दिङ्ला पाठशालासम्बन्धी अशुद्धि

मङ्गलबार, ०४ माघ २०७३, ११ : २१ शुक्रवार , Kathmandu
दिङ्ला पाठशालासम्बन्धी अशुद्धि

काठमाडौँबाट नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालिद्वारा प्रकाशित वि.सं. २०७३ पौष ९ गतेको अन्नपूर्ण पोस्ट् १५ वर्ष २२९ अङ्कको ६ पृष्ठमा छापिएको छेटु शेर्पाको पाइलैपिच्छे षडानन्दका सम्झना भन्ने लेखमा राणाहरूले सर्वसाधारणका लागि अध्ययन अध्यापनमा लगाएको बन्देज तोड्दै उनले स्थापना गरेको पहिलो भोजपुर दिङ्लाको षडानन्द संस्कृत पाठशाला हो, आजभन्दा एक सय ३७ वर्षअगाडि (विक्रम संवत् १९३२) नेपालको इतिहासमा विद्यालयको स्थापना गरिएको थियो, यो पाठशाला नेपालको इतिहासमा जनस्तरबाट पहिलो पटक खोलिएको भनी लेखिएको छ । यताबाट षडानन्द अधिकारीले वि.सं. १९३२ मा खोलेको दिङ्ला पाठशाला नै जनस्तरबाट खोलिएको पहिलो पाठशाला हो भन्ने आशय यस लेखको देखिन्छ । काठमाडौँबाट खिलशर्म–राजीवलोचनजोशीस्मारकप्रतिष्ठानद्वारा प्रकाशित दिनेशराज पन्तको बडागुरुज्यू विजयराजसँग सम्बद्ध पत्रहरूमा वि.सं. १९१४ श्रावण १३ गतेको बडागुरुज्यू विजयराजको पत्र छापिएको छ । त्यस पत्रमा विजयराजले आफ्नो निजी खर्चबाट पाठशाला खोली त्यसमा पढाउने तीनजना पण्डितलाई तलब, १० जना विद्यार्थीलाई छात्रवृत्ति, एकजना टहलुवालाई तलब र आवश्यक मसलन्दको व्यवस्था गरिदिएको कुरा परेको छ (त्यस पुस्तकका वक्तव्यखण्डको १२ पृ., मूलखण्डको १०१ पृ., पत्रखण्डका १८७–१८८ पृ.) । यसरी वि.सं. १९३२ भन्दा १८ वर्षअघि नै वि.सं. १९१४ मा जनस्तरमा पाठशाला खुलिसकेको प्रमाण पाइएकाले दिङ्लाको पाठशाला जनस्तरमा खोलिएको पहिलो पाठशाला हो भनी अन्नपूर्ण पोस्ट्मा लेखिएको कुरा अशुद्ध ठहर्छ ।
प्रा. दिनेशराज पन्त      

(गत अङ्कको यही स्तम्भमा बेलकोट हुनुपर्ने ठाउँमा तेलकोट भएकाले सच्याइएको छ ।– स.)

 

Leave A Comment