जिल्लाराम देउवा

शुक्रबार, २९ पुष २०७३, १० : ३७ शुक्रवार , Kathmandu
जिल्लाराम देउवा

विधि र विधानको कुरा गर्दै पार्टी नेतृत्वमा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई अहिले त्यही गलपासो भएको छ । दुई महिनाभित्र  पार्टीका सबै निकायलाई पूर्णता दिनुपर्ने काम देउवाले नौ महिना बित्दासमेत सुरु गरेका छैनन् । केही दिनअघि विभाग गठन गर्ने विषयमा नेता रामचन्द्र पौडेलसँग छलफल त गरे, तर पौडेलले पनि उनलाई किन सहयोग गर्नु र ? अर्को महाधिवेशनमा फेरि त्यही नारा दिएर सभापति हत्याउँला भन्ने दाउमा रहेका पौडेलले कार्यसम्पादन समिति गठन गरेर विभाग, पदाधिकारीसहित सबै निकास पूर्णता दिनुपर्ने जनाएपछि देउवा जिल्लाराम भएका छन् । विभाग गठन गरेर पदाधिकारीको आशमा निकट नेताहरूलाई अल्झाइरहने उनको योजनामा पौडेल ढुंगा बन्न पुगेका छन् । निकटहरूसँग ‘पार्टी नेतृत्वमा पुग्न कसलाई केके आश्वासन दिएको छु मलाई मात्र थाहा छ, अहिले त्यो सबै कहाँ पूरा गर्न सकिन्छ ?’ भन्न नहिचकिचाउने देउवालाई विधानको धारा ४९ उपधारा १९ मा महाधिवेशन सकिएको दुई महिनाभित्र सबै तहका समिति गठन गरिसक्नुपर्ने व्यवस्था पनि कसैले सम्झाइदिने हो कि ?  
एमालेको असली शैली
राष्ट्रघात र राष्ट्रवादको नारालाई राष्ट्रिय राजनीतिमा निकै घन्काएको एमालेले आइतवारको व्यवस्थापिका संसद्को बैठकमा आफ्नो असली चरित्र देखाएको छ । ‘तँ कुटे जस्तो गर म रोए जस्तो गर्छु’ भन्ने शैलीमा एमालेले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयक टेबुल ग¥यो । संशोधन विधेयक टेबुल गर्दा लाग्थ्यो– सरकार प्रतिपक्षीको आवाजलाई व्यवस्था गरेर संसदीय व्यवस्थाविपरीत प्रस्तुत भइरहेको छ । तर, कुरा उल्टो रहेछ– सबै काम एमालेले प्रधानमन्त्रीसँग सहमतिमै गरेको रहेको छ । एमाले उपाध्यक्ष वामदेव गौतमले सम्पूर्ण प्रतिपक्षीले एक भएर विरोध गरिरहेका बेला विधेयक प्रस्तुत गर्न दिएर लज्जास्पद काम गरेको कुरा गरेर जग हँसाए । प्रधानमन्त्रीले चितवनको एक कार्यक्रममा भने, ‘एग्री टू डिसएग्रीअनुसार संसद्मा एमालेले अवरोध गरेको हो । संयुक्त सरकार भएपछि केही अप्ठ्याराहरू अवश्य हुन्छन् । हामीले एडजस्ट गर्नुपर्ने अवस्था आइपर्छ । त्यही एडजस्ट गरेको मात्रै हो ।’ आइतवार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको ‘वान टू वान’ वार्तामा समझदारी कायम गर्दै अघि बढ्ने सहमति भएको उनले दाबी गरे । बाहिर आएको जस्तो एमालेसँग कुनै असमझदारी नभएको उनको कुरा चाहिँ के हो नि ? अनि, सुवासचन्द्र नेम्वाङ सभाध्यक्ष हुँदा विपक्षीलाई घण्टौँ उभ्याएर आवाज पनि बाहिर आउन नदिएको चाहिँ एमालेजनले भुलेछन् । हिजो एमालेले सिकाएको काम माओवादीबाट सभामुख भएकी ओनसरी घर्तीले कार्यान्वयन मात्र गरेको हो भन्यो भने के जवाफ आउँछ नि ? 

Leave A Comment