शंकाले जलाउँछ घरबारको लंका

आइतबार, २४ पुष २०७३, ११ : १८ प्रवीण ढकाल , Kathmandu
शंकाले जलाउँछ घरबारको लंका

भनिन्छ– शंकाले लंका जलाउँछ । शंका मूलतः नकारात्मक सोच हो । यसकै कारण कसैको प्रेम टुट्छ, कसैको घरबार । अझ शंकाको तह बढ्दै गएर हत्या र आत्महत्याजस्ता भयानक परिणामसम्म पुगेको उदाहरण पनि पाइन्छन् । ‘मेरी श्रीमती अर्कैसँग सल्केकी छे वा मेरो श्रीमान् अर्कैसँग सल्केको छ’– यति शंकाको भरमा हुँदाखाँदाको सुन्दर जिन्दगीलाई भताभुंग बनाउनेहरू थुप्रै छन् । प्रवीण ढकालले हाम्रो शंकालु समाजभित्र पसेर तयार पारेको सामग्री ।
भनिन्छ– शंकाले लंका जलाउँछ ।
शंकाकै कारण कैयौँका सम्बन्ध टुटेका छन्, घरबार भताभुंग भएका छन् ।
यसले योसँग यसो ग¥यो होला ! उसले ऊसँग उसो ग¥यो होला ! कसले कोसँग कसो गरेको हो थाहा नपाउँदै शंकैशंकामा जोडीहरूबीच खटपटको मुस्लो दन्किन्छ । प्रेमी, प्रेमिका मात्र होइनन्, जन्मजन्म साथै रहने कसम खाएर बन्धनमा बाँधिएकाहरू पनि सुन्दर वैवाहिक सम्बन्धलाई शंकाकै भरमा टुंग्याइदिने निर्णयमा पुग्ने गरेका छन् ।
शारीरिक, मानसिक सबै तवरबाट नजिक रहन नसक्ने, परस्पर सञ्चारको वातावरण नहुनेजस्ता समस्याले परिवार भाँडिएका छन् । शंकाले भौगोलिक रूपमा टाढा भएका जोडीमा मात्र नभएर दिनरात सँगै र साथै हुनेहरूमा पनि कब्जा जमाउने घटनाहरू सार्वजनिक हुन थालेका छन् ।

केस नं. १
इजरायलमा दुई वर्ष रोजगारी गरेर फर्किएकी ३० वर्षीया सुनिता शर्मा श्रीमान् रमेशलाई लिएर मनोचिकित्सक डा. रवि शाक्यकोमा पुगेकी थिइन् । आफू स्वदेश फर्केको छ महिनासम्म पनि श्रीमान्ले शारीरिक सम्पर्क नराखेपछि उनीहरू बीच धेरै पटक झगडा भइसकेको थियो ।
सुनिताको मनमा शंकाको बादल मडारिँदै थियो– ‘म विदेशमा हुँदा उसले अर्कै केटीसँग ‘अफेयर’ चलाएर मलाई बेवास्ता गर्दैछ ।’
श्रीमान्सँग यही निहुँमा उनी दिनहुँ झगडा गर्थिन् । श्रीमान्ले ‘आफू गलत नभएको’ भन्दै जति पटक प्रष्टीकरण दिए पनि सुनिता पत्याउन तयार थिइनन् । सुनिता र रमेशबीचको मनमुटाव यसरी बढ्दै गयो कि उनीहरू सम्बन्ध विच्छेदको निर्णय गर्ने अवस्थामा पुगेका थिए । रमेश व्यवसायी थिए । उनीहरूका १० र आठ वर्षका बच्चा पनि थिए ।
डा. शाक्यका अनुसार रमेशको मनोवैज्ञानिक जाँच गर्दा उनमा खासै समस्या देखिएन । पहिलो दिन सामान्य सोधपुछ गरेर फर्काएका यो दम्पतीलाई डा. शाक्यले भोलिपल्ट ‘फलोअप’का लागि बोलाएका थिए ।
श्रीमान्लाई एक्लै राखेर सोध्दा थाहा लाग्यो– हुर्किएका बच्चा र आफूहरू एउटै कोठामा सुत्नुपर्ने भएकाले उनलाई श्रीमतीसँग सहवास गर्न अप्ठेरो भएको रहेछ । डा. शाक्यले श्रीमती सुनितालाई छुट्टै बोलाएर ‘बच्चाहरूलाई छुट्टै कोठा व्यवस्था गरे समस्या समाधान हुन्छ’ भन्दा उनले सुरुमा पत्याइनन् । तर, डा. शाक्यले उनलाई दुई वटा कोठाको व्यवस्था गर्न सहमत गराएर अस्पतालबाट पठाए । जब बच्चाहरू छुट्टै कोठामा सुत्न थाले, सुनिता र रमेशको जिन्दगीले नियमित रफ्तार समात्यो । ‘डिभोर्स’ गर्ने निर्णयमा पुगेकी सुनिता दुई पटक मनोचिकित्सकसँग परामर्श गर्दा आफ्नो समस्या चट भएको खुशीमा डा. शाक्यलाई फूलको गुच्छा लिएर भेट्न पुगेकी थिइन् । ‘मैले श्रीमान्माथि गरेको शंकाले झण्डै मेरो परिवार भताभुंग भएको थियो’ भन्दै उनले डा. शाक्यलाई आफ्नो परिवार भत्किनबाट जोगाएकोमा धन्यवाद दिएर फर्किन् ।  

केस नं.२
तीन वर्ष साउदी अरेबियामा रोजगारी गरेर फर्केका ४० वर्षीय विकास र श्रीमती रीमाको रडाको उनी घर आइपुगेको दिनबाटै सुरु भयो । उनीहरू बीचको झगडाको पहिलो कारण थियो– गहना ।
घरमा गहना असुरक्षित हुने ठानेर विकासकी श्रीमतीले आफ्नी दिदीकोमा गहना राख्न दिएकी थिइन् । गहना दिदीकोमा राख्न दिएको छु भन्ने श्रीमतीको भनाइलाई विकासले पत्याएनन् । हरेक महिना घरखर्चका लागि पर्याप्त पैसा पठाउँदा पनि श्रीमतीले गहना अर्कैलाई दिएर पैसा निकालेको, पैसा अरू केटाहरूलाई चलाउन दिएको जस्ता नानाभाँती शंका गरेर उनले श्रीमतीलाई मानसिक तथा शारीरिक पीडा दिन थाले । श्रीमतीको मोबाइलमा घण्टी बज्दा, छिमेकीसँग बोल्दा, हाँस्दा, बजार जान खोज्दा पनि शंका गर्न थालेपछि उनीहरूबीच दिन प्रतिदिन तनाव बढ्दै गयो ।
गुप्तांगमा भएको ‘इन्फेक्सन’का कारण रीमाले यौनरोग विशेषज्ञको सल्लाह बमोजिम यौनांग वरिपरिको रौँ खौरिएकी थिइन् । त्यसलाई पनि विकासले ठूलो ‘इस्यू’ बनाए । डा. शाक्यसँग उनले श्रीमतीको अर्को केटा भएको र उसको चाहनाअनुसार श्रीमतीले यौनांग वरिपरिको रौँ खौरिएको दाबी गरेका थिए ।
विकासलाई श्रीमतीले उपचारका लागि अस्पताल ल्याएकी थिइन् । विकासको मनोवैज्ञानिक जाँचपछि उनलाई डिलुजन डिसअर्डर (अस्वाभाविक भ्रम हुने) रोग लागेको पत्ता लाग्यो ।

केस नं. ३
बुटवलकी रमिता निकै सुन्दर छिन् । टाठी खालकी रमिताको स्थानीय विवेकसँग मागी विवाह भयो । विवाह भएको १५ दिनमै विवेक विदेश गए । यसैबीच रमिता गर्भवती भइन् । तर, विवेकले आफू विदेश गएपछि श्रीमती गर्भवती भएको भन्दै बच्चा स्वीकार गर्न इन्कार गरिरहेका छन् । श्रीमती राम्री भएकै कारण उनलाई आफ्नी श्रीमती ‘अर्कैसँग सल्केकी छे’ भन्ने लागिरहेको छ । जतिसुकै परामर्श गर्दा पनि उनी बच्चा आफ्नो मान्न तयार छैनन् । श्रीमतीको अरूसँगै लसपस छ भन्ने शंकाले उनको मनमा यसरी डेरा जमाएर बसेको छ कि उनी कुनै पनि हालतमा बच्चा आफ्नो मान्न तयार छैनन् । रमिताले अहिले श्रीमान् तथा परिवारका अन्य सदस्यबाट मानसिक तथा शारीरिक हिंसा भोगिरहेकी छिन् । अहिले विवेकलाई मनौवैज्ञानिक उपचारका लागि अस्पताल पु¥याइएको छ ।
०००
श्रीमान्–श्रीमतीले एकआपसमा अनावश्यक शंका गर्दा कस्ता खालका समस्या आइलाग्न सक्छन् भन्ने उदाहरण हुन्, यी केसहरू । मनोचिकित्सक तथा मनोपरामर्शदाताकहाँ हिजोआज चाहिनेभन्दा बढी शंका गरेकै कारण परिवार विखण्डन हुने अवस्थामा पुगेका जोडीहरू उपचारका लागि पुग्ने गरेका छन् । एक आपसमा ‘कम्युनिकेसन ग्याप’ हुने र कतिपय अवस्थामा गफगाफ नै नहुने गरेका कारण शंकाकै कारण परिवारको लंका जलिरहेका छन् ।
मनोचिकित्सक डा. कपिलदेव उपाध्याय शंका गर्नु मानिसको स्वभाव भए पनि शंका कुन चरणको र कस्तो प्रकृतिको हो ? त्यो निक्र्याेल गरेपछि रोग हो वा होइन भनेर छुट्याउनुपर्ने बताउँछन् । ‘शंका भन्ने कुरा यो उमेरमा बढी र त्यो उमेरमा कम भन्ने पनि होइन,’ डा. उपाध्यायले भने । ६० वर्ष उमेर काटिसकेकाहरूले पनि एकआपसमा शंका गर्ने गरेको उनले बताए । ‘मकहाँ उपचारका लागि आएका एक जोडी ६० वर्ष उमेर पार गरिसकेका थिए । तर, श्रीमती कतै बाहिर निस्कँदा श्रीमान्लाई कोठाभित्र थुनेर जाने गर्थिन् । यसो गर्नुको कारण सोध्दा उनको जवाफ थियो– ‘म नभएका बेला बूढा अर्कै महिलासँग सल्किन्छन्’’ डा. उपाध्यायले भने, ‘यस्तो खालको शंका स्वाभाविक शंकाभित्र पर्दैन । यो मानसिक स्वास्थ्यसँग जोडिएको विषय हो । यसको उपचार गरेर यस्तो शंका गर्ने बानीलाई कम गर्न सकिन्छ ।’
एउटै बेडमा सँगै सुतिरहेकी श्रीमती उठेर बाथरुम गएर आउँदा पनि श्रीमती अर्कैसँग यौन सम्पर्क गरेर आएको भन्दै शंका गर्ने श्रीमान्हरू पनि छन् । ‘स्वस्थ मानिसले यस्तो शंका निश्चित रूपमा गर्दैन नै । तर, मानसिक समस्या भएकाहरू भने यस्ता समस्याका कारण बर्बाद हुने गरेका छन्,’ डा. उपाध्यायले भने, ‘शंकाकै कारण हत्या र आत्महत्यासम्म हुने गरेका छन् । अर्कैसँग सल्केको भनेर हत्या जस्तो जघन्य अपराध गर्न पछि पर्दैनन् जोडीहरू ।’
शंका कुन स्तरको हो भन्ने पत्ता लगाएर मनोपरामर्श तथा औषधि सेवन गरेर उपचार गराउने हो भने भत्किन लागेका धेरै परिवार जोगाउन सकिने डा. उपाध्यायको बुझाइ छ ।
०००
वैदेशिक रोजगारीमा गएका श्रीमान् वा श्रीमतीबीच दुई वटा कुरामा बढी शंका उब्जिने गरेको बताउँछन्, डा. उपाध्याय । पहिलो विदेशबाट पठाएको पैसा कसरी र कुन ठाउँमा खर्च भयो र अर्को चाहिँ कोहीसँग चक्कर चलेको छ कि भन्ने खालको शंका ।
उपचारका लागि आएका श्रीमान् विदेशबाट पठाएको पैसा श्रीमतीले दुरुपयोग गरिदिएको गुनासो गर्छन् भने श्रीमती चाहिँ अनावश्यक शंका गरेर विभिन्न लाञ्छना लगाएपछि श्रीमान्सँग सँगै बस्न नसक्ने अवस्थामा पुगेको गुनासो गर्नेहरू बढी हुने गरेको मनोचिकित्सक डा. रवि शाक्य बताउँछन् ।  
श्रीमतीको निगरानी गर्न गोप्य क्यामरा
घरमा एक्लै हुँदा श्रीमतीका गतिविधि निगरानी गर्न ‘हिडेन क्यामरा’ जडान गर्ने, अडियो रेकर्ड गर्नेसम्मका श्रीमान् हुने गरेका नर्भिक अस्पतालकी मनोपरामर्शदाता स्नेहा अग्रवाल चौधरी बताउँछिन् । परामर्शका लागि आएका एक पुरुषले चौधरीलाई घरभित्रको फुटेज र श्रीमतीले कुराकानी गरेको अडियोसमेत सुनाएका थिए । ‘तर, भिडियो फुटेज र अडियोमा नराम्रो केही थिएन । तर, उनी एकोहोरो श्रीमतीलाई शंकामात्रै गरिरहेका थिए । उपचारका क्रममा उनलाई मनोवैज्ञानिक समस्या रहेको पत्ता लागेको थियो,’ मनोपरामर्शदाता चौधरीले भनिन् ।
रूप नै शंकाको कारण
पाँच वर्ष लामो प्रेम सम्बन्धपछि वैवाहिक जीवनमा बाँधिएकी सविना निकै राम्री छिन् । उनको सुन्दरतामा भुतुक्कै थिए सरोज पनि । तर, राम्री श्रीमतीलाई सबैले आँखा लगाउँछन् भन्ने शंकाकै कारण उब्जिएको घर झगडाले यो जोडी अहिले टुटिसकेको छ । अधिवक्ता सरस्वती श्रेष्ठको ल फर्ममा भेटिएकी सविना आफूहरू छुट्टिनुको कारण श्रीमान्ले अनावश्यक शंका गर्नु नै रहेको बताउँछिन् ।
श्रीमान्सँग सरसल्लाह गरेर वैदेशिक रोजगारीमा गएर आएकी सविना आफ्नै खुट्टामा उभिन सक्ने स्वावलम्बी महिला हुन् । नेपाल फर्किएपछि उनले एक निजी कम्पनीमा काम गरिन् र नौ वर्षको छोरालाई पालनपोषण गरिरहेकी थिइन् । तर, श्रीमानले ‘विदेशमा हुँदा केके गरिस् ? काम गर्ने अफिसमा कोकोसँग सल्केकी छेस् ?’ जस्ता शंका गर्न र मानसिक एवं शारीरिक यातना दिन थालेपछि उनी डिभोर्स गर्ने निर्णयमा पुगेकी थिइन् । विदेशमा हुँदा सविनालाई उनका श्रीमान्ले जहिले पनि गालीगलौज गरिरहन्थे ।
स–साना कुरामा श्रीमान् र श्रीमतीबीच उत्पन्न हुने शंकाले डिभोर्स जस्तो गम्भीर निर्णयसम्म पु¥याउनु दुःखद पक्ष भएको बताउँछिन्, अधिवक्ता श्रेष्ठ । डिभोर्सका लागि आउने कतिपय केसलाई मेलमिलाप गराउन कोसिस गर्ने गरेको उनले बताइन् । ‘कतिपय दम्पती सामान्य इस्यूलाई पनि सल्टाउन नसकेर सुन्दर वैवाहिक जीवन भत्काउन तम्सिने गर्छन्,’ उनले भनिन्, ‘उनीहरूलाई सम्झाइबुझाइ गर्ने गर्दा मिलेर जाने पनि हुन्छन् ।’
श्रीमान् ह्यान्डसम भएकै कारण केटीहरू घुमाउँछ भनेर शंका गर्दागर्दै डिभोर्स हुने अवस्थाको मुद्दाको अनुभव सुनाउँदै अधिवक्ता श्रेष्ठले भनिन्, ‘कसैलाई राम्री श्रीमतीमाथि अरूले आँखा लगाएको चिन्ता छ भने कसैलाई ह्यान्डसम श्रीमान्ले केटी घुमायो भन्ने पिरलो छ ।’ सामान्य अवस्थामा पनि एकआपसमा बढी नै चियोचर्चा गर्दा सम्बन्ध जटिल बनेका थुप्रै केस आफूसम्म आइपुगेको सरस्वती बताउँछिन् ।
शंका उब्जाउने सामाजिक सञ्जाल
सम्बन्ध विच्छेदसम्बन्धी थुप्रै मुद्दा हेरिरहेका अधिवक्ता राजेशकुमार बटाला श्रीमान्–श्रीमतीका बीचमा शंका उब्जाउने विभिन्न माध्यममध्ये सामाजिक सञ्जाल पहिलो नम्बर रहेको बताउँछन् । ‘मैले अहिले हेरिरहेका सम्बन्ध विच्छेदका केसहरूमा सामाजिक सञ्जालबाट शंका सुरु भएका केस धेरै छन्,’ उनले भने, ‘सामाजिक सञ्जालमा भएका गतिविधिले उब्जाएको शंकाले घरबार नै भाँडिने गरेका छन् । यही सञ्जालकै कारण धेरैका सम्बन्ध तहसनहस भएका छन् ।’
०००
शंकाको तह बढ्दै गएर सम्बन्ध विच्छेदसम्म पुगेका घटना थुप्रै छन् । काठमाडौँ जिल्ला अदालतमा आर्थिक वर्ष २०७१÷७२ मा सम्बन्ध विच्छेदका २ हजार २ सय ५६ मुद्दा दर्ता भएका थिए । अधिवक्ता राजेशकुमार बटालाका अनुसार सम्बन्ध विच्छेदका लागि यसरी थुप्रै दम्पतीलाई अदालत पु¥याउने एउटै कारक तŒव थियो– शंका ।
डा. कपिलदेव उपाध्याय
वरिष्ठ मानसिक रोग विशेषज्ञ
सामान्यतया मानिसमा शंका गर्ने बानी हुन्छ । श्रीमान्ले श्रीमतीलाई अनि श्रीमतीले श्रीमान्लाई तथा प्रेमीले प्रेमिका र प्रेमिकाले प्रेमीलाई  केही न केही शंका गरेकै हुन्छन् । शंका गर्नु मानवीय स्वभावभित्र पर्ने कुरा हो । श्रीमान् अफिसमा गएको बेलामा अफिसमा फोन गरेर चियोचर्चो गर्ने र थोरै ढिला गरेर घर पुग्दा अरू केटीलाई भेट्न पो गए कि भनेर शंका गर्ने श्रीमती पनि छन् । यसै गरी, श्रीमान्ले पनि आफू कामका लागि घरबाहिर भएका बेलामा श्रीमती अन्त कतै अरू केटासँग घुम्न जान्छे कि, घरमा कसैलाई बोलाउँछे कि, आफूलाई कुनै कुरामा ढाँटिरहेकी छे कि ? भनेर शंका गरिरहेका हुन्छन् ।
शंकाको तीन वटा चरण हुन्छन् । सुरुवातमा सामान्य खालको शंका हुन्छ । त्यसले दुई जनामा छिटफुट झगडा गराउन सक्छ । यस्ता झगडा सजिलै साम्य हुन सक्छन् । जब शंकाको तह बढ्दै जान्छ, त्यसले समस्या पनि थप्दै जान्छ । पहिलो चरणको शंकालाई समस्याको रूपमा लिइँदैन ।
दोस्रो तहको शंकाले सम्बन्धमा खटपट ल्याउने काम गर्छ । यसमा श्रीमान् वा श्रीमतीले मलाई त्यति समय दिँदैन, राम्रोसँग बोल्दैन, माया गर्दैन, केयर गर्दैन कतै न कतै ऊ अरूसँग लागेको छ भन्ने शंका धेरै गर्छन् । यस्तो अवस्थामा मनोपरामर्श गर्दा उनीहरू पुरानै अवस्था अर्थात् एकआपसमा विश्वास गर्ने अवस्थामा फर्किन सक्छन् । परामर्शपछि समस्या समाधान हुन सक्छ । यस्तो खालको शंकालाई मेडिकल भाषामा ‘प्यारानोइड आइडियाज’ भनिन्छ ।
तेस्रो तहको शंका भनेको मानसिक रोगसँग सम्बन्धित हुन्छ । यसमा श्रीमान् वा श्रीमतीलाई आफ्नो श्रीमती वा श्रीमान् अरूसँग सल्केको शंका अत्यधिक लाग्ने हुन्छ । एउटासँग मात्र होइन, धेरैसँग लागेको हुनसक्छ भन्ने शंका मात्र गर्ने हुन्छन् । वास्तविक रूपमा श्रीमान् वा श्रीमती अरू कसैसँग नसल्के पनि शंका गर्नेलाई भने अन्तै लागेको छ भन्ने शंका मनमा गढेर बसेको हुन्छ । यो समस्या श्रीमान् वा श्रीमती दुवैलाई हुन सक्छ । अत्यधिक शंका गर्नु र जति सम्झाए पनि नबुझ्नु भनेको मानसिक समस्या नै हो । यो तहको शंका हुनेहरूको परिवारमा विविध खालका समस्या खडा भइरहेका हुन्छन् ।
अत्यधिक शंका गर्ने मानसिक समस्या भएका पुरुषबाट महिलाहरू नै बढी पीडित हुने गरेको पाइन्छ । पुरुषप्रधान समाज भएकाले हामीकहाँ कुनै श्रीमान्लाई आफ्नी श्रीमतीप्रति कुनै शंका लाग्यो भने उसले श्रीमतीमाथि गर्ने अत्याचार निकै डरलाग्दो हुने गरेको छ । शंकालु श्रीमतीका कारण पुरुषहरू पनि पीडित हुने गरेका छन् । तर, पुरुषको तुलनामा महिला नै बढी पीडित हुने गरेको तथ्य छन् । एकआपसमा बढी शंका गर्ने दम्पतीको वैवाहिक जीवन तहसनहस हुन्छ । घरमा कलह, कुटपिट हुँदै मर्ने र मार्नेसम्मका घटनाको कारक तŒव पनि शंका हुने गरेको पाइन्छ । यसै गरी,  महिलाहरूले पनि शंकाकै भरमा श्रीमान्लाई धम्क्याउने, गाली गर्ने गर्छन् । उनीहरूले श्रीमान् कार्यालयबाट आएपछि कपडामा कतै केटीको कपाल छ कि ? भनेर हेर्ने, लिपस्टिकको दाग कतै लागेको छ कि भनेर नियाल्ने, परफ्युमको बास्ना सुँघ्ने, सुटुक्क मोबाइल चेक गर्ने, दिनभर कता गएको, कोको सँग भेटेको, कसकसलाई फोन गरेको जस्ता प्रश्न सोधेर श्रीमान्प्रति अत्यधिक शंका व्यक्त गर्ने गर्छन् ।
यो तहको अत्यधिक शंका गर्ने महिला वा पुरुषलाई जतिसुकै ‘काउन्सिलिङ’ गरे पनि उनीहरू आफ्नो ढिपी नछोड्ने खालका हुन्छन् । यो समस्यालाई ‘डिल्युजन’ भनिन्छ । यो खतरनाक मानसिक समस्या हो । कोही कतै नलागेको अवस्थामा पनि शंका गरेकै कारण ठूला समस्या निम्तिरहेका छन् । शंकाले लंका जलाउँछ भनेझैँ घर तथा दाम्पत्य जीवन जलिरहेका छन् ।  यहाँसम्म कि श्रीमान्ले श्रीमतीको वा श्रीमतीले श्रीमान्को हत्यासम्म गर्ने घटना भएका छन् । कतिपयले शंकाको भरमा आत्महत्या पनि गरेका छन् ।
तेस्रो तहको शंकामा मनोपरामर्शले मात्र काम गर्दैन । यस्तो अवस्थामा औषधि सेवन गर्नुपर्ने हुन्छ । तर, मानसिक रोगको औषधि खाने भनेपछि मानिसहरू तर्किने गर्छन् । जसले गर्दा पनि मानसिक समस्या भएर शंका गर्नेहरूको उपचार हुन सक्दैन र समस्या झनै जटिल बन्दै जान्छ । यो तहको शंका गर्नेहरूले नियमित औषधि सेवन गरेको खण्डमा उसले गरिरहेको शंका होइन कि भन्ने चरणमा पु¥याउन सकिन्छ । मनोपरामर्शले केही मात्रामा काम गर्ने अवस्थामा ल्याउन सकिन्छ ।

स्नेहा अग्रवाल चौधरी
मनोपरामर्शदाता, नर्भिक इन्टरनेसनल अस्पताल
दाम्पत्य जीवन बिताइरहेका श्रीमान्–श्रीमती मात्र नभई भर्खरैका किशोरकिशोरीहरू पनि शंकाका भरमा सम्बन्धमा समस्या आएको भन्दै परामर्शका लागि आइरहेका हुन्छन् । उनीहरूको शंकाको लेभलअनुसार परामर्श गरिन्छ । प्रेमी–प्रेमिकाले पर्याप्त समय नदिएको, आफूलाई छोडेर अर्कैसँग अफेयर चलाएको शंका गरेर आफूलाई पीडा दिने जस्तो कि ब्लेडले नाडी काट्ने, आत्महत्याको प्रयास गर्ने जस्ता हर्कत गरेका किशोर–किशोरी पनि परामर्शका लागि आउने गरेका छन् ।  
शंका भनेको नकारात्मक सोच हो । त्यसलाई सकारात्मक सोचमा बदल्न मनोपरामर्श दिने गरिन्छ । परामर्शका लागि आएका व्यक्तिहरूको समस्याका आधारमा उपचार गर्नुपर्ने हुन्छ । एकाअर्काप्रति शंका भएर डिभोर्स गर्ने तहसम्म पुगेका जोडीहरू पनि परामर्शका लागि आउने गर्छन ।
समाजमा भएका एक वा दुई घटनालाई आधार बनाएर मेरो श्रीमान् वा श्रीमतीले पनि यस्तै गरेको होला भनेर अनावश्यक रूपमा तड्पिने र शंका गर्नेहरू परामर्शका लागि आउने गर्छन् ।
एकआपसमा कुनै विषयमा शंका उब्जियो भने बसेर कुराकानी गर्ने हो भने केही हदसम्म शंका निवारण हुन्छ । तर, मनमा शंका लिने र एकआपसमा ‘कम्युनिकेसन’ नगर्ने तथा ‘मिसकम्युनिकेसन’ हुने गरेका कारण शंकाले धेरैको परिवार विखण्डित हुने गरेको पाइन्छ । एकआपसमा कुराकानी नगरी भित्रभित्रै शंकाका भरमा नकारात्मक सोच मात्र बनाउँदा ठूलो समस्या आउने गरेको पाइन्छ ।
समस्या देखिएपछि कोही तुरुन्तै परामर्शका लागि आउँदैनन् । शंकाका भरमा भित्रभित्रै नकारात्मक सोच बढाइमात्र रहेका हुन्छन् । जब समस्या बल्झिन्छ, अनि मात्र परामर्शका लागि आउने गरेका हुन्छन् । त्यतिबेलासम्म दुवैमा निराशा निकै बढिसकेको भेटिन्छ । अनि, हामीले कुरा गर्दा दुवै राम्रा हुन्छन् तर शंकाका कारण आपसमा कुराकानी नहुँदा मात्र समस्या बढेको भेटिन्छ । त्यसकारण दुवैले आपसमा छलफल, कुराकानी गर्दा धेरै समस्या समाधान हुन्छन् ।

 

Leave A Comment

Astaberry.com
nagarik-ime

zenTravelsNagarikNews2015

ncell-april17