‘सबैको इच्छा पुर्याइदिने गन्तव्य हो चन्द्रागिरी’

शनिबार, ०१ माघ २०७३, १२ : १३ दिलीप पौडेल , Kathmandu
‘सबैको इच्छा पुर्याइदिने गन्तव्य हो चन्द्रागिरी’

रुकुममा जन्मिएका अभिषेकविक्रम शाह करिब डेढ दशकदेखि हस्पिटालिटी र पर्यटन क्षेत्रमा कार्यरत छन् । सोल्टी क्राउन फाइभ स्टार होटलमा ट्रेनीबाट आफ्नो करिअर सुरु गरी रेडिसन लगायत तारे होटलमा काम गरिसेका शाह अहिले चन्द्रागिरी हिल्स प्रालिको महाप्रबन्धकको जिम्मेवारी सम्हालिरहेका छन् । होटल म्यानेजमेन्टमा स्नातक र रेभिन्यू म्यानेजमेन्टमा डिप्लोमा गरेका ३४ वर्षीय शाहसँग काठमाडौँको नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरी हिल्सलगायत मुलुकको पर्यटन क्षेत्रका बारेमा शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानी ः

पर्यटन क्षेत्रमा कहिलेदेखि आबद्ध हुनुहुन्छ ?
विगत १४ वर्षदेखि हस्पिटालिटी र पर्यटन उद्योगमा छु । यसअघि सोल्टी, हायात होटलसहित समिट ग्रुपमा काम गरेँ ।
मुलुकको पर्यटन उद्योगलाई कसरी हेर्नुभएको छ ?
हाम्रो मुलुकमा पर्यटनको अथाह सम्भावना छ । पर्यटनका लागि चाहिने विमानस्थल, यातायात आवश्यक भौतिक पूर्वाधार नहुँदा अपेक्षित रूपमा यसको विकास हुन सकेको छैन । नेपाल घुम्न जानैपर्ने देश हो भन्ने विदेशीहरूमा छाप परेको भए पनि उपयुक्त वातावरण दिन सकेका छैनौँ । यो ठूलो उद्योग हो । यसलाई सघाउनका लागि केही योगदान पु¥याउँदैछौँ ।

नयाँ पर्यटकीय गन्तव्य चन्द्रागिरी हिल्सका आकर्षक पक्ष के हुन् ?
चन्द्रागिरी निजी क्षेत्रले निर्माण गरेको नयाँ पर्यटकीय गन्तव्य हो । यहाँ मुख्य गरी केबलकार, भालेश्वर मन्दिर, चन्द्रागिरी डाँडामा देखिने मनोरम दृश्यले सबैलाई आकर्षित गर्छ । चन्द्रागिरी आफैँमा धार्मिक गतव्यमात्र नभएर ऐतिहासिक महŒव बोकेको स्थान भएकाले सबै आकर्षित भएका छन् ।
पर्यटक आगमनको अवस्था कस्तो छ ?
चन्द्रागिरी प्राकृतिक, धार्मिक, ऐतिहासिक र रमणीय स्थल भएकाले स्वदेशीमात्र नभएर विदेशी पर्यटक पनि आकर्षित भएका छन् । अहिलेसम्म नेपाली पर्यटक आगमनमा निकै वृद्धि भएको छ । विदेशी आउने क्रम पनि क्रमशः बढ्दैछ । यहाँ आउने सबै पर्यटक रमाएर निकै उत्साहित भई फर्किने गरेका छन् । विभिन्न ट्राभल एजेन्सीले पनि आफ्ना प्याकेजमा चन्द्रागिरी हिल्सलाई राख्न थालेका छन् ।
विदेशमा पनि प्रचार गर्ने योजना छ कि ?
यसका सञ्चालक पनि गैरआवासीय नेपाली भएकाले स्वाभाविक रूपमा विदेशमा प्रचार हुन्छ । सुरुमा यसलाई ब्रान्डको रूपमा स्थापित गरेपछि भारत, चीनलगायत मुलुकमा विभिन्न प्याकेज बनाएर लैजान्छौँ ।
चन्द्रागिरी किन जाने ?
हरेक व्यक्ति काठमाडौँको धुलोधुवाँबाट आजित छन् । काठमाडौँ नजिकको शान्त, स्वच्छ र मनोरम रमणीय स्थल चन्द्रागिरी भएको छ । काठमाडौँमा बिदा मनाउन जाने नजिकको ठाउँको अभाव खड्किरहेको अवस्थामा बिदामा बच्चा लिएर परिवारसहित जाने गन्तव्य बनाउन लागेका हौँ । बच्चाहरूका लागि प्ले ग्राउन्डको व्यवस्था भएकाले यो एकीकृत डेस्टिनेसन पनि हो । सबैको इच्छा पूरा गर्ने गन्तव्य बनाउँदैछौँ ।
परियोजना कहिले पूरा हुन्छ ?
पहिलो चरणको पूर्वाधार बनाइसक्यौैँ । दोस्रो चरणमा एक सय रुमको बुटिक रिसोर्ट, प्याराग्लाडिङसमेत सञ्चालन गर्ने योजनामा छौँ ।
चन्द्रागिरी घुम्न जान कति खर्च लाग्छ ?
न्यूनतम एक हजार रुपैयाँ भए एक जना घुम्न र खाजा खाएर फर्किन सक्छ ।
यो परियोजनामा कतिले रोजगारी पाएका छन् ?
प्रत्यक्ष रूपमा दुई सय जनाले ।
अन्य पेशा र आफ्नो जागिरे जीवनलाई कसरी तुलना गर्नुहुन्छ ?
अन्य जागिरे जीवनसँग तुलना गर्न मिल्दैन । हामी सर्भिस दिने क्षेत्रमा भएकाले सबैसँग सीधै अन्तरक्रिया हुन्छ । हरेक दिन नयाँ मान्छेसँग भेट हुन्छ । सर्भिस दिँदा फिडब्याक आउँछ । राम्रो, नराम्रो सुधार गर्ने मौका पाइन्छ । परिवार, साथीभाइसँग यहाँ घुमेर फर्किनेहरूको अनुहारमा हाँसो देख्दा निकै खुशी लाग्छ ।
कति जिल्ला घुम्नुभयो ?
३५ जिल्ला  ।
नेपालमा पर्यटन संस्कृति कस्तो छ?
बिदाको समयमा घुम्ने संस्कृतिको विकास भएको छ । स्वदेशमा मात्र नभएर बैंकक, मलेसिया, थाइल्यान्ड घुम्ने जाने नेपालीको संख्या बढेको छ ।
फुर्सदको समय के गर्नुहुन्छ ?
परिवार, श्रीमती, छोरा, बुबाआमालाई समय दिन्छु ।

 

Leave A Comment