हस्तमैथुनले यौनसम्पर्क चाहना घटाउँदैन्

शनिबार, ०१ माघ २०७३, ११ : ३८ शुक्रवार , Kathmandu
हस्तमैथुनले यौनसम्पर्क चाहना घटाउँदैन्

म २२ वर्षीय अविवाहित युवा हुँ । मेरो केटी साथी पनि छ । हामी सहमतिमा यौनसम्पर्क गर्ने गर्छौं । यौनसम्पर्कका लागि समय नमिल्दा म हस्तमैथुन गर्छु । कहिलेकाहीँ हामी एकआपसमा मिलेर हस्तमैथुन पनि गर्ने गर्छौं । हस्तमैथुन गर्दा केही खराबी पो हुन्छ कि ? यौनसम्पर्क गर्ने चाहना पो घट्न हो कि ?
सीडी  

हस्तमैथुन भन्ने शब्दको अर्थ हातले गरिने मैथुन भन्ने बुझिए पनि भावार्थमा त्यसभन्दा व्यापक रूपमा प्रयोग हुन्छ । आफ्नै वा आफ्नो यौनसाथीको यौनाङलाई चरम सुख प्राप्तिको हदसम्म हात वा विशेष पद्धति अथवा उपकरणका सहायताबाट उत्तेजित पार्ने प्रक्रियालाई हस्तमैथुन भनिन्छ । आत्मरतिको यो सबैभन्दा सजिलो र बहुपरिचित माध्यम हो । यौनसाथी सँगसँगै बसेर अलगअलग गर्ने वा परस्परमा एकअर्कालाई गरिदिने हस्तमैथुनलाई पारस्परिक हस्तमैथुन भनिन्छ ।
हस्तमैथुन सबै उमेर र लिंगका व्यक्तिले प्रयोग गर्ने आत्मरतिको माध्यम हो । यो यौन व्यवहार आधुनिक युगको सभ्यताको मात्र उपज होइन । हस्तमैथुनलाई प्राचीन र प्रागऐतिहासिक कालका आदिमानवदेखि हालसम्म प्रत्येक युगका स्त्री, पुरुष, समलिंगी र उभयलिंगीले प्रयोग गर्दै आएका छन् । यसको प्रयोगको प्रक्रिया र साधनमा बढी विविधीकरण हुँदै गएको भने अवश्य हो । सामान्यतया हस्तमैथुनसँग मनोवैज्ञानिक सहयोगीका रूपमा ‘फ्यान्टसी’ पनि प्रयोग हुने गर्छ । तर, शतप्रतिशत अवस्थामा यसो हुनै पर्छ भन्ने जरुरी छैन । यसका साथै यौन सामग्रीहरूको अध्ययन (पुस्तक वा पत्रिका) र अवलोकन (चित्र वा फिल्म) अथवा एकान्तमा तिनको सम्झना मात्र पनि हस्तमैथुनका लागि सहयोगी साधन बन्न सक्छ ।
हस्तमैथुनका विभिन्न तरिकामध्ये हात वा हातसँग अन्य सामान्य अथवा विद्युतीय साधन (डिल्डो, भाइब्रेट, जी–स्पट स्टिमुलेटर, थुक, जेली) को प्रयोगद्वारा यौनांगको घर्षण वा मर्दन सबैभन्दा बढी प्रयोग हुने तरिका हुन् । जिब्रो र ओठको प्रयोग पनि त्यसपछि बढी प्रयोग हुने तरिकामध्ये पर्छ । मुखमैथुनभन्दा अलग्गै हस्तमैथुनका लागि पनि यिनीहरूको प्रयोग भएको पाइन्छ । यसबाहेक यौनांगलाई अन्य कुनै नरम सतहमा घर्षण गर्ने प्रक्रिया पनि प्रचलनमा छ । पछिल्ला दुई तरिकामा हातको प्रयोग नहुने भए पनि ती सबै व्यवहारलाई हस्तमैथुन भन्ने गरिन्छ ।
माथि उल्लेख गरिएझैँ जोडीहरूद्वारा एकअर्कासँगै यौनसन्तुष्टिका लागि गरिने हस्तमैथुनलाई पारस्परिक हस्तमैथुन भनिन्छ । पारस्परिक हस्तमैथुन दुई किसिमका हुन्छन् । पहिलो एकअर्काका यौनांगलाई नछोइकन तर एकाअर्कासँगै रहेर आ–आफ्ना यौनांगलाई चलाएर गरिने हस्तमैथुन र दोस्रामा एकले अर्काका यौनांगलाई सँगसँगै चलाइदिएर गरिने हस्तमैथुन पर्छ ।
सबै सभ्यताहरूमा वैज्ञानिक खोज र अनुसन्धानले यथार्थलाई प्रज्वलित नगरेसम्म हस्तमैथुलाई पनि रोग र असन्तुलित मानसिकताको उपज भनेर हेयदृष्टिले हेर्ने, व्यवहार गर्ने चलन व्याप्त रह्यो । प्राचीन ग्रिसेली समाज यौन व्यवहारका दृष्टिकोणबाट खुला र उदार मानिए तापनि ग्रिसेली वैज्ञानिक जोडी सोरानस र गलेनले हस्तमैथुनलाई दोषमुक्त देख्न सकेनन् । युरोप र अमेरिकामा सन्त अगस्टिन र टिसटले त यसको खुलेर आलोचना मात्र गरेनन् मानिसका सम्पूर्ण रोगव्याधी र दुःखको कारणसमेत हस्तमैथुनलाई मानेका थिए । तर, हस्तमैथुनबाट कुनै पनि किसिमको शारीरिक वा मानसिक हानि हुन्छ भन्नु भोक लागेको मानिसले खाना खाएर वा निद्रा लागेको मानिसलाई सुतेर हानि हुन्छ भन्नुजस्तै हो ।
पश्चिमेली सभ्यतामा भिक्टोरियाली युग भनी कहलिएको सत्रौँदेखि उन्नाइसौँ शताब्दीसम्म र पूर्वेली सभ्यतामा वैज्ञानिक रूपान्तरण हुन सुरु हुनुअघिको अवस्थासम्म एकएक थोपा वीर्य हजारौँ थोपा रगतबाट बन्छ र यसको रक्षा गरिनुपर्छ, बच्चा जन्माउनबाहेक अरू प्रयोजनका लागि वीर्यको क्षति हुनु हुँदैन भन्ने जस्ता तर्क दिएर परम्परावादी मठाधीशहरू आफू सँगसँगै सम्पूर्ण समाजलाई भ्रमित पारिरहेका हुन्थे । तर, रगत बन्ने अनि नाश हुने र फेरि बन्ने नियमित प्रक्रियाझैँ वीर्य बन्ने अनि यौन, स्वप्नदोष (सुतेका बेलामा अवचेतन मस्तिष्कले यौन आनन्द प्राप्त गरेपछि वीर्य आफैँ स्खलित भएर जाने प्रक्रिया) का बारेमा पनि यस्तै भ्रमपूर्ण धारणाहरू फैलाइएका छन् र त्यो प्रक्रिया पनि हानिकारक होइन भन्ने कुरा वैज्ञानिक रूपमा प्रमाणित भइसकेको छ । आफ्नो निकास खोज्ने र फेरि नयाँ वीर्य बन्ने प्रक्रिया मानवको शारीरिक प्रणालीको यथार्थ हो । यसरी, हस्तमैथुन गरे पनि, नगरे पनि वीर्य नाश हुन्छ र फेरि बन्छ ।
त्यसकारण हस्तमैथुनले बरु यौनातुर पुरुष र स्त्रीलाई आफूले राख्न नचाहेको वा सामाजिक नैतिक मान्यताबाहिर परेको यौन सम्बधबाट बचाउँछ । यौन रोगको संक्रमणबाट जोगिन सकिन्छ । हस्तमैथुन गर्ने अनि हस्तमैथुन गरेकामा अनावश्यक पछुतो मानेर आफ्नो मनमस्तिष्कलाई अनावश्यक दबाब पु¥याउने र हस्तमैथुनबाट दुब्लाइन्छ, विवाहपछिको यौनजीवन बिग्रन्छ, यौनांग टेढो वा सानो हुन्छ भन्ने जस्ता भ्रम पालेर आफूलाई अस्वस्थ मान्छे ठान्नु भ्रमबाहेक केही होइन ।
हस्तमैथुनका बेला हुने यौनिक स्रावले यौनांगमा हुने रक्तसञ्चारलाई समेत सन्तुलित गर्छ । कतिपय महिलाले महिनावारीका बेला हुने पीडा कम गर्नसमेत हस्तमैथुनको उपाय अवलम्बन गर्ने गरेका छन् ।

 

Leave A Comment