मिठाईको लडाइँ

शुक्रबार, २२ पुष २०७३, १० : १४ ईश्वर दाहाल , Kathmandu
मिठाईको लडाइँ

मिठाई संसारमै प्रिय र स्वीकार्य छ । हरेक शुभ कार्यको ‘सेलब्रेसन’मा मिठाई जोडिएको हुन्छ । कतै लड्डुका रूपमा, कतै केक र कतै चकलेटका रूपमा । हिन्दूहरूको सनातनी परम्परामा गणेशको खास स्थान छ । कार्यलाई अपेक्षा अनुरूपको टुंगोसम्म पु¥याउन गणेश दृष्टि प¥यो भने सम्भव हुन्छ भन्ने विश्वास व्याप्त छ । उनलाई खुशी बनाउने सबैभन्दा ठूलो अस्त्र हो– लड्डु । जिसस क्राइस्टलाई सम्झँदै चकलेट र केक, तेत्तीसकोटी देउतालाई स्मरण गर्दै लड्डुजन्य परिकार र मोहमदलाई याद गर्दै खुर्मा वा मलिदा सदियौँदेखि चलेकै छ । अर्थात्, मिठाई जुनसुकै जीवन, सम्प्रदाय, समाज वा राष्ट्रमा अभिन्न छ । मिठाईले राजनीति, समाज विज्ञान, अर्थशास्त्रदेखि जुनसुकै तह र तप्कालाई छोएको छ । जो पनि आफ्नो भागमा मिठाई पार्न मरिहत्ते गरिरहेका हुन्छन् । किनकि, सबैलाई आफ्नो भागमा शुभैशुभ चाहिएको छ ।
हाम्रो राजनीति पनि मिठाई प्राप्त गर्ने लडाइँको कुरुक्षेत्रमा छ । तर, किस्तीभरि सजाइएका मिठाईमध्ये कुन चाहिँ मिठाई पहिले खाने भन्ने टुंगो नलाग्दा देश संकटतर्फ ओरालिँदैछ । मिठाई खान सबै तयार छन् । तर, सबैलाई आफूले चाहेको मिठाई पहिला खानु छ । कुन मिठाई पहिला खाने भन्ने चक्रव्यूह नै आजको संकट हो । किस्तीमा मगमगाइरहेका मिठाईका आ–आफ्नै गुण, स्वाद र सुवास छ । एउटा मिठाई एमालेलाई हजम छैन । उक्त मिठाई खाएपछि फुड प्वाइजन हुने त्रासले ऊ हैरान छ । मधेशी मोर्चा पनि आफ्नै चाहनाको मिठाई खानुपर्छ भन्नेमा अडिग छ । कांग्रेससँग सामान्यतः आफ्नै ब्रान्डको मिठाई छैन । तर, मिठाई खानेहरूबीच तानातान सिर्जना गराएर अरूको भागको मिठाई आफ्नै भागमा पार्ने दाउमा छ ऊ । केही साल अगाडिसम्म माओवादी मिठाईको मामिलामा हुनसम्म धनी थियो । तर, हिजोआज माओवादीको आफ्नै मिठाई छैन । अरूको मिठाई आफ्नो पनि हो भन्ने बाध्यतामा माओवादी छ ।
संवैधानिक दायित्व र कर्तव्यका आधारमा राष्ट्रपति र सभामुख महोदय मिठाई झगडाको व्यवस्थापनमा भरमग्दुर प्रयत्न गरिरहनुभएको छ । जुन मिठाई खाए पनि खाइहाल्नुप¥यो भन्ने उहाँहरूको आग्रह छ । तर, राजनीतिक दलहरू मेरो गोरुको बाह्रै टक्का भनेर बसिरहेका छन् । किस्तीमा सजाइएका मिठाईहरू बासी हुने हुन् कि भन्ने पिर राष्ट्रपति र सभामुख व्यक्त गरिरहनुभएको छ । तर, दलहरू बासी भए होस्, तर आफूले भनेकै मिठाई पहिला खानुपर्छ भनेर अडिग छन् ।
पुसको एक मध्याह्न सभामुख महोदयले ‘मिठाई वार्ता’का लागि शीर्ष नेताहरूलाई बोलाउनुभएको थियो । उक्त ‘मिठाई मिलाप’ प्रयत्नका लागि आयोजित वार्ताका संवादहरू हाम्रा लागि रमाइला हुन सक्छन् ।
दृश्य यस्तो थियो– कांग्रेस, एमाले, माओवादी र मधेशवादी दलका नेताहरू गोलबन्द रूपमा विराजमान छन् । सभामुख महोदय गम्भीर मुद्रामा आसीन हुनुहुन्छ । बीचमा संविधान संशोधन, लोकमान महाअभियोग र निर्वाचन घोषणा नाउँ गरेका मिठाईहरू किस्तीमा सजाएर राखिएका छन् ।
‘खने पनि उही गरोे हो, जोते पनि उही गरो हो । फेरि घुमिफिरी पुग्ने रुम्जाटार नै हो,’ एमाले अध्यक्षले निर्वाचन घोषणा मिठाईलाई देखाउँदै भन्नुभयो, ‘सुरु यतैबाट गरौँ ।’ सधैँ शान्त हुने तमलोपा अध्यक्ष ठाकुरको अनुहारमा रिस चढ्यो, तर उहाँ केही बोल्नुभएन । बरु संघीय समाजवादी अध्यक्ष यादवले चर्काे आवाजमा प्रतिवाद गर्दै भन्नुभयो ‘हुँदैन । सुरु गर्ने हो भने यताबाट गर्नुपर्छ ।’ उहाँले संविधान संशोधन मिठाईलाई देखाउनुभयो । ‘हो, हो,’ यादवको कुरामा सहमति जनाउँदै कांग्रेस सभापति देउवाले भन्नुभयो, ‘सुरु संविधान संशोधनबाटै गर्ने हो । निर्वाचन मिठाई खाने वातावरण संशोधनको मिठाई खाएपछि बन्छ । चिया खाएपछि भात खाने हो । भात खाएर चिया खान त मिलेन नि ?’ देउवाको कुराले एमाले अध्यक्षको अनुहारमा हास्यमिश्रित असन्तोष देखियो । हाँस्न खोजेखोजे जस्तै गरी एमाले अध्यक्षले भन्नुभयो, ‘डाइबेटिज लागेकाले कहिल्यै पनि चिनी हालेको चिया खानु हुँदैन । त्यसैले संविधान संशोधनको मिठाईलाई किस्तीबाटै निकाल्नुपर्छ र अन्य मिठाई कहिले र कसरी खाने हो भन्नेबारे छलफल गर्नुपर्छ ।’
‘सम्भव छैन,’ प्रधानमन्त्रीले किस्तीमा रहेको संविधान संशोधन मिठाईलाई देखाउँदै भन्नुभयो,  ‘यसलाई किस्तीमा राखिसकियो । किस्तीमा राखिसकेपछि निकाल्न मिल्दैन । बरु खानेले खान्छन्, नखानेले खाँदैनन् ।’
‘उसो भए कुरै सकियो त ? किन छलफल गर्नुप¥यो ? तपाईंहरू खानुस् । हामी खाँदैनौँ,’ एमाले अध्यक्षले जंगिँदै भन्नुभयो ।
‘मिठाईको भोज लाउने किचन चाहिँ तपाईंहरूले ताल्चा लाइदिनुभा‘छ । अनि काँ’ बसेर खाने नि ?’ कांगे्रस सभापतिले एमाले अध्यक्षलाई सोध्नुभयो । ‘नलाएर के गर्नु त ? तपाईंहरूले खाँदा तपाईंहरूलाई मात्रै असर गर्ने भए हामीलाई लुतो न कन्याइ हुन्थ्यो । तर, के गर्ने सिंगो गाउँमै महामारी फैलने भएपछि ताल्चा नलाएर, स्वागत गर्न बस्नु ?’ सद्भावना अध्यक्ष महतोले क्रोधित हुँदै एमाले अध्यक्षलाई भन्नुभयो, ‘याद गर्नुस् । यस्तै हो भने तपाईंहरूको मिठाईको सप्लाई मधेशमा बन्द गरिदिन्छौँ ।’
सभामुखले सबै नेताका अनुहारमा हेर्दै भन्नुभयो, ‘यसरी आफैँले भनेको मात्रै हुनुपर्छ भनेर हुँदैन । कम्तीमा आ–आफ्ना अडानलाई पुनर्विचार गर्नुस् र कुन मिठाई पहिला खाने हो ? सहमति गर्नुस् । यस्तै ताल हो भने मिठाईहरू बासी हुन्छन् । बासीसम्म त ठीकै होला, तर अरूले नै  खाइदियो भने के गर्ने नि ?’
उहाँको आग्रहलाई आग्रहलाई कसैले पनि गम्भीरतापूर्वक लिएनन् । मिठाई वार्ता निष्कर्षमा पुग्न सकेन ।

 

Leave A Comment