‘पुरानै ढर्राले देश बन्दैन’

आइतबार, ०२ माघ २०७३, ०२ : ०७ सृजना खड्का , Kathmandu
‘पुरानै ढर्राले देश बन्दैन’

नैनसिंह महर
अध्यक्ष, नेपाल विद्यार्थी संघ

डडेलधुरामा जन्मिएको मैले २०४७ सालबाट राजनीति सुरु गरेको हुँ । त्यो बेलामा म नेवि संघको विद्यालय अध्यक्ष थिएँ । एसएलसी पास गरेपछि विवाह गरेर घरजम गरोस् भन्ने आमाबुबाको चाहना थियो । एक वर्षजति मैले स्कुल पनि पढाएँ । तर, त्यो बेलादेखि नै ममा राजनीतिको भूत सवार भइसकेको थियो । एकपटक शेरबहादुर देउवा स्कुलको एउटा कार्यक्रममा आउँदा मैले विद्यालयको नेवि संघको अध्यक्षको रूपमा भाषण गर्ने मौका पाएको थिएँ । बिस्तारै उहाँको सामीप्यका कारण राजनीतिमा अगाडि बढियो ।  
अहिले हामी ‘जहाँ विद्यार्थी, त्यहाँ नेवि संघ’ भन्ने विषयका साथ अगाडि बढिरहेका छौँ । संविधान कार्यान्वयन, संगठन सुदृढीकरण, शैक्षिक सुधार र परिवर्तनका लागि राष्ट्रिय जागरण अभियानको पनि थालनी गरिसकेका छौँ । किसान र न्यून आर्थिक अवस्था भएकाले पनि गुणस्तरीय शिक्षा पाउनुपर्छ । सरकारी मेडिकल, इन्जिनियरिङ र अन्य कलेजहरूमा स्थानीय जनताले पनि पढ्न पाउने व्यवस्था सुनिश्चित हुनुपर्छ । विश्वविद्यालयहरूमा राजनीति भइरहेको छ । त्यहाँ खुला प्रतिस्पर्धाका लागि हामी पहल गरिरहेका छौँ ।
विकसित देशहरूमा कुल बजेटको २० देखि ३० प्रतिशत शिक्षाका लागि छुट्याउँछन् । हाम्रोमा १० प्रतिशत बजेट छुट्याउन पनि हम्मेहम्मे छ । यो शिक्षामा भएको एक प्रकारको अन्याय हो । आजका विद्यार्थीले नै भोलि देश हाँक्ने भएकाले उनीहरूलाई सरकारले अन्यायमा पार्नु हुँदैन ।
प्रारम्भिक बाल विकास केन्द्रको अवधारणा शहरबजारमा मात्रै मौलाएको छ । गाँउघरमा अझै पनि धेरै बालबालिका गरिबी र कुपोषणको शिकार बनेका छन् । उनीहरू अझै पनि लामो दूरी पार गरेर दिनहुँ स्कुल आवतजावत गर्न बाध्य छन् । हामीले बोटलाई नै मलजल गरेनौँ भने त्यसबाट कस्तो फलको अपेक्षा गर्ने ? वास्तवमा गाँउघरका हरेक वडामा दुइटा प्रारम्भिक बाल विकास केन्द्र चाहिन्छ । सरकारको फिका कार्यान्यवयनलाई दरिलो बनाउनका लागि हामी निरन्तर प्रयास गरिरहेका छौँ ।
कमजोर आर्थिक स्थिति भएका विद्यार्थीका लागि डाक्टर, इन्जिनियर हुनु र प्राविधिक विषय पढ्नु भनेको ‘आकाशको फल आँखा तरी मर’ भनेको जस्तै भएको छ । हुनेले पैसा तिरेर पढ्छन् । नहुनेलाई कल्याणकारी हिसाबबाट पढाउने व्यवस्था हुुनुपर्छ । राम्रो विषय र गुणस्तरीय शिक्षा धनीको पहुँचमा मात्र हुनु हुँदैन । त्यसलाई सर्वसाधारणसम्म पनि पु¥याउन सकेको खण्डमा शैक्षिक क्षेत्र फस्टाउन सक्छ ।
सेमेस्टर प्रणाली लागू गर्नका लागि पनि हामीले खुला विज्ञप्ति जारी गरेका थियौँ । उक्त नीति केही हदसम्म कार्यान्वयन पनि भयो । त्यस्तै, एसएलसीमा फेल भएर बर्सेनि सयौँ विद्यार्थीले आत्महत्या गर्थे । ग्रेडिङ प्रणालीले त्यसलाई केही हदसम्म निराकरण गरिदिएको छ । विद्यार्थीले आफ्नो शैक्षिक प्रमाणपत्रको आधारमा ऋण लिएर पढ्न पाउने व्यवस्थाका कुराहरू आएका छन् । यसको पूर्ण रूपले कार्यान्वयन भएको छैन ।
सामुदायिक विद्यालयमा निजीको तुलनामा मनग्य बजेट छुट्याउँदा पनि शैक्षिक गुणस्तरमा कुनै पनि किसिमको सुधार आएको छैन । यसका लागि हामी युवाहरूले आ–आफ्ना ठाँउबाट पहल गर्नुपर्ने देखिन्छ । सामुदायिक विद्यालयको स्तर उन्नतिका लागि युवाहरूका साथसाथै शिक्षक, विद्यार्थी र अभिभावकले आफ्नो जिम्मेवारी प्रभावकारी ढंगबाट पूरा गर्नुपर्छ ।
हामीले हालसालै १६ वर्षभन्दा मुनीका बालकालिकाहरूले राजनीतिक सदस्यता लिन नपाउने भन्ने गम्भीर कुरा उठाएका छौँ । अरू विद्यार्थी संगठनले यसमा सहमति जनाएका छैनन् । विद्यार्थीहरूले राजनीति नै गर्न नहुने भन्ने होइन । उनीहरूले स्वतन्त्र विद्यार्थी युनियनबाट राजनीति गर्न सक्छन् । यसका लागि नियमित चुनावको माहोल हुनुपर्छ ।
अहिलेका विद्यार्थी तथा युवाहरूले नेतृत्व विकास गर्नतर्फ लाग्नुपर्छ । उनीहरूले राजनीतिका साथसाथै समाज परिवर्तनका लागि पनि आफ्ना कदम अगाडि बढाउनुपर्छ । जनता र समाजका समस्याहरूलाई निराकरण गर्नका लागि उनीहरूको प्रयास अपरिहार्य हुन्छ । शिक्षा क्षेत्रमा देखिएका त्रुटिहरू हटाउन विभिन्न माध्यमबाट हामी सबैको प्रयास निकै जरुरी देखिन्छ ।
अहिलेका युवाहरू अवसरको कमी भएर निराश छन् । उनीहरूमा खासै जागरुकता देखिँदैन । एकअर्काप्रति विश्वास हराएको अवस्था छ । तर, पुर्खाले यसो गरे, उसो गरे भन्दै पुरानै ढर्रामा बसेर मात्र देश बन्दैन । आगामी पुस्ताका लागि हामी इतिहासमा नाम लेखिने बन्न सक्नुपर्छ । बर्सेनि बाहिरिने लाखौँलाख युवा तथा श्रमिकलाई रोकेर सरकारले उनीहरूको पसिनाको उचित प्रबन्ध गर्नुपर्छ । युवाहरूले गुमाएको विश्वास फर्काउन जरुरी छ । नेतृत्व तहमा बसेकासँग देश र जनताका लागि प्रतिबद्धता हुनुपर्छ । राजनीतिक क्षेत्रमा लाग्ने नयाँ युवा पुस्ता चोखो  र नैतिकवान हुनुपर्छ ।         
 

 

Leave A Comment