दापले चलाएको जीवन

शुक्रबार, २९ पुष २०७३, १० : ४६ सृजना खड्का , Kathmandu
दापले चलाएको जीवन

विदेश गएर उनले एउटा ठूलो पाठ सिके । स्वर्गजस्तो आफ्नो देश छाडेर नर्क पुगेजस्तो लाग्यो उनलाई । ‘कसैले तँलाई नेपाल लगेर गोली हान्छु भने पनि जान्छु भन्ने लाग्थ्यो,’ भक्तपुर, चित्तपोलका रोेशन परियारले विदेशमा रहँदाको नमीठो अनुभव सुनाए ।
२९ वर्षका रोेशन परियार यो उमेरसम्म आइपुग्दा आफूले किताबका पाठ पढ्न नपाए पनि जीवनको पाठ भने राम्रोसँग पढिसकेको बताउँछन् । ‘केही वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया पुगेको थिएँ,’ आफ्नो घरको आँगनमा खुकुरीको दाप बनाउँदै भेटिएका उनले भने, ‘साथीहरूको लहलहैमा लागेर १ लाख ५५ हजार खर्चेर मलेसिया पुगेँ । तर, त्यहाँ बस्नै सकिनँ । मनले त्यहाँ बस्नै मानेन ।’
मलेसियामा साहुले तलब बढाएर दिने कुरा गर्दा पनि बस्न मन नलागेको उनी बताउँछन् । ‘साहुले तलब थपेर दिन्छु भन्यो । तर, पनि बस्न मन लागेन । तीन महिनासम्म जेनतेन काम गरँे । तलब पाउनुको साटो उल्टै १ लाख १४ हजार रुपैयाँ तिरेर नेपाल फर्किएँ,’ उनले भने, ‘आफ्नो ठाउँ भनेको आफ्नै हुँदो रै’छ । अब त कहिल्यै विदेश जान्नँ ।’
आर्थिक अवस्था कमजोर भएकाले स्कुल पढ्न नपाएको परियार बताउँछन् । स्कुल जान नपाएपछि उनले बाबुबाजेसँग खुकुरीको दाप बनाउन सिके । ‘सानो छँदा ख्यालख्यालमा सिकेको काम नै अहिले जीवन जिउने आधार बनेको छ,’ उनले भने । विदेशबाट फर्केपछि खुकुरीको दाप बनाउनतिर लागे, उनी । आफूले जानेको सीपमा हात हालेपछि काम गर्न गाह्रो नभएको उनी बताउँछन् । ‘विदेश गएर ऋण लाग्यो । खुकुरीको दाप बनाएर ऋण तिरेँ,’ उनले भने ।
विदेशबाट खाली हात फर्केकोमा उनलाई कुनै ग्लानि छैन । आफ्नो काम र कमाईबाट सन्तुष्ट र खुशी भएको उनी बताउँछन् । ‘कर्म गरेपछि फल मिल्छ भनेजस्तै मैले पनि आफ्नो कर्मअनुसार फल पाइरहेको छु । मेहनत गर्नेले भोको बस्नुपर्दैन,’ परियारले भने ।
खुकुरीको दाप बनाउने काम सहज नभएको परियार बताउँछन् । यसका लागि निकै मेहनत गर्नुपर्ने उनको भनाइ छ ।  ‘सल्लाघारीको काठमिलबाट लहरे पिपलका काठ ल्याउँछु । त्यसलाई ताछेर दापको आकार दिन्छु । त्यो काठलाई खुकुरी हाल्न केही खोक्रो बनाउनुपर्छ । त्यसपछि तयार भएको दाप आकारको काठलाई छालाले मोड्नुपर्छ । बाहिरपट्टि खुकुरी अड्काउनको लागि सानो त्रिकोण आकारको काठ पनि जोड्नुपर्छ,’ परियारले आफ्नो काम बयान गरे, ‘यो काममा मेरी श्रीमतीले पनि सघाउँछिन् ।’
उनले बनाएको एउटा दाप सय रुपैयाँमा बिक्री हुन्छ । सब खर्च कटाएर ४० हजारजति चोखो बच्ने उनी बताउँछन् । ‘अहिले आफ्नै आँगनमा बसीबसी यति पैसा कमाएपछि किन जानु विदेश ? अर्काको भनाइ पनि खानु परेन, अन्डरमा पनि बस्नु परेन ।’

Leave A Comment