सेलिब्रिटीको पोखरा घुमाइ

शुक्रबार, २९ पुष २०७३, ११ : २४ शुक्रवार , Kathmandu
सेलिब्रिटीको पोखरा घुमाइ

–सन्तोष पोखरेल
सन् १९८१ डिसेम्बरमा तत्कालीन बेलायती राजकुमार चाल्र्स पोखरा नजिकैको अन्नपूर्ण स्काइलाइन टे«कमा पदयात्रामा गए । चाल्र्सको क्याम्पिङ टे«कपछि पर्यटन व्यवसायीले अन्नपूर्ण स्काइलाइन ट्रेकको नाम फेरेर ‘रोयल ट्रेक’ राखे । अहिले पनि यो पदमार्ग ‘रोयल टे«क’ कै नामले परिचित छ । राजपरिवारले पदयात्रा गरेको भन्दै धेरै विदेशी पर्यटक अहिले रोयल ट्रेकको पदयात्रा जान्छन् ।
उनै चाल्र्सका छोरा राजकुमार ह्यारी गत चैतमा पोखरा आए । ‘अफरोड मोटर बाइकिङ’ रुचाउने ह्यारी नेपाल भ्रमणका क्रममा विभिन्न जिल्ला पुगे । बेलायती राजपरिवारको यो नै दोस्रो भ्रमण होइन । ह्यारीकी हजुरआमा महारानी एलिजाबेथले नेपालको दुई पटक भ्रमण गरेकी छिन् । उनले सन् १९६१ र १९८६ मा नेपाल भ्रमण गरेकी हुन् ।
यस्तै युवराज फिलिपले समेत नेपालको भ्रमण गरेका थिए । फिलिप ह्यारीका हजुरबुबा हुन् । चाल्र्सको पदयात्राले यस टे«कले वर्षाैसम्म पाहुना पायो । पोखरा नजिकैको विजयपुरबाट सुरु हुने रोयल टे«क बेलायती पर्यटकमाझ निकै परिचित छ । रोयल टे«कलाई पर्यटन व्यवसायीले ‘जेन्टल वाक’ को रूपमा पनि बेचिरहेका छन् । धेरै उचाइमा पुग्न नपर्ने हुँदा पाका उमेरका पर्यटकलाई पनि यो रुटमा पठाउन सकिन्छ ।
राजकुमार चाल्र्सलाई स्वागत गरेका कालिका गाविसका टीकाराम सापकोटा अहिले पर्यटन व्यवसायी हुन् । आफूले राजकुमार चाल्र्सलाई स्वागत गरेको रोयल ट्रेकमा नै उनले पर्यटक पठाउने गरेका छन् । ‘त्यो बेला म चार कक्षामा पढ्थेँ । स्कुलले हामीलाई चाल्र्सको स्वागतका लागि लाम लगाएको थियो । हामीले फूल दिएर चाल्र्सलाई स्वागत गरेका थियौँ,’ उनले भने । चाल्र्सले रोयल टे«कमा दुई रात बिताएका थिए ।
पदयात्राको क्रममा चाल्र्स पहिलो रात कालिकाको चिन्तेको डाँडामा बास बसेका थिए । चाल्र्सको बसाइपछि चिन्तेको डाँडाको नाम परिवर्तित भई ‘चाल्र्स हिल’ भएको छ । चाल्र्सले दोस्रो रात स्याक्लुङमा बास बसेका थिए । सापकोटाका अनुसार राजपरिवारको पदयात्रापछि यो रुटमा विदेशी पाहुनाको भीड बढेको थियो । सन् २००० सम्म यो पदमार्ग निकै नै चल्तीमा थियो । तर, मोटरबाटो विस्तारसँगै द्वन्द्व चर्किदा मार्गले पाहुना अभाव झेल्दै गयो । पहिलेजस्तो पर्याप्त नभए पनि अहिले पनि फाट्टफुट्ट विदेशी पर्यटक यो रुटमा पदयात्रामा जान्छन् ।
सन् १९७१ मा भारतका चर्चित अभिनेता देव आनन्द नेपाल आएका थिए । सन् १९९० को दशकको अन्त्यतिर ‘खुदागवाह’ फिल्मको सुटिङ मुस्ताङमा गर्ने गरी अमिताभ बच्चन पोखरा आएका थिए । फिल्मकी अभिनेत्री श्रीदेवीले फेवाताल किनारको फिस्टेल लजको बसाइ रमाइलो  भएको प्रतिक्रिया दिएकी थिइन् । त्यस्तै, अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टरदेखि टेनिस सुपरस्टार मार्टिना हिंगिससम्मले पोखरा घुमेमा छन् । सन् १९९८ मा पोखरा आएकी हिंगिसले बास बसेको फिस्टेल लजसहित पोखराको बसाइ मनमोहक भनेर उल्लेख गरेकी थिइन् । तीबाहेक थुप्रै सेलिब्रिटीले पोखरा घुमेका छन् ।
गत चैतमा पोखरामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को विदेश मन्त्रीस्तरीय बैठक भयो । बैठकमा सार्क सदस्य मुलुकका विशिष्ट पाहुना पोखरा आएका थिए । बैठकमा सहभागी हुन आएकी भारतीय विदेश मन्त्री सुषमा स्वराजले पोखराको मौसम र खुलेको हिमाल देखेर निकै खुशी लागेको बताएकी थिइन् । स्वराजसहित पाहुना टिमले पोखराको खुलेर प्रशंसा गरेका थिए । त्यति मात्र होइन, गत कात्तिकमा पोखरा आएका भारतीय राष्ट्रपति प्रणव मुखर्जीले पनि यहाँको सौन्दर्यको गुणगान गरेका थिए । रामबजारस्थित भारतीय पेन्सन क्याम्प पुगेर लिखित मन्तव्यको सुरुमै मुखर्जीले भनेका थिए– ‘सुन्दर नगरी पोखरामा तपार्इंहरूसँग कुरा गर्ने मौका मिलेकोमा खुशी छु ।’

 

Leave A Comment