ब्रेस्ट रिडक्सन सर्जरी गर्दा स्तनमा खत

बुधबार, २७ पुष २०७३, १० : ३१ डा. जयनमान श्रेष्ठ , Kathmandu
ब्रेस्ट रिडक्सन सर्जरी गर्दा स्तनमा खत

म २२ वर्षीया अविवाहित युवती हुँ । मेरो स्तन निकै ठूला छन् । मलाई कपडा लगाउन, हिँड्डुल गर्न पनि गाह्रो भइरहेको छ । ढाड दुख्ने समस्या पनि छ । सर्जरी गरेर स्तनको साइज घटाउन सकिन्छ भन्ने सुनेको छु । सर्जरी गरेर स्तनको साइज घटाउँदा पछि कुनै नकारात्मक असर देखिन्छ कि ?
डी

महिलाका लागि स्तन सौन्र्दयसँग सम्बन्धित संवेदनशील अंग भएकाले यसको साइजलाई लिएर चिन्ता गर्नेहरू धेरै छन् । स्तन साना हुँदा पनि चिन्ता गर्ने र अलि ठूला हुँदा पनि चिन्तित हुने युवती र महिला धेरै भेटिन्छन् । साना स्तन हुनु कुनै समस्या होइन । तर, साना स्तन भएकाहरू कसरी ठूला बनाउने भनेर चिन्ता गरिरहेको भेटिन्छ । स्तन यौन उत्तेजना र बच्चा जन्मिएपछि स्तनपान गराउन प्रयोग हुने महŒवपूर्ण अंग हो । स्तनको साइज घटाउन र बढाउन चाहनेहरूले आफूले अपनाउन लागेको विधिबारे राम्रोसँग जानकारी राख्नुपर्ने हुन्छ ।
तपाईंले प्रश्नमा उल्लेख गर्नुभएजस्तै ठूला स्तन भएका महिलामा ब्याकपेनको समस्या देखिन्छ । स्तनको साइज ठूलो भएका कारण ढाड नै कुप्रो हुने गरी शरीर अगाडि झुकेको हुन्छ । कम उमेरमा र विवाह नभएका युवतीहरूको स्तनको साइज ठूला हुँदा उनीहरूमा एक किसिमको मनोवैज्ञानिक दबाब पनि परिरहेको हुन्छ । ठूला स्तन भएका कारण विवाह पो नहुने हो कि ? नराम्री पो देखिएकी छु कि ? जस्ता प्रश्न मनमा उब्जिरहेको हुन्छन् । १५÷१६ वर्षको उमेर देखिने हार्मोनका कारणले गर्दा पनि स्तनको साइज ठूलो हुन सक्छ । कम उमेरमा ठूला स्तन हुँदा घाँटी, पाता र ढाड दुख्ने समस्याबाट युवतीहरू पीडित हुन्छन् । ठूला स्तनका कारण तौल उठाउन, खेलकुदमा सहभागी हुन गाह्रो हुन्छ । स्तन स्त्रीको फोकस हुने पार्ट भएकाले सबैले आफूलाई नै हेरिरहेको जस्तो लाग्ने हुँदा उनीहरूको आत्मविश्वासमा कमी आइरहेको हुन्छ । हार्मोनको कारणले स्तनको साइज बढेको रहेछ भने मोटोपन बढ्दै जाँदा स्तनको साइज अझै ठूलो हुँदै जान्छ ।
ठूला स्तनलाई ‘ब्रेस्ट रिडक्सन’ सर्जरी गरेर सानो बनाउन सेवा नेपालमा पनि उपलब्ध छ । ब्रेस्टको सर्जरी गर्ने भनेपछि यसका अन्य जटिलता के हुन सक्छन् भनेर चासो राख्नु स्वाभाविक हो । तर, अनुभवी प्लास्टिक सर्जनले ब्रेस्ट रिडक्सन सर्जरी गर्दा सर्जरीपछि खासै ठूला समस्या देखिँदैनन् ।
स्तन घटाउने सर्जरी गर्नुअघि स्तनको साइज मापन गरिन्छ । शरीरको तौल, बनावट, सर्जरी गराउनेको उमेर सबै पक्षलाई ध्यान दिएर कति मात्रामा ब्रेस्ट ग्यालन्ड र बोसो निकाल्दा स्तनको साइज ठिक्कको देखिन्छ भनेर निक्र्योल गरेपछि स्तनको साइजअनुसार एउटा स्तनबाट पाँच सय ग्रामदेखि र १ किलो ५ सय ग्रामसम्म ब्रेस्ट ग्यालन्ड र बोसो निकालिन्छ । स्तनको साइज ठूलो भएका कारण तल पुगेको निप्पललाई स्तनको सेन्टरमा पर्ने गरी ब्रेस्ट रिडक्सन सर्जरी गरिन्छ । यसरी स्तन घटाउने सर्जरी गरेका महिलाको दूध उत्पादनमा भने केही कमी हुन्छ ।
ब्रेस्ट रिडक्सन सर्जरीको साइड इफेक्ट खासै हुँदैन । स्तनमा सानो खत त हुन्छ । तर, यो निप्पलको तलतिर सीधा ठाडो हुने भएकाले ठूलो खत देखिँदैन । स्तनमा कुनै गिर्खा वा अन्य समस्या छ कि छैन भनेर अल्ट्रासाउन्ड, म्यामोग्राफी गरेपछि मात्र सर्जरी गरिने भएकाले सर्जरीपछि अन्य जटिल समस्या देखापर्ने सम्भावना एकदम कम हुन्छ । सर्जरी गरेको एक हप्तापछि घाउ निको भएर दैनिक कामकाजमा फर्किन सकिन्छ ।  

 

Leave A Comment