‘हालत खराब छ’

सोमबार, २५ पुष २०७३, १० : २५ शुक्रवार , Kathmandu
‘हालत खराब छ’

बा.४. ख २२२३
चालकः राधाकृष्ण श्रेष्ठ

के छ गुरुजी खबर ?
बेहाल छ । बन्द भन्छन्, गाडी चलाउनै पा’छैन । सर्वसाधारणको बिचल्ली छ । झन् हामी मजदुरको त हालत खराब छ ।
घर कता प¥यो नि ?
बनेपा ।
कुन रुटको गाडी चलाउनुहुन्छ ?
बनेपा/पनौतीदेखि रत्नपार्कसम्मको ।
कति भयो गाडी चलाउन थालेको ?
गाडी चलाएदेखि दुई पटक लाइसेन्स नवीकरण गरिसकेँ । १२÷१३ वर्ष भयो होला ।
कस्तो लाग्छ ड्राइभिङ पेशा ?
काम छैन यो पेशाको । नगरुञ्जेल रहर हो । गरेपछि बेकारमा गरेछु जस्तो लाग्छ । नगरौँ भने जानेको काम यही हो । रहरले होइन बाध्यताले गरिरहेको छु ।
गाडी आफ्नै हो कि साहूको ?
साहूको नि ।
दिनमा कति पटक ओहोरदोहोर गरिन्छ ?
दुई पटक जाने, दुई पटक आउने गरिन्छ ।
कमाइ कति हुन्छ ?
तलब त तीन हजार हो । दैनिक कमाएको पैसाले महिनाको २५ हजार जति पुग्छ ।
यो पेशामा कस्ता समस्या भोग्नुपर्छ ?
कहिले गाडी खाली हुन्छ । साहूले पैसा पुगेन भन्छ । कहिले अलि बढी प्यासेन्जर हुन्छन् । ढोकामा झुन्डियो भनेर ट्राफिकले चिट काट्छ । यो पेशामा हरेकतिरबाट टेन्सनै टेन्सन छ ।
विदेश जाने सोच आएन ?
आएन । गएको साथीभाइहरूले पनि काम छैन नआइज भन्छन् । त्यसैले जान मन लागेन ।
कुनै नमीठो अनुभव छ कि ?
१० वर्षअघि त्यतिखर ड्राइभर बनिसकेको थिइनँ, खलासी थिएँ । दसैँको समयमा पनौतीको गाडी जगातीमा पल्टिएको थियो । म पनि त्यसमा थिएँ । मेरो हात भाँच्चियो ।
निकै जोखिमपूर्ण छ है यो पेशामा ?
हो नि । पेशा जोखिमपूर्ण त छँदै छ प्यासेन्जरहरूले नि उत्तिकै हेप्छन् । जेजस्तो गरे पनि ड्राइभरकै गल्ती भन्छन् । अरू काम जानेको भए यो काम मरे पनि गर्दिनँ थिएँ ।
गीतसंगीतमा कत्तिको रुचि छ ?
अहिले झाङझाङझुङझुङ गीत सुन्दा झर्को लाग्छ । पुराना गीत भने असाध्यै मन पर्छन् ।  विशेष गरी अञ्जु पन्तका सेन्टिमेन्टल गीत र पुराना फिल्मका गीत बढी सुन्छु । गाडीमा त्यस्तै खाले गीत बजाइरहन्छु ।
फिल्म नि ?
फुर्सद हुँदैन, त्यसैले फिल्म नहेरेको धेरै भयो । ‘छक्का पञ्जा’ भन्ने फिल्म राम्रो छ रे ! सीडी निस्केपछि घरमा ल्याएर डेकमा राखेर हेर्ने सोच छ ।
डा«इभर नभएको भए के भइन्थ्यो ?
त्यो त कहिल्यै सोच्न भ्याइनँ । अंकलले पनौतीको गाडी लिएपछि ड्राइभर बन्छु भन्ने सोच थियो । कक्षा नौमा स्कुल छोडेँ, ड्राइभर  भएँ । रहर पूरा भयो तर अहिले पढाइ छोडेकोमा पछुतो लाग्छ । अहिले विद्यार्थीहरू स्कुल पढ्न गएको देख्दा आफूलाई पनि फेरि स्कुल भर्ना गरौँ कि जस्तो लाग्छ ।

प्रस्तुतिः सृजना

 

Leave A Comment