चलचित्रः आफ्नो र अर्काको

बुधबार, २७ पुष २०७३, १० : ०७ माधव ढुङ्गेल , Kathmandu
चलचित्रः आफ्नो र अर्काको

शक्तिशाली सम्प्रेषण क्षमताका कारण चलचित्रले धेरैको ध्यान तानेको छ । मनोरञ्जनलाई नै मुख्य लक्ष्य बनाउने मनोरञ्जनवादीहरू त छँदै छन्, तिनका अतिरिक्त राजनीतिकर्मी, अधिकारकर्मी, समाजशास्त्री, सञ्चार माध्यमका अध्येता र अर्थशास्त्री तथा प्राध्यापकहरूको ध्यान पनि चलचित्रले तानेको छ । त्यसैले चलचित्र आज मनोरञ्जनको व्यापारमा मात्रै सीमित छैन । यो सामाजिक सरोकार र विमर्शको विषय पनि बनिसकेको छ ।
भारतीय चलचित्र निर्देशक बिजु टोप्पोले आदिवासी र दलित चलचित्र विषयक चर्चाका क्रममा भनेका छन्, ‘क्यामेराले आफ्नो सञ्चालकको वर्ग तथा जाति विषयक पूर्वाग्रहलाई निकै सजिलैसँग सूचित गर्छ । प्रत्येक फ्रेम तथा एंगलको आफ्नै विशिष्ट दृष्टिबाट त्यसले कुनै व्यक्तिलाई तिरस्कार वा महिमामण्डित गर्ने नजरबाट हेरिराखेको हुन्छ ।’
यो बहस नेपालमा पनि छ । खास गरी आदिवासी चलचित्रको चर्चा गर्दा यो बहस ज्यादा आउने गरेको छ । आदिवासी चलचित्र भनेको के हो ? आदिवासी चलचित्र हुनलाई आदिवासीले नै बनाएको हुनुपर्छ कि जसले बनाए पनि हुन्छ ? टोप्पोले भने झैँ खिचिएका हरेक सामग्रीमा क्यामेरा चलाउनेको जातीय पूर्वाग्रह सूचित हुन्छ भने गैरआदिवासीले आदिवासी चलचित्र बनाउन कसरी सक्ला ?
यो प्रश्न स्वानुभूति र परानुभूतिसँग गाँसिएको प्रश्न हो । आफू र अर्कोसँग गाँसिएको प्रश्न हो । छायाकार होस्, निर्देशक वा कलाकार होस् वा जुनसुकै प्रकारको सर्जक किन नहोस्, पूर्वाग्रहरहित व्यक्ति ऊ हुँदैन । कुनै वस्तु, घटना वा परिस्थितिलाई ऊ आफ्नै पूर्वाग्रही नजरबाट राम्रो वा नराम्रो भनी परिभाषित गर्छ । यस्तो अवस्थामा सम्बन्धित समुदायबाटै चलचित्रकर्मीहरू पैदा हुनु सर्वाधिक उपयुक्त विकल्प हो तर सबै समुदायमा तत्काल यसो हुन सक्ने सम्भावना कम छ । हाम्रो सामाजिक सम्बन्ध नै विशेष किसिमको रहेकाले अर्काको समुदायमाथि काम नगरी चल्ने स्थिति छैन ।
स्वानुभूति र परानुभूतिको प्रश्न चलचित्र वा आदिवासी चलचित्रसँग मात्रै सम्बन्धित प्रश्न होइन । साहित्य आदि कलारूपहरूमा पनि यो छ र महिला, दलित, अश्वेत आदिका सन्दर्भमा पनि यस्तो विवाद हुँदै आएको छ । एउटा पुरुषले नारीकेन्द्री लेखन गर्न सक्छ कि सक्दैन ? कथित उच्च जातको व्यक्तिले दलित साहित्य वा दलित चलचित्र सिर्जना गर्न सक्छ कि सक्दैन ? एसिया होस् वा अफ्रिका सबैतिर यो प्रश्न उठेकै छ । श्वेत जातिको व्यक्तिले रंगभेद नीतिको विरोधमा लेखिएको साहित्य वा बनाइएको चलचित्र अश्वेत साहित्य वा अश्वेत चलचित्र हुन्छ कि हुँदैन ?
सन् १९९१ मा नोबेल पुरस्कारले सम्मान गरिएकी दक्षिण अफ्रिकी उपन्यासकार नादिन गोर्डिमार यहुदी मूलका बाबु र बेलायती मूलकी आमाबाट जन्मिएकी श्वेत महिला हुन् । आफू श्वेत भएर पनि उनले निरन्तर अश्वेतका पक्षमा वकालत गरिन् । नेल्सन मन्डेलाको निकट सहयोगीका रूपमा संगठित भएर भूमिगत क्रान्तिकारीलाई सेल्टर दिइन् । निरन्तर रंगभेदविरोधी आन्दोलनमा सक्रिय भएका कारण उनको सौन्दर्यदृष्टि मूल अफ्रिकी अश्वेतहरूको भन्दा भिन्न थिएन । उनले दक्षिण अफ्रिकी समाज र संस्कृतिलाई निकै गहिरोसँग आत्मसात् गरेकी थिइन् र सोही अनुसार आफ्ना उपन्यासमा त्यहाँको सामाजिक इतिहास लेखेकी थिइन् । यही कारण उनका उपन्यासहरू प्रतिबन्धित समेत भए । तिनै उपन्यासका कारण अफ्रिकी समाजलाई अरूले हेर्ने दृष्टिकोणमा परिवर्तन आयो । आफ्नो छालाको रङ सेतो भएर पनि उनले लेखेको साहित्य अश्वेत साहित्य भयो ।
एउटा समुदायको सर्जकले अर्को समुदायको विषयवस्तुमा आधारित भई चलचित्र निर्माण गर्दा होस् वा अर्को समुदायको चरित्र निर्माण गर्दा होस्, प्रशस्त सावधानी र गम्भीरता अपनाउन सकेन भने र सामाजिक मिथकलाई नै आधार बनायो भने सम्बन्धित समुदायमाथि अन्याय हुन पुग्छ । यस्तो अन्याय गर्ने अधिकार आफ्नै समुदायको सर्जकलाई पनि हुँदैन । अर्को समुदायको व्यक्तिले ग¥यो भने त त्यो झनै अमानवीय र हिंस्रक समेत बन्ने खतरा हुन्छ ।  
नेपाली समाज भाषिक, सांस्कृतिक विविधताको समाज मात्रै होइन, बहुसभ्यताको समाज समेत हो । यस्तो समाजमा एउटा समुदायले अर्को समुदायको विश्वास, मूल्य प्रणाली र जीवनशैलीलाई ठीक किसिमले चिन्न र बुझ्न सक्दा मात्रै आपसमा एकताको भाव पैदा हुन्छ र आन्तरिक राष्ट्रियता बलियो हुन्छ । एकखालका चलचित्रकर्मीहरू खास भाषा, संस्कृति र सभ्यता विशेषलाई नै खाँटी राष्ट्रियता देख्ने र बाँकीलाई जातजाति वा मधेशी मात्रै देख्ने फासीवादी विचारबाट प्रभावित छन् । लामो समयसम्म नेपाली चलचित्रले पनि यस्तै गलत विचारको प्रचारप्रसार गर्दै आयो ।
नेपाली चलचित्रमा आज आ–आफ्नो समुदायगत श्रेष्ठता प्रमाणित गर्ने भन्दा पनि अर्काे समुदायको संवेदनशीलतालाई चिन्ने कुराको खाँचो ज्यादा छ । अर्काको समुदायको चित्रण गर्दा गहिराइमा पुगेर जिम्मेवारीपूर्वक गर्नुपर्ने आवश्यकता छ । अर्कोलाई बुझ्ने र उसप्रति सम्मानको भावले व्यवहार गर्ने मूल्य पद्धतिको विकास गर्नुपर्ने आवश्यकता छ । यो काम सबैभन्दा सजिलोसँग चलचित्रबाटै सम्भव हुन्छ ।
अर्को समुदायलाई अन्याय गर्न खोजिएको छ कि छैन भन्ने कुरा उक्त सर्जक अर्को समुदायप्रति कत्तिको गम्भीर छ भन्नेमा भर पर्छ । चलचित्रको पर्दामा आदिवासी वा दलित वा महिला तथा मधेशीको वास्तविकतालाई यथार्थपरक ढंगमा प्रस्तुत गरिएको छ कि काल्पनिक भएर रोमान्टिक तरिकाले पेस गरिएको छ भन्नेमा भर पर्छ । उक्त समुदायको आत्मिक सत्यलाई खोजी गर्नका लागि परिश्रमपूर्वक अध्ययन गरेर प्रस्तुत गरिएको छ कि सामाजिक मिथकलाई पुष्टि गर्ने गरी प्रस्तुत गरिएको छ भन्नेमा भर पर्छ । कलाकार सोही समुदायको भएर मात्रै पुग्दैन, उसको भूमिका सोही समुदायको सौन्दर्य मूल्य अनुरूप छ कि छैन भन्नेमा भर पर्छ ।
आफूले प्रत्यक्ष अनुभूत गर्न नसक्ने प्रकारको अर्को समुदायको अमूर्त सांस्कृतिक विरासत, त्यहाँको मानव जीवन र प्रकृतिसँगको लय, भाषाको विशिष्ट संरचना र लवज, प्रथा, परम्परा, रिवाज र सौन्दर्य मूल्यहरूको अधिकाधिक सही अभिव्यक्ति निर्देशक होस् वा कलाकार, जो कसैका लागि पनि ज्यादा नै चुनौतीपूर्ण हुन्छ र विफलताको सम्भावना प्रायः जीवितै रहन्छ । यस्तो अवस्थामा त्रुटिहरूको अधिकतम न्यूनीकरणका लागि निर्देशकले आफ्नो भूमिकालाई पुनर्परिभाषित गर्न सक्नुपर्छ । निर्देशकले आख्यानकार र व्याख्याता हुने आकांक्षालाई अनि आफूले निर्माण गरेका मिथकीय सौन्दर्य विम्बहरूलाई त्यागेर केवल सन्देशवाहकको भूमिकालाई अधिकतम इमानदारीपूर्वक निर्वाह गर्ने प्रयास गर्छ भने मात्रै उसले अर्को समुदायका बारेमा चलचित्र बनाउने हैसियत राख्छ । होइन आख्यानकार र व्याख्याता नै बन्ने महŒवाकांक्षा राख्छ भने चाहिँ गोर्डिमारहरूले झैँ उक्त समुदाय वा वर्गप्रति आफूलाई पूर्णतः आबद्ध र भित्रिया गराउन सक्नुपर्छ ।

Leave A Comment

Astaberry.com
nagarik-ime

zenTravelsNagarikNews2015

ncell-april17