सन् २०१६ मा जो सर्वाधिक खोजिए

शुक्रबार, २२ पुष २०७३, ११ : २३ शुक्रवार , Kathmandu
सन् २०१६ मा जो सर्वाधिक खोजिए

विश्वकै सबैभन्दा ठूलो सर्च इन्जिन गुगलले वर्ष २०१६ मा सर्वाधिक खोजिएकाको लिस्ट सार्वजनिक गरेको छ । गुगलमा सबैभन्दा बढी खोजिएका दश विषयवस्तुः
१ पावरबल
पावर बल अमेरिकामा खेलाइने चिट्ठा हो । जुन त्यहाँको ४४ वटा राज्यमा सञ्चालन हुन्छ । यो चिट्ठा मल्टिस्टेट लोटरी एसोसियसनले संयोजन गर्छ । गत जनवरीमा यसले विश्वकै सबैभन्दा ठूलो राशिको चिट्ठा खोलेको थियो । १ अर्ब ५० करोडको उक्त चिट्ठा तीन जनालाई प्रदान गरिएको थियो । जुन क्यालोफोर्निया, फ्लोरिडा र टेनेस्सीका एक÷एक जनाले जितेका थिए । उक्त ज्याकपट जित्नका लागि चिट्ठाको छ वटै नम्बर मिल्नुपर्छ । सो चिट्ठा किन्न बिक्री केन्द्रहरू बाहिर अमेरिकाभरका हज्जारौँ मानिस लामबद्ध हुन्छन् । अमेरिकी सरकारले चिट्ठाबापत ३९.६ प्रतिशत कर प्राप्त गर्छ । यस्तै राज्यको कानुनअनुसार केही प्रतिशत कर विजेताले राज्य सरकारलाई समेत बुझाउनुपर्छ ।
२ प्रिन्स
विश्वप्रसिद्ध अमेरिकी गायक तथा संगीतकार प्रिन्सको गत वैशाखमा ५७ वर्षको उमेरमा निधन भयो । सन् ८० को दशकमा ‘१९९९’, ‘पर्पल रेन’, ‘साइन अफ द टाइम्स’ जस्ता एल्बमले उनलाई विश्वप्रसिद्ध गायकको रूपमा चिनायो । अहिलेसम्म उनका एक करोडभन्दा बढी गीत बिकिसकेका छन् । उनले ३० भन्दा बढी एल्बम निकाले । तीमध्ये ‘लेट्स गो क्रेजी’ र ‘ह्वेन डब्स क्राइ’ सबैभन्दा चर्चित गीत साबित भए ।
३ म्याथ्यु आँधी
गत असोजमा हाइटी र क्युबामा म्याथ्यु नामक भीषण आँधी आयो । त्यही आँधीले दक्षिणी अमेरिकाको केरिवियनमा पनि उधुम मचायो । उक्त आँधीका कारण तीन सयभन्दा बढीको ज्यान गयो । हाइटीको जेरेमी शहरका ८० प्रतिशत घरलाई उक्त आँधीले तहसनहस पारेको थियो । २ सय ५० किलोमिटर प्रतिघण्टाले चलेको आँधीले हाइटीको राष्ट्रपतीय चुनावलाई पनि प्रभावित बनाएको थियो ।
४ पोकेमन गो
पोकेमन गो चर्चित कार्टुन सेरिजमा आधारित खेल हो । द पोकेमन कम्पनीसँगको सहकार्यमा नियान्टिकले विकास गरेको यो खेल अमेरिकामा सार्वजनिक भएको छोटो समयमै सबैभन्दा बढी नाफा कमाउने गेम बन्यो । ‘पोकेमन गो’ मोबाइलमा जीपीएस लोकेसन र इन्टरनेट कनेक्सन गरेर खेलिन्छ । गेममा पोकेमन ट्रेनरहरूले पोकेमन पक्रने, खोज्ने र पोकेमनबीच ब्याटल गर्नसक्ने भएकाले खेल्दै हिँड्ने गरिन्छ । यो गेम एन्ड्रोइड किट्क्याटभन्दा माथिका अपरेटिङ सिस्टममा मात्र चल्छ । यो एउटा साधारण मोबाइल गेममात्र नभएर यसले प्रयोगकर्तालाई वास्तविक दुनियाँसँग जोड्ने भएकाले यसको लोकप्रियता बढेको हो ।
५ स्लिथरिओ
स्लिथरिओ पुरानो मोबाइलमा हुने सर्पको खेल हो । सजिलो तथा मनोरञ्जनका लागि बनाइएको यो मोबाइल गेम मन पराउनेको संख्या ह्वातै बढेको छ । जसले गर्दा साल २०१६ मा यस खेलले प्रशस्तै चर्चा बटुल्यो । यो खेल स्टिभ हाउसले विकास गरेको हो । सानो सर्पबाट सुरु हुने यो खेल त्यहाँभित्र विभिन्न चरण पार गरेसँगै ठूलो बन्दै जान्छ । यो खेल एन्ड्रोइड मोबाइलमा गत मार्च २७ मा पुनः सार्वजनिक गरिएको थियो ।
६ रियो ओलम्पिक
गत साउनमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा रियो ओलम्पिक आयोजना भएको थियो । दक्षिण अमेरिकी मुलुकले पहिलो पटक ओलम्पिकको आयोजना गरेको थियो । यो ओलम्पिकको ३१औँ संस्करण थियो । मराकाना रंगशालामा भएको उद्घाटन समारोह करिब तीन करोड मानिसले अवलोकन गरेको आयोजकको दाबी थियो । १६ दिन चलेको ओलम्पिकमा २ सय ६ राष्ट्र र केही शरणार्थी राष्ट्रका गरी १० हजार ५ सय खेलाडीले कुल २८ खेलमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा कोसोभो र दक्षिणी सुडानले डेभ्यु गरेका थिए । ओलम्पिकमा संयुक्त राज्य अमेरिकाको तर्फबाट सबैभन्दा धेरै ५ सय ५४ खेलाडीको सहभागिता थियो ।
७ डेभिड बोवी
चर्चित संगीतकार डेभिड बोवीको अघिल्लो वर्षको पुस महिनामा ६९ वर्षको उमेर निधन भयो । ब्रिटिस रकस्टारको रूपमा चिनिने डेभिडको अन्तिम एल्बम उनी बितेको केही दिनपछि मात्र रिलिज भयो ।
८ ट्रम्प
अमेरिकामा हालै सम्पन्न राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले प्रतिद्वन्द्वी हिलारी क्लिन्टनलाई पराजित गरेका थिए । विश्वले नसोचेको नतिजा निकालेपछि ट्रम्पको चर्चा चुलिएको थियो । त्यसो त चुनावी मैदानमै हुँदा पनि उनीबारे विभिन्न स्क्यान्डल सार्वजनिक हुने गरेका थिए । महिलालाई दुव्र्यवहार गर्नेदेखि विभिन्न महिलासँगको सेक्स स्क्यान्डलका कारण उनको चर्चा व्यापक बनेको थियो ।
९ इलेक्सन
यस वर्ष अमेरिकाको राष्ट्रपतीय चुनाव सम्पन्न भएको थियो । जसमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प डेमोक्रेटिक हिलारी क्लिन्टनलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित बनेका थिए । उक्त चुनाव यी दुई प्रतिद्वन्द्वीका कारण निकै चर्चामा रह्यो । ट्रम्पको अप्रत्याशित जीतले  विश्वलाई नै तरंगित पारेको थियो ।

१० हिलारी क्लिन्टन
यस वर्ष भएको अमेरिकी चुनावमा हिलारी क्लिन्टन अमेरिकाको प्रमुख राजनीतिक दल डेमोक्रेटिक पार्टीकी उम्मेदवार थिइन् । उनी रिपब्लिक पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसँग पराजित भएकी हुन् । अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी र ट्रम्पको कडा प्रतिस्पर्धा र दिनदिनैको स्क्यान्डलका कारण चर्चामा रहे ।
(एजेन्सीको सहयोगमा)

 

Leave A Comment