पृथ्वीनारायण शाहसम्बन्धी अशुद्धि

आइतबार, २४ पुष २०७३, १० : २८ प्रा. दिनेशराज पन्त , Kathmandu
पृथ्वीनारायण शाहसम्बन्धी अशुद्धि

पृथ्वीनारायण शाह वि.सं. १७७९ पौष २७ गते जन्मेका हुन् । पौष २७ गतेको वरिपरि पृथ्वीनारायण शाहको प्रशंसा र निन्दामा धेरै लेख लेखिन्छन् । तथ्य कुरामा खास ध्यान नदिई प्रशंसा वा निन्दामा बढी शक्ति खर्च गर्ने हुनाले यस्ता लेखमा केही अशुद्धि पनि भेटिन्छन् । यसपालि निस्केका केही लेखको चर्चा तल गरिन्छ ।
काठमाडौँबाट गोरखापत्र संस्थानद्वारा प्रकाशित वि.सं. २०७३ पौष १२ गतेको गोरखापत्र ११६ वर्ष २२९ अंकको ७ पृष्ठमा छापिएको हरि अधिकारीको राष्ट्रिय एकता दिवसको सन्दर्भ भन्ने लेखमा नुवाकोट क्षेत्रको रक्षाको लागि कान्तिपुरका राजा जयप्रकाश मल्लले खटाएका कमाण्डर परशुराम थापामगरलाई तेलकोटमा हराएर पक्रिएपछि जिउँदै छाला काढेर मारिएको जुन प्रसङ्ग छ भनी लेखिएको छ । पृथ्वीनारायण शाहले छाला काढेर मारेका जयन्त रानामगर हुन्, परशुराम थापामगर होइनन् । यो कुरा सबैलाई थाहै छ ।
काठमाडौँबाट नेपाल रिपब्लिक मिडियाद्वारा प्रकाशित वि.सं. २०७३ पौष १५ गतेको नागरिक ८ वर्ष २४१ अङ्कको ८ पृष्ठमा छापिएको सीके लालको समयको कठघरामा इतिहास भन्ने लेखमा सबभन्दा विवादित सम्झना भने गोर्खाली योद्धा पृथ्वीनारायणको छ, जो नेपाल उपत्यकाका मल्ल राजाहरूलाई पराजित तुल्याएर विस्तारित राज्यका बादशाह भएका थिए, त्यसपछि उनले आफ्नो राजधानी गोरखाको विकट थुम्कोबाट मल्ल राजाहरूबाट लुटिएको दरवारमा स्थानान्तरण गरे, त्यतिसम्म ठीकै हो, प्रायशः युद्ध विजेताहरूले हारेका जातिप्रजातीहरूसँग जेजस्तो व्यवहार गर्ने गर्छन्, त्यस्तै व्यवहार गोर्खाली राजाले काठमाडौँ खाडलका बासिन्दाहरूमाथि गरे, समस्या उनको सम्झनाको निरन्तर महिमामण्डनबाट सुरू हुन्छ, हरेक पुस २७ गते केही साम्प्रदायिक तान्त्रिकहरू राजा पृथ्वीको राजनीतिक अस्तु देखाएर हराइएका जाति एवं जनजातिलाई होच्याउने कर्मकाण्ड आयोजना गर्ने गर्छन्, जन्म र मृत्यु एकै दिन भएको भनिने पुस २७ गतेको आधिकारिकताका बारे प्रश्न उठाउन जरुरी छैन भनी लेखिएको छ । वि.सं. १७७९ पौष २७ गते जन्मिएका पृथ्वीनारायण शाहको मृत्यु वि.सं. १८३१ माघ १ गते भएको हो । यो कुरा सबैलाई थाहै छ । पृथ्वीनारायण शाहको निन्दा गर्दै नेपालको पुनरेकीकरणको महŒवलाई महŒवहीन तुल्याउन लागिपरेका सीके लालले पृथ्वीनारायणको जन्म र मृत्यु एकै दिन पौष २७ गते भएको हो भनी लेख्न पुग्नु उनको यही लेखमा र अरू लेखमा आएका मूर्खतापूर्ण कुराका एउटा उदाहरण मात्र हो ।
काठमाडौँबाट इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा प्रकाशित वि.सं. २०७३ पौष १५ गतेको हिमालय टाइम्स २२ वर्ष ६ अङ्कको ४ पृष्ठमा छापिएको केशवप्रसाद चौलागाईंको पृथ्वीनारायण, पुस २७ र नेपाली सेना भन्ने लेखमा उपत्यका विजय गर्नुभन्दा पहिले नै कप्तान किनलकको नेतृत्वमा काठमाडौंका राजा जयस्थिति मल्लको निमन्त्रणामा आएको ब्रिटिस फौजलाई सिन्धुलीगढीमा परास्त पारेको भनी लेखिएको छ । किनलकको नेतृत्वमा अङ्ग्रेजी सेना नेपालमा आउँदा काठमाडौँका राजा जयप्रकाश मल्ल थिए, जयस्थिति मल्ल होइनन्, जयस्थिति मल्ल त जयप्रकाश मल्लभन्दा झण्डै चार सय वर्षअघिका हुन् । यो कुरा पनि सबैलाई थाहै छ । जानी वा नजानी भएका यस्ता अशुद्धिबाट नयाँनयाँ अनुसन्धानको मार्गमा बढ्नुपर्ने जनशक्तिलाई अलमल्याउने काम भने अवश्यै भएको छ ।
 

Leave A Comment