‘बान थाई’ मा थाई परिकार

बुधबार, २० पुष २०७३, १० : ११ शुक्रवार , Kathmandu
‘बान थाई’ मा थाई परिकार

थाई फुड पारखीमाझ लोकप्रिय छन्, गणेश ढकाल । थाइल्यान्डमा बसेर थाई फुड कुकिङको विशेष तालिम लिएका मास्टर्स सेफ ढकालले १७ वर्षअघि नयाँ बानेश्वरमा थाई रेस्टुरेन्ट खोल्दा राजधानीवासीको जिब्रोमा थाई खानाको स्वाद बसेकै थिएन । पिरो, अमिलो र स्पाइसी स्वाद मन पराउनेहरूलाई थाई खानामा बानी पार्नु चानचुने काम थिएन । विगत सम्झिँदै भने, ‘त्यतिबेला दिनभर रेस्टुरेन्टमा एक जना पनि ग्राहक नछिर्दा धैर्य गरेर नबसेको भए आज काठमाडौँमा तीन वटा थाई रेस्टुरेन्ट हुने नै थिएनन् ।’ ढकालले अहिले काठमाडौँ, महाराजगञ्ज अमेरिकन दूतावास अगाडि बान थाई रेस्टुरेन्ट, दरबारमार्गमा रोयल थाई र नयाँ बनेश्वरमा बान थाईकै नाममा तीन वटा रेस्टुरेन्ट सञ्चालन गरिररहेका छन् ।
महाराजगञ्जमा रहेको बान थाईलाई थाइल्यान्डको झलक दिने गरी निर्माण गरिएको छ । छानोमा विशेष प्रकारको तीन वटा चुच्चा नै बान थाईको ब्रान्ड हो । ती चुच्चा देख्नेबित्तिकै थाई नागरिक वा संसारका कुनै पनि देशमा पुगेर बान थाईको स्वाद चाखेकाहरू रेस्टुरेन्ट सजिलै पस्ने सञ्चालक ढकालले बताए । ‘यी चुच्चा भएपछि बान थाई भनेर बोर्ड राख्नु पनि पर्दैन,’ उनले भने ।
एक पटकमा १ सय २० जनासम्मले खानपिन गर्न सक्ने बान थाईमा छुट्टाछुट्टै सिटिङ अरेजमेन्ट गरिएको छ । मिटिङ रुम, फेमिली रुम साथै छतमा बसेर खानाको स्वाद लिने व्यवस्था मिलाइएको छ । थाई फुडका विभिन्न भेराइटी पाइने यो रेस्टुरेन्ट नेपालमा रहेका कूटनीतिक नियोगमा काम गर्ने विदेशी कर्मचारी, थाई फुड पारखी काठमाडौँवासीमाझ निकै लोकप्रिय छ । यो रेस्टुरेन्टको केराको पातमा ¥याप गरेर पकाइएको चिकेन, तोमयाम सुप, झोल मःमःलगायत परिकार ग्राहकले बढी रुचाउने गरेको ढकाल बताउँछन् ।
थाई फुडलाई संसारकै स्वस्थ खानाका कोटीमा राखिन्छ । ‘नुन हाल्नुपर्नेमा फिस सस, तेल हालेर पकाउने खानालाई पानी राखेर पनि थाईहरूले खानामा विशेष स्वाद दिन सफल छन्,’ सञ्चालक ढकाल भन्छन्, ‘खाना स्वादिलो बनाउन तेल, मसला, नुन, टेस्टिङ पाउडर नै प्रयोग गर्नुपर्छ भन्ने छैन ।’ थाई फुडमा मसलाको सट्टा विभिन्न किसिमका जडीबुटी प्रयोग गरिने भएकाले खाना विशेष स्वादिला र शक्तिवद्र्धक हुने ढकाल बताउँछन् । ढकालले आफ्नो रेस्टुरेन्टका लागि चाहिने भेजिटेबलका लागि अग्र्यानिक फर्म पनि सञ्चालन गरिररहेका छन् ।
बान थाईमा १ सय ९० देखि ३ सय ९० रुपैयाँसम्मको थाई लन्च खान सकिन्छ । होम डेलिभरीको सुविधा भएको रेस्टुरेन्टमा पार्टी तथा गेट टुगेदर गर्न पनि सकिन्छ ।

Leave A Comment