अनिद्राको ओखती

शनिबार, २३ पुष २०७३, ११ : ४५ शुक्रवार , Kathmandu
अनिद्राको ओखती

जेम्स ह्याम्ब्लिन

आवासीय चिकित्सक भएर काम गर्दाताका हामीले नसुतीकन ३६ घण्टासम्म लगातार काम गर्नुपथ्र्यो । बीच–बीचमा केही मिनेटको ब्रेक पाइन्थ्यो । नियमअनुसार हप्तामा ३० घण्टा काम गर्नुपरे पनि बिरामीको चापले गर्दा ड्युटीबाट उम्किन पाइँदैनथ्यो । फेरि डाक्टरले बिरामीको स्वास्थ्यभन्दा बढ्ता आफ्नो स्वास्थ्यको ख्याल राख्न कहाँ पाउँछ र ?
ड्युटी समयमा कामको चापाचाप हुने भएकाले समय गएको पत्तै  हुँदैन थियो । नयाँ बिरामीलाई इमर्जेन्सीमा भर्ना गर्ने, उपचारकै क्रममा मृत्यु हुनेहरूको नाममा ‘डेथ सर्टिफिकेट’को फारम भर्नेलगायत कामबाट फुर्सद मिल्दैनथ्यो ।
एक दिन एक जना गम्भीर अवस्थाका बिरामी आफन्तसँग कुराकानी गरिहेका थिए । उपचारकै क्रममा बिरामीको मुटु जुनसुकै बेला पनि बन्द हुने जोखिम थियो । यस्तोमा ‘कम्प्रेसन’, ‘इलेक्ट्रिक सक्स’ अथवा ‘ब्रिदिङ ट्युब’मध्ये के चलाउने भन्नेबारे बिरामीका आफन्तसँग कुराकानी भइरहेको थियो । कुरो असाध्यै गम्भीर प्रकृतिको थियो । तर, म मुसुमुसु हाँसिरहेको रहेछु । हाँस्नुपर्ने भौतिक कारण त्यहाँ थिएन । कारणबिना अनायासै त्यसरी हाँस्नुलाई चिकित्सा भाषामा ‘गिरास्टिक सिजर’ भनिन्छ । मलाई त्यही भएको थियो । र, त्यसको कारण अनिद्रा थियो ।
यस्तो अवस्थाबाट गुज्रिएका मानिसलाई मादक पदार्थ सेवन गरेर सवारी चलाइरहेका मानिससँग तुलना गर्ने गरिन्छ । मापसे गरेर सवारी चलाउनेलाई मेरो कारणले दुर्घटना भएर कसैको ज्यान जान सक्छ भन्ने हेक्का हुँदैन । अनिद्राबाट ग्रस्त मानिसमा पनि यस्तो किसिमको आत्मचेतनाको कमी हुन्छ ।

०००
निद्रामा पर्न गएको अवरोधलाई विभिन्न राष्ट्रमा स्वास्थ्य समस्याको मुख्य स्रोत मानिएको छ । पर्याप्त निदाइएन भने दीर्घकालीन र जटिल खालका स्वास्थ्य समस्याबाट व्यक्ति ग्रस्त हुन सक्छ । र, यसले व्यक्तिको जीवनको गुणस्तरदेखि उसको आर्थिक जीवनसम्मलाई असर गर्छ ।
मानिस किन निदाउँछ भन्ने कुराको जवाफ कसैसँग छैन । तर, पनि दिमाग हुने संसारभरिका जीव ननिदाईकन बाँच्न सक्दैनन् । डल्फिन अलिक फरक ढंगले निदाउँछ । एक पटकमा यसको दिमागको एकातिरको भागले मात्र झप्को लिने गर्छ । दिमागको अर्को भागले यसलाई अन्य जीवबाट सांघातिक हमला हुन नपाओस् भनेर चनाखो राख्ने गर्छ ।
०००
सन् २०१४ मा फिनल्यान्डका तीन हजारभन्दा बढी मानिसमाथि गरिएको एउटा अनुसन्धानले निद्राको मात्रा र बिरामी हुने दरमा सम्बन्ध रहेको पत्ता लगाएको थियो । प्रतिदिन करिब साढे सात घण्टा निदाउने मानिस कम बिरामी पर्ने गरेको पाइएको थियो । यद्यपि, यो निष्कर्षलाई विभिन्न विद्वान्ले आ–आफ्ना पारामा व्याख्या गरेका छन् ।
केही समयअघि अमेरिकन एकेडेमी अफ स्लिप मेडिसिनले संसारभरिका वैज्ञानिकलाई एकैठाउँमा भेला गराएर हृदयवाहिनीसम्बन्धी रोग, क्यान्सर, मोटोपन, स्मरणशक्तिमा आउने ह्रासलगायतसँग निद्राको कस्तो खालको सम्बन्ध छ भन्ने विषयमा बृहत् छलफल गराएको थियो । छलफलपछि निद्राबारे यस्तो निष्कर्ष निकालिएको थियो– ‘दिनहुँ सातदेखि नौ घण्टासम्म सुत्नु वयस्क मानिसका निम्ति लाभदायक हुन्छ । सात घण्टाभन्दा कम सुत्नु हुँदैन । दिनहुँ छ घण्टाभन्दा कम निदाइयो भने हामीलाई रोग लाग्ने जोखिम बढ्छ । र, सुत्ने र उठ्ने समय सधँै एउटै बनाउन सकियो भने उत्तम हुन्छ ।’
अमेरिकाको पेन्सिल्भानिया विश्वविद्यालयको स्लिम एन्ड क्रोनोबायोलोजी डिभिजनका प्राध्यामक डेभिड डिंगेस भन्छन्, ‘जब मानिस निद्राबाट वञ्चित हुन्छ, तब उसको शरीरमा गम्भीर प्रकृतिका जैविक परिवर्तन आउन थाल्छन् । यस्ता परिवर्तनमध्ये क्रमिक मृत्यु पनि एक हो ।’
कसैकसैलाई भने थोरै सुत्दा पनि पुुग्छ । यस्ता ‘सर्ट स्लिपर्स’ संसारको कुल जनसंख्याको करिब एक प्रतिशतजति होलान् । उनीहरूलाई प्रतिदिन चारदेखि पाँच घण्टाको निद्रा पनि पर्याप्त हुन्छ । यस्ता मानिसको निद्रा बीचमै बिथोलियो भने पनि खासै फरक पर्दैन ।
कम निदाएका मानिस झट्ट हेर्दा सामान्य र प्रफुल्ल देखिए पनि उनीहरू मानसिक रूपमा त्यति तन्दुरुस्त हुँदैनन् । उनीहरूमा आक्रामकता र क्रियाशीलताको मात्रा सामान्य मानिसमा भन्दा बढी हुन्छ ।
०००
निद्राबिना मानिसलाई क्रियाशील राख्न कत्तिको सम्भव छ भन्ने विषयमा अमेरिकी सेनाले अध्ययन गरेको छ । अपर्याप्त निद्राका बीच पनि कुनै सैनिकले जमेर युद्ध गर्न सक्छ कि सक्दैन भन्ने पत्ता लगाउन अमेरिकी सेनाले एउटा अनुसन्धान गरेको थियो । प्रारम्भिक अध्ययनले ‘सक्छ’ भन्ने आशयको निष्कर्ष निकाल्यो । तर, प्रयोगशालामा जाग्राम राखेर सैनिकहरूको क्षमता र प्रदर्शन मापन गर्दा यसमा ह्रास आएको पाइयो ।
प्रयोगशालामा जति दिन बित्दै गयो, त्यति नै सैनिकहरूले असहज महसुस गर्दै गए । अधययन गरिएका सैनिकहरू भन्नलाई ‘म ठीक छु’ भन्थे । तर, उनीहरूको कार्यक्षमतामा झन्–झन् ह्रास आउँदै गयो ।
पर्याप्त नसुतेकाले सन् २०१३ मा इन्डोनेसियाका एकजना २४ वर्षीया एड्भर्टाइजिङ कपिराइटर युवतीको मृत्यु भयो । अनिद्राले कोमामा पु¥याउनुभन्दा केही घण्टाअघि उनले ट्वीट गरेकी थिइन्, ‘३० घण्टादेखि म लगातार काम गरिरहेकी छु, तर अझै बलियो छु ।’ यस्तो लेखेको केही घण्टापछि उनी कोमामा गाइन् । त्यसको केही घण्टापछि उनको मृत्यु भयो ।  
०००
मुटुसम्बन्धी रोग र हृदयाघातको सीधा सम्बन्ध हुन्छ, अपर्याप्त निद्रासँग । त्यस्तै, भिटामिन सप्लिमेन्ट्री, क्याफिन, एमिनो एसिड, इनर्जी ड्रिंक्स आदिका कारण मुटुसम्बन्धी समस्याबाट ग्रस्त मानिसको संख्या निरन्तर बढिरहेको छ ।  
कफीलगायत पेय खाँदा योसँगै क्याफिन नामक तŒवको पनि खपत हुन्छ । क्याफिन बढी खपत गर्ने मानिसको संख्या दिनानुदिन बढिरहेको छ । जब मानिसले जोखिम महसुसु गर्छ, तब उसको पिट्युटरी ग्रन्थीले एडर्नल ग्रन्थीलाई सक्रिय गराउँछ र यसबाट एडर्नलाइन नामक हार्मोन उत्सर्जन भई रगतमा मिसिन पुग्छ । यस्तो हार्मोन रगतमा मिसिएपछि मानिसमा तनावको मात्रा कम हुन जान्छ र उसले तत्कालका लागि अतिरिक्त बल आर्जन गर्छ । क्याफिनले रगतमा एडर्नलाइनको मात्रा बढाइदिन्छ । त्यही भएर एथलिटहरू प्रतियोगितामा राम्रोसँग प्रस्तुत हुन सकून् भनेर कतैकतै खेलअघि उनीहरूलाई क्याफिन दिने चलन छ ।
क्याफिनले शरीरभित्र गएर अर्को काम पनि गर्छ– यसले एडिनोसिन नामक हार्मोनको उत्सर्जनलाई रोकिदिन्छ । यसले शरीरमा स्नायुसम्बन्धी गतिविधि शिथिल पार्ने, मानिसलाई आराम महसुस गराउने, निद्रा लगाउने आदि गर्छ । जब क्याफिनले यसलाई अवरुद्ध गरिदिन्छ, तब शरीरले रिल्याक्स्ड महसुस गर्न पाउँदैन । साथै, यसले निदाउने क्षमतालाई पनि कम गरिदिन्छ । बढी कफी पिउनेहरूको दिमाग र स्नायुले लामो समयसम्म आराम गर्न पाउँदैनन, जसले गर्दा त्यस्ता मानिस दीर्घकालमा चिन्ताग्रस्त मनोदशाको शिकार हुने जोखिम बढ्छ ।
०००
राति ओछ्यानमा मोबाइल चलाउनेहरूलाई पनि निदाउन गाह्रो पर्ने गरेको गुनासो सुन्ने गरिन्छ । ‘लाइट पोल्युसन’सम्बन्धी धारणाले यस्तो गुनासोलाई केही हदसम्म सही साबित गर्छ ।
खास गरी, राती मोबाइल हेर्दा यसबाट निस्कने प्रकाश हाम्रो आँखाभित्र छिरेर रेटिनामा ठोकिन्छ । रेटिनाले प्रकाशसम्बन्धी जानकारी हाम्रो दिमागको हाइपोथालामस भन्ने भागमा पठाइदिन्छ । हाइपोथालामसको सीधा सम्पर्क स्नायु प्रणालीमार्फत प्रवाह हुने ऊर्जा र इन्डोक्राइन प्रणालीमार्फत निसृत हुने हार्मोनसँग हुन्छ । तसर्थ, जब हामी रातमा ओछ्यानमा पल्टिएर मोबाइल चलाउन थाल्छौँ, त्यसबाट निस्किने प्रकाशले हाम्रो समग्र स्नायु प्रणाली र इन्डोक्राइन प्रणालीलाई सुचारु एवं तीव्र गराइदिन्छ । यसले गर्दा निदाउन लागेको मानिस पनि निदाउन सक्दैन ।
हाइपोथालामसले मानिसको निद्राचक्र, भोकप्यास, मुटुको धड्कन आदिलाई नियन्त्रित गर्ने गर्छ । सुत्न भनेर हामीले बत्ती निभाएपछि थोरै प्रकाश मात्र हाम्रो रेटिनामा ठोकिन्छ, जसले गर्दा हाइपोथालामसले ‘डिस्टब्र्ड’ महसुस गर्न पाउँदैन । त्यही भएर अनिद्राको समस्या भएकाहरूले ओछ्यानमा मोबाइल, ट्याब्लेट आदि लैजानु हुँदैन ।
०००
निद्रा नलाग्ने मानिसले औषधि पसलबाट मेलाटोनिन नामक औषधि किनेर खाने गर्छन् । अमेरिकामा आइड्रप अथवा इन्सुलिनजस्ता तत्काल आवश्यक पर्ने औषधि खरिद गर्न पनि डाक्टरको पे्रस्क्रिप्सन आवश्यक पर्छ । तर, दिमागको एउटा महŒवपूर्ण भागलार्ई असर गर्ने मेलाटोनिन ट्याब्लेट खरिद गर्न चाहिँ पे्रस्क्रिप्सन चाहिँदैन ।
निद्रा नलागेको महसुस हुनासाथ फार्मेसीमा गएर मेलाटोनिन खरिद गरी खानेको संख्या बढिरहेको छ । सन् २०१५ यता मेलाटोनिनयुक्त स्प्रे बजारमा आएको छ । अब निदाउन ट्याब्लेट खाइरहनु पर्दैन, छालामा स्पे्र गरे पुग्छ । यसरी गरिएको स्पे्र छालाबाट भित्र रक्तनलीसम्म पुग्छ र मान्छे भुसक्क निदाउँछ । यसो गर्दा छालामा कुनै प्रकारको एलर्जी पनि हुँदैन ।
मेलाटोलिन ट्याब्लेट अथवा स्पे्र प्रयोग गर्नेहरू चाँडै निदाउँछन् । तर, यसले पनि उनीहरूको निद्राको गुणस्तरलाई बढाउन सक्दैन । साथै, यसको निरन्तर प्रयोगले दीर्घकालमा कस्ता खालका स्वास्थ्य समस्या उत्पन्न होलान् भन्नेबारे यथेष्ट जानकारी पनि हासिल भएको छैन । यद्यपि, मेलाटोनिनको बढी प्रयोग खतरनाक हुन्छ भन्ने चाहिँ पुष्टि भइसकेको छ । त्यही भएर बालबालिकालाई डाक्टरको परामर्शबिना मेलाटोनिन अथवा क्याफिनयुक्त खाद्य अथवा पेय पदार्थ दिन संसारभरि सख्त मनाही गरिएको छ । जवान अथवा वयस्कहरूलाई भने यसका फाइदा–बेफाइदाबारे जानकारी गराएर मात्रै खान दिने गरिन्छ ।
०००
निद्रा पार्ने सबैभन्दा उत्तम उपाय भनेको बेलैदेखि यसप्रति अपनाउने सचेतना नै हो । सुत्ने र उठ्ने समय एउटै बनाउने बानी बसाउनसके धेरै फाइदा मिल्छ । यसरी बनाइएको समय–तालिकालाई छुट्टीको दिन पनि भंग गर्नु हुँदैन । अफिस अथवा कलेज जानु नपर्ने दिनमा पनि यथासमयमै उठ्ने गर्नुपर्छ । क्याफिनयुक्त खाना अथवा पेयको मात्रालाई बढ्न दिनु हुँदैन । कतिपयलाई राति कफी खाएपछि पनि राम्रोसँग निद्रा लाग्ने हुन्छ । तर, राति कफी खाने बानी बसाउनु हुँदैन । राति अबेरसम्म नसुत्ने बानी सुधार्नुपर्छ । साथीभाइसँग खानपिनका लागि जमघट गर्नुछ भने राति ८–९ बजेतिर नगरी ५–६ बजेतिरै गर्नुपर्छ । साइलेन्ट अथवा नाइट–मोडमा राखेको मोबाइल पनि सुत्दा छेउमा राख्नु हुँदैन । किनकि, यसबाट निस्कने प्रकाश हाम्रो शरीर र दिमागमा प्रवेश गरिरहेको हुन्छ । त्यही भएर मोबाइललाई अफ गरी अलिक परै राख्नुपर्छ ।
सुत्नुअघि सेक्सको मज्जा लिएको राम्रो हुन्छ । सेक्सपछि लाग्ने निद्राले कुनै प्रकारको हानि गर्दैन । एकल जीवन बिताइरहनुभएको छ भने मोबाइल, ट्याब्लेट आदि अफ गरेपछि पत्रिका अथवा किताब पढ्दै बिस्तारै निदाउने बानी बसाउनुपर्छ ।
(‘दी एटलान्टिक’बाट । ह्याम्ब्लिन स्वास्थ्य पत्रकार हुन् ।)

Leave A Comment