विवादका बीचमा कलाकार

शुक्रबार, २९ पुष २०७३, ११ : ३२ माधव ढुङ्गेल , Kathmandu
विवादका बीचमा कलाकार

एउटा अन्तर्वार्तामा भारतीय कलाकार ओम पुरीले भनेका थिए, ‘म उत्कृष्ट चलचित्रलाई अखबारका सम्पादकीय जस्तो मान्छु । अखबारका हेडलाइन सबैले पढ्लान् तर सम्पादकीय कसैकसैले मात्रै पढ्छन् । थोरैले पढ्नुको अर्थ सम्पादकीय लेखिनु हुन्न भन्ने होइन । त्यसैगरी जुन चलचित्रहरूले समाज र हाम्रा बारेमा संवाद गर्छन्, ती बनिरहनुपर्छ ।’
भारतको प्रसिद्ध पद्मश्री पुरस्कारबाट सम्मानित कलाकार ओम पुरीको निधन गत शुक्रवार ६६ वर्षका उमेरमा भयो । भारतीय चलचित्रका अतिरिक्त उनले पाकिस्तानी, बेलायती र अमेरिकी चलचित्रमा पनि अभिनय गरेका थिए । आक्रोश, माचिस, अर्धसत्य, आरोहण, मिर्च मसाला, द्रोहकाल जस्ता चलचित्रमा गरेको प्रशंसित अभिनयले पुरीलाई स्वीकार्य अभिनेता बनायो । कसैले प्लास्टिक सर्जरीको प्रस्ताव राख्दा ‘मलाई मेरो भद्दा नाक र अनुहारका खोपिल्टामै गर्व छ’ भन्ने ओम पुरी पछिल्ला दिनमा भने आफ्नो पारिवारिक जीवन तथा विवादास्पद अभिव्यक्तिका कारण बढी नै चर्चामा तानिने गरेका थिए ।
त्यसो त चलचित्रका कलाकार चर्चा र विवादमा आउनु नौलो घटना हुँदैन । आफ्नो चलचित्रको बजार प्रवद्र्धनका उद्देश्यले विवादमा आउने कलाकारहरू पनि छन् । आपराधिक काममा संलग्न भएर विवादमा आउने पनि छन् । पत्नी नन्दितासँगको सम्बन्धका कारण उनी पनि लैंगिक हिंसासम्बन्धी विवादमा नतानिएका होइनन् तर वैचारिक रूपले उनीसँग गाँसिएका विवाद पनि कम्ती छैनन्, जसमध्ये मुख्य पाँच विवादलाई यहाँ सम्झन खोजिएको छ ः
विवाद नं. १
चलचित्रमा ओम पुरी जति विद्रोही र राज्य व्यवस्थाप्रति असन्तुष्ट भूमिकामा देखिन्थे वास्तविक जीवनमा पनि उनी असन्तुष्ट नै थिए । अन्ना हजारेको नेतृत्वमा सन् २०११ मा दिल्लीमा भएको आन्दोलनमा उनी सहभागी भए । भ्रष्टाचार र घुसखोरीका विरुद्ध मन्तव्य राख्ने क्रममा राजनीतिक पार्टी र सरकारका नेताहरूलाई संकेत गर्दै उनले मञ्चबाट बोलेका थिए, ‘हेर्नुस्, यी कसरी आपसमा लडिराखेका छन् । संसद्मा कुर्ची र माइक उठाएर यिनीहरू एक–अर्काका विरुद्ध भौतिक आक्रमण गर्छन् ।’ भाषणका क्रममा उनले सांसद्हरूलाई ‘अनपढ’ र ‘गँवार’ भनेका थिए । सांसद्हरूमाथि प्रयोग गरिएको यो अभद्र भाषाले तुरुन्तै संसद्को ध्यानाकर्षण ग¥यो । संसदले ओम पुरीलाई पत्र काट्यो । पत्रको जबाफमा उनले माफी माग्दै लेखे, ‘मैले जुन दुई शब्दको प्रयोग गरेँ, त्यसलाई लिएर म दुःखी छु । म सहमत छु, मैले सभ्य भाषाको प्रयोग गर्नुपथ्र्यो तर म त्यहाँ भावनामा बहेको थिएँ ।’
विवाद नं. २
सन् २०१५ को डिसेम्बरमा एक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भाग लिन ओम पुरी पाकिस्तान गएका थिए जहाँ उनले गौ हत्याका विषयमा आफ्नो मत राख्दै भने, ‘हामी  हरेक वर्ष गाईको मासु निर्यात गरेर करोडौँ डलर कमाइराखेका छौँ । त्यसैले जो मानिस भारतमा गौहत्यामाथि प्रतिबन्ध लगाउने कुरा गर्दैछन्, तिनीहरू खासमा पाखण्डी हुन् ।’ ओम पुरीको यस मन्तव्यलाई लिएर भारतमा धेरैले कडा आलोचना गरेका थिए ।
विवाद नं. ३
भर्खरै जम्मु काश्मीरमा भारतीय सैनिक नितिन यादवमाथि भएको आतंकवादी (?) हमलाको विषयलाई लिएर एक टेलिभिजन अन्तर्वार्तामा ओम पुरीले विवादास्पद मत राखे । भारतीय सेनाप्रति प्रश्न गर्दै उनले भने, ‘उसलाई सैनिकमा भर्ना हुनका लागि कसले भनेको थियो ? कसले भनेको थियो उसलाई हतियार उठाऊ ?’ भारतले शहीद भनेको व्यक्ति नितिन यादवमाथि ओम पुरीले यसरी गालीकै स्तरको भाषा प्रयोग गरेपछि यसका विरुद्ध अदालतमा मुद्दा दायर भयो । पछि ओम पुरीले यादवको घरैमा गएर माफी मागे र भने, ‘मैले जे बोलेँ, त्यसका लागि म लज्जित छु । मलाई माफ गरिनु हुन्न । म सजायको भागीदार छु ।’ पछि नितिनको घरैमा पुगेर ओम पुरीले परिवारसँग माफी मागेका थिए ।
विवाद नं. ४
अर्का भारतीय चलचित्रकर्मी आमिर खानले भारतमा बढ्दै गएको असहिष्णुतामाथि टिप्पणी गर्दै भनेका थिए, उनकी पत्नीले उनलाई देश छोड्नका लागि आग्रह गरिन् । आमिर खानको यो बयान ओम पुरीलाई ठीक लागेन र उनले भने, ‘आमिर खान र उनकी पत्नी नै यसरी सोचिराखेका छन् । असहिष्णुतामाथि आमिर खानले दिएको बयान सहन सकिने खालको छैन । उनले एकदमै गैरजिम्मेवार बयान दिएका छन् । उनी आफ्ना समुदायका मानिसहरूलाई उक्साइरहेका छन्– भाइ, कि त लड्नका लागि तयार होऊ, हैन भने देश छोड ।’
टेलिभिजनको बहसमा भाग लिँदै पुरीले भनेका थिए, ‘केही मानिस भारत र पाकिस्तान पनि इजरायल र प्यालेस्टाइन जस्तो भएको देख्न चाहन्छन् । भारतमा मसुलमानको संख्या २२ करोड छ । यीमध्ये कतिका नातेदार पाकिस्तानमा छन् र पाकिस्तानीका नातेदार यहाँ छन् । तपाईं उनीहरूलाई भड्काउन किन खोज्नुहुन्छ ?’
ओम पुरीले भनेका थिए, ‘यो घृणाको हावा कहाँबाट आयो, मलाई थाहा छैन । म त्यहाँ गएका बेला मलाई जहिले पनि स्वागत नै भएको छ । मलाई के लाग्छ भने दुवै मुलुकमा ९५ प्रतिशत मानिसहरू धर्मका विषयमा निरपेक्ष धारणा राख्छन् । पाँच प्रतिशत मानिस मात्रै यस्ता होलान् जसलाई तपाईं कट्टरपन्थी भन्न सक्नुहुन्छ । तिनै मानिसका कारण दुवै देशको बदनामी भइरहेको छ ।’
ओम पुरीको मृत्युपछि पत्रकार हामिद मिरले लेखेका छन्, ‘बलिउड तथा हलिउडका प्रसिद्ध कलाकार ओम पुरीलाई पाकिस्तान र भारतका बीचमा शान्ति स्थापित गर्न कोसिस गर्ने व्यक्तिका रूपमा दुनियाँले सम्झिरहने छ ।’ भारतमा भएका मुसलमानहरूको चर्चा गर्दै ओम पुरीले भनेका थिए, ‘हिन्दुस्तान पनि एउटा मुस्लिम देश हो । पहिलो नम्बरमा इन्डोनेसिया आउँछ, दोस्रोमा भारत र तेस्रोमा मात्रै पाकिस्तान छ ।’
विवाद नं. ५
भारतीय माओवादीमाथि टिप्पणी गर्दै ओम पुरीले भनेका थिए, ‘नक्सलवादी योद्धा हुन्, आतंकवादी होइनन् । उनीहरू आफ्नो अधिकारका लागि लड्दै छन्, कुनै गैरजिम्मेवार काम गरिरहेका छैनन् । उनीहरूले सामान्य मानिसलाई दुःख दिएका छैनन् ।’
ओम पुरीमा वैचारिक राजनीतिक चेतना थियो तर आफ्नो मतलाई आवश्यक तर्क र व्याख्यासहित निरन्तर अगाडि बढाइरहने सामथ्र्य थिएन । कलाकार र सचेत नागरिकको दोहोरो भूमिकामा कलाकारको भूमिकाले उनलाई सधैँ पराजित गरेको थियो । त्यसैले बृहत्तर मानवताका पक्षमा राखिएको आफ्नो मत सही हुँदाहुँदै पनि उनी त्यसलाई पुष्टि गर्नतिर नलागेर धार्मिक अहंकारसहितको अन्धराष्ट्रवादसँग बारम्बार पराजित हुनुपरेको थियो, माफी माग्नुपरेको थियो ।

Leave A Comment