क्रिकेटमा व्यावसायिकताको नयाँ उचाइ

शनिबार, ०१ माघ २०७३, ११ : ५६ सुजन श्रेष्ठ , Kathmandu
क्रिकेटमा व्यावसायिकताको नयाँ उचाइ

सुदूरपश्चिमको धनगढीमा हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) ले नेपाली क्रिकेटलाई व्यावसायिकताका हिसाबले नयाँ उचाइ दिएको छ । डीपीएल प्रतियोगिताका लागि नेपाली क्रिकेटमा पहिलो पटक सहभागी टोलीहरूले खेलाडी लिन अक्सन (बोल–कबोल)को प्रक्रिया अपनाएका छन् ।
गत शनिवार राजधानीस्थित याक एन्ड यति होटलमा सम्पन्न कार्यक्रममा २ सय १७ खेलाडीले आफूलाई अक्सनका लागि होमेका थिए । नाम दर्ता भएका खेलाडीलाई चार समूहमा वर्गीकरण गरिएको थियो । समूह ‘ए’मा कम्तीमा १५ अन्तर्राष्ट्रिय खेल खेलेका राष्ट्रिय खेलाडी समावेश थिए । उनीहरूको न्यूनतम मूल्य ५० हजार रुपैयाँ तोकिएको थियो । समूह ‘बी’मा यू–१९ विश्वकप खेलेका वा राष्ट्रिय टोलीबाट १५ भन्दा थोरै खेल खेलेका खेलाडी समावेश थिए भने उनीहरूको न्यूनतम मूल्य ३० हजार रुपैयाँ तोकिएको थियो । कुनै पनि उमेर समूहबाट अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका खेलाडीलाई समूह ‘सी’मा राखिएको थियो र उनीहरूको न्यूनतम मूल्य २५ हजार रुपैयाँ राखिएको थियो । अहिलेसम्म राष्ट्रिय जर्सी नलगाएका खेलाडीहरूलाई समूह ‘डी’मा राखिएको थियो, जसको न्यूनतम मूल्य २० हजार रुपैयाँ तोकिएको थियो । अक्सनमा न्यूनतम मूल्यको दोब्बर रकमसम्म मात्र मूल्य बढाबढ गर्न पाइने नियम थियो ।
समूह ‘ए’का १४ खेलाडीमध्ये अलराउन्डर सागर पुन र मेहबुब आलम तथा तीव्र गतिका बलर सोमपाल कामी र करण केसीका लागि क्लबबीच हानथाप नै प¥यो । न्यूनतम ५० हजारबाट सुरु भएको मूल्य बढ्दै एक लाख पुग्यो ।
सागर पुनलाई लिन कञ्चनपुर आइकोनिक, टिम चौराहा धनगढी र  काठमाडौँ गोल्डेन्सबीच प्रतिस्पर्धा बढेको थियो । ९० हजार मूल्य पुगेपछि काठमाडौँ अघि बढ्न चाहेन । तर, कञ्चनपुर र चौराहाको मनस्थिति देख्दा यस्तो लाग्थो उनीहरू जति मूल्य पनि तिर्न तयार छन् । आयोजकले अधिकतम रकममा सीमा तोकेकाले गोलाप्रथा गर्नुपरेको थियो । त्यसमा कञ्चनपुरले बाजी मा¥यो ।
त्यस्तै भेट्रान खेलाडी मेहबुब आलम लिन पनि सीवाईसी अत्तरिया, चौराहा र काठमाडौँबीच प्रतिस्पर्धा भएको थियो । जसमा काठमाडौँले ६० हजार माथि मूल्य लगाउन चाहेन भने चौराहाले ९५ हजारभन्दा बढी मूल्य तिर्न हच्किएपछि सीवाईसी अत्तरियाले एक लाख तिरेर लिएको थियो । सोमपाल र करणलाई लिन झन् बढी प्रतिस्पर्धा भएको थियो । खर्च गर्न पाउने सीमा नाघेकाले चौराहाबाहेक सबै टोलीले सोमपाललाई एक लाख तिर्न तयार भए । गोलप्रथामा काठमाडौँले बाजी मा¥यो । करणका लागि पनि काठमाडौँ र चौराहाबाहेकका चार टोली एक लाख मूल्य तिर्न भए । त्यसमा अत्तरियाले बाजी मा¥यो ।
ट्वान्टी स्वरूपमा हुने प्रतियोगताको लिग चरणमा सहभागी छ टोली एकआपसमा १–१ खेल खेल्नेछन् भने शीर्ष चार टोली प्लेअफ खेल्नेछन् । शीर्ष दुई टोलीबीचको विजेता टोली सीधै फाइनल पुग्नेछ भने पराजित टोलीले तेस्रो र चौथो टोलीबीचको विजेतासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् ।
फाइनल खेल्ने टोलीले बढीमा आठ खेल र समूह चरणबाट बाहिरिने टोलीले पाँच खेल खेल्नेछन् । त्यसका लागि हरेक टोलीका कप्तानले १ लाख ५० हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् । कप्तानको पहिले नै गोलाप्रथाबाट कुन टोलीबाट खेल्ने टुंगो लगाइएको थियो भने अन्य खेलाडीलाई क्लबले अक्सनबाट लिएका थिए । कप्तानबाहेक १४ खेलाडी लिन एउटा टोलीले बढीमा सात लाख खर्च पाउँथे ।
खर्च गर्नमा विनोद भण्डारी कप्तान रहेको कञ्चनपुर आइकोनिक सबैभन्दा अघि रह्यो भने शरद भेषवाकरको विराटनगर किङ्सले सबैभन्दा कम रकम खर्च ग¥यो । कञ्चनपुरले खर्च गर्न पाउने सबै रकम (कप्तानलाई समेत गरेर ८ लाख ५० हजार) खर्च ग¥यो भने विराटनगरले १ लाख ५० हजार बचाएको थियो । शक्ति गौचनको रूपन्देही च्यालेन्जर्सले पनि धेरै खर्च गर्न चाहेन । रूपन्देहीले १ लाख ३० हजार रकम बचाएको थियो । ज्ञानेन्द्र मल्लको अत्तरियाले ६० हजार बचायो भने वसन्त रेग्मीको काठमाडौँले ५५ हजार बचत ग¥यो । पारस खड्काको चौराहाले २० हजार बचत ग¥यो ।
समूह ‘बी’का खेलाडीमध्ये मोहम्मद आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप सुनार, भुवन कार्की, सुनिल धमला, सिद्धान्त लोहनी, विक्रम सोब, राजेश पुलामीमगरका लागि उच्च मूल्य लागेको थियो । राष्ट्रिय टोलीका ओपनर नरेश बुढाएरलाई कञ्चनपुरले ९५ हजारमा लियो । प्रदिप ऐरीलाई अत्तरियाले ९० हजारमा लियो ।
अलराउन्डर दीपेन्द्रसिंह ऐरीका लागि छ वटै टोलीले उच्च मूल्य लगाए पनि विराटनगर किङ्सले आफ्नो पक्षमा पारेको थियो । आरिफ शेखका लागि  काठमाडौँ र अत्तरियाबाहेक चार टोलीले ८० हजार मूल्य लगाएका थिए । भुवन, सुनिल, सिद्धान्त, राजेश, विक्रम र सन्दीपका लागि दुई÷दुई टोलीले उच्च मूल्य लगाएका थिए ।
यू–१९ टोलीका कप्तान सन्दीप लामिछानेलाई क्बलहरूले अनुमानितभन्दा कम रकम लगाए । सन्दीप उच्च मूल्यभन्दा २० हजार कममा बिक्री भएका थिए । त्यस्तै महेश क्षत्री परेश लोहनी, जितेन्द्र मुखिया, रामनरेश गिरीजस्ता खेलाडीमा क्लबको चासो कम रह्यो ।

के भन्छन् कप्तान ?

पारस खड्का, टिम चौराहा धनगढी
प्रतियोगिता यो ऐतिहासिक दिनसम्म आइपुग्नुको मुख्य कारण इमानदार कोसिस हो । म पाँच वर्ष चाँडै जन्मिएजस्तो लागि राखेको छ । यदि पाँच वर्षपछि जन्मिएको भए अझै धेरै अवसर पाइने रहेछ । एउटा व्यक्तिको प्रयासमा यति सम्भव भएको छ भने हामीले धेरै गर्न सक्छौँ । तर, त्यसका लागि अब पदका लागि होइन विकासका लागि झगडा गर्नुपर्छ । क्यानमा भएको हरेक क्षेत्रले आफ्नो ठाँउमा यस्तो प्रतियोगिता गर्ने हो भने नेपाली क्रिकेटले एउटा बाटो समाउने थियो ।
ज्ञानेन्द्र मल्ल, सीवाईसी अत्तरिया
क्रिकेटलाई व्यावसायिकतातर्फ उन्मुख गराउन यस प्रतियोगिताले महŒवपूर्ण भूमिका खेलेको छ । पहिलो पटक अक्सन हुँदा स्थानीय खेलाडीहरूले पनि मौका पाएका छन् । त्यो यसको सुन्दर पक्ष हो । ट्वान्टी–२० क्रिकेटमा मात्र सीमित नभएर अन्य स्वरूपमा पनि प्रतियोगिता भए अझ राम्रो हुने थियो ।
शरद भेषवाकर, विराटनगर किङ्स
आजको दिन ऐतिहासिक रह्यो । थप अरू दुई टोली भएको भए अझ राम्रो हुनेथियो । यो पहिलो हो, आगामी संकरणमा टोलीको संख्या बढ्ने आशा छ ।
वसन्त रेग्मी, काठमाडौँ गोल्डेन्स
सधैँ एउटा पुस्ताले नेपाली क्रिकेटलाई धान्न सक्दैन । नयाँ खेलाडी आउनु जरुरी छ । यस्ता प्रतियोगिताको संख्या बढ्दै जाने हो भने नयाँ खेलाडी आउने क्रम पनि बढ्ने थियो । जिम्मेवार निकायले केही गर्न नसकेको अवस्थामा निजी क्षेत्रबाट जुन प्रयास भएको छ त्यसले आशा जगाएको छ ।
शक्ति गौचन, रूपन्देही च्यालेन्जर्स
आज केही राम्रा खेलाडी बिक्री भएका छैनन् । यसबाट खेलाडीले मेहनत गर्नु जरुरी रहेको पुष्टि भएको छ । मेहनतबिना अघि बढ्नु कठिन छ । नयाँ सुरुवात भएको छ । खेलाडीले मौका पाएका छन्, त्यसबाट खुशी छु ।

विनोद भण्डारी, कञ्चनपुर आइकोनिक
यो ऐतिहासिक दिनले क्रिकेटलाई नयाँ दिशा प्रदान गरेको छ । हामीले राम्रो टोली पाएका छौँ । त्यसैले प्रतियोगितामा पनि राम्रो गर्नेमा विश्वस्त छौँ ।

‘क्रिकेटमा नयाँ बाटो खुल्यो’
सुवास शाही,
अध्यक्ष, धनगढी क्रिकेट एकेडमी

हामीले सफलतापूर्वक अक्सन गरेका छौँ । यसले धेरै नयाँ बाटो खुला गरेको छ । यो हाम्रो शुरुवात हो । अझै धेरै गर्न सकिन्छ । हामी क्षेत्रीय स्तरबाट आएर राष्ट्रिय स्तरमा अक्सन गर्न सक्षम भएका छौँ । क्रिकेट व्यावसायिकतातिर बढ्न एक पाइला अघि बढेको मैले ठानेको छु ।
खर्च रकममा सीमा तोक्दा पनि जुन उत्साह देखियो त्यसलाई आगामी दिनमा खेलाडीको रकममा पनि वृद्धि हुने आशा गर्न सकिन्छ । अब हामी ‘होम एन्ड अवे’ गर्नुपर्छ भन्ने सोचमा छौँ । ‘होम एन्ड अवे’ भयो भने सबै क्षेत्रमा भौतिक संरचना विकासमा पनि मद्दत गर्छ भन्ने मेरो विश्वास हो । हामीले जुन सुरुवात गरेको छौँ । अरूले पनि यसलाई अपनायो भने हामी सफल भएको मान्नेछौँ । एउटा एकेडमीले यति गर्न सक्छ भने सबै मिल्यौँ भने गर्न नसकिने केही छैन ।

 

Leave A Comment