अब आइफोनमा पनि दुइटा सिम

शनिबार, ०१ माघ २०७३, ११ : ४८ शुक्रवार , Kathmandu
अब आइफोनमा पनि दुइटा सिम

हालसम्म एप्पलले एक मात्र सिमकार्ड लाग्ने आइफोन बनाउँदै आएको छ । त्यसैले होला उपभोक्ताको आइफोनसँग गुनासो बढिरहेको छ । त्यही गुनासोलाई ध्यान दिँदै एप्पलले डुअल सिमवाला आइफोन ल्याउने तयारी गरेको छ ।
फोब्र्स पत्रिकाका अनुसार अमेरिका र चीनमा एप्पलले दुई वटा पेटेन्ट दर्ताको दाबी पेश गरेको छ । जसका आधारमा एप्पलले डुअल सिम आइफोन उत्पादन गर्ने तयारीमा जुटेको अनुमान गरिएको छ । चाइना स्टेट इन्टेलेक्चुअल प्रोपर्टी अफिसमा दर्ता गरिएको कागजातका आधारमा अनुमान गर्न सकिन्छ, आगामी आइफोनमा डुअल सिमकार्डको फिचर हुन सक्छ । यसो भएमा अन्य धेरै स्मार्टफोनहरूमा जस्तै एउटै आइफोनमा पनि दुई वटा मोबाइल नम्बर चलाउन सकिनेछ ।
पत्रिकाका अनुसार गत मार्चमा एप्पलले पेटेन्ट दर्ताका लागि निवेदन पेश गरेको थियो र गत सेप्टेम्बरमा यो प्रकाशित भयो । यसको आविष्कारकको नाममा ली सू राखिएको छ । उनको लिक्डइन प्रोफाइलबाट परिचय खुलेको आधारमा उनी एप्पलको सेलुलर सफ्टवेयर विभागका मुख्य आर्किटेक्ट हुन् ।
चीनका साथै अमेरिकामा दर्ता गरिएको पेटेन्टको फाइलबारे पनि फोब्र्सले चर्चा गरेको छ । अघिल्लो हप्ता मात्रै एप्पलले अमेरिकामा समेत डुअल सिम फंक्सनालिटीको पेटेन्ट प्राप्त गरेको हो ।
यद्यपि, एप्पलले यसबारे केही बताएको छैन र उसले भविष्यमा डुअल सिमवाला आइफोन बनाउँछ कि बनाउँदैन भन्ने कुरा प्रष्ट भएको छैन । एप्पलले अहिलेसम्म आफ्ना स्मार्टफोन निश्चित टेलिकम प्रोभाइडरसँग मिलेर बिक्री गर्ने गरेको छ । यदि डुअल सिम फिचर आएमा एप्पलको ती कम्पनीहरूसँगको सम्बन्ध बिग्रिनेछ । किनकि उपभोक्ताले एउटै फोनमा अन्य कम्पनीको सिमकार्ड पनि हाल्दछन् । त्यसैले कुनै निश्चित बजारमा मात्रै एप्पलले डुअल सिमवाला आइफोन ल्याउने सम्भावना प्रबल छ ।  

 

Leave A Comment