बेजोड अभिनेता, जटिल व्यक्ति

बिहिबार, २८ पुष २०७३, १० : ५० शुक्रवार , Kathmandu
बेजोड अभिनेता, जटिल व्यक्ति

रंगमञ्चबाट अभिनय यात्रा सुरु गरेका अभिनेता ओम पुरी बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भए । बेजोड अभिनय र दमदार आवाजबाट उनले दर्शकको मन जिते । तर, बदलिएको समाज र सिनेमाको रूप र स्तरप्रति उनी जहिल्यै पनि असन्तुष्टि पोख्थे । जुनसुकै मामिलामा पनि उनी कसैसँग नडराई स्पष्ट रूपमा आफ्नो विचार राख्थे । तर, समय, समाज र सिनेमाको परिवर्तनसँगै पुरीको व्यक्तिगत जीवन र व्यवहारमा पनि अप्रत्याशित परिवर्तन आए ।
बलिउडमा करिअर सुरु गर्दाताका उनी सहृदय मानिस थिए । फिल्म ‘आरोहण’ र ‘अर्धसत्य’ लागि उनले राष्ट्रिय पुरस्कार पाए । फिल्म ‘अर्धसत्य’का लागि राष्ट्रिय पुरस्कार पाउने समाचार पाएपछि उनले मिडियासामु भनेका थिए– ‘म त कलाकार हुँ । कलाको सेवा गर्न आएको हुँ । यी पुरस्कारले मलाई थप जिम्मेवार बनाइरहेका छन् ।’
उनीबारे समीक्षकहरू भन्थे– ‘ओम पुरीले अभिनयमा नयाँ–नयाँ आयाम थपिरहेका छन् । यो शृंखला कहाँ टुंगिएला, कसैले भन्न सक्दैन ।’ कला सिनेमाबाट हात पारेको सफलताका आधारमा ओम पुरी बलिउडका मसलादार फिल्मको हिस्सा पनि बन्न थाले । बिस्तारै, उनको प्रतिभा धुमिल हुँदै गयो । उनको बोली पनि फेरियो । सन् २०१२ मा ओम पुरीले एक अन्तर्वार्तामा भने– ‘म जीवन जिउनका लागि कमर्सियल फिल्म गर्छु ।’
सन् २००४ पछि पुरीले कमर्सियल फिल्ममा स–साना भूमिका गर्न थालेका थिए । उनी मिडियासामु भन्ने गर्थे– ‘साँच्चै भन्ने हो भने कतिपय फिल्म म पैसाका लागि मात्रै गरिरहेको छु । करिअरको सुरुवातमा मैले राम्रो काम गरिसकेको छु । बुढेसकालका लागि, बच्चा हुर्काउन, उनीहरूलाई राम्रो स्कुलमा पढाउन, उपचारका लागि पैसा आवश्यक पर्छ । त्यसकै लागि कमर्सियल फिल्ममा काम गर्छु । स्पष्ट भन्ने हो भने म जीवन जिउनका लागि कमर्सियल फिल्म गरिरहेको छु ।’
आफ्ना समकक्षी कलाकार नसिरुद्दिन शाहहरूले जस्तो अभिनय, कार्यशैली र भूमिकामा परिवर्तन ल्याउन नसकेको आरोप ओम पुरीले खेप्ने गरेका थिए । तर, उनी एउटै प्रतिक्रिया दिन्थे– ‘फिल्म ‘मेरे बाप पहले आप’ पछि राम्रा भूमिका पाइनँ ।’ फिल्म ‘टेन्सन मत ले यार’ स्विकार्दा उनले झर्किंदै भनेका थिए– ‘म दर्शक वा प्रशंसकको वास्ता कहिलेसम्म गरूँ ? कति महिनासम्म राम्रो भूमिकाको अफरका लागि कुरेँ । घरमा यत्तिकै खाली बसेँ । तीन महिनासम्म खाली बसेपछि मैले फिल्म ‘टेन्सन मत ले यार’ साइन गरेको हुँ । मैले कहिल्यै पनि करौडौँ कमाइनँ ।’
फिल्म ‘आक्रोश’ का लागि नौ हजार, ‘जाने भी दो यारों’ का लागि आफूले पाँच हजार भारु पाएको पुरीले बताएका थिए । ‘फिल्म ‘आरोहणका लागि दुई महिनासम्म सुटिङ गरेँ । त्यसका लागि मैले १० हजार मात्र पाएँ । आजीविका चलाउनका लागि मैले व्यावसायिक फिल्म गर्नु नै पर्छ । तैपनि, अहिले कला फिल्म कहाँ बन्छन् र ? घटिया काम गर्ने हिरो र कलाकारले करौडाँै पाइरहेका छन्,’ उनले भनेका थिए ।
तर, उनका निकटस्थहरूका अनुसार बिस्तारै उनको व्यवहारमा परिवर्तन आउन थाल्यो । सन् २००५ पछि भावुक मानिस हराएर उनीभित्र एउटा रिसाहा मानिस देखिन थाल्यो । सन् २०१२ पछि उनी आफ्नो करिअरबाट एकदमै निराश थिए । एक अन्तर्वार्तामा उनले भनेका थिए– ‘इच्छा राखेर के हुन्छ ? इच्छाहरू सधैँ पूरा हुँदैनन् । बलिउडको सिनेमा फर्मुला बदलिएको छ । आजभोलि हिरो पनि चरित्र प्रधान भूमिका गर्न थालेका छन् । हाम्रो वास्ता कसले गर्छ ? एक समय थियो, जब हामी शिखरमा थियौँ, अब हामी अस्ताउँदा सूर्य भएका छौँ ।’
ओम पुरी ती कलाकारमध्ये थिएनन्, जो फिल्मबाट निराश भएर फेरि रंगमञ्चमा फर्किएका थिए । यसबारे उनले भनेका थिए– ‘मैले रंगमञ्चबाट अभिनय सुरु गरेँ । फिल्मसँग जोडिँदा रंगमञ्चको गम्भीरता ल्याएँ । त्यसैले राम्रा फिल्म गर्दा रंगमञ्चमा काम नगर्नुमा दुःख लागेन । मैले धेरैजसो जीवनसँग जोडिएका फिल्ममा काम गरेको छु । फिल्ममार्फत आफ्ना कुरा दर्शकसम्म पु¥याउने प्रयास गरेको छु ।’
करिअरको उतारचढावले पुरीको निजी जीवनलाई सञ्चालित गरिरह्यो । संर्घषरत र कलात्मक सिनेमाका कलाकार हुँदाताका उनले अभिनेता अनु कपुरको बहिनी सीमा कपुरसँग बिहे गरे । सफलताको शिखरमा पुगेपछि उनले सन् १९९१ मा सीमासँगको सम्बन्धमा बिराम लगाए । सन् १९९३ देखि पत्रकार र लेखक नन्दिता पुरीसँग उनले नयाँ जीवन सुरु गरे । ओम र नन्दिताको एउटा छोरा छन्, इशान पुरी । सन् २०१३ मा ओम र नन्दिताको सम्बन्ध पनि टुंगियो । उनीहरूले सम्बन्ध–विच्छेद गरे । नन्दिताले सन् २०११ मा ओम पुरीको बायोग्राफी ‘अनलाइकली हिरोः ओम पुरी’ लेखिन् । जसमा उनले ओमका जीवनका धेरै गोप्य कुरा खोलेकी थिइन । यो किताब नै उनीहरूबीच विवादको कारण बनेको धेरैको भनाइ छ । पछि नन्दिताले ओममाथि घरेलु हिंसाका गम्भीर आरोप लगाएकी थिइन् । केही वर्षयता ओम रक्सी सेवन गर्न थालेका थिए । करिअर र निजी जीवनको विफलतापछि उनलाई रक्सीको लत लागिसकेको थियो । अन्ततः गत शुक्रवार उनको देहावसान भयो ।

Leave A Comment