‘जेलमा बिहेको प्रस्ताव आयो’

शुक्रबार, २९ पुष २०७३, १२ : ०९ सृजना खड्का , Kathmandu
‘जेलमा बिहेको प्रस्ताव आयो’

मनीषकुमार सुमन
महासचिव, सद्भावना पार्टी

राजनीतिमा लागेको कति भयो ?
२०४७ सालयता राजनीतिमा सक्रिय छु । त्यतिखेर म कक्षा नौमा पढ्थेँ । त्यो हिसाबले २६ वर्षजति भयो ।
कसरी आइयो राजनीतिमा ?
म कक्षा ६ मा पढ्दाताका राधाकृष्ण भगवान्को एउटा फिल्म लागेको थियो । फिल्म सुरु हुने बेला राष्ट्रियगान बज्यो । सबै उभिए, म उभिइनँ । नउभिएको आरोपमा थुनामा परेँ । टोलभरिका मानिसले साक्षी बसेर मलाई थुनाबाट निकाले । यही एउटा घटना हो, जसले मलाई राजनीतिमा लाग्न प्रेरित ग¥यो ।
राजनीतिबाहेक केमा रुचि राख्नुहुन्छ ?
किताब पढ्छु । फिल्म हेर्छु । कहिलेकाहीँ घुम्न पनि निस्कन्छु ।

मनोरञ्जनका लागि के गर्नुहुन्छ ?
फेसबुक चलाउँछु । इन्टरनेटमा आफ्ना रुचिका विषय खोजी–खोजी पढ्छु । पियानो पनि बजाउँछु ।
फिल्म कत्तिको हेरिन्छ ?
फुर्सद भयो भने फिल्म हेर्छु ।
पछिल्लो पटक हेर्नुभएको फिल्म ?
हिन्दी फिल्म ‘दंगल’ ।
एकदमै मन परेको फिल्म कुनै छ ?
बलिउड अभिनेता अमिताभ बच्चनको फिल्म ‘सरकार’ खूब मन पर्छ । राजनीतिसँग सम्बन्धित फिल्म भएकाले मलाई बढी मन परेको हो ।
गीतसंगीतमा चाहिँ कत्तिको रुचि छ ?
रुचि छ । स्वर राम्रो नभए पनि कहिलकाहीँ गुनगुनाउँछु । पुराना हिन्दी गीत निकै मन पर्छन् ।
मन पर्ने गायकगायिका ?
बलिउड गायिका लता मंगेसकर साह्रै मन पर्छिन् ।
पुस्तक कत्तिको पढिन्छ ?
राजनीतिसँग सम्बन्धित पुस्तक खोजी–खोजी पढ्छु । त्यसबाहेक सफल व्यक्तिका बायोग्राफी पढ्न पनि उत्तिकै रुचाउँछु ।  
घुम्न रुचाउनुहुन्छ ?
कहिलेकाहीँ छोरी र श्रीमतीसँग मन पर्ने ठाउँमा घुम्न जान्छु ।
कुन ठाउँ घुम्न मन पर्छ ?
राजबिराज एकदमै मन पर्छ ।
फुर्सदमा के गरिन्छ ?
मेरी एउटी छोरी छ । फुर्सदको समय उनीसँग बिताउँछु । परिवारसँग बसेर रमाइलो गर्छु ।
विवाह मागी कि प्रेम ?
मागी नै हो । राजनीतिमा लागेको मान्छेलाई धेरैले छोरी दिन खोज्दैनन् । छोराको बिहे नहुने भयो भनेर मेरा बुबा निकै चिन्तित हुनुहुन्थ्यो । ६२ सालतिर जनसेवा प्रहरी कार्यालयमा थुनामा परेको बेलामा बिहेको प्रस्ताव आयो । २०६३ सालमा बिहे गरियो ।  

प्रस्तुतिः सृजना

 

Leave A Comment