्ययनरत धरानकी रोस्मिता श्रेष्ठको लक्ष्य बैंक म्यानेजर बन्ने हो । तर, त्यहाँ पुग्न पनि व्यक्तित्व विकास हुनु आवश्यक लाग्छ उनलाई । ‘पहिला मान्छेको अगाडि बोल्न डर लाग्थ्यो अहिले हटेको छ । यसरी नै विकास हुँदै जाने हो ।’ उदयपुरकी सबनम थापाको विचार पनि यस्तै छ । बैंकर बन्न चाहने उनलाई पनि पहिला मान्छेसामु बोल्न डर लाग्थ्यो । अहिले आफूमा धेरै परिवर्तन आएको अनुभव गर्छिन् उनी । पहिला सानो कुरामा पनि रिस उठ्थ्यो धरानकी सिर्जना थापालाई । दन्त चिकित्सक बन्ने लक्ष्य लिएकी उनी मिस पूर्वाञ्चलको तालिमपछि रिसाउने बानीमा सुधार भएको र त्योभन्दा धेरै आत्मविश्वास बढेको बताउँछिन् । भन्छिन्, ‘केही न केही त जित्छु होला, नजिते अर्को प्रतियोगितामा पनि भिड्छु ।’

मेकअप आर्टिस्ट र मोडल बन्ने लक्ष्य भएकी धरानकी निशा राईलाई पहिला आफू पनि कोहीभन्दा कम छैन जस्तो लाग्थ्यो । ग्ल्यामर क्षेत्रलाई सजिलो होला भन्ने सोच्थिन् उनी । तर, अहिले उनलाई अरू क्षेत्रभन्दा यसमा धेरै मेहनत गर्नु पर्ने रहेछ जस्तो लाग्छ । ‘यो क्षेत्र आफूले जानेर अरूलाई पनि देखाउनुपर्ने भएकाले डबल मेहनत गर्नुपर्छ । सोचेजस्तो सजिलो छैन ।’
पत्रकार बन्ने लक्ष्य लिएकी झापा शनिअर्जुन ७की कृतिका गिरी पत्रकारिता नै पढिरहेकी छिन् । तर, पनि उनलाई आफ्नो लक्ष्यमा पुग्न सौन्दर्य प्रतियोगीतामा धेरै कुरा सिक्न पाइन्छ भन्ने लाग्यो । ‘यहाँ सिकेको कुरा पत्रकारितामा पनि प्रयोग गर्न सकिन्छ । अरू क्षेत्रमा पनि काम लाग्छ,’ उनी भन्छिन् ।
धरानकी ममता कार्की बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्स हुन् । उनी पनि मोडलिङको दुनियाँ बुझ्न भनेर मिस पूर्वाञ्चलमा सहभागी भएकी छिन् । भन्छिन्, ‘पहिला टीभीमा हेर्दा मोडलहरू कसरी हिँड्छन् जस्तो लाग्थ्यो, यहाँ आएर धेरै कुुरा थाहा भयो ।’ धरानकै सृष्टि आचार्यलाई चाहिँ बुबाजस्तै प्राध्यापक बन्ने धोको छ । त्यसका लागि पनि मान्छेका अगाडि उभिएर बोल्न सक्नुप¥यो । त्यही कुरा सिक्न मिस पूर्वाञ्चलमा आइपुगेको उनी बताउँछिन् ।

इनरुवाकी अनु श्रेष्ठ मिस पूर्वाञ्चलको प्रशिक्षण लिन धरान बसिरहेकी छिन् । उनी इटहरीमा रहेको कलेज धरानबाटै धाइरहेकी छिन् । सुनाउँछिन्, ‘इच्छाभन्दा ठूलो के हो र ?’ धरानकी अस्मिता खड्गीलाई पनि बोल्न अप्ठ्यारो लाग्थ्यो पहिले । मिस पूर्वाञ्चलमा सहभागी भएपछि बोल्न कुनै धक नलाग्ने उनी बताउँछिन् । मोडलिङमै भविष्य बनाउने सपना भएकी रुक्सा आचार्यलाई विभिन्न तालिम र अवलोकन भ्रमणले ताज जितेभन्दा ठूलो खुशी अहिले नै दिइसक्यो । मीरा दुमीमगरलाई पनि प्रशिक्षणले धेरै कुरा सिकायो । ‘मिस मगर नेपाल’मा ‘मस्ट कन्फिडेन्ट’ टाइटल जितेकी सिर्जना रानामगरले पहिला सिकेकै कुरा अझ मज्जाले बुझिरहेकी छिन् ।
 सिल्भर इन्टरटेन्मेन्ट र हाइट इभेन्टको आयोजनामा भइरहेको मिस पूर्वाञ्चल युवतीहरूको व्यक्तित्व विकास र सामाजिक सेवाका लागि आयोजना गरिएको कार्यक्रम भएको निर्देशक दीपक बनेपालीको भनाइ छ । प्रहरी श्रीमतीहरूको संस्था आसरा सुधार केन्द्रको सहयोगार्थ भइरहेको मिस पूर्वाञ्चलको फाइनल असार ११ गते धरान सभागृहमा हुने आयोजकले जनाएको छ । निर्देशक बनेपाली भन्छन्, ‘युवतीहरूको सपनामा पुग्न सहयोग गर्ने र समाजमा केही योगदान दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिरहेका हौँ ।’

 

 

Leave A Comment