सेल्फी दुव्र्यसन

शुक्रबार, २९ पुष २०७३, १० : ४२ शुक्रवार , Kathmandu
सेल्फी दुव्र्यसन

भारतको राजधानी  नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्समा हालसालै एउटा अनौठो केस आयो । न्यू डेल्ही युनिभर्सिटीमा अध्ययनरत एक छात्रा नाकको सर्जरी गराउन भन्दै अस्पतालमा भर्ना भइन् । जब शल्यचिकित्सकले उनको नाकलगायत स्वास्थ्य परीक्षण गरे, तब उनलाई सर्जरी वार्डमा नभई मनोचिकित्सकको वार्डमा लगियो । किनकि, उनको समस्या नाकमा थिएन, दिमागमा थियो ।
अस्पतालका मनोचिकित्सकले ती छात्रा ‘सेल्फी एडिक्सन’बाट ग्रस्त भएको बताएका छन्, जसलाई मेडिकल भाषामा सेल्फीसाइड भनिन्छ । भारतको अर्को अस्पताल सर गंगा राम अस्पतालमा यस्तै दुइटा केस यसअघि आएका थिए ।
नयाँ दिल्ली विश्वविद्यालयकी छात्राको उपचारमा संलग्न डा. नन्द लालले भने, ‘ती छात्रालाई सेल्फी लिएर सामाजिक सञ्जालमा अप्लोड गर्ने एडिक्सन रहेछ । यस्ता मानिस थरीथरीका पोजमा सेल्फी खिच्छन् र बिस्तारै यो उनीहरूको अम्मल बन्न पुग्छ ।’ समाचारमा ती छात्राको नाम खुलाइएको छैन ।
सेल्फी बढी खिच्ने मानिस ऐनाअगाडि बढी बस्ने गर्छन् । ऐनामा हेर्दा आफू अझ राम्री हुन पाए सेल्फी अझ राम्रो आउने थियो भन्ने उनीहरूलाई लाग्छ । ‘ऐनाअगाडि बस्दा ती छात्रालाई पनि आफ्नो नाक सही–सलामत नभएको भान भयो र बिस्तारै उनी यसमा विश्वस्त भइन् । आफ्नो नाक राम्रो बनाउने उनको चाहना थियो । जबकि उनको नाकमा कुनै समस्या थिएन । मनोचिकित्सकसँगको परामर्श र प्रारम्भिक उपचारपछि उनको अवस्थामा सुधार हुँदै गएको छ,’ समाचारमा भनिएको छ । अमेरिकी साइकोलोजिकल एसोसिएसनका अनुसार ६० प्रतिशत महिलामा सेल्फीसाइड समस्या हुन्छ । तर, तीमध्ये केहीमा चाहिँ यस्तो समस्या गम्भीर प्रकृतिको हुन्छ ।

Leave A Comment