आन्तरिक पर्यटकको भरोसा

शुक्रबार, २२ पुष २०७३, ११ : ०४ शुक्रवार , Kathmandu
आन्तरिक पर्यटकको भरोसा

सन्तोष पोखरेल

पर्यटन व्यवसायी हरि भुजेलले लेकसाइडमा होटल रानीवन आर्केड बनाए । ६० कोठा क्षमताको रानीवन आर्केडका ४३ कोठा सञ्चालनमा आइसकेका छन् । अरू कोठा पनि सञ्चालन गर्ने तयारीमा सञ्चालक भुजेल जुटेका छन् ।
तीन महिनाअघि सञ्चालनमा आएको होटल रानीवन आर्केडका पाहुनामध्ये करिब ७० प्रतिशत आन्तरिक पर्यटक हुन् । तीन महिनाको सञ्चालन अनुभवमा आन्तरिक पर्यटकबाट राहत मिलेको भुलेज बताउँछन् । ‘भूकम्प आउँदा धमाधम होटल बनाउँदै थिए । होटल निर्माणको काम तीव्र रूपमा चलिरहँदा भूकम्प आयो । तर, निर्माण रोकिएन,’ उनले भने, ‘पर्यटन क्षेत्रमा आशावादी भएरै लगानी गरे । भूकम्पले तर्साएको पनि हो । तर, नडराई काम गरेको थिएँ, त्यसैको परिणामस्वरूप अहिले होटल सञ्चालनमा ल्याउन सकियो ।’
भूकम्पले असर पारे पनि लगानी नरोकिनुले पर्यटन क्षेत्रमा अझै पर्याप्त सम्भावना रहेको व्यवसायी बताउँछन् । ‘भूकम्पको असरबारे म पूरै जानकार थिएँ । तर, प्राकृतिक विपद्सँग डराएर नहुने भन्दै मैले होटल निर्माणलाई तीव्रता दिएँ । अब पूर्ण क्षमतामा सञ्चालनको तयारीमा जुटेको छु,’ भुजेलले भने, ‘भूकम्पसँग डराएर हच्चेको भए अहिले होटल सञ्चालनयोग्य बनाउन सकिँदैनथ्यो ।’
भूकम्पपछि पोखरामा पाहुना आगमन करिब शून्यमा झ¥यो । पाहुनाविहीन हुनुपर्दा व्यवसायी हतोत्साही बने । खर्च धान्न नसकेपछि केहीले कर्मचारी नै कटौती गरे । सबैजसो होटलले कर्मचारीलाई लामो बिदा दिए । यी सबै अप्ठ्याराबाट जानकार हुँदाहुँदै पनि पर्यटनमै आशावादी भएर लगानी गर्न पछाडि नहटेको भुजेलको भनाइ छ । ‘हाम्रो देशले द्वन्द्वकाल देख्यो । कतिखेर कताबाट गोली चल्छ भन्ने डर, त्रास हुँदा त पर्यटन क्षेत्र चल्यो,’ उनले भने, ‘भूकम्प त प्राकृतिक प्रकोप हो । एक पटक आयो, गयो । सधैँ डराएर भएन, त्यही भएर लगानी रोकिन । अब पर्यटक आउँछन् भन्ने संकेत देखिएको छ । त्यसमा आन्तरिक पर्यटकले साथ दिइरहेका छन् ।’
लेकसाइडमा भुजलेको लगानी एउटा उदाहरण मात्र हो । केही महिनायता करिब दुई दर्जन नयाँ होटल सञ्चालनमा आएका छन् । ती होटल सञ्चालनमा आउँदा करोडौँ लगानी होटलको पूर्वाधार निर्माणमा खर्च भएको छ । पर्यटन क्षेत्रमा आशावादी भएरै लगानी गर्न उत्साही बनेको व्यवसायीहरूको भनाइ छ । ‘भूकम्प आउँदाताका निकै त्रास थियो । भूकम्पको त्रासले निकै छोटो अवधिमा पर्यटन क्षेत्र सुनसान बन्यो, त्यसपछि नाकाबन्दी खेप्यौँ,’ पोखरा वाटिका होटलका सञ्चालक डिल्ली गौतमले भने, ‘तर, होटलमा लगानी गर्नबाट मनोबल गिरेन । उबेला डराएको भएँ अहिले होटल चलाउन योग्य बन्ने थिएन ।’
पर्यटन व्यवसायीहरूका अनुसार पोखरामा करिब चार सय होटलमा नौ हजार कोठा र २० हजार हाराहारीमा बेड रहेका छन् । अहिलेसम्म होटलमा मात्र करिब ८० अर्ब रुपैयाँ लगानी भएको पश्चिमाञ्चल होटल संघको अनुमान छ । संघका अध्यक्ष भरतराज पराजुली व्यवसायीहरूले पर्यटन क्षेत्रमा वर्षमा अर्बौं रुपैयाँ लगानी गर्दै आएको बताउँछन् । ‘१० करोड रुपैयाँदेखि ३०÷४० करोड रुपैयाँसम्म खर्चेर होटल बनाउने व्यवसायी छन्,’ उनले भने, ‘यही हिसाबले पनि वर्षमा अर्बांै रुपैयाँ लगानी थपिन्छ । होटलबाहेक ठूला लगानीका रेस्टुरेन्ट बनिरहेका छन् । रेस्टुरेन्टको लगानी पनि पर्यटनकै लागि हो ।’ लगानीमैत्री वातावरण बन्ने र पर्यटक आगमन बढाउने गरी सरकारले वातावरण बनाइदिने हो भने पोखराको पर्यटन क्षेत्रमा लगानीको खाँचो छैन । व्यवसायी अझै करोडौँ रुपैयाँ लगानी गर्न तयार छन् । तर, उनीहरूलाई लगानी सुरक्षित हुने निश्चिन्तता र पाहुना भिœयाउने वातारण बनाउनुपर्ने पराजुली बताउँछन् ।
पोखरा पर्यटन परिषद् (पीटीसी)का अध्यक्ष सोमबहादुर थापा पोखराको पर्यटन क्षेत्रको लगानी सुरक्षित गर्न आन्तरिक पर्यटकले निकै नै साथ दिएको बताउँछन् । पोखरालाई मात्र नभई देशलाई नै आन्तरिक पर्यटकको साथ मिलेको थापाको भनाइ छ । त्यसले गर्दा पर्यटन व्यवसाय जोगिएको र लगानी सुरक्षित हुँदै गएको उनको भनाइ छ ।
‘देशको आर्थिक गतिविधि उकास्नमा पर्यटनले साथ दिएको छ । यसलाई अझै बृहत् बनाउने बेला भएको छ,’ उनले भने, ‘राजनीतिक स्थिरता कायम राख्न सकेको खण्डमा नेपालमा पर्यटन क्षेत्रमा लगानी खाँचो छैन । त्यसमा आन्तरिक पर्यटकले पनि साथ दिन्छन् । भूकम्प र नाकबन्दीपछि खस्किएको पर्यटन क्षेत्र आन्तरिक पर्यटककै भरमा अहिलेसम्म थेग्न सकिएको हो ।’
आन्तरिक पर्यटकको भर
एक दशकअघिसम्म लेकसाइडका रेस्टुरेन्टमा खानपिनका लागि पुगेका स्वदेशी पाहुनाले खाना ‘अर्डर’ गरे भने केहीबेर कुर्नै पथ्र्याे । त्यो बेला व्यवसायीको जवाफ हुन्थ्यो, ‘एक छिन पर्खनुस्, पहिला ‘गेस्ट’ लाई खुवाउँछौँ ।’ उनीहरूको शब्दमा ‘गेस्ट’ भनेका त्यो बेला विदेशी पाहुना मात्र हुन्थे ।
तिनै व्यवसायी, जो हिजोसम्म स्वदेशीलाई ‘गेस्ट’ मान्न तयार थिएनन् र उतिसारो वास्ता गर्दैनथे, अहिले पोखरा घुम्न आउनु भन्दै स्वदेशीलाई बोलाउन थालेका छन् । स्वदेशी पाहुनाको महŒव व्यवसायीले बुझ्न थालेकैले होला, पछिल्लो समय ‘अफसिजन’मा पनि पोखरामा पाहुना अभाव हुन छाडेको छ । अफसिजनमा सुनसान हुने लेकसाइड बाह्रैमास चम्किन थालेको छ, त्यो पनि स्वदेशी पाहुनाले ।
त्यसको गतिलो उदाहरण हो– हालै सकिएको १८ औँ सडक महोत्सवमा आन्तरिक पाहुनाको भीड बढ्नु । आन्तरिक पर्यटकको भीड बढैकैले भूकम्प र नाकाबन्दीपछि पोखराका होटलले पहिलो पटक यही बेला शतप्रतिशत पाहुना राख्न पाए । झन्डै दुई वर्षपछि होटलमा खचाखच पाहुना पाउँदा लामो समयसम्म शतप्रतिशत पाहुना देख्न नपाएका व्यवसायी निकै हौसिए ।
‘भूकम्प र नाकाबन्दीपछि पहिलो पटक होटलले पूर्ण क्षमतामा पाहुना राख्न सकियो,’ होटल संघ अध्यक्ष पराजुलीले भने, ‘यसले व्यवसायीलाई आर्थिक रूपमा राहत त दिलायो नै आन्तरिक पर्यटकप्रति अझै निर्भरता थपेको छ ।’ पछिल्ला केही वर्षयता व्यवसायीले स्वदेशीलाई प्राथमिकता दिन थालेपछि पोखराले पाहुना अभाव झेल्नुपरेको छैन । व्यवसायीहरूको भनाइमा अहिले स्वदेशी पाहुनामा ‘घुम्ने कल्चर’ विकास भएको छ । युवापुस्तामा घुम्ने कल्चर झनै बढी भएको उनीहरू बताउँछन् ।
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल (रेबान) पोखराका पूर्वअध्यक्ष गोपीबहादुर भट्टराई स्वदेशी पाहुना फुर्सद मिल्नासाथ घुम्न थालेको बताउँछन् । पाहुना घुम्न थालेपछि पोखराको पर्यटन क्षेत्रले राहत महसुस गरेको उनको भनाइ छ । ‘कुनैबेला स्वदेशी पाहुनालाई नकारात्मक दृष्टि लगाउने व्यवसायीको शैली अहिले बदलिएको छ । यसको फाइदा व्यवसायीलाई नै भएको छ,’ उनले भने, ‘स्वदेशीलाई महŒव दिन थालेपछि पाहुनाको आगमन पनि बढ्न थाल्यो । पाहुना बढेपछि होटल र रेस्टुरेन्ट व्यवसाय पनि फस्टाएको छ । आन्तरिक पाहुना आउँदैनथे भने यो बेला पोखराका करिब ७० प्रतिशत होटल÷रेस्टुरेन्ट सुनसान हुन्थे होला ।’
भट्टराईका अनुसार स्वदेशी पाहुनामा ‘घुम्ने कल्चर’ विकास हुन थालेपछि पोखरामा अफसिजनमा पनि पाहुना अभाव हुन छाडेको छ । अफसिजनमा सुनसान र बन्द हुने कतिपय होटल र रेस्टुरेन्ट अहिले बाह्रैमास खुल्न थालेका छन् । ‘यो बेला पोखरामा निकै कम पाहुना हुन्थे । पाहुना नभएपछि कतिपय रेस्टुरेन्ट बन्द भइसक्थे । अस्थायी रूपमा बन्द हुने रेस्टुरेन्ट पाहुनाको आगमन बढेपछि खुल्न थाल्थे,’ उनले भने, ‘बन्द भएका रेस्टुरेन्टका भान्साका सामानमा खिया लाग्थे । अनि, फर्निचरमा ढुँसी लाग्थ्यो । तर, अहिले त्यो अवस्था छैन । पाहुना आएनन् भनेर चिन्ता गर्नुपर्ने अवस्था छैन ।’ आन्तरिकको आगमन बढ्दै जाँदा राहत हुन थालेपछि व्यवसायीहरूले स्वदेशी पाहुनालाई प्राथमिकता दिन थालेका छन् ।
पर्यटन बोर्ड पोखराका वरिष्ठ अधिकृत सूर्य थपलिया पनि आन्तरिक पर्यटकले पोखरालाई राहत मिलेको बताउँछन् । ‘आन्तरिक पर्यटकले पोखरालाई मात्र होइन । सौराहा, लुम्बिनीलगायत गन्तव्यलाई पनि राहत दिलाएको छ,’ उनले भने, ‘आन्तरिक पर्यटककै कारण भूकम्प र नाकाबन्दीपछि पनि व्यवसायीले राहतको सास फेर्न पाएका छन् । त्यसमा पर्यटन बोर्डले पनि सहकार्य गरिरहेको छ ।’
पर्यटक भिœयाउने गरी भएका विभिन्न प्रवद्र्धनात्मक गतिविधि, आन्तरिक पर्यटकलाई घुम्न उत्साही बनाउनकै लागि घोषणा गरिएको ‘घुमफिर वर्ष’ लगायतले पनि सकारात्मक प्रभाव पारेको उनको भनाइ छ । ‘पछिल्लो केही वर्षदेखि नेपाली नागरिकमा घुम्ने संस्कार विकास भएको छ । नेपालीको घुम्ने संस्कारलाई अझ फराकिलो बनाउनुपर्छ,’ उनले भने, ‘सरकारी तथा गैरसरकारी र निजी कार्यालयले कर्मचारीलाई वर्षको एक पटक अनिवार्य रूपमा घुम्न पठाउने हो भने पोखराको पर्यटन क्षेत्रले विदेशी पाहुनाको भर पर्नुपर्दैन ।’ पर्यटन क्षेत्रमा गरिएको ठूलो लगानी सुरक्षित गर्नका लागि पनि अबको समय आन्तरिक पर्यटक भिœयाउने गरी प्रवद्र्धन गर्नुपर्ने उनले बताए ।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष पराजुली आन्तरिक पर्यटकको आगमनले गर्दा थपिएका र पुराना सबै व्यवसायीलाई राहत मिलेको बताउँछन् । ‘आन्तरिक पर्यटकले गर्दा अहिले पर्यटन व्यवसायमा राहत मिलेको छ । लगानी बढ्दै जाँदा भूकम्पपछि व्यवसायी केही हतोत्साही बनेका थिए । तर, अहिले प्रतिफल आउन थालेको छ,’ उनले भने, ‘आगामी दिनमा पनि पाहुनाको आगमन बढाउन सक्ने हो भने त्यसले लगानी सुरक्षित हुने देखिन्छ । त्यसमा आन्तरिक पर्यटकलाई लक्षित गर्दै कार्यक्रम गर्न जरुरी छ ।’

तस्बिरः सन्तोष पोखरेल

 

Leave A Comment