हातको स्याहार

सोमबार, ०३ माघ २०७३, ०१ : ०९ शुक्रवार , Kathmandu
हातको स्याहार

लक्ष्मी महत, ब्युटिसियन
जाडोमा छाला सुक्खा हुने गर्छ । म्वाइस्चराइजरको कमीले गर्दा जाडोमा शरीरको छाला सुक्खा हुने गर्छ । विशेष गरी, हातगोडाको छाला । साग तरकारी धुने, भाँडा माझ्ने, लुगा धुनेलगायत घरायसी कामले गर्दा चिसो मौसममा महिलाहरूको हातको छाला एकदमै सुक्खा हुने गर्छ । कतिपय महिलामा हातको छाला सुक्खा हुनुका साथै हात फुट्ने, छाला कालो हुने, औँला सुन्निने, रगत जामेर औँलामा नीला डाम बस्नेलगायत समस्या देखिन्छन् । त्यसैले जाडोमा हातको विशेष स्याहार गर्नु आवश्यक छ ।
त्यसका लागि १५ दिनमा एक पटक मेनिक्योर गराउनुपर्छ । ब्युटिपार्लरमै गएर मेनिक्योर गर्नुपर्छ भन्ने छैन । घरमै पनि सजिलै हातको स्याहार गर्न सकिन्छ ।
राति सबै काम सकिएपछि हातलाई मनतातो पानीले धुने । रुमालले हात पुछेर सुक्खा बनाउने । हातमा म्वाइस्चराइजर क्रिम दलेर १० मिनेटसम्म मसाज गर्ने । म्वाइस्चराइजर क्रिमको मसाजले हातलाई सुक्खा हुनबाट र चाउरिनबाट बचाउँछ ।
टिप्सः
-एक चम्चा गोलभेँडाको रसमा एक चम्चा चिनी मिसाउने । यो मिश्रणलाई दुई मिनेटसम्म हातमा दल्ने ।
- एक चम्चा दहीमा एक चम्चा बेसार मिसाएर प्याक बनाउने र हातमा लगाउने । प्याक पाँच मिनेट हातमा राखेपछि दुई मिनेटसम्म मसाज गर्ने र हात धुने ।
-एक चम्चा गोलभेँडाको रसमा एक चम्चा कागतीको रस र एक चम्चा ग्लिसरिन मिसाएर प्याक बनाउने र हातमा लगाउने ।
-बढी नै सुक्खा भएको हातमा एक चम्चा जैतुन तेलमा एक चम्चा चिनी मिसाउने र हातमा रगड्ने । यसले हातको मृत छालालाई सजिलै निकालिदिन्छ । जैतुन तेलले हातलाई नरम बनाउँछ । हात धोएपछि लोसन दल्ने ।

Leave A Comment