जसले समाजको कटाक्ष सहे

आइतबार, ०२ माघ २०७३, ११ : ४७ शुक्रवार , Kathmandu
जसले समाजको कटाक्ष सहे

खाइलाग्दो ज्यान, उज्यालो अनुहार । झट्ट हेर्दा कुनै कुराको अभाव नभएजस्तै देखिन्छन्, रामकृष्ण शर्मा (४५) । तर, उनको व्यथा बेग्लै छ । स्याङ्जा, पुतलीबजार–३ घर भएका उनी अहिले काठमाडौँ, सामाखुसीमा ‘संसार स्टेसनरी’ चलाउँदै आएका छन् ।
०००
२०५६ सालमा व्यवस्थापन संकायमा स्नातकोत्तर सकेर राजधानीबाट गाउँ फर्केका उनी शिक्षाकर्मी बन्ने दौडमा थिए । त्यतिबेलाको उनको ऊर्जा साँच्चै व्याख्या गर्न लायक ठान्थे धेरैले । नेपाल आदर्श क्याम्पसमा अध्यापन गर्दै आफ्नै सक्रियतामा एउटा निजी स्कुल पनि खोले । विद्यार्थी र अभिभावकमाझ दरिलो प्रभाव जमाए उनले । ‘‘रिनाउन्ड प्रोफेसर’ बन्ने सपना थियो,’ उनले भने ।
बिस्तारै, उनी र उनकी श्रीमती दुर्गालाई छरछिमेकले हेर्ने नजर ढलपल हुँदै गयो । कारण थियो, निःसन्तान हुनु । बिहे गरेको पाँचछ वर्ष बितिसक्दा पनि कोख भर्न नसक्ने भन्दै उनीहरूको जोडीमाथि पार्नु पिर पार्दै गयो गाउँसमाजले । दिन बित्दै गए, रात ढल्दै गए । पीडामाथि पीडा थोपरिँदै आए । यसैबेला रामकृष्णका बुबा बेपत्ता भए । मामाको अकाल मृत्यु भयो । मन झन् बहकिन थाल्यो । जे गर्दा पनि समाजले ‘कसका लागि गर्छस् ?’ भन्ने प्रश्न तेर्साउन थाले । नशामा पीडा भुल्ने गलत आधारतिर उनी लम्किए । ‘पढेको मान्छे, हेर त हालत’ भन्न थाल्यो समाज । पहिले आफ्ना सन्तानलाई आशीर्वाद दिँदा ‘रामकृष्ण जस्तो भएस्’ भन्थे । पछि त ‘त्यो रामकृष्णेजस्तो होलास् नि’ भन्न थाले,’ उतिबेलाको पीडा पोख्दै रामकृष्णले भने, ‘यस्ता असह्य पीडाहरूले मलाई आफ्नो गाउँबाट टाढिन बाध्य बनायो ।’ स्याङ्जाको सबथोक त्यागेर यो जोडी राजधानी पस्यो । यतै इन्स्टिच्युट चलाएर जीविका धान्ने योजना बनाएर उनीहरू अघि बढे ।
तर, सुखको सास फेर्न यहाँ पनि कहाँ सजिलो थियो र ! ‘यो समाजले मलाई कतै गए पनि लखेट्न छाडेन,’ रामकृष्णले भने, ‘मलाई निराशाको खाल्डोमा पुर्न खोज्ने यो समाजसँग डराएर लुक्ने दिन गए अब । निःसन्तान हुनुजस्तो पीडा अर्को के होला भन्ने सोच्थेँ उतिबेला । अब त्यो रहेन । जसले जे सोचे पनि म आफूलाई सम्हाल्न अग्रसर हुँदैछु ।’
अहिले त्यो हुरीको बेग बिस्तारै नियन्त्रणमा आउन खोज्दैछ । उतिबेलाको जस्तो मुख छोपेर ‘चिनेका मान्छे भेटिँदै नभेटिऊ्न’ भन्ने मनोदशा बदलिँदैछ । जतिसक्दो एक्लो हुन खोज्ने मन बदलिँदैछ । मध्य दिनमा पनि चारैतिर अँध्यारो देख्ने आँखाहरू अहिले मध्य रातमा पनि आशाका किरण देख्न सक्ने बन्दैछन् । निराशाको ढडेलो झोसिएको हृदयमा आशाका तिनै किरणले उज्यालो छर्दैछन् । ‘यही समाजका अघि निःसन्तान आमाबाबुका पक्षमा वकालत गर्ने सोचमा छौँ,’ उनले भने, ‘मान्छेलाई आफूसँग जे छैन त्यही कुरा ठूलो लाग्दो रहेछ । तर, मनमा सकारात्मक सोच भए खुशी खोज्न कतै टाढा जानुपर्दैन ।’ यही सोचले प्रेरित हुँदै उनी अब नशादेखि टाढा हुन खोज्दैछन् । पुस्तक अध्ययन उनको सोख हो ।
बिहे गरेको २० वर्ष पुग्नै लाग्यो । निःसन्तानको उपचार प्रयास नगरेका पनि होइनन् । केही उपाय नलागेपछि जे छ त्यसैमा सन्तोष गर्न सिके उनले । कुनै बेला जीवनलाई नै निराशातर्फ धकेल्न खोजिरहेका रामकृष्णलाई दुर्गाले सम्झाउँछिन् । दुवै खुशीसाथ जिउन प्रयत्न गर्दै छन् यतिबेला । पसलको आम्दानी राम्रै छ ।
भाइको सन्तानको मुख हेरेर खुशी हुन खोज्छन्, उनीहरू । भाइको छोरा संसार, छोरी सृष्टि । जुन नाम रामकृष्णले नै जुराएका हुन् । ‘संसार’को नाममा स्टेसनरी खोलेका छन् । ‘छोराछोरीले कहिलेकसो मतलब नगरिदिँदा एकदम मन रुन्छ,’ उनले भने, ‘उनीहरूको स–सानो कुराले पनि एक्कासि खुशी वा दुःखी बनाउँछ ।’

 

Leave A Comment