बहुविवाह नगर्नेलाई कारबाहीको हल्ला

सोमबार, ०३ माघ २०७३, ०१ : ३१ शुक्रवार , Kathmandu
बहुविवाह नगर्नेलाई कारबाहीको हल्ला

गत साता अफ्रिकी देश इरिट्रियाबारे एउटा समाचार भाइरल भयो । इरिट्रियामा बहुविवाह गर्न अस्वीकार गर्ने पुरुषलाई कारबाही गर्ने कानुन छ भन्ने समाचार सामाजिक सञ्जालमा भाइरल भयो । अफ्रिकी महादेश र अन्यत्रका सञ्चारमाध्यमले यसबारे समाचार प्रकाशन गरेपछि यो समाचार विश्वव्यापी बन्यो ।
देशमा महिला र पुरुषको संख्यामा सन्तुलन नआएपछि सरकारकै अग्रसरतामा बहुविवाहले कानुनी मान्यता पाएको सबै समाचारमा जनाइएको थियो ।  इरिट्रियामा महिलाको भन्दा पुरुषको संख्या निकै कम छ । एउटा महिलाले एकजना पुरुषसँग विवाह गरेमा विवाह गर्नबाट वञ्चित महिलाको संख्या बढी हुने र यसबाट समाजमा अनेक खालका समस्या उत्पन्न हुन सक्ने देखेर त्यहाँको सरकारले सबै पुरुषले दुई महिलासँग बिहे गर्नुपर्ने नियम बसालेको समाचारमा उल्लेख थियो ।
दुईपटक विवाह गर्न अस्वीकार गर्ने र श्रीमान्लाई दोस्रो विवाह गर्न नदिने महिला दुवैलाई आजीवन कारावाससम्मको सजाय सुनाउन सकिने कानुनसमेत त्यहाँ बनाइएको जनाइएको थियो । कतिपय भारतीय सञ्चारमाध्यले समेत यही व्यहोराको समाचार प्रकाशन÷प्रसारण गरेका थिए ।
तर, प्रसिद्ध समाचार संस्था बीबीसीले यो फगत हल्ला भएको पुष्टि गरेको छ । इरिट्रिया सरकारको लेटरप्याड र सरकारी अधिकारीको हस्ताक्षर दुरुपयोग गरी बहुविवाहलाई इरिट्रिया सरकारले लामो समयदेखि कानुनी मान्यता दिएको व्यहोराको प्रेस विज्ञप्ति कसैले सामाजिक सञ्जालमा हालेको थियो, जुन तत्काल भाइरल भएको थियो । तर, उक्त प्रेस विज्ञप्ति झुटो भएको बीबीसीले जनाएको छ । यसअघि इराकमा पनि यस्तै कानुन छ भन्ने हल्ला चलेको समेत बीबीसीले स्मरण गरेको छ । 

Leave A Comment