हजार मान्छे खोज्दै नवाज

शनिबार, २३ पुष २०७३, ११ : ४८ शुक्रवार , Kathmandu
हजार मान्छे खोज्दै नवाज

नवाजुद्दिन सिद्दिकी प्रतिभाशाली अभिनेता हुन् । उम्दा अभिनयबाट दर्शकको मन जित्न सफल छन् । अमिताभ बच्चन, सलमान खानपछि अब उनी शाहरुख खानसँग फिल्म ‘रइस’ मा देखिनेछन् । फिल्म ‘रमन राघव’ का लागि उनले एसियाको ओस्कर भनिने एसिया प्यासिफिक स्क्रिन अवाड्र्समा ‘स्पेसल मेन्सन’ अवार्ड हात पारेका छन् । नवाज आफ्ना भूमिकामा नयाँ–नयाँ प्रयोग गरिरहन्छन् । सकारात्मक, नकारात्मक, हास्यप्रधानलगायत हरेक किसिमका भूमिकामा उनी देखिने गरेका छन् । थरी–थरी भूमिका गरेर उनी फरक अभिनेताका रूपमा पर्दामा देखिन थालेका छन् । केही समयअघि रिलिज फिल्म ‘फ्रिकी अली’ मा उनी ‘सफ्ट रोमान्टिक’ भूमिकामा देखिए । आउने फिल्म ‘मुन्ना माइकल’ मा उनी अभिनेता टाइगर स्रोफसँग डान्स गर्दै देखिनेछन् । बलिउडमा टाइगरलाई  राम्रो डान्सर मानिन्छ । फिल्म ‘रइस’ मा नवाज पुलिस अफिसरका रूपमा देखिनेछन् । यसबाहेक उनी दुई गम्भीर भूमिकामा पनि देखिनेछन् । फिल्म ‘मन्टो’ मा उनी प्रसिद्ध पाकिस्तानी लेखक सआदत हसन मन्टोको भूमिका गर्नेछन् भने फिल्म ‘कन्फेसन अफ सुल्ताना डाकू’ मा उनी चर्चित डाँकु सुल्तानाको भूमिकामा देखिन्छन् ।
नवाजका अनुसार फिल्म ‘कन्फेसन अफ सुल्ताना डाकू’ उपन्यासमा आधारित फिल्म हो । ‘सानो छँदा हामी गाउँमा जाडोमा डाँकुका डरले सिरकभित्र लुकेर बस्थ्यौँ । त्यतिखेर मेरा बुबाले पनि सुल्तानाको कथा सुनाउनुहुन्थ्यो । सुल्तानाबारे धेरै भ्रम फैलिएका थिए । तीमध्ये कतिपय सत्य पनि थिए । सुल्ताना पहिलो डाँकु थियो, जो अंग्रेजीमा कुरा गथ्र्यो । ऊ अंग्रेजहरूको पालाको डाँकु थियो । सुल्ताना हिन्दी, अंग्रेजी र स्थानीय गरी तीन भाषा बोल्थ्यो । यो एकदमै रमाइलो क्यारेक्टर हो । अहिले यस प्रोजेक्टमा काम भइरहेको छ । पाँचछ महिनापछि सुटिङ सुरु हुनेछ,’ एक अन्तर्वार्तामा नवाजले भनेका छन् ।
इन्डस्ट्रीमा आफूलाई दमदार अभिनेताका रूपमा स्थापित गर्ने श्रेय नवाज निर्माता–निर्देशक अनुराग कश्यपलाई दिन्छन् । फिल्म ‘रमन राघव’ का लागि उनले एसिया प्यासिफिक स्क्रिन अवाड्र्समा ‘स्पेसल मेन्सन’ अवार्ड पाएका थिए । त्यो फिल्म अनुरागले नै बनाएका हुन् । ‘यो एउटा ठूलो अवार्ड हो । धेरै कम मानिसलाई यस अवार्डबारे थाहा छ । यो एसियाको ओस्कर हो । यसमा धेरै देशका फिल्म आउँछन् । संसारभरिका उत्कृष्ट र उम्दा कलाकारको नाम उत्कृष्ट अभिनेताको मनोनयनमा पर्छ । यो अवार्ड पाउनु मेरा लागि ठूलो कुरा हो,’ अन्तर्वार्तामा नवाजले भनेका छन् ।
फिल्म ‘रइस’ मा उनले शाहरुख खानसँग काम गर्ने अवसर पाएका छन् । शाहरुखसँगको काम गर्दाका अनुभवबारे बोल्दै उनले भनेका छन्, ‘शाहरुखसँग काम गर्ने इच्छा धेरैअघिदेखि थियो । अहिले पूरा भएको छ । उनीसँग काम गर्दाको अनुभव एकदमै राम्रो रह्यो । उनी सेटमा कहिल्यै पनि स्टारडम देखाउँदैनन् । सबैसँग मित्रवत् व्यवहार गर्छन् । उनीसँग काम गर्नुको मज्जै बेग्लै छ ।’
फिल्म ‘मुन्ना माइकल’ का लागि नवाज अहिले आफ्ना सहअभिनेता टाइगर स्रोफसँग डान्स सिकिरहेका छन् । टाइगरको प्रशंसा गर्दै उनले भनेका छन्, ‘टाइगर बेजोड डान्सर हुन् । डान्स त उनको रगतमा नै छ । उनका अगाडि डान्स गर्दा मेरो हालत खराब हुन्छ । यस फिल्ममा मेरो रमाइलो भूमिका छ । यस फिल्ममा दुइटा केटा छन् । एउटा डान्सर र अर्को डान्सस सिक्न चाहने । यी दुईको कथा नै फिल्म ‘मुन्ना माइकल’ मा देखाइनेछ ।’
फिल्म ‘मुगल–ए–आजम’ मा अभिनेता दिलिप कुमारले गरेको भूमिकालाई नवाज आफ्नो ड्रिम रोल बताउँछन् । ‘अवसर पाएँ भने फिल्म ‘मुगल–ए–आजम’ मा दिलिप कुमारले गरेको जस्तो दह्रो भूमिका गर्ने इच्छा छ । म आफ्ना भूमिकामा प्रयोग गरिरहन्छु । कलाकार भएकाले हरेक किसिमको भूमिका गर्न चाहन्छु । अहिले मैले जेजति र जस्ता भूमिका पाएको छु, त्यस्ता भूमिका कमै कलाकारले पाउने गर्छन् । हरेक मानिसभित्र एक हजार मानिस हुन्छन् । म आफूभित्र रहेका ती हजार मानिसलाई खोज्न चाहन्छु । म यस्ता भूमिका गर्न चाहन्छु, जसबारे सोच्दा पनि मलाई चुनौती महसुस होस्,’ उनले भनेका छन् ।

 

Leave A Comment