विद्या गुप्तधन हो

आइतबार, ०२ माघ २०७३, १० : ५२ शुक्रवार , Kathmandu
विद्या गुप्तधन हो

उमेर, कर्म, सम्पत्ति, विद्या र मृत्यु यी पाँच कुरा मानिस गर्भमा रहँदा नै निर्माण गरिएका हुन्छन् । जन्मेपछि जतिसुकै बल गरे पनि यी कुरालाई फेरबदल गर्न सकिन्न । तर, जबसम्म शरीर निरोगी र स्वस्थ छ, तबसम्म मृत्यु पनि टाढा रहन्छ । त्यसै बखत धार्मिक कुराहरू गर्नुपर्छ । मृत्युपछि त मानिसले के नै गर्न सक्छ र ? संसारका कतिपय मानिस पुत्र, मित्र, बान्धव, साधु, महात्मा, विद्वान् आदिका संगतबाट टाढा रहने गर्छन् । यो कुरा राम्रो होइन । तर, जसले महात्माहरूको संगत गर्छन्, उसको धर्मले गर्दा तिनको कुलले पनि असल फल प्राप्त गर्छन् । जसरी माछा, कछुवा, पक्षीले आफ्ना सन्तानलाई देखेर, विचार गरेर, छोएर संरक्षण गर्छन्, त्यसैगरी सज्जनहरूको संगतले मानवलाई नित्य संरक्षण दिइरहन्छ । विद्या कामधेनुबराबर गुणयुक्त हुन्छ । यसले नराम्रो समयमा पनि फल दिन्छ । परदेश गएका बेला आमाबराबर हुन्छ विद्या । त्यसैले यसलाई गुप्तधन भनिएको हो । बुद्धिहीन विद्या आर्जन गरेको सय छोराभन्दा विद्वान र गुणवान् एउटै पुत्र श्रेष्ठ हुन्छ । किनकि, आकाशमा तारा अनेकौँ भए पनि तिनबाट अन्धकारको नाश हुँदैन । तर, चन्द्रमा एउटै पुत्रबाट कुलको उद्धार हुन्छ । मूर्ख पुत्र जन्मेर लाामो समयसम्म बाँची चिरायु हुनुभन्दा ऊ जन्मनासाथ मरेको असल हुन्छ । किनकि, त्यसरी जन्मी मरेको पुत्रद्वारा एकपटक मात्रै दुःख हुन्छ । जन्मिएर धेरै समयसम्म बाँचेका मूर्ख पुत्रले भने जीवनभर पिरोलिरहन्छ । सधँै हानि भइरहने र जीवनभरि नै जलाइरहने विषयमा दुष्टहरूको गाउँको बसोबास, नीच कुलको सेवा, बासी खाना, सधँै रिसालु वा झगडा गर्ने पत्नी हुनु, मूर्ख छोरो, विधवा छोरी, यी छ कुराले आगोबिना नै मानवदेहलाई जलाइदिन्छन् ।    
 

 

Leave A Comment