पाइलैपिच्छे शोषण

आइतबार, ०२ माघ २०७३, ११ : १८ अनिल यादव , Kathmandu
पाइलैपिच्छे शोषण

देशमा गरिखाने अवसर नपाएपछि गरिब नेपालीले विदेश त ताक्ने नै भए । तर, विदेश त्यति सजिलो कहाँ छ र ? त्यसमाथि नेपाली महिलाका लागि वैदेशिक रोजगारी हदै जोखिमपूर्ण छ । अझ अशिक्षित महिलालाई त दलालहरूले वैदेशिक रोजगारीमा जाने पहिलो पाइला चालेसँगै ठग्न र शोषण गर्न थाल्छन् । विदेशमा पाउने दुःखको त हिसाबै भएन, गन्तव्य मुलुक पुग्नुअघि नै नेपाली महिला दलालको दलदलमा परेर शारीरिक, मानसिक तथा आर्थिक शोषणमा परेका छन् । विदेश गएर सुखका दिन लेराउने सपना देखेका महिलाहरू कसरी दलालको क्रूर पञ्जामा परिरहेका छन् ? अनिल यादवले त्यसको दुःखद दृश्य उतारेका छन् ।

‘कुवेत पठाइदिन्छौँ’ भन्दै नेपाली युवतीहरूमाथि आर्थिक तथा शारीरिक शोषण गर्दै आएको तीन जनाको गिरोहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गत महिना काठमाडौँ र रुपन्देहीबाट पक्राउ ग¥यो । नवलपरासीका राजकुमार पोखरेल, ताप्लेजुङका पुरन सुब्बा भन्ने पूर्णबहादुर लिम्बूलाई काठमाडौँबाट र रुपन्देहीका हरिप्रसाद थारुलाई उतै पुगेर प्रहरीले पक्राउ गरेको हो । उनीहरूबाटै शोषणमा परेकी एक महिलाको उजुरीका आधारमा प्रहरीले उनीहरूलाई खोजिरहेको थियो ।

सीआईबीको मानव बेचबिखन पिलरका डीएसपी ज्ञानेन्द्र फुयाँलका अनुसार यी दलालले मानव तस्करहरूको संयन्त्र बनाई योजनाबद्ध ढंगले नेपाली महिलामाथि शारीरिक, मानसिक र आर्थिक शोषण गर्दै आएका थिए । ‘एक जना पीडित महिलालाई यिनीहरूले आकर्षक तलबको प्रलोभन देखाउँदै कुवेत पठाइदिन्छु भनेछन्,’ डीएसपी फुयाँलले घटना सुनाए, ‘त्यसपछि पीडितलाई काठमाडौँबाट भारतीय सीमा नाका सुनौली बेलहिया हुँदै भारतको दिल्लीसम्म पु¥याएर त्यहाँका दलाललाई जिम्मा लगाएछन् । दिल्लीमा १६ दिन राखी फेरी श्रीलंका पठाइएछ । त्यहाँ पनि २५ दिनजति राखेर कुवेत पठाइएछ । त्यसपछि पुनः श्रीलंका ल्याएर १५÷२० दिन राखेर दुबई हुँदै ओमान पठाइएछ । ओमानबाट ती महिलाले आफ्नो अवस्थाबारे जानकारी गराउँदै परिवारलाई फोन गरिछिन् । परिवारले हामीलाई जानकारी गराएपछि ओमानमा पहल गरेर उनलाई फिर्ता स्वदेश ल्याइयो । उनकै बयानका आधारमा यी तीन जना दलाल पक्राउ परे ।’

उनका अनुसार पक्राउ परेका तीनमध्ये राजकुमार युवतीहरूलाई विभिन्न प्रलोभनमा पारी काठमाडौँबाट भारतीय सीमासम्म पठाउने काम गर्थे, पुरन पासपोर्ट लगायत आवश्यक कागजात बनाएर दिल्लीसम्म पठाउँथे र हरि सुनौली बेलहिया नाका हुँदै नेपाली युवतीहरूलाई भारतको नयाँ दिल्लीसम्म पु¥याएर मानव तस्करलाई सुम्पने काम गर्थे । हाल यी तीन जनामाथि  सीआईबीले मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ ।

०००
जीवनस्तर उकास्ने लक्ष्य बोकेर हजारौँ नेपाली महिला दैनिक विदेशिन बाध्य छन् । विशेष गरी यूएई, कुवेत, मलेसिया , साउदी अरब, दक्षिण अफ्रिका, श्रीलंका, मकाउ, ओमान, मलेसियालगायत देशमा उनीहरू पुग्ने गरेका छन् । विदेशमा रोजगारदाताले उनीहरूमाथि शोषण गरेका खबर धेरै सुनिन्छन् । उनीहरूलाई काम गर्न नसकेको भन्दै कुटेको, पिटेको, मानसिक र शारीरिक यातना दिएको पनि उत्तिकै सुनिन्छ । महानगरीय अपराध प्रहरी महाशाखाको तथ्यांकमा मात्र गत असोजदेखि हालसम्म १ सय १७ जना राम्रो कामको प्रलोभनमा पारेर बेचिन र ठगिन लागेका महिला उद्धार गरिए । ‘कहीँ यौन हिंसा भएको, कहीँ ज्यान मार्ने धम्की दिइएका, कहीँ जबर्जस्ती वेश्यावृत्तिमा लगाइएका, कहीँ इच्छाविपरीतको व्यवहार गरिएका केसहरू छन्,’ महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले भने, ‘हामीले उद्धार गरेका अधिकांश महिलामाथि शोषणको शृखंला सर्वप्रथम त देशभित्रकै दलालहरूबाट सुरु भएको देखिन्छ । दलालहरूले विदेशको वास्तविक दृश्य नबताइदिनाले पनि यस्तो समस्या सिर्जना भइरहेको छ ।’
वैदेशिक रोजगारीमा जाने महिलाहरूको पक्षमा काम गर्दे आएको संस्था पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङको मत पनि खनालको जस्तै छ । ‘महिलाहरूको निरीहताको फाइदा बीचका दलालहरूले उठाउने गर्छन्,’ उनी भन्छिन्, ‘जब महिला ‘म अब वैदेशिक रोजगारीमा जान्छु’ भनेर मानसिक रूपमा तयार हुन्छे, त्यही बेलादेखि नै ऊ हिंसाको शिकार हुन्छे । विशेष गरेर, हाम्रा नेपाली महिलाहरू खाडी मुलुकमा घरेलु कामदारका रूपमा जाने गर्छन् । घरेलु कामदारमा जाने महिलाले एक पैसा पनि तिर्नुपर्दैन । निःशुल्क जान पाइन्छ । तर, उसलाई बिचौलियाले ‘तिमी त अब आफ्नै नजिकको भएर अरूलाई ४० हजार हो, तिमीलाई २० हजारमात्र’ भन्दै आर्थिक शोषण गर्न थाल्छ । र, महिला भएकै कारणले गर्दा उसलाई लैजाने क्रममा पनि विभिन्न किसिमको यौन हिंसा गर्ने, प्रलोभनमा पार्ने काम गरेको पाइएको छ ।’

हदैसम्मको शोषण
दलालका कारण पाल्पाकी रञ्जु थापा (नाम परिवर्तन) ले भोगेको पीडा भयानक छ । बुबा सानैमा बितेपछि र आमाले दोस्रो बिहे गरेपछि उनलाई काकाले पाल्दै आएका थिए । एसएलसी फेल भएपछि ०६८ सालमा पैसा कमाउने भनेर घरायसी कामका लागि उनी कुवेत पुगेकी थिइन् । यतिसम्म त ठीकै थियो । उनको जीवनमा ठूलो वज्रपात त त्यतिबेला प¥यो, जब दलाल लोकराज रावलको लोभमा परेर उनी स्वदेश फर्किइन् । ६५ हजार रुपियाँ तलबसहित मकाउमा घरायसी काममा लगाइदिने भन्दै उनले नेपालमा पुगेर दलाल सुभाष थापामगरलाई भेट्न भने । लोकराजको सल्लाहबमोजिम रञ्जुले सुभाषलाई भेटिन् । सुभाषले नै उनलाई आवश्यक सम्पूर्ण कागजात बनाइदिए  र रञ्जुले दुईपटक गरेर २ लाख २५ हजार रुपियाँ उनलाई बुझाइन् । गत सालको फागुन १४ गते सुभाषले उनलाई ‘तपाईंको उड्ने बेला भयो’ भन्दै पुनः उनीसँग एक लाख मागे । उनले आफूसँग नभएको बताएपछि फागुन १६ गते बिहान उनलाई एयरपोर्टमा बोलाए । त्यसपछि उनका हातमा भिसा लागेको पासपोर्ट, एक हजार अमेरिकी डलर, काठमाडौँदेखि हङकङसम्मको हवाई टिकट थमाइदिए । प्रहरीले कहाँ जान लागेको भनेर सोध्दा ‘कल्चरल प्रोग्राममा डान्स गर्न जान लागेको भन्नू’ भनेर सिकाए । र, एयरपोर्टभित्र गंगा गुरुङलाई भेटेर उनैसँग जान भनियो । त्यही प्लेनमा मकाउ जान लागेका केही पुरुष पनि रहेछन् । हङकङ पुगेपछि उनीहरूसँगै पानीजहाजको एकघण्टे यात्राबाट मकाउ पुगिन् । मकाउमा रहेका सुभाषका बाबु सुदर्शन थापामगर उनलाई लिन आए । सुदर्शनले उनीसँग रहेको एक हजार अमेरिकी डलर माग्दा लोकराजले ‘अहिले नदिनू’ भनेछन् र आफूले छ सय डलर लगेछन् । सुदर्शनले ‘तिमी त कति नराम्री, होची रहेछौ’ आदि नानाथरी भनेछन् । उनीहरूको गतिविधि शंकास्पद लागेपछि रञ्जुले हङकङमा रहेकी एक जना परिचित दिदीलाई ‘कल्चरल डान्स भनेको के हो ?’ भन्दै सोधिछिन् ।

दिदीले नांगै नाचेर केटाहरूसँग पैसा उठाउने र उनीहरूसँग रात बिताउनुपर्ने जवाफ पाएपछि उनी तर्सिछिन् । त्यसपछि उनले आफू कल्चरल डान्समा नजाने भनेर अड्डी कस्दा घरको काम हो भन्दै उनलाई चिनियाँ महिलाको जिम्मा लगाइदिए । ती महिलाले उनलाई खान नदिई कुटपिट गर्न थालिन् । दलाल लोकराजले होटलमा बोलाई–बोलाई उनीमाथि शारीरिक शोषण गर्न थाले । उनले रञ्जुको तलबको हिस्साबाट पटक–पटक गरेर करिब एक लाख रुपियाँ पैसा पनि लिएछन् । त्यसपछि ती महिला र सुदर्शनले कामबाट निकालिदिएछन् । तीन दिनसम्म उनी दिनभर स्थानीय पार्कमा बसिछिन् र राति उनीसँगै मकाउ गएका बिरु गुरुङको कोठामा बसिछिन् । तेस्रो दिनको बिहान बिरुले लोकराज र सुदर्शनले उनलाई बेच्न लागेको जानकारी दिएपछि रञ्जु अत्तालिइन् । त्यही दिन सुदर्शनले उनलाई होटल बोलाएछन् । उनी गइनन् । पार्कमा गएर आत्महत्या गर्ने प्रयास गर्दागर्दै नेपाली युवाहरूले उनलाई जोगाएछन् र नेपालमा महानगरीय प्रहरी अपराध महाशाखाको हटलाइन नम्बरमा जानकारी गराएछन् । त्यसपछि एनआरएन मकाउको सहयोगमा उनलाई मलेसिया हुँदै नेपाल फर्काउन प्रहरी सफल भयो । स्वदेश फर्किएपछि उनले आफूलाई शारीरिक, मानसिक र आर्थिक रूपमा हदैसम्मको शोषण गरिएको बयान दिएको महाशाखाका एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । हाल प्रतिवादीमध्येका दलाल सुभाष थापामगरलाई प्रहरीले मानव बेचबिखन तथा ओसारपसारको मुद्दा  चलाएको छ भने अन्य दुई लोकराज र सुदर्शन फरारको सूचीमा छन् ।

उता, बुटवलकी प्रमिला शर्मा (नाम परिवर्तन) ले गन्तव्यमा पुग्नुअघि नै दलालबाट भोगेको शोषणको कथा उस्तै दर्दनाक छ । पाँच कक्षा पढ्दापढ्दै बुबाको निधन भएपछि पढाइलाई अघि बढाउन नसकेकी प्रमिलाले छ वर्षअघि पारिवारिक जिम्मेवारी बोध गर्दै विदेशको बाटो रोजेकी थिइन् । उनी अहिले स्वदेशमै छिन् तर त्यतिबेला भोगेको पीडाले झस्काइरहन्छ । ‘मलाई विदेश जान के–के गर्नुपर्छ भन्ने केही पनि थाहा थिएन,’ उनले सम्झिइन्, ‘जसले विदेश पठाइदिन्छु भनेर काठमाडौँ ल्यायो, उसले मेरो सर्वस्व लुट्यो । चार दिनसम्म त्यही दलालसँग म काठमाडौँमा बसेँ । त्यसपछि मलाई दिल्ली पु¥याइयो । त्यहाँ पनि चार जना पुरुषले ममाथि अत्याचार गरे । दिल्ली पुगेको चार महिनापछि मात्र म मकाउ पुगेँ । त्यहाँ चाहिँ आफ्नै देश गएजस्तै भयो । घर फर्कने बेलामा मालिक्नीले मेरो हातमा ११ लाख रुपैयाँ थमाइदिएकी थिइन् ।’


दलालबाटै गर्भवती
दलालका कारण युवतीहरू गर्भवती बनेर देश फर्किएका उदाहरण पनि थुप्रै छन् । ‘अरूलाई आश्चर्य लागे पनि हामीलाई त यस्ता केस नर्मल लाग्न थालिसक्यो,’ पौरखी नेपालकी अध्यक्ष गुरुङ भन्छिन्, ‘यस्ता गम्भीर केस त कति आउँछन्, कति ।’ सुनसरीकी सरीता (नाम परिवर्तन) यस्तै एक पीडित हुन् जो दलालको पासोमा परेर अवैध बाटो रोज्दै कुवेत पुगिन् र दुई महिना नबित्दै फर्किइन् । रक्सीको कुलतमा फसेका श्रीमान्को पीडा खेप्न नसकेर साथीको चिनजानमार्फत उनी राकेश क्षत्री नाम गरेका एजेन्टसँग ठोक्किन पुगिन् । र, कुवेत जाने भइन् । एजेन्टले काठमाडौँमै बोलाएर उनको सम्पूर्ण कागजात बनाइदियो । ‘उनीमाथि शारीरिक शोषण पनि भएछ,’ पौरखी नेपालको आकस्मिक आवास गृहकी संयोजक कृष्णा गुरुङले सरीतामाथि भएको अन्यायको विवरण सुनाइन्, ‘उनलाई विदेश जानु थियो, त्यसैले मौन बसिन् । उनलाई भारतमा छ दिन र श्रीलंकामा दुई दिन राखिएछ । भारतमा उनीसँगै अरू पनि केटीहरू रहेछन् । पाँच जना केटीहरूलाई एक–एकवटा कोठामा लगेर राख्थे रे । बंगलादेशमा पनि त्यही क्रम दोहोरिएछ । दलालले नै शारीरिक शोषण गरेछन् । उतै गर्भवती पनि भइछिन् । वेश्यावृत्तिमा पनि लगाइएछ । घर फर्किन्छु भन्दा पनि औषधि खुवाएर कुवेत पठाइएछ । त्यहाँ मालिकले कुटपिट गरेर एजेन्ट अफिस पु¥याएछ । त्यसपछि उनलाई नेपाल फकाईयो । नेपाल आउनासाथ हामीले उनलाई सेल्टरमा राखेर मेडिकल ट्रिटमेन्ट ग¥यौं । अहिले उनी विदेशलाई नर्क भन्छिन् । यतै केही गर्ने सोचमा छिन् ।’

शारीरिक हिंसाको पराकाष्ठा
बर्दियाकी पवित्रा (नाम परिवर्तन) ले यतिसम्म हिंसा खेपिन् कि उनी नेपाल फर्कदा उनको पाठेघरमै समस्या देखियो । श्रीमान्ले दोस्रो बिहे गरेपछि छोरीसँग माइतमा बस्दै आएकी उनी स्थानीय एजेन्ट भद्र पाण्डेमार्फत कुवेत पुगेकी थिइन् । छोरीलाई सुखमा हुर्काउँला भन्ने सपना बोकेर गत मे २५ तारिखमा काठमाडौँबाट हिँडेकी उनको सपना कुवेत नपुग्दै तुहियो । एजेन्टलाई ३० हजार रुपियाँसमेत बुझाएकी उनलाई नेपालबाट सीधै भारत पु¥याइयो । त्यहाँ अर्कै नेपाली दलाललाई जिम्मा लगाइयो । पौरखीकी कृष्णा गुरुङका अनुसार त्यहाँबाट उनीमाथि शारीरिक हिंसा सुरु भएछ । १५ दिन त्यहाँ राखिएपछि उनलाई श्रीलंका पु¥याइयो । त्यहाँ पनि यौन हिंसाको क्रम रोकिएन । त्यसपछि उनी कुवेत त पुगिन् । तर, बाटोमा भोगेको पीडा उनको दिमागमा झलझली आइरह्यो । काममा ध्यानै गएन । साहूले कुट्न थाल्यो, रुममा थुनेर राख्न थाल्यो । एजेन्ट अफिसमा लुकेर फोन गरेको थाहा पाएपछि साहुनी स्वयंले उनलाई त्यहाँ पु¥याइदिइन् । ‘कमाउन गएकी उनलाई फर्काउन उल्टै घरबाट ३० हजार रुपियाँ पठाउनुपरेछ,’ गुरुङले भनिन् । अगस्ट ३ मा पवित्रा नेपाल फर्किइन् । पौरखी नेपालको इमर्जेन्सी सेल्टर हाउसमा राखेर उनको उपचार गरियो, काउन्सिलिङ दिइयो । ‘यौनहिंसा यतिसम्म भएछ कि उनको योनी र पाठेघरमा समस्या देखियो,’ गुरुङले भनिन् ।

कोकमा रक्सी मिसाएर...
जुन १३ मा कुवेत जाने भनेर उडेकी सुर्खेतकी अनिता (नाम परिवर्तन) १० दिन नकट्दै जुन २३ मा स्वदेश फर्किइन् । श्रीमान्ले अर्कै बिहे गरेपछि माइतमा बस्दै आएकी उनलाई बर्दियाका दलाल नारायण सुनारले आकर्षक काम र तलबको प्रलोभन देखाएर विदेश लगेका थिए । उनको शोषणको सुरुवात त काठमाडौँबाटै भएको रहेछ । एजेन्टले काठमाडौँ बोलाएर होटलमा राखेछन् । कोकमा रक्सी मिसाएर खुवाएछन् । र, शारीरिक सम्बन्ध राखेछन् । त्यसपछि अर्का एजेन्ट छिरिङ शेर्पासँग भेटाएछन् । आवश्यक सबै कागजात उसैले तयार गरिदिएछ  । ‘भारत, श्रीलंका हुँदै उनी कुवेत त पुगिन्,’ उनलाई काउन्सिलिङ गरेकी गुरुङले भनिन्, ‘तर, कुवेत पुगेर काममा लागेपछि मात्र उनलाई थाहा भयो– गर्भवती पो भइछिन् । भारतमा पाँच दिन र श्रीलंकामा पाँच दिन राखेर उनलाई कुवेत पु¥याइएको रहेछ । हामीले चेक गर्दा पेट ठूलो भइसकेको थियो । बच्चा जन्माउन अनिच्छा प्रकट गरेपछि एबोर्सन गराइयो र  केही दिन काउन्सिलिङ गरेर घर फर्कायौँ ।’

दलालविरुद्ध किन बोल्दैनन् ?
दलाले गर्भवती बनाउँदासम्म अनिताले दलालविरुद्ध प्रहरीमा कुनै उजुरी गरिनन् । बरु चुपचाप एबोर्सन गरेर घर फर्किइन् । किन त ? ‘एक त दलालहरू आफ्नै गाउँका हुन्छन् र अर्को बदनाम हुने डरले यसरी पीडित बनेका महिलाहरू दलालविरुद्ध बोल्नै चाहँदैनन्,’ पौरखी नेपालकी कृष्णा गुरुङले  भनिन्, ‘अधिकांशको हकमा त्यही देखिन्छ । कतिपय त धाकधम्कीले डराउँदा रहेछन् । केही चाहिँ हिम्मतिला हुन्छन् । जसरी भए पनि पीडकलाई कारबाही गराउनतिर लाग्छन् ।’

दलालको ठग्ने काइदा
एचबी भन्ने हुमबहादुर चौधरीले रुपन्देही, बुटवलकी रञ्जिता थारुलाई नराम्रोसँग ठगे । ‘मैले चिनेकै थिइनँ, मेरो अंकलकी छोरीले फेसबुकमा भेटेको रहेछ,’ रञ्जिताले आफू ठगिएको कथा सुनाइन्, ‘अंकललाई यही दलालले विदेश पठाएको रहेछ । बहिनीले ‘तपार्इं पनि योमार्फत जानू, राम्रो होला’ भनेपछि म उसको सम्पर्कमा पुगेकी थिएँ । काठमाडौँमा ऊसँगै गएर मेनपावर कम्पनी पनि हेरेँ । मलाई कामको बारेमा सोध्दा दुबईको गार्मेन्टमा कपडा प्याक गर्ने, धागो कात्ने र आइरन लाउने काम हो भनियो । मेनपावरबाट भिसा आइसकेको जानकारी आएपछि दलालले टिकट काट्ने खर्च भन्दै घरमै आएर ३० हजार रुपियाँ मागेर लग्यो । त्यसपछि दलाल बेपत्ता । मेनपावरमा थप ८० हजार बुझाउनुप¥यो । दलालले पैसा खाएर भागेको बुझेपछि कति खोजेँ, कति !’

भदौमा तीजताका उनी दुबई पुगेकी थिइन् । तर, डेढ महिनाभन्दा बढी त्यहाँ टिक्न सकिनन् । ‘यहाँ एउटा काम भनिएको थियो उता जाँदा त स्कुलको १०–१२ वटा ट्वाइलेट र १५ वटा कोठामा झाडुपोछा लाउनुपर्ने काम रहेछ,’ रञ्जिताले भनिन्, ‘त्यो पनि दुई घण्टाभित्र गरिसक्नुपर्ने । भ्याउनै नसकिने । गन्हाउने औषधि प्रयोग गर्दै काम गर्नुपथ्र्यो । शरीर काँप्थ्यो । तलब पनि उताको नौ सय दिराम र दुई घण्टा ओभरटाइम भनिएको थियो तर महिनाको तीन सय दिराममात्र दिइयो । एक महिना १४ दिन भएपछि ‘सुपरभाइजरले तँलाई रुचाएन’ भन्दै टिकट कटाएर घर पठाइदियो । ’

स्वदेश फर्किनासाथ उनी पौरखी नेपालको इमर्जेन्सी सेल्टरमा केही दिन बसेर घर पुगिन् । केही दिन घर बसेर न्याय खोज्न पुनः राजधानी फर्किइन् । ‘जुन दिन म काठमाडौँ गएँ, त्यही दिन एजेन्ट मेरो घरमा पुगेछ,’ उनले भनिन्, ‘बच्चा पाउने भएपछि तपाईंको छोरीलाई घर फर्काको रहेछ भन्दै नानाथरी पोल लाएछ । बाआमाले पनि उसकै कुरा पत्याएर मलाई त ‘बच्चा पाउन लागेको हो भने उताको उतै फालेर आइज’ भन्दै गाली पो गर्नुभयो । पछि कुरा बुझ्नुभयो ।’ रञ्जिता आफ्नो लागत फिर्ता पाइएला कि भन्ने आशा बोकेर यतिबेला राजधानीमै सामाखुसीमा रहेको सनलाइट मेनपावर धाइरहेकी छिन् ।
अज्ञानले बिताउँछ  
महानगरीय प्रहरी अपराध महाशाखाको मानव बेचबिखन तथा ओसारपसार पिलरमा कार्यरत प्रहरी निरीक्षक सत्यनारायण थापा अशिक्षित महिलाहरू बढी दलालको टार्गेटमा पर्ने गरेको बताउँछन् । उनले एक वर्षअघि नारायणघाटको वडा प्रहरी कार्यालयमा कार्यरत हुँदाको रोचक अनुभव सुनाए, ‘लामो दूरीको यात्रा गर्दा समातिने डरले छोटो–छोटो दूरीको यात्रा गराउँदै दलालहरू महिलाहरूलाई बोर्डर पार गराउँदा रहेछन् । हामीले नारायणघाटमा एउटी महिलालाई उद्धार गरेका थियौँ । उनलाई कहाँ जान लागेको भन्दा ‘एयरपोर्ट जान लागेको’ भन्ने जवाफ दिइन् । जब कि उनलाई नेपालको अन्तर्राष्ट्रिय एयरपोर्ट कहाँ छ भन्नेसम्म थाहा रहेनछ ।’
अज्ञानता र अशिक्षाका कारण पनि नेपाली महिला दलालमार्फत फस्ने गरेको पौरखी नेपालकी अध्यक्ष मञ्जु गुरुङ बताउँछिन् । ‘जुन कामका लागि लगिएको हो त्यसको सीप नसिकाउँदा, भाषाका विषयमा जानकारी नगराउँदा दिदीबहिनीले दुःख पाएको अवस्था छ,’ उनी भन्छिन्, ‘भारत, श्रीलंका लगायतका देश हुँदै अवैधानिक ढंगले विदेश लाँदा उनीहरू हिंसाको शिकार भएको पाइन्छ ।’
यता, प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी ज्ञानेन्द्र फुयाँल पनि वैदेशिक रोजगारीमा जानुअघिका प्रक्रियाका बारेमा ज्ञान नलिँदा महिलाहरू शोषणमा पर्ने गरेको बताउँछन् । ‘दलालहरू पनि उनीहरूलाई कामका विषयमा केही सिकाउन चाहँदैनन्,’ उनी भन्छन्, ‘उनीहरू गाउँबाट महिलालाई भेला पारेर काठमाडौँका गेस्ट हाउस वा अन्त लगेर राख्दा रहेछन् । अनि सीमा पार गर्नका लागि के–के गर्ने भनेर ओरियन्टेसन दिँदा रहेछन् तर कामका विषयमा केही भन्दैनन् । यहीँनेर शोषण छ । त्यतिमात्र होइन, उनीहरूलाई यौन शोषण गर्न खोज्नेदेखि लाग्नेभन्दा बढी रकम लिनेसम्मको काम पनि हुने गरेको पाइन्छ । तर, राजधानीमा उनीहरूको सबैभन्दा विश्वासिलो मान्छे भनेकै दलाल हुन्छ । त्यसैले पीडित महिला केही बोल्दैनन् ।’

काठमाडौँदेखि टर्कीसम्म शोषणैशोषण
टर्की जाने चाहनाले गाउँको पसल बिक्री गरेर म्यानपावरलाई पाँच लाख रुपैयाँ बुझाएकी दोलखाकी रश्मी तामाङ (नाम परिवर्तन) को वैदेशिक रोजगारी पनि सफल हुन सकेन ।  गाउँमै भइरहेको आम्दानीप्रति सन्तुष्ट हुन नसकेपछि २९ वर्षीया लक्ष्मीले पसल बेचेको रकम म्यानपावरलाई बुझाएकी थिइन् । दलाल र म्यानपावरको लहैलहैमा युरोप जान खोज्दा यतिखेर उनलाई दैनिक गुजारा कसरी चलाउने भन्ने समस्या आइलागेको छ । पाँच लाख रुपैयाँमा पसल बिक्री गरेर टर्की गएकी लक्ष्मी वैदेशिक रोजगारी ४१ दिनमै टुंगिएपछि घर फर्केकी हुन् । एलएलसीसम्म अध्ययन गरेकी उनलाई डिभाइन इनसाइट ओभरसिजले टर्की पु¥याएको थियो । ‘म्यानपावरले दैनिक आठ घण्टा मात्र काम गर्नुपर्ने भनेको थियो,’ हाउसमेड भिसामा टर्की गएकी लक्ष्मीले भनिन्, ‘त्यहाँ त दैनिक १६ घण्टासम्म काममा लगाउने र सानोतिनो गल्ती हुँदा पनि कुटपिट हुन थालेपछि घर फर्कन बाध्य भएँ । अहिले त न मसँग पसल छ, न म विदेशमै कमाइरहेकै छुँ । घरको न घाटको जस्तै भइयो ।’ काम गर्ने स्थलमै दुव्र्यवहार समेत भएको उनले जानकारी दिइन् । उनका अनुसार शारीरिक शोषण काठमाडौँ आएकै दिनदेखि सुरु भएको हो । ‘काठमाडौँमा करिब दुई महिनासम्म शारीरिक शोषण बेहोर्नुपरेको पीडा टर्की पुग्दासम्म रोकिएन,’ उनले भनिन् ।

दलालको ‘भर्जिन रुट’
नेपाली महिलालाई अवैध रूपमा विदेश पु¥याउने दलालहरूले भारतीय सीमा नाकाको प्रयोग गर्ने गरेको खबर नयाँ होइन । पहिले काठमाडौँबाट थानकोटको बाटो हुँदै सीमासम्म महिलाहरूलाई पु¥याइन्थ्यो । त्यता प्रहरी र माइती नेपाल लगायत महिलाको हकमा काम गर्ने गैरसरकारी संस्थाको सक्रियता बढेपछि दलालहरूले बनेपा हुँदै बर्दिवास पुगिने बीपी राजमार्गलाई आफ्नो ‘भर्जिन रुट’ बनाएको पाइएको छ । ‘अर्को रुटमा कडाइ बढेपछि यो रुटलाई प्रयोग गर्ने गरेको देखिएको छ,’ महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनालले भने, ‘अब त्यतातिर पनि कडाइ हुन्छ ।’
पौरखीकी मञ्जु गुरुङ नेपाली महिलाले अवैध बाटोबाट विदेश जान चाहनुमा नीतिगत त्रुटि पनि एउटा कारण देख्छिन् । भन्छिन्, ‘नेपाल सरकारबाट नै महिलाहरूलाई वैदेशिक रोजगारीमा जानका लागि २४ वर्षको उमेर हदबन्दी तोकिएको छ । नीतिगत रूपमा नै महिलाहरू विभेदको शिकार भएका छन् । कतिपय त्यही भएर पनि अवैध बाटो रोज्छन् र फस्छन् ।’
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अधिकृत ताराबहादुर कुँवर महिलालाई विदेश पठाउने नाममा अत्यधिक शोषण हुने घटना दिनप्रतिदिन बढिरहेको बताउँछन् ।  अवैध बाटो हुँदै वैदेशिक रोजगारीमा जाने महिला सबभन्दा बढी शारीरिक र आर्थिक शोषणमा पर्ने गरेको उनको भनाइ छ । ‘चोरीको बाटो हुँदै महिलालाई वैदेशिक रोजगारीमा पठाउँदा निकै जोखिम हुन्छ भनेर जानकारी दिइरहेका छौँ,’ उनले भने, ‘तैपनि महिलालाई बाहिर पठाउने गिरोह सक्रिय भइरहेको छ । यसको रोकथामका लागि सबैको सहयोग आवश्यक छ ।’

दलालले बढीमा एसएलसीसम्म अध्ययन गरेका, विवाहित त्यसमा पनि पति र घरपरिवारसँग राम्रो सम्बन्ध नभएका महिलाहरूलाई झुक्याएर वैदेशिक रोजगारीमा पठाउने गरेको सरकारी कर्मचारी बताउँछन् ।

बच्ने कसरी त ?
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डअन्तर्गतको आप्रवासी स्रोत केन्द्रकी समन्वयकर्ता पुनम थपलिया दलालको चंगुलबाट बच्ने उपाय सुझाउँछिन्, ‘सबैभन्दा पहिले महिलाले वैदेशिक रोजगारीका विभिन्न पक्ष बुझ्नुप¥यो । आफू कुन देश जाँदैछु ? त्यो देशबारे बुझ्नुप¥यो । जति अशिक्षित भए पनि दलालले ठग्छ र बिचल्लीमा पारिदिन्छ भन्ने सामान्य सत्य जो कोहीले बुझ्न सक्छ । दलालको हल्ला र नक्कली कागजपत्र बनाउने कुरामा एकरत्ति विश्वास गर्नु भएन ।’

 

Leave A Comment