हिउँमा रमाउँदै तराईका युवा

आइतबार, ०२ माघ २०७३, १२ : २४ गोपाल दाहाल , Kathmandu
हिउँमा रमाउँदै तराईका युवा

सडकभरि सेताम्य हिउँ छ । भीर, पाखा र खोल्सी पनि हिउँले पुरिएका छन् । तराईतिरका युवा यही सेताम्य हिउँमा रमाउन पहाड चढेका छन् । हिउँमा खेल्न पाउँदा उनीहरूमा खुशीको सीमा नै छैन ।
संखुवासभा र तेह्रथुमको सिमानामा पर्ने पाँचपोखरी क्षेत्रमा एक हूल युवा भेटिए । उनीहरूमध्ये कोही हिउँको डल्लाले हानाहान खेल्दै थिए । कोही हिउँमै लडीबुडी खेल्दै त कोही हिउँमाथि नाँच्दै थिए अनि कोही चाहिँ हिउँमा सेल्फी खिच्दै थिए । हिउँमा साथीहरूसँग रमाउँदै भेटिएका विराटनगरका अभिषेक बस्नेत ‘बिन्दास’ मुडमा थिए । साथीहरूसँग हिउँमा खेल्दै गरेका उनले भने, ‘यो ठाउँ त स्वर्गको एउटा टुक्राजस्तो लाग्यो ।’
अभिषेकजस्तै पूर्वी तराईका युवा यतिबेला पाँचपोखरी, वसन्तपुर, तीनजुरे, चौकीबजारदेखि गुफापोखरीसम्म हिउँमा रमाइरहेका भेटिन्छन् । चिसो मौसम बढेसँगै पुस तेस्रो साताबाट संखुवासभा, तेह्रथुम र ताप्लेजुङको सीमावर्ती क्षेत्रका गाउँमा हिउँ पर्न थालेपछि पूर्वका इनरुवा, इटहरी, विराटनगर, धरानलगायत क्षेत्रबाट हिउँमा रमाउन जानेहरूको लस्कर लाग्न थालेको छ । मोटरसाइकल र गाडीमा यो क्षेत्रमा पुग्नेहरू हरेक वर्ष बढिरहेका छन् । तराईका जिल्लाबाट हिउँमा खेल्दै पिकनिक मनाउन पनि वसन्तपुर, टुटे देउरालीसम्म जानेको संख्या बढेको स्थानीय बताउँछन् ।
हिउँमा रमाउन धरानबाट पाँचपोखरी पुगेका नरेन कुलुङ र दिलिप रिनोहोङलाई पनि हिउँमा लडीबुडी खेल्न खूब मजा लाग्छ । तेह्रथुममा हिउँ परेको तेस्रो दिन त्यहाँ पुगेका दिलिपले भने, ‘बाटोमा आउँदा हिउँ भेटिँदैन कि भनेर निराश भएको थिएँ तर यहाँ आइपुगेपछि सबै बिर्सिएँ । सोचेभन्दा बढी रमाइलो भयो ।’ हिउँमा पहिलो पटक रमाएको अनुभव सुनाउँदै नरेनले भने, ‘हिउँ खेल्दा चिसोले हात झर्लाजस्तो भयो । तर, रमाइलो गर्ने धुनमा चिसो नै बिर्सिएछु ।’
तीनजुरे डाँडामा हिउँ परेको टाढाबाट पनि प्रष्ट देखिन्छ । भेडेटारका होटल व्यवसायी अनिल लिम्बूले भेडेटारबाटै तीनजुरेमा हिउँ परेको देखे । टाढाबाट देखिएको हिउँलाई आफ्नै हातले छुन उनी चार घण्टाको गाडी यात्रा गरेर हिउँ खेल्न पुगे । ‘हिउँ खेल्दा रमाइलो त भयो नै यसलाई व्यावसायिक बनाउन सकिने सम्भावना पनि देखेको छु,’ उनले भने, ‘भेडेटारमा आउने पर्यटकलाई हिउँ खेलाउन लैजान सके पूर्वको पर्यटनमा नयाँ गन्तव्य थपिन्छ ।’
अहिले हिउँ पर्ने क्षेत्र चैत बैशाख महिनामा गुराँस फुलेर राताम्य हुन्छ । ‘गुराँसको राजधानी’ उपनाम पनि पाएको तीनजुरे मिल्के जलजले क्षेत्रमा देशविदेशका पर्यटक आउने क्रम पनि बढ्दो छ । यो क्षेत्रमा पुस माघमा हिउँ खेल्न पर्यटक आउने सम्भावना बढेकाले आफूहरूले यसबारे छलफल गरिरहेको भेडेटार होटल एसोसिएसनका कोषाध्यक्ष गजेन्द्रमणि कुलुङ बताउँछन् । उनका अनुसार भेडेटारमा आउने धेरै पर्यटक हिउँमा रमाउन चाहन्छन् । भेडेटार होटल एसोसिएसनका अध्यक्ष लीलाराज लावती एसोसिएसनले पहाडी क्षेत्रमा हिउँ परेको बेला पर्यटकलाई पठाउने व्यवस्था गर्न योजना बनाइरहेको बताउँछन् । ‘हिउँ खेलेर रमाउने मात्र होइन यसबाट पर्यटन प्रवद्र्धन गरेर आर्थिक लाभ पनि लिन सकिन्छ भनेर लागि परेका छौँ,’ उनले भने ।

 

Leave A Comment