‘चुजी’ बन्दै अभिनेता

मङ्गलबार, ०४ माघ २०७३, ११ : ४८ शुक्रवार , Kathmandu
‘चुजी’ बन्दै अभिनेता

–सामीप्यराज तिमल्सेना

अनमोल केसीको पछिल्लो फिल्म ‘गाजलु’ जेठ २८ गते रिलिज भएको थियो । सबै कुरा भनेजस्तै भए दर्शकले अनमोलको अर्को फिल्म हेर्न लगभग एक वर्ष दुई महिना कुर्नुपर्छ । अनमोलको नयाँ फिल्म ‘कृ’ भदौ १६ मा मात्र रिलिज हुनेछ, त्यो पनि कुनै भवितव्य नपरेमा ।

अनमोलपछि बजारमा चलेका अभिनेता हुन्, दयाहाङ राई । उनको नाममा करोडौँ रुपैयाँ बजारमा छरिएको छ । यो साल मात्र उनका पाँच वटा फिल्म रिलिज भइसके भने बाँकी दुई रिलिजको पर्खाइमा छन् । ‘लुट २’ र ‘लाल्टिन’ दयाहाङका यो साल रिलिज हुन बाँकी रहेका फिल्म हुन् । यसरी यो वर्ष मात्र दयाहाङका कुल सात फिल्म पर्दामा आउनेछन् ।

चल्तीका दुई अभिनेताका फिल्मको संख्याले उनीहरूको फिल्मी रणनीतिको तस्बिर स्पष्ट देखाउँछ । जहाँ अनमोल वर्षमा एउटा फिल्म गर्ने रणनीतिमा देखिन्छन् भने दयाहाङले फिल्म छनोटको मामिलामा खासै संवेदनशीलता अपनाएका देखिन्न ।

‘कम फिल्म खेल्ने मेरो व्यक्तिगत रोजाइ हो,’ अनमोल भन्छन्, ‘म हरेक महिना आएर दर्शकको अपेक्षामा फेल हुन चाहन्न । हरेक नयाँ फिल्ममा दर्शकले नयाँ अनमोल पाउनेछन् । यही कारण वर्षमा एउटा फिल्म खेल्छु र त्यसका लागि तयारी गर्छु ।’ अनमोलले यही कारण पारिश्रमिक पनि बढी लिने गरेको तर्क गर्दै आएका छन् । उनले सुटिङको संंघारमा रहेको फिल्म ‘कृ’ का लागि २० लाख लिएर उद्योगमा सनसनी मच्चाएका थिए । उनले यही फिल्मका लागि छ महिनायता नृत्य, फाइट र जिमको कक्षा लिइरहेका छन् । अनमोल भन्छन्, ‘अब ‘कृ’को रिलिजपछि मात्र अर्को कुन फिल्म गर्ने भन्ने सोच्छु ।’

अभिनेता राजेश हमाललाई आजभोलि नयाँ पुस्ताका फिल्म मेकरले उद्योगमा संख्या बढाउन मात्र प्रेरित गरेको तर फिल्मको गुणस्तर बढाउन भूमिका नखेलको भनी आलोचना गर्ने गरेका छन् । अभिनेता हमालले भने यस्ता प्रश्नलाई फिल्मको संख्या समयको माग भनेर उम्कने गरेका छन् । हमालको उत्तरमा दमै नभएको भने होइन । किनकि, उनको समयमा वर्षमा एकदुई मात्र फिल्म बन्थे र त्यही अवस्था रहिरहँदा उद्योग आजको अवस्थामा नआउन पनि सक्थ्यो । तर, आज उद्योगमा संख्याभन्दा पनि राम्रो फिल्मको खाँचो रहेको चौतर्फी आवाज उठ्ने गरेको छ । यस्तैमा नामैले दर्शक हलसम्म तान्न सक्ने क्षमता भएका दयाहाङ किन यति धेरै फिल्म खेल्दैछन् त ?
‘यसका दुइटा पाटा छन्,’ दयाहाङ भन्छन्, ‘झट्ट हेर्दा मैले धेरै फिल्म गरेको देखिन्छ । त्यसलाई म अस्वीकार गर्दिनँ । तर, मैले कति फिल्म खेल्न अस्वीकार गरेँ भन्ने सुन्नुभो भने सायद मैले खेलेका फिल्मको संख्या केही पनि होइन । मैले प्रस्ताव गरेका फिल्ममध्ये जम्मा १० प्रतिशतमा मात्र अभिनय गरेको छु ।’

दयाहाङसँग करिब दुई वर्षसम्म नयाँ फिल्मका लागि डेट छैन । तर, व्यक्तिगत रूपमा संख्याभन्दा गुणस्तरमा विश्वास गर्ने भए पनि आफूले भने बाध्यताले फिल्म गरिरहेको दयाहाङ बताउँछन् ।

‘पहिलो बाध्यता अर्थसँग जोडिएको छ । अर्को बाध्यता भनेको मित्रता हो,’ दयाहाङ भन्छन्, ‘दुःखका दिनमा सँगै संघर्ष गरेका साथीहरूलाई मेरो सल्लाह सुझावले मात्र चित्त बुझाउन गाह्रो भयो । शारीरिक रूपमै उपस्थित भइदिन पर्ने भयो । त्यही कारण पनि धेरै फिल्ममा देखिनुपरेको छ ।’

पाँच वर्षपछि नेपाली फिल्ममा ‘कम ब्याक’ गरे पनि निखिल उप्रेतीलाई सुटिङमा भ्याइ नभ्याइ छ । तीन सिफ्टमा सुटिङ गरिरहेका उनी पारिवारिक झमेलाका कारण पाँच वर्षअघि सुटुक्क मुम्बई हानिएका थिए । त्यतिबेला निखिलको व्यस्तता यति थियो कि उनी सेटमै निन्द्रा पु¥याउँथे । गत वर्ष नेपाल फर्किएलगत्तै उनको अवस्था यस्तै छ । अघिल्लो साल ‘भैरव’ र ‘लुटेरा’मा देखिएका निखिल यो वर्ष  ‘किङ’ र ‘निर्भय’मा देखिँदैछन् । अर्को साललाई पनि निखिलका तीन फिल्मका लागि तयार भइसकेका छन्, ‘राधे’, ‘संरक्षण’ र ‘रुद्र’ । निखिलले ‘भिलेन’  र ‘पिंजडा २’ का लागि पनि समय दिइसकेको खबर आइसकेको छ ।
तर, निखिलले केही दिनअघि एउटा दैनिक पत्रिकालाई दिएको अन्तर्वार्तामा आफू कम खेल्ने पक्षमा रहेको बताएका छन् । ‘साँच्चै नै अब कम फिल्म खेल्छु । त्यही कारण आफैँ रुद्रमार्फत निर्माता बनेको छु । अब दर्शकले मलाई बाक्लै देख्न पाउनुहुन्न’ निखिलले भनेका छन् । उनले यही कारण ‘भिलेन’ र ‘पिजडा २’ का निर्मातालाई आफ्नो विकल्प खोज्न भनिसकेको बताए । ‘मलाई पनि लाग्छ, कलाकार जति कम पर्दामा देखियो उति राम्रो । मेरो पनि परिवार छ र दायित्व छ । मैले एक वर्षको अन्तरालमा जति फिल्म खेलेँ, पाँच वर्षको साटो खेलेको हुँ । अब पुग्यो,’ निखिलले भने ।

अनमोल, दया वा निखिल मात्र होइन उद्योगका धेरै कलाकार फिल्मको संख्याप्रति सचेत हुन थालेका छन् । यही अनुभूतिको प्रभाव हुन सक्छ आँखा चिम्लेर आएजति फिल्म खेल्ने जीवन लुइँटेल र आर्यन सिग्देलले पनि वर्षका एकदुई फिल्म मात्र खेल्ने घोषणा गरेका छन् । आर्यनले आफ्नै ब्यानरमा मात्र फिल्म खेल्ने घोषणा गरेका छन् भने जीवनले वर्षको दुइटा फिल्म खेल्ने बताएका छन् ।

नयाँ पुस्ताका अभिनेता यो मामिलामा अझै सचेत देखिएका छन् । प्रदिप खड्काले ‘प्रेमगीत’ पछि यसैको सिक्वेल खेल्न ‘दर्पणछायाँ २’ र ‘मेरो हजुर २’ लत्याएका थिए भने पल शाहले ‘जोनी जेन्टलमेन’ र ‘म यस्तो गीत गाउँछु’ पछि मात्र नयाँ फिल्म खेल्ने निर्र्णय गरेका छन् ।
फिल्म निर्माण गर्नेको संख्या ह्वात्तै बढेसँगै अभिनेताहरू नचाहेर पनि धेरै फिल्म खेल्न बाध्य भएका छन् । यही कारणले हरेक फिल्मको चरित्रका लागि मेहनत गर्ने सौगात मल्ल पनि अर्को वर्षको जेठ÷असारसम्म फिल्ममा ‘प्याक’ छन् । फिल्म निर्माणमा आएको बाढीले चल्तीका कलाकारलाई भने फाइदै पुगेको छ । चारपाँच लाख हाराहारीमा रहेको उनीहरूको पारिश्रमिक बढेर १० लाखसम्म पुगेको छ । तर, अभिनेताको बढेको पारिश्रमिकले फिल्मको स्तरमा भने कस्तो असर गर्ला ? परिणाम थाहा पाउन केही दिन कुर्नपर्ने हुन्छ ।  
           

Leave A Comment