‘जीवनमा आँटै ठूलो’

शनिबार, २३ पुष २०७३, ११ : ५३ अम्मर जिसी , Kathmandu
‘जीवनमा आँटै ठूलो’

हातले बुनिएका बाँसका स–साना डाला । बाँसबाटै बनेका मुरली र  बाँसुरी । छेउमा वजन तौलिने मेसिन । ह्विलचियरमा बसेर एकसुरे बाँसुरी बजाउँदै थिए, बालकृष्ण घिमिरे । डाक्टरहरूको घाँटीमा मात्र झुन्डिइरहेको देखिने स्टेथेस्कोप उनको घाँटीमा पनि झुन्डिरहेको थियो ।
ललितपुर, जावलाखेलस्थित सदर चिडियाघरको अगाडिपट्टि भेटिएका घिमिरेको व्यवसाय भने पनि हातमुख जोर्ने मेलो भने पनि सबथोक यही हो । ललितपुर, इकुडोल–९, पउनडाँडा घर भई हाल नख्खुमा बस्दै आएका उनले कुराकानीको सुरुवातमै आफूले पृष्ठभूमि बनाएर बसेको पछाडिको भित्तेलेखन पढ्न आग्रह गरे । जहाँ लेखिएको थियो– ‘छोरी भएर गर्भमा आउनु मेरो अपराध हो र ? मैले मेरो बाँच्न पाउने अधिकार खोज्ने कि नखोज्ने ? आमाको कोख मेरो सबैभन्दा सुरक्षित ठाउँ मेरै चिहान बन्छ भने म कोमाथि विश्वास गरूँ ?’
‘गर्भभित्रको आतंक’ शीर्षक दिएर सचित्र गरिएको भित्तेलेखनलाई उनले संकेत गर्नुको एउटै कारण रहेछ, ‘बाँच्न पाउने अधिकार ।’ कस्तो अधिकार ? ‘स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार,’ उनले भने, ‘यही हुलियामा यतैतिर घिसिपिटी गर्न थालेको वर्षाैं भइसक्यो । स्वतन्त्रता महसुस हुने भएर यतै रमाइरहेछु । मनले चाहेको काममा पसिना चुहाएर हाँसीखुशी बाँच्न पाइरहेको छु ।’  अपांगता भएका व्यक्तिले पनि सामान्य नागरिकसरह राजीखुशीले बाँच्न पाउनुपर्छ भन्ने संकेत हो, उनको । र, उनी त्यसरी नै खुशीसाथ बाँचिरहेका छन् ।
अपांगता भएका व्यक्तिको नाममा खुलेका कैयौँ संस्थामा आफू जीवनका केही वर्ष खर्चेको उनी बताउँछन् । ‘संस्थावालाहरूको चालामाला र मप्रतिको व्यवहार चित्त नबुझेर त्यतातिर बाँधिएर बस्न चाहिनँ । बरु, आफ्नै बलबुताले भ्याएसम्म दुईचार पैसा कमाएर बाँच्छु भनेर यता लागेको हुँ,’ उनले भने, ‘यो संसारमा मेरो पनि एक हिस्सा लाग्ने भएकाले मैले चाहे जसरी बाँच्न पाउनुपर्छ । कसैले रोकेर, छेकेर वा निर्देशित गरेर मान्छेहरू चल्ने जमाना होइन यो ।’
उनी मनमा लागेको कुरा मज्जैले व्यक्त गर्न सक्ने व्यक्ति हुन् । उनले उद्घोषकको तालिम लिएका छन् । कविता पनि लेख्छन् । आफ्नो कवितासंग्रह ‘भूकम्पीय कविता’ प्रकाशन गरेका छन् । चोयाबाट डोका, डाला, नाम्ला धेरैथोक बुन्न जानेका छन्, उनले । मैनबत्ती, चक, अगरबत्ती, गलैँचालगायत सामान पनि बनाउन जानेका छन् । गीत लेख्न र गाउन मन पराउँछन् । कैयौँ पटक रेडियो नेपालमा गएर लोकगीत गाइसकेको उनी सुनाउँछन् । ‘बाँसुरी त भन्नैपरेन । मादल र सारंगीमा पनि बजाउँछु,’ उनले भने, ‘बास्केटबल खेल्ने सोख छ । अपांगता भएकाको समूहमा रहेर नेसनल गेम पनि खेलिसकेको छु ।’   
स्टेथेस्कोप चाहिँ किन भिरेको ? ‘म एउटा अस्पतालमा काम गर्ने बेलादेखि सुगर, प्रेसर र ज्वरो नाप्न सिकेको हुँ,’ उनले भने, ‘यहाँ आउने धेरैलाई नापेर देखाइदिन्छु । नाप्ने सामानहरू सबै बोकेरै हिँड्ने गरेको छु । स्वास्थ्यकर्मी त होइन । तर, मान्छेहरूलाई स्वास्थ्यप्रति सचेत रहन आग्रह गर्छु ।’
उनको अपांगता जन्मजात हो । ‘आमाबुबाले म छ महिनाको हुँदाबाट थाहा पाएको भन्नुहुन्थ्यो,’ उनले भने, ‘दुइटा खुट्टा चल्दैनन् । अरू त सब ठीक छ । तर, आफूलाई कसैभन्दा कम ठान्दिनँ म ।’ उमेरले ५१ पुगिसकेका उनी ह्विलचियर चढ्न थालेको १८ वर्षजति भयो । ‘त्यसअघि हातमा चप्पल लगाएर जिन्दगी घिसारिरहेको थिएँ,’ घिमिरेले भने ।
३५ वर्ष उमेरमा उनले पवित्रा घिमिरेको साथ र प्रेम पाए । सहारा भेटेपछि उनको जीवनले नयाँ मोड लियो । दुई छोरा छन्, उनका । छोराहरूलाई ठूलो मान्छे भएको देख्न चाहन्छन्, उनी । ‘उनीहरूले चाहेको बाटोमा सफल देख्न चाहन्छु । आफूले गर्न नसकेका काम छोराले गरुन् भन्ने चाहन्छु । कान्छो सानै छ, ठूलो छोरो रेस्लर बन्छु भन्छ,’ उनले भने, ‘आँटे नहुने के छ र ? तँ आँट म पु¥याउँछु भन्छन् रे माथिबाट ।’ छोराहरू पढाउन नेपाल युथ एसोसिएसनको साथ पाएका छन्, उनले । उनको औपचारिक पढाइ त छैन । तर, उनी आफूले अंग्रेजीमा कुरा गर्न सक्ने र नेपाली खर्रर लेख्न सक्ने बताउँछन् ।
घिमिरेले जीवनमा धेरैथरी दुःख देखे, भोगे । तर, मनमा खट्किरहेका केही कुरा बिर्सनै नसक्ने उनी बताउँछन् । ‘२३ वर्षको हुँदा गाउँकी एक युवतीलाई प्रेम प्रस्ताव राखेँ । उनले प्याच्च ‘अपांगले पनि यस्तो आँट गर्ने ?’ भनिन् । उनका शब्द आज पनि मेरा काजमा गुञ्जिन्छन्,’ उनले भने, ‘हो, त्यही आँटले मैले ऊभन्दा राम्री मान्छेको माया र साथ जीवनभर पाइरहेछु । जीवनमा आँट नै ठूलो कुरा रहेछ ।’
सानोमा देउसीभैलो खेल्न नपाउँदा मन दुख्ने उनी बताउँछन् । उनले भने, ‘एक्लो मनलाई बुझाउन बाँसुरी बजाउँथेँ । आफ्नै दाइको बिहेमा जन्ती जान नपाएको कुरा पनि मनमा बिझेको छ । यो सब समाजले अपांगलाई हेर्ने दृष्टिकोणको प्रतिफल हो ।’ त्यसैले यस समाजका अगाडि केही गरेर देखाउनुपर्ने उनको धारणा छ । ‘यो समाजलाई चुनौती दिन जन्मेका मान्छे हौँ, हामी । आफूलाई कमजोर नठानौँ । संघर्षपूर्ण जिन्दगीको आफ्नै रङ हुँदो रहेछ । त्यही अनुभव गरिरहेछु,’ उनले भने ।

Leave A Comment